गजलको कार्यक्रम बुलबुल BULBUL (15-02-2023/2079-11-03) गजलकार शेखर बस्नेत सँगकाे अन्तर्वाता विशेष : Listen and Download

Ram | 1:43:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
Nepali Ghazal Program Bulbul   
गजलको कार्यक्रम बुलबुल 
Host : Achyut Ghimire Bulbul   
Date  : (15-02-2023/2079-11-03) 

Interview with Shekhar Basnet at Bulbul
गजलकार शेखर बस्नेत सँगकाे अन्तर्वाता विशेष 

गजलको कार्यक्रम बुलबुल 

नमस्कार,
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2079 फाल्गुन 03 गते तदनुसार 
15th February 2023 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला  लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Thank you 

प्रेम दिवश विशेष - साहित्यकार सरुभक्तका ४६ प्रेमिल मुक्तक (Valentine's Day Special Muktak by Saru Bhakta)

NepaliTalim | 12:40:00 PM | 0 comments















१) मुक्तक-सरुभक्त
प्रत्येक दिवस प्रेम दिवस हो, यौटा सत्य जानिराख
प्रेमभन्दा मूल्यवान केही अरु हुँदैन ठानिराख
सभ्यताको आकाशभरि कति घाम उदाए, जून उदाए
प्रेमको इतिहास चोखो लेखिनुपर्छ मानिराख ।

-२) मुक्तक-सरुभक्त
बदनाम नगर प्रेमलाई प्रेम महान् र अनन्त हुन्छ
धर्तीभरि आकाशभरि सहृदयताको जालो बुन्छ
मान्छेहरू भन्छन् दुनियाँ, स्वार्थमा कति डुबेको छ
तर प्रेम गर्ने मनले सधैँ उत्सर्गलाई मात्र चुन्छ  ।

-३) मुक्तक-सरुभक्त
नसोध मलाई कि म तिमीलाई कति माया गर्छु
हृदयको फाँट-गरामा अमूल्य कति सपना छर्छु
जान्नेहरू भन्छन्, प्रेम एक सुन्दर प्रेरणा हो
प्रत्येक क्षण म जीवनका कति जँघार-सागर तर्छु ।

-४) मुक्तक-सरुभक्त
बासनाको खेल खेल्नेहरू प्रेमको अर्थ बुझ्न सक्दैनन्
उच्चता अनि महानता के हुन्, मनमा कतै सुझन सक्दैनन्
मौसम बदलिएझैँ गरी प्रेम पात्र बदली हिँडेपछि
बिहानीको चोखो शीत परी ती प्रेमले रुझन् सक्दैनन् ।

-५) मुक्तक-सरुभक्त

प्रेम कस्तो हुन्छ, एउटा नमर्ने गीतझैँ
दिनरात साथ नछोडने मनको प्रिय मितझैँ
हृदयको धड्कनलाई सोधे बुझिन्छ प्रेम
हारेर पनि जितिने एउटा महान जितझैँ ।

-६) मुक्तक -सरुभक्त
प्रत्येक क्षण मुटुको ढुकढुकीमा तिमी आए जस्तो लाग्छ
सत्य भन्छु प्रत्येक सासमा तिमी छाएजस्तो लाग्छ
प्रेम गरेर मैले जीवनमा जे गुमाए पनि
बेहिसाब-बेहिसाब मैले आफैंलाई पाएजस्तो लाग्छ ।

-७) मुक्तक -सरुभक्त
प्रेम गरेर केही मागूँ, म भिखारी बन्न चाहन्न
सत्य भन्छु, म जीवनलाई यति तुच्छ भन्न चाहन्न
समर्पणको जीवनमा समर्पण नै गर्न देऊ है
विश्वासलाई चोट पारी आफ्नै दिल खन्न चाहन्न ।

-८) मुक्तक-सरुभक्त
तिमीलाई माया गर्दा सर्वस्व सबै लुटाइदिन्छु
खुसीका जम्मै अवसरहरू एक-एक गरी छुटाइदिन्छु
तिमी भन मात्र जीवनका कति शिखर चढछ्यौं
तिम्रा लागि मनभित्र असंख्य मन जुटाइदिन्छु ।

