हैसियत बृहत गजल संग्रहको बारेमा सायद धेरैले सुन्नुभएको होला । नेपाली गजल आकाशमा हालसम्मकै ठूलो कृति भनेर दाबि गरिएको यो कृति भाग एक र भाग दुई गरि दुई संस्करणमा बजारमा उपलब्ध छ । भाग एकमा ३६ र भाग दुईमा ३८ जना गजलकारहरुका २५।२५ गजलहरु समाबेश गरिएकाछन् भने यो कृती हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनले प्रकाशन गरेको हो र यसका सम्पादक हुनुहुन्छ अग्रज गजलकार पुष्प अभिकारी अञ्जली । यो कृति यहि २०७१ असार १४ गते शनिवारका दिन चितवनमा भब्य समारोहका साथमा बरिष्ठ अग्रज गजलकार प्राज्ञ बुँद रानाले गर्नुभएको हो यक्त कार्यक्रममा भारतमा रहेर नेपाली गजलमा कलम निरन्तर चलाउँदै आउनुभए गजलकार शेखर अस्तित्वलाई विशेष सम्मान प्रदान गरिएको थियो साथै चर्चित गजलकार गायक सुवास अगमले गायन प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा देशैभरिबाट अपस्थित हुनुभएका करिव १०० भन्दा बढि गजलकारहरुले आफ्नो रचना बाचन गर्नुभएको थियो ।
माथिका यी गजलांश गजलकार इन्धन डि.बी भण्डारीका हुन् । हैसियत गजल सङ्ग्रहको विमोचन पश्चात चितवनबाट फर्किरहँदा माइक्रोमा हामी केही साथीहरूले हैसियतबाट केही गजलहरू पढ्यौ । हैसियतको पाना पल्टाउने क्रममा केहीका गजलले हाम्रा मनलाई आकर्षणमा पा¥यो । तीमध्येका एक हुन् इन्धन डि.बी भण्डारी । हामीले गजलका बारेमा चर्चा परिचर्चा गर्ने क्रममा अनलाइनमा भेटिने साथीहरू जो हैसियत बोकेर यात्रारत हुनुहुन्थ्यो उहाँहरुले पनि एक व्यक्तिको गजलको खुलेरै प्रशंसा गर्नुभयो जसको नाम थियो– इन्धन डि.बी भण्डारी । हैसियत भन्दा अगाडि मैले कहिले नसुनेको नाम र मेरो फेसबुकमा पनि साथीहरू माझ नभेटिएभएका गजलकार इन्धन डि.बी भण्डारी एक इश्र्या गर्न लायक प्रतिभा हुनुहुदोँ रहेछ उहाँका गजलहरू पढ्दै जाँदा थाहा पाएँ । केही दिन उहाँका गजलहरूमा डुबेँ ।
उहाँका गजलहरू पढ्दै जाने हो भने कहीँ कतै हाइ काट्नु पर्ने ठाउँ पाइँदैन । गजलमा सम्प्रेषण गरिएका विचार, चिन्तन र विषयहरूले २५ वटै गजललाई एकै बसाईमा सिध्याउन प्रेरित गर्दछ । गजल पढ्दै जाँदा —
कहीँ भावुक–
बाउ लाश बुझ्न लाइनमा उभिएका छन्
हातमा छोराको फोटो समाएर आँसु बगाएर (गजल नं.२३)
कहीँ उत्तेजना–
यार बन्धकी बसेर कति पो कमाउँछस् ?
र यो जिन्दगी बेचेर कति पो रमाउँछस् ? (गजल नं. ५)
भइन्छ भने,
कतै स्वैरकल्पना–
म अब यस्तो कला बनाउँदैछु
आँपको बोटमा सुन्तला बनाउँदैछु (गजल नं. १८)
कतै यथार्थ चित्रण–
कमै फर्के होलान् परदेशबाट जिन्दगी बनाएर
धेरै फर्केका छन् परदेशमै जिन्दगी गुमाएर (गजल नं. २३)
ले गजलमा पाठकलाई ध्यानाकर्षण गर्दछ । यहाँ म उहाँका सबै गजललाई साभार गरेर सक्ने अवस्थामा छैन । सबै गजलले मनलाई छोएको छ । एउटा शसक्त गजलकारको रुपमा इन्धन डि.बी भण्डारीलाई पढ्न पाएँ । उहाँको आफ्नै कृति ‘बिजारोपण’ पनि हात परोस्, पढ्न पाउँ ।
उहाँका गजलहरुमा काफिया चयन सही छ, रफिदले दिने मिठास पनि उत्तिकै छ । गजलको सिद्धान्तत हेर्ने हो भने अधिकांश गजलमा जसरी भावनाका लहरहरू बगेका छन् विश्रामको अवस्थामा गजलकार सबै जस्तो गजलमा चुक्नु भएको छ । सिद्धान्तका आधारमा रदिफ, काफिया, मतला, मक्ता, तख्खलुस आदि बुझिन्छ भने यति र गतिलाई पनि बुझ्नु आवश्यक छ । सिद्धान्तकै आधारमा बसेर पनि गजलमा नयाँ पन दिन सक्छौँ कि !
