Showing posts with label Poem. Show all posts
Showing posts with label Poem. Show all posts

कवि अजित क्षेत्रीको कविता - मूल्य (Poem Mulya by Ajit Chhetri)-29-10-2018

NepaliTalim | 4:30:00 PM | 0 comments
कविता - मूल्य 

तिम्रो क्यानभाषको आयातन
बढेको पक्कै हो-
जब तिम्रा कुचीले कामुक मुस्कान वाली
बिश्वसुन्दरीको चित्र दुरुस्तै कोरेको थियो
तिम्रो क्यानभाषको मुल्य आकासिएको पक्कै हो
जब त्यसमा कोरीए-
नामुद नगरबधुको मोहनी मुस्कान,
चर्चित नेताको मुखाकृति,
दरबारमार्गको बुढो शिरिषको रुख
सिंहदरबार अगाडीका पृथ्वीनारायणको चोर औंला
र मार्क्स लेलिनका जुँगे तस्विर !
शहरले तिमीलाई रातारात महान् बनायो
तिम्रा सबै पेन्टिङ् हातहातै बिक्री भए
मनग्य पैसा कमायौ
सुनें, ठमेलको बिदेशी होटलमा सक्सेस पार्टी दियौ
तिम्रो सम्मानमा स्याम्पेन खोलिए
तालि बजाईए,
सुत्न लागेको सहर एकपल्ट पुनः बिउँझियो
तिमीलाई महान् चित्रकारको उपाधि दियो ।

तर,
ओ- महान् चित्रकार महोदय,
तिम्रो घरको एउटा कुनामा 
बर्षौंदेखी थन्क्याएर
बेवास्ता साथ फालिएकी म,
तिमी मातेर फर्कँदा
तिम्रो ह्विस्किको तातो नमिठो हस्कोले
हरेक रात निसास्सिई रहेकी छु
तिम्रो उत्तेजनाको डम्पिङ् साइट भएर
हरेक पटक म आफ्नै मृत्युको उत्सव
मनाईरहेछु

मध्यरातमा केही मिनेटको उपयोग पछि
म फेरी उपयोगहीन हुन्छु अर्को मध्यरातसम्म ।
मलाई यी रातहरु
बेश्यालयका नियमित ग्राहक जस्ता लाग्छन् ।

सक्छौ भने मलाई पनि फ्रेममा सजाएर
प्रदर्शनीमा राखिदेउ न
म आफ्नो मूल्य जान्न चाहन्छु ।

-अजित क्षेत्री
हाल: युएई

कवी वास्तविक मानवका ५ छोटा कविताहरू ( 5 Short poem by Wastabik Manab) - 07-10-2018

NepaliTalim | 5:30:00 PM | 0 comments
मेरा ५ छोटा कविता.
नाम- वास्तविक मानव
ठेगाना- बागलुङ् हाल काठमान्डौँ 
पेसा- विद्यार्थी –class 12- golden gate international college

छोटा कविता

१. "भुत"
सानै थिए,
चक्चक्  गर्थे
आँमा भन्नुहुन्थ्यो
“ऐले भुत आउँछ र खान्छभनेर।
“भुत आएर खाइहाल्यो भने?”
म पछी सम्मै पनि डराउँथे

तर आज ठूलो भएकोछु
डर छैन।
बरु आफ्नै जिन्दगी भुत भन्दा पनि
कयौँ गुणा भयानक लाग्न थालेकोछ।

२. "दसा"
 दसा बाजा बजाएर आउदैन,
भन्ने कुरा त थाहा थियो,
तर कहिलेकाही जोडतोडका साथ
 बाजा बजाएरै पनि आउँदोरहेछ।
तिमि, मेरो आँखै अघाडी
बाजा बजाएर गयौ।

३. 
चोकमा फूलहरूको
ब्यापार हुन छोडेपछी,
हिजै देखि हो,
ब्यापारी नानीले 
आफैलाई फूल बनाएर,
चोकमा सजाएको।

४.  “बाँस_घारी
 मलाई रातको बार बजे बोलायो।
म घरबाट, 
ओरालै-ओरालो बाटो हुँदै
बाँसघारीमा पुगे।

भोली पल्ट,
त्यहा 
झुन्डिएको एउटा  विवत्स लास भेटियो।

५.
बसमा,
बस्दै गरेको अवस्थामा
तिमीलाई मैले देखेपछी
तिम्रो फेस हेर्ने लालसाले,
फेसबुकमा के छिरेथे,
कुन बेला प्रेम बस्यो पत्तै भएन।