-९) मुक्तक-सरुभक्त
प्रेममा घात हुँदैन, कहिल्यै प्रतिघात हुँदैन
ठूलो सानो भन्ने पनि प्रेममा कुनै जात हुँदैन
ए ! नसाले बेहोस बनी प्रेमका कुरा गर्नेहरू !
म सत्य भन्छु, प्रेममा प्रभात हुन्छ कहिल्यै रात हुँदैन ।

-१०) मुक्तक-सरुभक्त
प्रेम पवित्र हुन्छ, हिमाली मूलको पानीझैँ
चरित्रले बेदाग मानौँ  सुनकेशरी रानीझैँ
शब्दकोशबाट बुझिन्न, आफैंबाट बुझी हेर
प्रेम तिमीलाई लाग्नेछ, हृदयको अक्षय खानीझैँ ।

-११) मुक्तक-सरुभक्त
प्रेम अनायास हुन्छ, गर्छु भनेर गर्न सकिन्न
मनभित्र विशाल सागर भर्छु भनेर भर्न सकिन्न
ए ! नक्कली प्रेमको कुरा गरी आफैलाई भुलाउनेहरू !
विनाआस्था कसैका लागि मर्छु भनेर मर्न सकिन्न ।

-१२) मुक्तक-सरुभक्त
प्रेमको नाम लिई फोहोरी खेल खेल्ने नगर
घामलाई सानो सम्झी हत्केलाले छेल्ने नगर
जीवनको घुम्तीभित्र सलाई नजिक देखे पनि
तिमी आफ्नो मनभित्र बासनाको रोटी बेल्ने नगर ।

-१३) मुक्तक-सरुभक्त
तिमीलाई नदेख्दा यस्तो लाग्छ, प्रत्येक क्षण देखेझैँ
मनको अनन्त पानीभरि प्रेमपत्र सधैँ लेखेझैँ
झरीका बादलहरू कति आए अनि कति गए
हिमालझैँ ठडिई मनका विषादहरू सबै छेकेझैँ ।

-१४) मुक्तक-सरुभक्त
प्रेम तपस्या हो स्वः परीक्षामा बस्नु पर्छ
कमजोरीहरू आए भने हृदय जम्मै कस्नुपर्छ
घृणाको यो दुनियामा प्रेम गर्छु भनी ठान्छौं भने
अरुका लागि हाँसीहाँसी नर्कमा पनि पस्नुपर्छ ।

-१५) मुक्तक-सरुभक्त
प्रेमीहरू प्रेम गरी अजम्मरी पीडा सहिरहन्छन्
ढुङ्गामाटो कणकणमा आत्मा बनी रहिरहन्छन्
चाहे दुनियाँले मानोस वा मान्न इन्कार गरोस्
प्रेमीहरू नबोलिकनै चरित्रले केही कहिरहन्छन् ।

-१६) मुक्तक-सरुभक्त
यस्तो दिन आओस यहाँ, मायैमायाको बास होस्
रिस, द्वेष र घृणाहरू सबै सबैको नाश होस्
मानवताको अंश भै म यस्तो सपना देखिरहेछु
मेरो सुन्दर धर्ती भोलि स्वर्गभन्दा पनि खास होस् ।

-१७) मुक्तक-सरुभक्त
जब मनमा प्रेम आउँछ, विषालु कुनै वाण दाग्दैन
बसेपछि मनमा त्यसले सौभाग्यको सीमा नाघ्दैन
जिन्दगीको प्रत्येक मोड ढुक्ढुकीहरूले भन्छन् यहाँ
प्रेम यस्तो बहार हो जुन आइ फेरि कतै भाग्दैन ।

-१८) मुक्तक-सरुभक्त
बुझ्नु मान्छे राम्रो गरी हृदयमा प्रेमको राज छ
मधुर धुन बजिराख्ने एउटा यस्तो साज छ
जिन्दगीको मुल्य खोज्दै बाहिर किन भौंतारिनु
प्रेम भए आफै भित्र दिव्य-अनमोल ताज छ ।