अन्तमा एक शेर
न म जन्मेको ठाउँ भेटिन्छ न गाउँ भेटिन्छ
मात्र यी आँखामा आँसुको तलाऊ भेटिन्छ
एउटा पाठकको हैसियतले मैले जे देखे त्यो पोखेँ । यो मेरो व्यक्तिगत प्रतिक्रिया हो । यसमा सहमति र विमती दुवै रहन सक्नेछन् । गजलकारलाई शुभकामना । अबको केही दिन गजलकार पवन घर्तीमगर, निर्मला अर्याल र सौगात गजमेरतिर फड्को मार्ने विचारमा छु ।
सुनिल स्पन्दन
भक्तपुर
२.अजय पारस
हैसियत गजल संग्रह १ का दोश्रो नम्बरका गजलकार अजय पारसका लागि मेरो प्रतिक्रिया–
मलाई मन परेको गजलको शेर–
‘मुटु चल्छ, तिम्रै लागि, बन्द हुन्छ, तिम्रै लागि
परदेशी भै, टाढा हुँदा, यो मन रुन्छ, तिम्रै लागि’
यी मीठा शेरका गजल गो अजय पारसका गजलहरू आनन्दले पढेँ । समसामयिक, राजनीति, कुरिता, देशको जल्दोबल्दो समस्या र चेतनाका लागि कलम चलाउनु हुने पारसका गजलहरू मीठा छन् । उनका गजलहरूमा उनले चर्का नारा त उरालेका छैन तापनि गजलकारले भोगेका र अनुभव गरेका कुरालाई हजताका साथ गजलको संरचनाभित्र समावेश गरेका छन् । उनका गजलहरूमा काफिया र रदिफको सही समायोजन छ । तापनि एकाध ठाउँमा काफियामा झुक्किएको हो भन्ने भान हुन्छ ।
(गजल नं.१६
कहिल्यै नपाउने माया खोज्दै छु म
औँसीको रातमा जून खोज्दै छु म
प्रस्तुत मतलालाई हेर्दा काफिया दोहोरिएको पाइन्छ । यो जानाजान गजलकारले राख्नुभएको हो कि अथवा छपाईमा त्रुटी हो, गजलकारले बताउनु हुनेछ ।
त्यस्तै उनले गजलमा नया विषयको प्रयोग (गणितीय आधार) पनि गरेका छन्
वस्तु ठूलो होस वा सानो आयतनका लागि
पाइको मान बाइस अपन सात एउटै हुन्छ
भोकालाई सोध्नु ढिँडो र भात एउटै हुन्छ ......
समग्रमा उनका गजलहरुले पाठकलाई सन्तुष्टि दिन्छ । लेखनीको समीकरणलाई हेर्ने हो भने कतै कतै उनका गजलमा संरचनागत पक्षलाई कम ध्यान दिएको पनि देखिन्छ । कुनै एक शेरमा १६ अक्षरको प्रयोग गरेका छन् भने फेरि सोही गजलको मुन्तिरका शेरमा १८, १९, २१ सम्मका अक्षर प्रयोगले वाचनमा विश्रामको अवस्थामा तालमेल मिल्न सकेको छैन ।
ज्यादै शालिन तरिकाले विषय वस्तुलाई गजलमा प्रस्तुत गर्ने गजलकार अजय पारसको गजलका शेरहरुले मन छोयो र उनका गजल पढुन्जेल म आफै पनि अजय पारस भैरहेँ......धन्यवाद अजय शाह पारसज्यू मीठा मीठा गजलका लागि ।
सुनिल स्पन्दन
भक्तपुर
३.अन्जान यात्री
हैसियत भाग १ का 1 नं श्रस्टा अन्जान यात्री
को २५ वटै गजलहरु पढें । सारै मीठो गजल लेख्नु हुने अन्जान यात्रीका गजलले मन छोयो । उहाका आधिकांश गजलहरु गैह्र मुसल्सल छन । मीठो बिम्व, विषयवस्तु र प्रस्तुतिले गर्दा उहाको गजल पढ्दा मन आनन्दित भैरह्यो भने १ नं गजल , ३ नं को गजल र १९ नं को गजलमा काफिया पत्ता लगाउन कापि र कलमको सहारा लिनु पर्ने भो तर त्येसो गरिन कारन आफू नेपाली भाषा मा पनि कम्जोर बिद्यार्थी परियो । अक्षर संरचनातिर लागिन, काफियामा येस्तो प्रयोग ठिक हो कि हैन म जान्दिन ।