कवयित्री शुष्मा रुपाबुङ राईको कविता “लोकसेवा पिडित” _Poem Loksewa Pidit by Sushma Rupabung Rai

NepaliTalim | 11:10:00 AM | 0 comments
लोकसेवा पीडित
(कवयित्री शुष्मा रुपाबुङ राई)

फेल पार्नै बनाएको लोकसेवामा 
पटक पटक पास गर्ने कोशीस गर्दा- गर्दा
जोबन लोलाएको म एउटा लोकसेवा पीडितलाई
न्याय चाहियो हजुर!

स्वास्नी पीडित
लोग्ने पीडित
छिमेकी पीडित
प्रेमीप्रेमिका पीडित
सबै आफ्नो न्याय खोज्नको लागि
एकजुट भएर साझेदारीमा संस्था खोलिसके
आउनुहोस् कोही म जस्तै लोकसेवा पीडित
हुनुन्छ भने एकजुट भइ न्याय मागौ
बढीपीडित र भुकम्पपीडितको राहत खोस्नेहरुले
के देला र हाम्रो जोवनको आहत
तै पनि मन बुझाउने बहाना खोजौ कि भनेर
छटपटाइरहेछ यो मन….

जी.के. को खातिर,
सारा ब्राम्हाण्डको ग्रह, उपग्रह, उल्का
भोल्काको सङ्ख्या,
क्षेत्रफल,लम्बाइ चौडाइ
एकार्काको दुरी र सम्बन्ध
रटेकै हुन्छु
तर
मेरो उत्तरपुस्तिका जाच्ने समयमा
कहिले एउटा ग्रह ब्ल्याकहोलले
खाइदिएर सङ्ख्या घट्दो रहेछ
कहिले अर्को नयाँ ग्रह थपिदो रहेछ
कहिले मायाले एकार्काको दुरी
घटाऊदो रहेछ कहिले रिसले
दुरी बढाउदो रहेछ…

संसारका शक्त्तिशाली शासकहरुको
स्वास्नीको सङ्ख्या देखि
प्रत्येक सुहागरातको तिथिमिती
ठुलाबडाहरुको जन्ममिती देखि
मृत्‍युमितिहरु
कन्ठस्ट गरेकै हुन्छु
तर मैले जाच लेख्ने बेलामा
कहिले अर्को स्वास्नि थपेर
कहिले एउटा मरेर सङ्ख्या घटबढ् हुदो रहेछ..

सत्यगुग देखी त्रेतायुग, द्वापरयुग
र कलियुगहरुमा भएका विश्वयुद्द देखी
गृहयुद्द, प्रेमयुद्दका इतिहासका मितिहरु
घोकेकै हुन्छु
तर मैले लेख्ने बेलाको परिक्षामा, भर्खरै दुई पार्टिका
शिर्ष नेताहरुको ठुलो पदमा भागबन्ड नमिलेर
झगडा गरेको मिती
मैले पढ्ने लोकसेवाको किताबमा छापिनै
बाँकी प्रश्न सोधिदिन्छन…..

जसो तसो लेखाइमा पास भएकै थिए
अन्तर्वातामा बोलाएर सोध्यो
पोखराको बिचमा के छ?
सजिलो प्रश्न भनेर मनमनै फुरुङ्ग हुँदै भने
पोखराको बिचमा फेवातल छ सर !
उस्ले भन्यो -फेल! पोखरा को बिचमा ‘ख’ छ

अर्को पटक पनि अन्तर्वाता सम्म पुगेकै हुँ
फेरी उस्तै खालको प्रश्न गर्‍यो
इलामको बिचमा के छ??
पुरानै मोडेलको प्रश्न भनेर फेरी खुशी हुँदै
उत्तर दिए- इलाम को बिचमा ’ला’ छ सर!
उस्ले कड्किदै भन्यो- फेल! इलामको बिचमा
चियाबारि छ!!

र त म भन्दैछु यो फेल पार्नै बनाएको
लोकसेवामा पटक-पटक पास हुने
कोशीस गर्दा गर्दा कपाल फुलाएको
यो लोकसेवा पीडितलाई न्याय चाहियो हजुर!