-१९) मुक्तक-सरुभक्त
प्रेम नसा होइन प्रत्येक क्षण पिइरहन्छु
मनमा लागे हजार चोट प्रत्येक क्षण सिइरहन्छु
जिन्दगीको तपस्यामा दिव्य वर पाएपछि
मृत्युञ्जली भएर म प्रत्येक क्षण जिइरहन्छु ।

-२०) मुक्तक-सरुभक्त
प्रेम पवित्र पागलपन हो, म सद्देहरूलाई भन्दै हिँड्छु
तिनका नजरमा सायद कसिङ्गरजस्तो बन्दै हिँड्छु
समय साक्षी छ, प्रेमको नाममा बदनामीहरू कति हुन्छन्
तर मनले नहारी धर्तीमा असंख्य आशा गन्दै हिँड्छु ।

-२१) मुक्तक-सरुभक्त
अर्ती-उपदेशहरू सुनेर मनमा प्रेम पलाउँदैन
समय आउँछ, समय जान्छ, कसैलाई छलाउँदैन
प्रेमपथमा लाग्ने भए समर्पणको बाटो चुन
हृदयलाई पत्थर पारे कुनै बाली फलाउँदैन ।

-२२) मुक्तक-सरुभक्त
जब प्रेम हुन्छ, मनको मनसित साइनो जोडिन्छ
जीउमा भए बन्धन कति, एक-एक गरी छोडिन्छ
ए ! रूपको बजारमा आफैलाई बेची हिँडनेहरू !
प्रेममा सक्रान्ति भै जीवनको बाटो मोडिन्छ ।

-२३) मुक्तक-सरुभक्त
विश्वविजेताहरू धर्ती लुट्न सक्छन्, माया लुट्न सक्दैनन्
अरुका अधिकारहरू घुत्न सक्छन्, माया घुत्न सकदैनन्
उन्मादले ग्रस्त भै जति विशाल सेना खडा गरे पनि
मायालाई पराजित गर्न मायालु मनभित्र जुट्न सक्दैनन् ।

-२४) मुक्तक-सरुभक्त
प्रेम अन्धो हुन्छ, प्रेम नगर्नेहरू भनिरहन्छन्
प्रेमको इतिहासका अध्येताझैं बनिरहन्छन्
म कसरी सम्झाऊँ प्रेम आफैंमा एक दृष्टि हो
तर हरे ! अबुझहरू अँध्यारोका दीप गनिरहन्छन् ।

-२५) मुक्तक-सरुभक्त
जहाँ प्रेम हुन्छ त्यहाँ धोका र छलछाम हुँदैन
प्रेमभन्दा पवित्र यहाँ कतै कुनै तीर्थधाम हुँदैन
जिन्दगीको प्रत्येक सासमा आफैंसँग सोधिहेर
प्रेममा व्यर्थ अहंको पनि कुनै राम हुँदैन ।

-२६) मुक्तक-सरुभक्त
प्रेम सिर्जना हो, विध्वंसको बाटो लाग्ने नगर
चुनौतीहरू आए भने आफैंदेखि भाग्ने नगर
घामछायाँ जिन्दगीका रङ्गहरू यस्तै हुन्छन्
युद्ध सम्झी प्रेमलाई तोपगोला दाग्ने नगर ।

-२७) मुक्तक-सरुभक्त
प्रेमको युद्ध अन्त होइन, आफैंभित्र लडिन्छन्
हृदयको कुरुक्षेत्रमा विजयझन्डा ठडिन्छन्
इतिहासमा जति भए पनि कथित प्रेमका युद्धहरू
महान् प्रेम त यहाँ महान् छातिहरूमै अडिन्छन् ।

-२९) मुक्तक-सरुभक्त
कहिलेकाहीं प्रेममा हृदय ठनक्क भाँचिन्छ
दुर्भाग्यको चोट परी अधमरो भइ बाँचिन्छ
समयको चक्र यहाँ जति उल्टो घुमे पनि
आस्थाभरिको जीवनमा पवित्रता मात्रै साँचिन्छ ।