गजल पढिरहदा धेरै जस्तो गजलहरु वाचनको दृस्टीले लेखियेको पाये । गजल गुनगुनाउन खोजें तर गजल गो ले प्रस्तुतिकरनमा ध्यान दिंदा येति र गतिको सहि ताल्मेल मिलाउन नसक्नाले त्यो सम्भव भयेन ।
समग्रमा गजलहरु अति हृदय स्पर्शी छन् ।पठनीय छन । गजल बिधालाइ पुरै नियम परिधिभित्र नबाधी स्वतन्त्र रुपमा उडाएका छन मित्र अन्जान यात्रीले । आगामी दिनमा अझ सशक्त गजल पढ्न पाइयोस, शुभकामना ।
म गजल सिक्ने र पढ्ने क्रममै छु । मेरो प्रतिकृयामा केही त्रुटि भएमा क्षमा माग्द्छु ।
मलाइ मन परेको उहाको एक शेर
आखामा सपना अनि जिन्दगी राखेर
आएकोछु घर जग्गा बन्धकी राखेर
४.सौगात गजमेर ‘मात्र’
हैसियत भाग १ का ३६ नं. श्रष्टा सौगात गजमेर ‘मात्र’ को लागि मेरो प्रतिक्रिया
कोही आउँछन् सताउँछन्, धेरै कुरा बताउँछन्
नीलो आकाश देखाउँछन्, जून जाँदा हटाउँछन्
यो प्यारको जादू नगर, यस्तै देख्या छु सर्वत्र
थोरै प्रेमील रमाउँछन्, प्राय आँसु खसाउँछन्
जा तँ नानी भन्दै मलाई हातमा फूल थमाएर
बुबा मनमा के सोच्छन् र मन्दिर देखाउँछन्
परदेशीले परिचय यस्तो दिन थाले अचेल
देशमै बस्नुपर्छ भन्छन् उतै ढाड सेकाउँछन्
निकै यर्थाथपरक र मीठो भाव बोकेका यी शेरहरू मित्र सौगात गजमेर ‘मात्र’ का हुन् । बालुवाडी– ८, झापा घर भई गजलको क्षेत्रमा सिर्जनशील यी गजलकार लेखनीको हिसाबले भर्खरै पाइला चाल्दै गरेको जस्तो लाग्छ । गजलको सामान्यतः सिद्धान्तलाई पालना गरी गजल लेख्नुहुने गजलकार सौगातको २५ वटा गजल पढेँ । विषयवस्तु र प्रस्तुतिकरणमा सन्तुलन नहुँदा उहाँका गजल पढिरहँदा धेरै ठाउँमा म आफै पनि गजलको भाव र लेखनीको अवस्थामा झुक्किएँ । गजलमा जसरी विषयवस्तुको जसरी उठान गरिएको छ तर लेखनीमा शिल्प पक्ष कमजोर हुँदा भन्न खोजिएको कुरा स्पष्ट छैन । गजलका शेरहरुमा जबर्जस्ती शब्दहरू कोचिएको भान हुन्छ, शायद शुरुवातका लेखाइ भएर पनि होला ।
जस्तै
मेरो दिल साह्रै दुखाउनुभो हजुरले
थाहै नदिई व्यर्थै किन र के कसुरले
लाई
मेरो दिल साह्रै दुखाउनुभो हजुरले
पाएकोछु मैले सजाय के कसुरले
गरेको भए अर्थको आधारमा मतला पूर्ण हुन्थ्यो कि ! गजलमा गजलको मतला आफैमा पूर्ण हुनुपर्छ भन्ने मान्यता छ । यस्ता कमजोरीहरू सौगातका गजलका मतलाहरूमा थेरै छन् । उनको
गजलका सामान्यत संरचनालाई हेर्दा सौगात रदिफ र काफियामा पूर्णत सचेत छन् । अधिकांश गजलमा काफिया दोष छैन तर रदिफले दिने मज्जा र अर्थमा उनी अझै स्पष्ट तरिकाले अभिव्यक्ति दिन असमर्थ छन् । उनका गजल मुसलसल र ग्रैह मुसलसल दुवै थरीका छन् । सौगातले अझ शिल्प पक्षलाई जोड दिएर गजल साधनमा लाग्नुपर्ने देखिन्छ । उनी एक जागरुक गजल प्रतिभा हुन भन्ने ठम्याइका साथ आगामी दिनमा उनका रचनामा सुधार हुन भन्ने कामना गर्छु ।
पाठकका दृष्टिले केही तीतो कुरा राखेँ हुँला तर सौगातले यसलाई सकारात्मक रुपमा लिनु हुनेछ भन्ने आशा लिएको छु ।
सुनिल स्पन्दन
भक्तपुर
Note :
प्रतिकृयाहरु क्रमस प्रकासन गरिनेछ