आजकाल त आकाशमा चरा उडेको देख्नै हुन्न
समय र मिती टिप्न थालीहाल्छु
घरको मान्छेहरु सङ्गको सम्बन्ध केलाउनलाई
पनि I.Q शुत्र प्रयोग गर्न थालेको छु
एकपटक केटी माग्न जादा, केटीको बाउले
मेरो उमेर सोध्द्दा हतार हतार कलमले
हत्केलामा कोरेर IQसुत्र लाएर आफ्नो
उमेर निकाल्न थालेछु
आफ्नो उमेर पनि थाहा नपाउनेले छोरी
कसरी पाल्छ भनेर धपाइदिए….

सरकारी जागिर खाएर बिहे गरौला भनेको
प्रेमिकाको छोरा नै लाहुरे भईसक्यो
बाबा, आमालाई सुख दिने भनेको
पनि ईतिहास नै हुन लाग्यो
चुकचुक लाग्छ..
बरु उमेर हुँदै अरब गएको भए,
कमसेकम
चुहिने घरको छानो र
फाटेको आमाको चोलो
फेर्ने हैसियत त हुन्थ्यो..

कहिलेकाही घोरिएर सोच्छु,
इतिहासका ठेलिहरु घोकेर
आकाशका जुनाताराहरु गनेर
मान्छेहरुको जन्म र मृत्‍युको मिती रटेर
बाउ छोराको उमेरको अन्तर पत्ता लाएर
पास भएर लोकको सेवा गर्ने योग्य भए पछी
यिनै कुराहरु ब्याबहारमा लागु हुँदा हुन?
बरु कहिलेकाही सुनिन्छन
कार्यालयभित्र तास खेलिरहेका
कोही मस्त सुतिरहेका
कोही घुस लिरहेका
जुन कुराहरु न लोकसेवाको पाठ्यक्रमा
पढ्न नै पर्छ नत घोक्न रट्न नै!

मेरो त घोक्ने कुराहरु घोक्दा घोक्दै
रट्ने कुराहरु रट्दा रट्दै जोवन ढलिगयो
न खेतिबारी खन्ने जोस रह्यो नत
अरब जाने उमेर!!
म लोकसेवा पिडितलाई न्याय चाहियो हजुर
खवरदार! बृदाभत्ता पर्खि चै भन्नु नपाई!

शुष्मा रुपाबुङ(हाल-ब्रुनाई)
Source -Face book 
Note : Copyright of Above poem is reserved with Poet

कवि अजित क्षेत्रीको कविता अंश (Poem Ansha by Ajit Chhetri) - 29-12-2017

NepaliTalim | 1:57:00 PM | 0 comments
कविता-अंश
-क्षेत्री अजित
................

मैले नौ महिना गर्भमा पालेको
मेरो रगतको एक अंश
जसको पहिलो स्पर्शमा
म आफ्ना पीडा भुलेर
अल्हादीत भएकी थिएँ
जसको पहिलो रुवाईमा
म आमा बनेको खुसीले रोएथें
जसलाई तातेताते गराउँदा
मैले हिँड्न सिकेथें
जसको पापा मामा शब्दले
म पुलकीत भएथें
जसले खाँदा म अघाएथें
जसले निदाएसी निदाएथें
त्यही छोरो तिमी
आज भन्दैछौ
अंश चाहियो आमा म छुट्टिन्छु ।

बाबु किन चाहियो अंश ?
यो सबै तिम्रै त हो
लैजाउ पुरै लैजाउ ।

यो आँगन लैजाउ
यो मझेरी लैजाउ
जहाँ तिमी खेल्ने गर्थेउ
र म खेलिदिन्थेँ,
तिम्रा लागी बच्चा बनिदिन्थेँ
त्यो बालापन लैजाउ ।
तिम्रै खुसीमा लुटाएथें मैले जो
त्यो यौवन लैजाउ
लैजाउ सबैथोक लैजाउ
बस् मलाई नलैजाउ

किन माग्छौ अंश बाबु
लैजाउ पुरै लैजाउ ।

तिमीलाई बाह्रखरी लेख्न सिकाएथें
आँगन बाहिर टेक्न सिकाएथें
तिम्रा कलिला दाँत दुख्लान् भनि
चपाएर खुवाएथें
तिमीले आकाश छुने जिद गर्दा
मैले टाउकोमा बसाएथें
घाम लाग्दा छाता बनेथें
पानी पर्दा ओत बनेथें ।