-३०) मुक्तक-सरुभक्त
ताजमहल नै चाहन्छौं भने हरेक क्षण ताजमहल बनाइरहन्छु
हृदयभरि सिङगमरमर होइन मायैमाया खन्याइरहन्छु
के दुनियाँका आश्चर्यहरूमा आश्चर्य मानिरहन्छौं तिमी
म अनादिदेखि अनन्त मायामा आफ्नो उपस्थिति जनाइरहन्छु ।

-३१) मुक्तक-सरुभक्त
अजम्मरी पीडा भए, अजम्मरी मनले पिइदिनु
खिइनुको हद कहाँ हुन्छ, त्यसलाई नाघी खिइदिनु
प्रेम गर्दा जीवनमा जति निर्दयी प्रहार परे पनि
तिमी हरेक प्रहारमा आँशुको फूल भैदिनु ।

-३२) मुक्तक-सरुभक्त
थोरैले साँचो माया गर्छन धेरैले माया गरेझैँ गर्छन्
नपाएसम्म एक अर्कालाई हुरुक्क भै मरेझैँ गर्छन्
राम्रैसित चिन्न सकिन्छ नक्कली माया लाउनेहरू
बसन्त पूरै हराए फतक्क भै झरेझै गर्छन् ।

-३३) मुक्तक-सरुभक्त

प्रेमका लागि भनी धर्तीमा अब नबगाऊ रगतका धाराहरू
साँचेर युगौंदेखिका अहङ्ककार अनि विश्वविजयी पाराहरू
बन्दुक, तोप र तरवारहरूको मन जित्न नसकिने भए
मानवताको आकाशमा कहाँ चम्कन्थे साँचो प्रेमका ताराहरू ?

-३४) मुक्तक-सरुभक्त
बोलीले के याद गरुँ, धड्कनले याद गर्छु हुन्न र ?
नसानसामा तातो रगतले मायाको घर बुन्न र ?
समयलाई साक्षी राखे, समय आफै बदली जान्छ
मनमा माया भए कतै, मायाले माया छुन्न र ?

-३५) मुक्तक-सरुभक्त
घृणा छ यो दुनियाँमा धेरै प्रेमको दुनियाँ बसाइरहूँ
कठोर छ यो दुनियाँ धेरै कोमलता केही पसाइरहूँ
ढुकढुकीको अर्थ आफ्नै ढुकढुकीलाई सोधे हुन्छ
प्रेमोत्सव मानी जिन्दगीलाई सिर्जनामा रसाइरहूँ ।

-३६) मुक्तक-सरुभक्त
जिन्दगीको हरेक क्षण प्रेमोत्सव बाँचिदिन्छु
अरुले होइन मायाले नै जिन्दगी यो जाँचिदिन्छु
म मरे पनि मेरो माया कहिल्लै मर्ने छैन
माटो अनि खरानीमै तिम्रो याद साँचिदिन्छु ।

-३७) मुक्तक-सरुभक्त
प्रेम प्रेम हो उमेरको कुनै रहर होइन
प्रेम प्रेम हो स्वाष्टिष्ट कुनै जहर होइन
प्रेमलाई वर्जित फल मान्ने अज्ञानीहरू हो !
प्रेम प्रेम हो अभिशापको कुनै कहर होइन ।

-३८) मुक्तक-सरुभक्त
म कसरी भनूँ माया कि मेरो नाम दिलमा टाँसिदिऊ
दया गरेर भए पनि केही बेर बेमनले हाँसिदिऊ
माया माया हो सर्तबाजीको कुनै खेल होइन
त्यसैले भोग्छु तर भन्दिनँ कि मलाई हरेक क्षण फाँसी देऊ ।

-३९) मुक्तक-सरुभक्त

प्रेम कति गहिरो हुन्छ, नापेर नाप्न सकिँदैन
प्रेममाथि अरु केही खापेर खाप्न सकिँदैन
कसरी भनूँ म कि प्रेमको अनुभूति कस्तो हुन्छ ?
प्रेमलाई शब्दहरूमा पूरै छापेर छाप्न सकिँदैन ।

-४०) मुक्तक-सरुभक्त

प्रेमपथका यात्रीहरू हरघडी प्रेम चिताइरहन्छन्
उछ्वासविना जिन्दगीमा हरघडी प्रेम जिताइहरन्छन्
सपनाहरू जति विपना बन्न सके पनि, नसके पनि
प्रेमपथका यात्रीहरू हरघडी प्रेममै बिताइरहन्छन् ।

-४१) मुक्तक-सरुभक्त

स्वार्थको बजारमा हेर, स्वार्थको तानातान छ
नबुझेर होइन, सबै कुरा जानाजान छ
हृदयका तरेलीहरूमा प्रेमका मूल नफुटेर
मान्छेको बस्तीमा आजभोलि सर्वत्र हानाहान छ ।

-४२) मुक्तक-सरुभक्त
प्रेमको घाउ लाग्यो भने अप्रेमहरूले भर्ने नगर
दुर्भाग्यको खोलालाई नसकी-नसकी कहिल्यै तर्ने नगर
प्रेम-प्रेम हो, मनको कुनै कमजोरी होइन
त्यसैले बाँच्न छोडी जिन्दगीमा छिनछिनमा मर्ने नगर ।

-४३) मुक्तक-सरुभक्त

खुसीहरू मात्र हुँदैनन् मायामा असङख्य उछवासहरू हुन्छन्
हजार जन्मभन्दा लामो मायामा असङख्य निश्वासहरू हुन्छन्
कोमल तर चट्टान जस्तो मायालु हृदयलाई सोध
कि तिनका ढुकढुकीहरूमा मायाका असंख्य विश्वासहरू हुन्छन् ।

-४४) मुक्तक-सरुभक्त
आस्था हराएर कहिल्लै पनि बिहानी खुल्न सक्दिनँ म
समयको क्षणिक बजारमा बेहोसीसाथ घुल्न सक्दिनँ म
विशाल दुनियाँमा तिमीबाट जति टाढा भैगए पनि
आफूलाई भुल्न सक्छु तर तिमीलाई भुल्न सक्दिनँ म ।

-४५) मुक्तक-सरुभक्त
प्रेमीहरू प्रेम गर्छन्, कर्तव्यबाट भाग्दैनन्
हृदयमा जलन भै मलहम केही माग्दैनन
जिन्दगीमा अप्रिय बोझहरू जति खेप्नुपरे पनि
प्रेमीहरू प्रेमास्थाका मर्यादा कहिल्यै नाघ्दैनन् ।

-४६) मुक्तक-सरुभक्त
मान्छेहरू हृदयमा अनन्त सपना सजाइराख्नु
कठोर यो धर्तीभरि अस्तित्व आफ्नो कजाइराख्नु
उज्यालो र अँध्यारोको यो महान सृष्टि यात्रामा
जीवनभर प्रेमको अजम्मरी धुन बजाइराख्नु ।
सरुभक्त
साभारः प्रेम यात्रा 

प्रेम दिवशकाे सबैलाइ शुभकामना !



खिजिदिम्बा ओखलढुंगाका गजलकार शेखर बस्नेतज्यूको दमदार गजल -निशूल्क पाए अनि अलकत्रा पान गरे..

Ram | 12:15:00 PM | 0 comments



मतदाले पनि सबथोक जानाजान गरे ।
निशूल्क पाए अनि अलकत्रा पान गरे ।
.............
ज्यूँदाहरुले देशमा केही गर्छन् भनेर
ठाउँठाउँमा मरेकाहरुले मतदान गरे । 
...........
जनमत लगेर रुखमा झुन्ड्याउनेहरुले
समाजसेवा गर्छु भनेर जमान गरे । 
.........
मान्छेले बाँदरलाई अमुल्य भोट दिए
त्यसपछी बाँदरले कुर्सी तानातान गरे ।
.........
शेखरले ज–जस्लाई गर्घन काटेर दियो
तिनीहरु सबैले मासुको दोकान गरे ।
शेखर बस्नेत
खिजिदिम्बा ओखलढुंगा, नेपाल । 
(सर्बाधिकार लेखकमा निहित)

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger