|
Babu Tripathi |
भइरहेको भाइचारा फुटाउने काम बन्द गर्नुस्
============================
नेपाली गजलमा हामीले ज्ञानुवाकर पौडेललाई स्वीकार गर्यौँ । मनु ब्राजाकी लाई स्वीकार गर्यौँ ।
ललिजन रावललाई स्वीकार गर्यौँ । डा.कृष्णहरि बराललाई स्वीकार गर्यौँ । बूँद रानालाई स्वीकार गर्यौँ । डा.घनश्याम न्यौपानेलाई स्वीकार गर्यौँ । डा.सनत वस्तीलाई स्वीकार गर्यौँ । रवि प्राञ्जललाई स्वीकार गर्यौँ । करुण थापालाई स्वीकार गर्यौँ । यावत तरिकाले हाम्रो स्वीकार गर्ने सिलसिला क्रमश जारी छ । यो जारी नै रहन्छ ।
गजल बिउँझिएको छ । बिगतका वर्षहरुमा भन्दा अहिले आएर देश देशान्तर गजलका कार्यक्रमहरु अझै बढी हुन थालेका छन् । यो बेलासम्म गजल आइपुग्दा तपाइँहरु छन्द र बहरमा लेख्ने (सबैलाई भनेको होइन) कुन दुलोमा हुनुहुन्थ्यो । अहिले गैर बहरमा लेखिएको गजलको व्यापकता कतिसम्म छ त्यो फेसबुकमा बसेर तपाइँहरुले पत्ता लगाउन सक्नु हुन्न । पत्ता लगाउन मैदानमा उत्रिन सक्नुपर्छ । यसको व्यापकता कति छ त्यसको अनुमान गर्न मैदानमा आउने हिम्मत पनि तपाईँहरुमा छैन । तपाइँहरुको हिम्मत भनेको सामाजिक सञ्जालमा बहुलाउनु मात्र हो । हिम्मत छ भने बहर र छन्दमा लेखिएका गजल लिएर तपाइँ मैदानमा आउनुस् । श्रोताले छिनोफानो गरिदिन्छन् । गजलको चिन्ता तपाइँहरुलाई मात्र हैन हामीलाई पनि छ । तमाम गजल लेख्नेहरुलाई छ । कमसेकम ती गजल लेख्नेहरुको मन सम्म पुग्न म आग्रह गर्दछु ।
तपाईँ सक्नुहुन्छ गजल लेख्नुस् र श्रोताको माझमा जानुस् । श्रोताहरूको स्वीकारोक्ती नै हाम्रो स्वीकारोक्ति हुनेछ । श्रोताहरूले गैर बहरमा लेखिएका गजलहरु गजल हैनन् भन्छन् भने हामी त्यस्तो गजल लेख्न बन्द गरिदिन्छौँ । सक्नुहुन्न भने गैर बहरमा लेखिएका गजललाई लिएर सामाजिक सञ्जालमा कुण्ठा पोख्ने काम बन्द गर्नुस् । यसको व्यापकता देखिर आत्तिने काम बन्द गर्नुस् । तनाब नलिनुस् रोग लाग्ला । गजलको हुर्मत लिने काम बन्द गर्नुस् । कुण्ठीत हुने काम बन्द गर्नुस् । मन हाम्रो पनि छ । हाम्रो मन दुखाउने चेष्टा कृपया नगर्नुहोला ।
गजलका बारेमा छलफल हुन जरुरी छ । बहस पनि जरुरी छ । मात्र सिद्धान्तका कुरा लिएर अरुको भावनामा ठेस पुर्याउने अधिकार कसैलाई छैन । हामीले सिद्धान्त मान्दैनौँ कहिल्यै भनेका छैनौँ । हामी पनि गजललाई कसरी मर्यादित बनाउन सकिन्छ भन्ने कुरामा चिन्तित छौँ । हामी कानमा तेल हालेर बसेका छैनौँ । हामी नबोलेका मात्र हौँ । हामी लाटो होइनौँ ।
छन्दमा गजल लेख्नु हुनेहरूलाई हामीले हृदयदेखि स्वागत गरिरहेका छौँ । बहरमा लेखिरहनु भएकाहरुलाई पनि हामीले हृदयदेखि स्वागत गरिरहेका छौँ । हामीले कहिल्यै पनि छन्द र बहरमा लेखिएका गजलहरु गजल हैनन् भनेका छैनौँ । भन्ने पनि छैनौँ ।
गजल लेख्ने र सिक्नेक्रम हाम्रो जारी छ । जारी रहन्छ । यो सिलसिलामा छन्दमा गजल लेख्नु हुने, बहरमा गजल लेख्नु हुने र गैर बहरमा गजल लेख्नु हुने सबैले सबैलाई आत्मीय र सहृदयी तरिकाले गजलको विकास र उन्नतीलाई यहाँ सम्म ल्याइपुर्याएको सुखद् घटना हामी सामु छ ।
अहिले आएर यो सामाजिक सञ्जालमा गजलका केही उपबुज्रकहरू (सबैलाई भन्न खोजेको होइन, जो हिजो अस्तीमात्र यो सामाजिक सञ्जालमा देखा परेका छन्, कोही अलि अगाडि हामी पनि अग्रज हौँ भनी उदाएका छन्, कसैको उदाउने र अस्ताउने काम भइरहेको छ) गजल छन्दमा र बहरमामात्र हुनपर्छ भनेर रोइलो गरेको दुखद् घटना पनि देख्न परेको छ ।
स्वीकार गर्ने सिलसिलामा गैर बहरमा गजल लेख्नेहरुले बहर र छन्दमा लेखिएका गजलकारहरुको गजललाई अस्वीकार गर्ने सिलसिला अगाडि बढ्यो वा बढायौँ भने नेपाली गजलको अवस्था कस्तो होला ।
स्मरण रहोस् (जो सामाजिक सञ्जालमा रोइलो गरिररहेछन् उनीहरुलाईमात्र भनिएको हो) कुखुरालाई अन्डा यसरी पार्न पर्छ भनेर सिकाउने चेष्टा नगरेकै राम्रो । हामी नबोलेका मात्र हौँ । हामी लाटो होइनौँ ।
यो सामाजिक सञ्जालमा गैर बहरका गजललाई लिएर बहर र छन्दमा गजल लेख्नु हुने तपाइँहरु (सबैलाई भन्न खोजेको होइन,) ले फेरि पनि हाम्रा गजलमाथि अपमानका शब्दहरू खर्चिनु भयो भने हामी के गर्न सक्छौँ त्यसको हेक्का तपाइँहरूलाई छ ।
धन्यवाद ।
Note :
Copyright of Above Article Reserved with Writer