बाबु सम्झना छ कि छैन ?
मेरो काख तिमीलाई
बिशाल संसार हुन्थ्यो
बिशाल रंगमन्च हुन्थ्यो
तिमी खेलेर थाक्दैनथ्यौ
निदाउँथ्यौ र लात्तिले हान्थ्यौ
छातिमै मेरो
म असह्य पीडा पनि बिर्सन्थें
र चुमिदिन्थें तिम्रा कलिला पाउ
अनि माडिदिन्थे दुख्यो कि भनि
मेरो छातीमा हान्दा ।

तिमीलाई लोरी सुनाएका
ति साँझ लैजाउ
आमा, म ठुलो भएसी पाल्छु भन्थ्यौ नी
अनि म आँखा टिल्पिलाउँदै मुस्कुराउथें
ति सबै याद लैजाउ ।

मात्र छाडी देउ मलाई
तिम्रो सहारा बनि बिताएको
मेरो एकल र उधारो जवानी ।

मलाई याद छ त्यो सुनौलो बिहान
जुन दिन तिमी गर्भमा बसेको थाहा पाएर
म पेट मुसारी मुसारी रोएथें ।
तिम्रो जन्ममाथी शंका गर्दै
तिम्रो कालो रंगमा कटाक्ष गर्दै
तिम्रा बाबु तिमी जन्मेकै दोस्रो दिन हिँडेथे
त्यसपछि कहिल्यै आएनन्
घरको हेला र समाजको तिरस्कार सहें
घाम पानी र पसिना सहें
बेश्या बनें
बोक्सी बनें
अलक्षिनी बनें
जे जे म थिईन ति सबै बनें
ति सबै मलाई छाडिदेउ ।
लैजाउ तिम्रो स्वाभिमान लैजाउ
लैजाउ तिम्रो अभिमान लैजाउ
तिमी पेटमा हुँदा तिम्रै खातिर सम्झने
मेरा प्रिय भगवान लैजाउ ।

तिम्ले टेक्ने अलग्गै धर्ती छ भने लैजाउ
सास फेर्ने अलग्गै बतास लैजाउ
तिम्लाई चाहिएला यो आकास लैजाउ ।

मलाई बाँच्न एक मुठ्ठी सास भए पुग्छ
बाँकी सबै तिमी लैजाउ
किन माग्छौ अंश छोरा
यो सबै तिम्रो हो सबै लैजाउ
जो म तिम्री हुन सकिन
मलाई मसंगै छाड
बाँकी तिम्रै हो सबै लैजाऊ ।

स्याङ्जा,
हाल:युएई

महिला सिट -राम शरण श्रेष्ठ

NepaliTalim | 12:42:00 PM | 0 comments
कविता -महिला सिट
..........................
करिव पचहत्तरको बुढा मान्छे
उभिएको छ बल्ल तल्ल  सकि नसकी
मेरो ठिक अगाडी
एकहातमा लठ्ठिी अर्कोले डन्डी समातेर
माइक्रोमा सँगै

कार्यलय खुल्ने समय
खचाखच छ माइक्रो
भित्र सर्नुस मिलेर बस्नुस्
बच्चा काखमा लिनुस्
नत्र पैसा लाग्छ
भन्दै ढोकाबाट हुरुरुरु
प्यसेन्जर हुल्न सफल  हुन्छ ।

खँलासी,
मुसुक्क हाँस्छ ।
चिच्याउँछ हरेक रोकिएको ठाउँमा
भन्दै
टिचिङ्ग कान्ति चक्रपथ गोल्फुटार नारायनथान ...

सबै हतारमा
कस्लाई कस्को के मतलब
यहाँ ...

२०–२२ का तरुनीहरु
हल्ला गर्दैछन् पहिलो सिटमा
फेसबुक स्टाटस र कमेन्टहरुका बारेमा
कुराकानी गरिरहेछन् ।।

अन्तिम सिटबाट कसैले बोल्यो
सिट छोडिदेओ नानिहो
बुढा बा लाई

यो त महिला सिट हो नि बाजे ।
महिला सिट बोल्यो,

सबै चुपचाप ।
बुढा बा बोल्नुहुन्छ ।
यस्तै रैछ हाम्रो नयाँ नेपालमा ।

धन्यवाद !!


राम शरण श्रेष्ठ
चिसापानी रामेछाप

अजित क्षेत्रीको कविता -चिठ्ठी (Poem -Chiththi by Poet Ajit Chhetri) - 26-10-2017

NepaliTalim | 10:21:00 AM | 0 comments


कविता - चिठ्ठी
-क्षेत्री अजित
------------
प्रिय,
कुनैदिन म गएछु भने
तिमीबाट टाढा भएछु भने
लेखिदिनु एउटा बिरही गीत,
खसी जाने शितको सम्झनामा
पैयुँको बोटमा जुनकीरिले गाए जस्तो

बिरहको कुनै अँध्यारो रातमा
तिमीलाई सम्झि रुँदै रुँदै
म गाउनेछु ।

म खसेछु भने
मिर्मिरेमा तारा खसेजस्तो,
म बगेछु भने
सागरमा पुतली बगेजस्तो,
चढाई दिनु दुई थुँगा फूल,
लाहुर हिँडेको सिपाहीले
फेरी भेट्ने बाचा गर्दै
पियारीको सम्झनामा
सिमलको फेँदमा
पाती चढाए जस्तो

तिमीले बिर्स्यौ भने पनि 
त्यै बाटो ओहोर दोहोर गर्दा
म झस्काउन आउनेछु
तिमीले डराए पनि
म तर्साइ रहनेछु ।

प्रिय, लेखिदिनु एउटा गीत
कुनै चिसो बिहान
तिम्रो सम्झनाले 
बेस्सरी मुटु पोल्दा
म गाइरहनेछु ।

आमालाई पछ्याउँदै रुँदै रुँदै
बजार पुगेको बालक
कतै बजारको भिडमै हराए जस्तो,
गुँडमा बचेरा छाडी
आहार खोज्न निस्केको हाँस
कतै सिकारीको जालमा परे जस्तो
समयको जन्जिरमा म परेछु भनें,
बर्षौंदेखी हुलाकको बाकसमा थन्केको
गुमनाम चिठ्ठी जस्तो,
म यतै मरूभूमीमा बेकसुर मरेछु भने

हाली दिनु ईश्वरको अदालतमा
एउटा मुद्दा
ईश्वरकै बिरुद्धमा

म ईश्वरकै अगाडी उभिएर
ईश्वर मरेको घोषणा गर्नेछु
र,
त्यसैदिन देखि च्यातेर
ईश्वरको तस्बिर 
मेरो तस्विरमा तिमी
फुल अक्षता चढाउने छ्यौ

त्यै तस्बिरको म,
तिमी मस्त निदाएको देखेर
मुस्कुराउने छु ।

प्रिय, लेखिदिनु एउटा गीत
बिरहको कुनै अँध्यारो रातमा
तिमीलाई सम्झि रुँदै रुँदै
म गाउने छु ।

अजित क्षेत्री
-युएई

Note : Copyright of Above Poem is reserved with Poet

कवि अजित क्षेत्रीको कविता -प्रेम-एक अन्तहीन यात्रा (Poem by Ajit Chhetri -Prem Ek Antahin Yatra) -13-10-2017

NepaliTalim | 3:58:00 PM | 0 comments
प्रेम-एक अन्तहीन यात्रा
कबिता/क्षेत्री अजित

महिना दिनको
माइत बसाईं पछि
भेट्ने तिब्र चाहनामा
ऊ आई हुईकिँदै
दौडिँदै
एक सासमा बेगले
आँगन, र
आँगन हुँदै पिँडी
अनि भुइँतलाको
त्यो सानो कोठा
जहाँ म आतुर थिएँ
ऊ अर्थात्
मेरी पत्नीसँग आलिंगनको,
एउटा न्यानो अंगालोको
भुमरीमा
आफूलाई बिसर्जन गर्न ।

उ आई
चिसो प्रेमिल बतास आयो
सागरको लहर आयो
संघारमै
र त्यसमै म बगेँ
उसले हात दिई
समाई
काखमा राखी
उसैगरी
जसरी
काखमा राख्नु हुन्थ्यो
मलाई मेरी आमा

उ झुकी
बादल जस्तो घना कपाल
मेरो छातीमा बिसाई
ईनार जस्ता गहिरा आँखा
मेरो आँखामा जुधाई
म चितुवाको पञ्जामा परेको
मृग सरी आत्मसमर्पण गरें
लाग्दैथ्यो
उसले सिकार गरिसकि
र, अब खान्छे पनि
काँचै मलाई ।

सागरमा पानी बढ्दै थियो
लहर उठ्दै थियो
तुफान आउनु अगाडीको
समुन्द्री किनार जस्तो
हलचल र कम्पन थियो
ब्यग्र प्रतिक्षा थियो
उग्र चाहना थियो
मिठो मिलन थियो
उ ममा र म उमा
कैद थियौ बेकसुर
प्रेमको अन्तहीन जेलमा

छोरा टिभी हेर्दै थियो
हामी एक अर्कालाई बेर्दै थियौं,

लाग्दैथ्यो-
यो समयको सुई यहिँ रोकिदिऊँ
अनि बिताउँ एक युग
यही अवस्थामा
यही हालतमा ।

आँखा बन्द थिए
तर हामी यात्रामा थियौं
बिना पाइला
बिना बाटो
प्रेमको एक सुदुर यात्रामा ।

हामी सिमानामा थियौं
दुई ज्यानको
दुई मनको ।
तर निसंकोच उ हस्तक्षेप गर्दै थि
मेरो सिमाना माथी
मेरो अस्तित्व माथी
म खुसी र आन्दले लुटिँदै थिएँ
मिचिँदै थिएँ
सोंच्न सकिन-यो कस्तो खेल हो
न हार हुने न जीत ?

अनायसै उसले सोधी-
प्रिय तिमी कसलाई सबैभन्दा
बढ्दा प्रेम गर्छौ ?
मैले निशंकोच जवाफ दिएँ-आमा

प्रेमको यो महासागरमा
डब्नै लाग्दा पनि मैले
आमालाई भुल्न सकिन
मेरो पहिलो प्यार त्यो ।

हो म आमालाई
संसारमै सबैभन्दा बढि मायाँ गर्छु
प्रिय,तिमीमा पनि त म
आमाको एक अंश भेटाउँछु

अचानक छोरो आईपुग्छ
आफ्नी आमाको काखमा
र,लुटपुटिन्छ उसैगरी
जसरी लुटपुटिन्थेँ म
काखमा मेरी आमाको ।

प्रिय, तिमी
मेरो छोराको पहिलो प्रेम हौ
र,मेरो अन्तिम प्रेम
एक अन्तहीन प्रेमको जननी तिमी ।।

- युएई

Note :
Copyright of Above Poem reserved with Poet 

कवि अजित क्षेत्रीकाे कविता बुख्याँचाहरू (Poem Bukhyachaharu by Ajit Chhetri) - 11-10-2017

NepaliTalim | 11:07:00 AM | 0 comments
कविता - बुख्याँचाहरू
क्षेत्री अजित 
....
धेरै पहिले
हातमा मसाल र लाठी लिएर
अनिदो पहाडमा जम्मा भए
एक हुल बुख्याँचाहरू
र,त्यो बुढो घरमा हमला गरे
आगो लगाए
नारा लगाए
जिन्दाबाद
मुर्दाबाद
भिड जम्मा भयो
भिडमै मिसिएँ म पनि ।

बुख्याँचाहरू भन्दै थिए-
यो पुरानो सामन्ती महलमा
सेता माकुराले जालो लगाएको छ
यहि जीर्ण महलमा लुकेर
दुष्ट सेतो माकुराले
गाउँलेलाई सताएको छ
बाटो छेकेको छ
बाली बिगारेको छ
गाउँलेलाई डसेको छ

गाउँलेले आगो लगाए
सेता माकुराको जालोमा,
घर जल्यो- माकुरा जले
जीर्ण घर ढल्यो
सेता माकुराको साम्राज्य पनि ढल्यो ।

भिड रमायो
म पनि रमाएँ
गाउँलेले भने मुक्त भयौं
हामीले जित्यौं ।

समय बित्यो
गाउँबाट बुख्याँचा गायव भए
थाहा भयो
बुख्याँचाहरूले जलेको महलको
खण्डहरमा नयाँ महल बनाए
र, आँफूलाई सर्वश्रेष्ठ प्राणी
घोषित गरे ।

महलको सम्पन्नताले अहिले
बुख्याँचा मातेका छन्
एक आपसमै लडेका छन्
गिरेका छन्
गिराएका छन्
मरेका छन् मारेका छन्  ।

गाउँमा नयाँ आतँकको
जन्म भएको छ
सेतो माकुरो होइन
काला बुख्याँचाहरू
सेतो बर्को ओढेर
गाउँलेहरुलाई सताएका छन्
उसैगरी
जसरी हिँजो सेता माकुराले
गाउँलेलाई सताएका थिए ।

क्षेत्री अजित 
स्याङ्जा
हाल:युएई

Note :
Copyright of Above Poem reserved with Poet 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger