Showing posts with label अतिथि कविताहरु. Show all posts
Showing posts with label अतिथि कविताहरु. Show all posts

कवि अजित क्षेत्रीको कविता - मूल्य (Poem Mulya by Ajit Chhetri)-29-10-2018

NepaliTalim | 4:30:00 PM | 0 comments
कविता - मूल्य 

तिम्रो क्यानभाषको आयातन
बढेको पक्कै हो-
जब तिम्रा कुचीले कामुक मुस्कान वाली
बिश्वसुन्दरीको चित्र दुरुस्तै कोरेको थियो
तिम्रो क्यानभाषको मुल्य आकासिएको पक्कै हो
जब त्यसमा कोरीए-
नामुद नगरबधुको मोहनी मुस्कान,
चर्चित नेताको मुखाकृति,
दरबारमार्गको बुढो शिरिषको रुख
सिंहदरबार अगाडीका पृथ्वीनारायणको चोर औंला
र मार्क्स लेलिनका जुँगे तस्विर !
शहरले तिमीलाई रातारात महान् बनायो
तिम्रा सबै पेन्टिङ् हातहातै बिक्री भए
मनग्य पैसा कमायौ
सुनें, ठमेलको बिदेशी होटलमा सक्सेस पार्टी दियौ
तिम्रो सम्मानमा स्याम्पेन खोलिए
तालि बजाईए,
सुत्न लागेको सहर एकपल्ट पुनः बिउँझियो
तिमीलाई महान् चित्रकारको उपाधि दियो ।

तर,
ओ- महान् चित्रकार महोदय,
तिम्रो घरको एउटा कुनामा 
बर्षौंदेखी थन्क्याएर
बेवास्ता साथ फालिएकी म,
तिमी मातेर फर्कँदा
तिम्रो ह्विस्किको तातो नमिठो हस्कोले
हरेक रात निसास्सिई रहेकी छु
तिम्रो उत्तेजनाको डम्पिङ् साइट भएर
हरेक पटक म आफ्नै मृत्युको उत्सव
मनाईरहेछु

मध्यरातमा केही मिनेटको उपयोग पछि
म फेरी उपयोगहीन हुन्छु अर्को मध्यरातसम्म ।
मलाई यी रातहरु
बेश्यालयका नियमित ग्राहक जस्ता लाग्छन् ।

सक्छौ भने मलाई पनि फ्रेममा सजाएर
प्रदर्शनीमा राखिदेउ न
म आफ्नो मूल्य जान्न चाहन्छु ।

-अजित क्षेत्री
हाल: युएई

कवयित्री शुष्मा रुपाबुङ राईको कविता “लोकसेवा पिडित” _Poem Loksewa Pidit by Sushma Rupabung Rai

NepaliTalim | 11:10:00 AM | 0 comments
लोकसेवा पीडित
(कवयित्री शुष्मा रुपाबुङ राई)

फेल पार्नै बनाएको लोकसेवामा 
पटक पटक पास गर्ने कोशीस गर्दा- गर्दा
जोबन लोलाएको म एउटा लोकसेवा पीडितलाई
न्याय चाहियो हजुर!

स्वास्नी पीडित
लोग्ने पीडित
छिमेकी पीडित
प्रेमीप्रेमिका पीडित
सबै आफ्नो न्याय खोज्नको लागि
एकजुट भएर साझेदारीमा संस्था खोलिसके
आउनुहोस् कोही म जस्तै लोकसेवा पीडित
हुनुन्छ भने एकजुट भइ न्याय मागौ
बढीपीडित र भुकम्पपीडितको राहत खोस्नेहरुले
के देला र हाम्रो जोवनको आहत
तै पनि मन बुझाउने बहाना खोजौ कि भनेर
छटपटाइरहेछ यो मन….

जी.के. को खातिर,
सारा ब्राम्हाण्डको ग्रह, उपग्रह, उल्का
भोल्काको सङ्ख्या,
क्षेत्रफल,लम्बाइ चौडाइ
एकार्काको दुरी र सम्बन्ध
रटेकै हुन्छु
तर
मेरो उत्तरपुस्तिका जाच्ने समयमा
कहिले एउटा ग्रह ब्ल्याकहोलले
खाइदिएर सङ्ख्या घट्दो रहेछ
कहिले अर्को नयाँ ग्रह थपिदो रहेछ
कहिले मायाले एकार्काको दुरी
घटाऊदो रहेछ कहिले रिसले
दुरी बढाउदो रहेछ…

संसारका शक्त्तिशाली शासकहरुको
स्वास्नीको सङ्ख्या देखि
प्रत्येक सुहागरातको तिथिमिती
ठुलाबडाहरुको जन्ममिती देखि
मृत्‍युमितिहरु
कन्ठस्ट गरेकै हुन्छु
तर मैले जाच लेख्ने बेलामा
कहिले अर्को स्वास्नि थपेर
कहिले एउटा मरेर सङ्ख्या घटबढ् हुदो रहेछ..

सत्यगुग देखी त्रेतायुग, द्वापरयुग
र कलियुगहरुमा भएका विश्वयुद्द देखी
गृहयुद्द, प्रेमयुद्दका इतिहासका मितिहरु
घोकेकै हुन्छु
तर मैले लेख्ने बेलाको परिक्षामा, भर्खरै दुई पार्टिका
शिर्ष नेताहरुको ठुलो पदमा भागबन्ड नमिलेर
झगडा गरेको मिती
मैले पढ्ने लोकसेवाको किताबमा छापिनै
बाँकी प्रश्न सोधिदिन्छन…..

जसो तसो लेखाइमा पास भएकै थिए
अन्तर्वातामा बोलाएर सोध्यो
पोखराको बिचमा के छ?
सजिलो प्रश्न भनेर मनमनै फुरुङ्ग हुँदै भने
पोखराको बिचमा फेवातल छ सर !
उस्ले भन्यो -फेल! पोखरा को बिचमा ‘ख’ छ

अर्को पटक पनि अन्तर्वाता सम्म पुगेकै हुँ
फेरी उस्तै खालको प्रश्न गर्‍यो
इलामको बिचमा के छ??
पुरानै मोडेलको प्रश्न भनेर फेरी खुशी हुँदै
उत्तर दिए- इलाम को बिचमा ’ला’ छ सर!
उस्ले कड्किदै भन्यो- फेल! इलामको बिचमा
चियाबारि छ!!

र त म भन्दैछु यो फेल पार्नै बनाएको
लोकसेवामा पटक-पटक पास हुने
कोशीस गर्दा गर्दा कपाल फुलाएको
यो लोकसेवा पीडितलाई न्याय चाहियो हजुर!

आजकाल त आकाशमा चरा उडेको देख्नै हुन्न
समय र मिती टिप्न थालीहाल्छु
घरको मान्छेहरु सङ्गको सम्बन्ध केलाउनलाई
पनि I.Q शुत्र प्रयोग गर्न थालेको छु
एकपटक केटी माग्न जादा, केटीको बाउले
मेरो उमेर सोध्द्दा हतार हतार कलमले
हत्केलामा कोरेर IQसुत्र लाएर आफ्नो
उमेर निकाल्न थालेछु
आफ्नो उमेर पनि थाहा नपाउनेले छोरी
कसरी पाल्छ भनेर धपाइदिए….

सरकारी जागिर खाएर बिहे गरौला भनेको
प्रेमिकाको छोरा नै लाहुरे भईसक्यो
बाबा, आमालाई सुख दिने भनेको
पनि ईतिहास नै हुन लाग्यो
चुकचुक लाग्छ..
बरु उमेर हुँदै अरब गएको भए,
कमसेकम
चुहिने घरको छानो र
फाटेको आमाको चोलो
फेर्ने हैसियत त हुन्थ्यो..

कहिलेकाही घोरिएर सोच्छु,
इतिहासका ठेलिहरु घोकेर
आकाशका जुनाताराहरु गनेर
मान्छेहरुको जन्म र मृत्‍युको मिती रटेर
बाउ छोराको उमेरको अन्तर पत्ता लाएर
पास भएर लोकको सेवा गर्ने योग्य भए पछी
यिनै कुराहरु ब्याबहारमा लागु हुँदा हुन?
बरु कहिलेकाही सुनिन्छन
कार्यालयभित्र तास खेलिरहेका
कोही मस्त सुतिरहेका
कोही घुस लिरहेका
जुन कुराहरु न लोकसेवाको पाठ्यक्रमा
पढ्न नै पर्छ नत घोक्न रट्न नै!

मेरो त घोक्ने कुराहरु घोक्दा घोक्दै
रट्ने कुराहरु रट्दा रट्दै जोवन ढलिगयो
न खेतिबारी खन्ने जोस रह्यो नत
अरब जाने उमेर!!
म लोकसेवा पिडितलाई न्याय चाहियो हजुर
खवरदार! बृदाभत्ता पर्खि चै भन्नु नपाई!

शुष्मा रुपाबुङ(हाल-ब्रुनाई)
Source -Face book 
Note : Copyright of Above poem is reserved with Poet

अजित क्षेत्रीको कविता -चिठ्ठी (Poem -Chiththi by Poet Ajit Chhetri) - 26-10-2017

NepaliTalim | 10:21:00 AM | 0 comments


कविता - चिठ्ठी
-क्षेत्री अजित
------------
प्रिय,
कुनैदिन म गएछु भने
तिमीबाट टाढा भएछु भने
लेखिदिनु एउटा बिरही गीत,
खसी जाने शितको सम्झनामा
पैयुँको बोटमा जुनकीरिले गाए जस्तो

बिरहको कुनै अँध्यारो रातमा
तिमीलाई सम्झि रुँदै रुँदै
म गाउनेछु ।

म खसेछु भने
मिर्मिरेमा तारा खसेजस्तो,
म बगेछु भने
सागरमा पुतली बगेजस्तो,
चढाई दिनु दुई थुँगा फूल,
लाहुर हिँडेको सिपाहीले
फेरी भेट्ने बाचा गर्दै
पियारीको सम्झनामा
सिमलको फेँदमा
पाती चढाए जस्तो

तिमीले बिर्स्यौ भने पनि 
त्यै बाटो ओहोर दोहोर गर्दा
म झस्काउन आउनेछु
तिमीले डराए पनि
म तर्साइ रहनेछु ।

प्रिय, लेखिदिनु एउटा गीत
कुनै चिसो बिहान
तिम्रो सम्झनाले 
बेस्सरी मुटु पोल्दा
म गाइरहनेछु ।

आमालाई पछ्याउँदै रुँदै रुँदै
बजार पुगेको बालक
कतै बजारको भिडमै हराए जस्तो,
गुँडमा बचेरा छाडी
आहार खोज्न निस्केको हाँस
कतै सिकारीको जालमा परे जस्तो
समयको जन्जिरमा म परेछु भनें,
बर्षौंदेखी हुलाकको बाकसमा थन्केको
गुमनाम चिठ्ठी जस्तो,
म यतै मरूभूमीमा बेकसुर मरेछु भने

हाली दिनु ईश्वरको अदालतमा
एउटा मुद्दा
ईश्वरकै बिरुद्धमा

म ईश्वरकै अगाडी उभिएर
ईश्वर मरेको घोषणा गर्नेछु
र,
त्यसैदिन देखि च्यातेर
ईश्वरको तस्बिर 
मेरो तस्विरमा तिमी
फुल अक्षता चढाउने छ्यौ

त्यै तस्बिरको म,
तिमी मस्त निदाएको देखेर
मुस्कुराउने छु ।

प्रिय, लेखिदिनु एउटा गीत
बिरहको कुनै अँध्यारो रातमा
तिमीलाई सम्झि रुँदै रुँदै
म गाउने छु ।

अजित क्षेत्री
-युएई

Note : Copyright of Above Poem is reserved with Poet

कवि अजित क्षेत्रीको कविता -प्रेम-एक अन्तहीन यात्रा (Poem by Ajit Chhetri -Prem Ek Antahin Yatra) -13-10-2017

NepaliTalim | 3:58:00 PM | 0 comments
प्रेम-एक अन्तहीन यात्रा
कबिता/क्षेत्री अजित

महिना दिनको
माइत बसाईं पछि
भेट्ने तिब्र चाहनामा
ऊ आई हुईकिँदै
दौडिँदै
एक सासमा बेगले
आँगन, र
आँगन हुँदै पिँडी
अनि भुइँतलाको
त्यो सानो कोठा
जहाँ म आतुर थिएँ
ऊ अर्थात्
मेरी पत्नीसँग आलिंगनको,
एउटा न्यानो अंगालोको
भुमरीमा
आफूलाई बिसर्जन गर्न ।

उ आई
चिसो प्रेमिल बतास आयो
सागरको लहर आयो
संघारमै
र त्यसमै म बगेँ
उसले हात दिई
समाई
काखमा राखी
उसैगरी
जसरी
काखमा राख्नु हुन्थ्यो
मलाई मेरी आमा

उ झुकी
बादल जस्तो घना कपाल
मेरो छातीमा बिसाई
ईनार जस्ता गहिरा आँखा
मेरो आँखामा जुधाई
म चितुवाको पञ्जामा परेको
मृग सरी आत्मसमर्पण गरें
लाग्दैथ्यो
उसले सिकार गरिसकि
र, अब खान्छे पनि
काँचै मलाई ।

सागरमा पानी बढ्दै थियो
लहर उठ्दै थियो
तुफान आउनु अगाडीको
समुन्द्री किनार जस्तो
हलचल र कम्पन थियो
ब्यग्र प्रतिक्षा थियो
उग्र चाहना थियो
मिठो मिलन थियो
उ ममा र म उमा
कैद थियौ बेकसुर
प्रेमको अन्तहीन जेलमा

छोरा टिभी हेर्दै थियो
हामी एक अर्कालाई बेर्दै थियौं,

लाग्दैथ्यो-
यो समयको सुई यहिँ रोकिदिऊँ
अनि बिताउँ एक युग
यही अवस्थामा
यही हालतमा ।

आँखा बन्द थिए
तर हामी यात्रामा थियौं
बिना पाइला
बिना बाटो
प्रेमको एक सुदुर यात्रामा ।

हामी सिमानामा थियौं
दुई ज्यानको
दुई मनको ।
तर निसंकोच उ हस्तक्षेप गर्दै थि
मेरो सिमाना माथी
मेरो अस्तित्व माथी
म खुसी र आन्दले लुटिँदै थिएँ
मिचिँदै थिएँ
सोंच्न सकिन-यो कस्तो खेल हो
न हार हुने न जीत ?

अनायसै उसले सोधी-
प्रिय तिमी कसलाई सबैभन्दा
बढ्दा प्रेम गर्छौ ?
मैले निशंकोच जवाफ दिएँ-आमा

प्रेमको यो महासागरमा
डब्नै लाग्दा पनि मैले
आमालाई भुल्न सकिन
मेरो पहिलो प्यार त्यो ।

हो म आमालाई
संसारमै सबैभन्दा बढि मायाँ गर्छु
प्रिय,तिमीमा पनि त म
आमाको एक अंश भेटाउँछु

अचानक छोरो आईपुग्छ
आफ्नी आमाको काखमा
र,लुटपुटिन्छ उसैगरी
जसरी लुटपुटिन्थेँ म
काखमा मेरी आमाको ।

प्रिय, तिमी
मेरो छोराको पहिलो प्रेम हौ
र,मेरो अन्तिम प्रेम
एक अन्तहीन प्रेमको जननी तिमी ।।

- युएई

Note :
Copyright of Above Poem reserved with Poet 

कवि अजित क्षेत्रीकाे कविता बुख्याँचाहरू (Poem Bukhyachaharu by Ajit Chhetri) - 11-10-2017

NepaliTalim | 11:07:00 AM | 0 comments
कविता - बुख्याँचाहरू
क्षेत्री अजित 
....
धेरै पहिले
हातमा मसाल र लाठी लिएर
अनिदो पहाडमा जम्मा भए
एक हुल बुख्याँचाहरू
र,त्यो बुढो घरमा हमला गरे
आगो लगाए
नारा लगाए
जिन्दाबाद
मुर्दाबाद
भिड जम्मा भयो
भिडमै मिसिएँ म पनि ।

बुख्याँचाहरू भन्दै थिए-
यो पुरानो सामन्ती महलमा
सेता माकुराले जालो लगाएको छ
यहि जीर्ण महलमा लुकेर
दुष्ट सेतो माकुराले
गाउँलेलाई सताएको छ
बाटो छेकेको छ
बाली बिगारेको छ
गाउँलेलाई डसेको छ

गाउँलेले आगो लगाए
सेता माकुराको जालोमा,
घर जल्यो- माकुरा जले
जीर्ण घर ढल्यो
सेता माकुराको साम्राज्य पनि ढल्यो ।

भिड रमायो
म पनि रमाएँ
गाउँलेले भने मुक्त भयौं
हामीले जित्यौं ।

समय बित्यो
गाउँबाट बुख्याँचा गायव भए
थाहा भयो
बुख्याँचाहरूले जलेको महलको
खण्डहरमा नयाँ महल बनाए
र, आँफूलाई सर्वश्रेष्ठ प्राणी
घोषित गरे ।

महलको सम्पन्नताले अहिले
बुख्याँचा मातेका छन्
एक आपसमै लडेका छन्
गिरेका छन्
गिराएका छन्
मरेका छन् मारेका छन्  ।

गाउँमा नयाँ आतँकको
जन्म भएको छ
सेतो माकुरो होइन
काला बुख्याँचाहरू
सेतो बर्को ओढेर
गाउँलेहरुलाई सताएका छन्
उसैगरी
जसरी हिँजो सेता माकुराले
गाउँलेलाई सताएका थिए ।

क्षेत्री अजित 
स्याङ्जा
हाल:युएई

Note :
Copyright of Above Poem reserved with Poet 

कवि अजित क्षेत्रीको कविता- कविताको खेती (Poet Ajit Chhetri with Kabitako Kheti) : 18-08-2017

NepaliTalim | 4:43:00 PM | 0 comments


कविता -कविताको खेती 
-क्षेत्री अजित

भोक र शोकमा पनि हाँस्ने
अभाव र दुःखमा पनि बाँच्ने
रित्तो गोजी तर सधैं ब्यस्त जीवन
कवि तिमी महान छौ
भोकमै महाकविले कविता लेखे
भोकमै भुपीहरूले देश लेखे
तर लेखेनन् कहिल्यै दुःखका कविता
यहाँ भोका कविले
वीरताको कविता लेखे
स्वाभिमान र सम्पन्नताको कविता लेखे
रोगले थलिँदा लेखे
आँखा कमजोर हुँदा लेखे

तर लेखेनन् आफ्नै कथा
तर लेखेनन् आफ्नै कविता ।


अर्काको जीवनको करौंतीमा
साँध लगाउने कविहरू
आफ्नै जीवनको आँगनको
डिल भत्किएको देखेनन्
खरानीको चिहानमाथि
लासको सिरानी हालेर कविले
जीवनसँग युद्ध हारेर जानेको
कविता लेखे
तर लेखेनन् आफ्नै कविता
लेखेनन् जीवनको तमसुकमा
राता अक्षरले लेखिएका
अभागी प्रेमीका कथा ।


त्यसैले कविता
म लेख्नेछु मेरै कलमको निबको कथा

म लेख्नेछु मेरै कलमको निबको कथा


म लेख्नेछु
गाई गोठ जाँदा
आफ्नै हजुरबाबाट बलात्कृत
हजारौं पूजाहरूको कविता
म लेख्नेछु
परदेशी श्रीमानले
आफ्नी पापीनीको बियोगमा लेखेको
मृत्युपत्रको कथा
हो यहाँ दिनहुँ मरिरहेछन्
थुप्रै पूजा र रामबहादुर
प्रिय,
मेरो मृत्युमा पनि छपाई देऊ है
मेरो समवेदना बिज्ञापन
मलाई पत्रिकामा छापिएको
आफ्नै फोटो औधी मन पर्छ
तिमीभन्दा पनि ।

नेपाल कविताको देश
नेपाल कविहरूको देश
नेपाल कथाकारको देश हो

हेर त
हिमालका सेता भिरहरूमा
कविता लटरम्म फलेका
हेर त तराईका फाँटहरूमा
धानभन्दा कथा धेरै फलेका
यो माटो उर्वर छ
यो माटोले कवि नि जन्माउँछ
कविता नि जन्माउँछ
कविताको सिंगै सगरमाथा
यहाँ वर्षौंदेखी कविताकै पहाडमाथि
उभिएर मुस्कुराइरहेछ ।


म पनि यस वर्षदेखि
कविताकै खेती गर्छु
साहुजी हजुरको पसलमा
दुई केजी कविताको बिऊ छ होला ?

वर्षा यामको ब्यस्त आकाशमा
जब बादलले तातो हावासँग
सहबास गर्नेछिन्
तब प्रकृति लाजले ओढ्नेछिन्
इन्द्रेणीको घुम्टो
म हुनेछु ब्यस्त
आफ्नै जिन्दगीका बाँझा
खेतहरूमा कविताको बिऊ छर्न
कविता तिमी उसैगरी फल्नु है
जसरी फलेकी थियौ
देवकोटाको शाकुन्तलमा
जसरी फलेकी थियौ
घिमिरेको गौरी काव्यमा
कविताको देशमा म पनि
अब कविताको खेती गर्छु ।

भोका किसानको अनाज मिठो
भोका कविको कविता मिठो
तर खै कुन्नि मेरा कविता
कस्ता हुनेछन्
किनकि म भोको छैन
म अघाएको छु
टन्न पेटभरी खाएको छु
अपमान
तिरस्कार
घात
लात
हो म अघाएको छु
भोका र गरिब कविको देशमा
मेरा कविताको खेती
खडेरीमा पर्ने हो कि
अतिबृष्टीले मर्ने हो
तर म लेख्नेछैन
बिरताको कविता
स्वाभिमानको कविता
सम्पन्नताको कविता
म लेख्नेछैन
अधबैँसे गौरीको कथा
जसले छाडेकी थि
आफ्नो प्रिय माधवलाई
प्रीतिको गहिरो सागरमा एक्लै
म लेख्ने छैन
पापीनी मुनाको कथा
जसले पठाएकी थिई
मदनलाई
भोटको जंगलमा एक्लै
म लेख्नेछु
गौरीको बियोगमा भोटाहिटीको गल्लीमा
चिसो कोठामा
आँसुको सर्वत पिएर
बिरही छन्द लेख्ने
घिमिरे माधवको कथा
म लेख्नेछु
भोटको जंगलमा
रोग र शोकले थलिएका
मेरा प्रिय मदनको कथा
म लेख्नेछु
मेरो आफ्नै कविता
मेरा जीवनका उजाड पाखाहरूमा
म लटरम्म कविता फलाउने छु
हो,
यस वर्षदेखि म
कविताको खेती गर्नेछु ।

-क्षेत्री अजित
स्याङ्जा, हाल: युएई

Note : Copyright Reserved with Poet

कवि अजित क्षेत्रीको 'म बहुलाएको छु' शिर्षकको गद्य कविता (Ma Bahulayeko Chhu-Poem by Ajit Chhetri) -06-05-2016

NepaliTalim | 10:05:00 AM | 0 comments
अजित क्षेत्री
कविता - म बहुलाएको छु
-अजित क्षेत्री
.....................
यी पत्थरका ईश्वर
अनि कर्कट जस्तै मान्छे
डडेलोले छोपेको आकाश

रुमानी सपनाहरूको कारखाना
ओ प्रिय
मसँग प्रेमका कुरा नगर
म त बहुलाएको छु

जुनदिन म काठमाडौँ हिँडेको थें
रातो टीका र फूल दिएर
बहिनीले भनेकी थिइन्-
दाइ ठुलो मान्छे बनेस् है
काठमाडौँको भूगोलमा मैले
जीवनका गोरेटा खन्नु थियो
बहिनीले भनेजस्तै ठूलो
र बाबाले भनेजस्तै
असल मान्छे बन्नु थियो
अनि जितेर ल्याउनु थियो
आमाका सपनाहरू
सुनेको थें काठमाडौँमा
सपनाको किनबेच हुन्छ
एकमुठी सास र
एक मुस्कान हाँसोमा
मान्छेले काठमाडौँमा
जिन्दगी उधारोमा दिन्छन्

बेतोडले बत्तीएको माइक्रोमा
हुइकिंदै गर्दा देखें
राजमार्ग छेवैमा मकै पोल्ने आमाहरू
देखें
त्रिशुलीको बालुवामा जीवन जीउनेहरू
अनि देखें
चार कप चिया बेच्न
सारा रात आफ्नो निद बेच्ने दिदीहरू
च्यातिएको गुन्द्रीमा
मैलो जमेको तन्ना ओछ्याएर
एक जिन्दगी जिएको,
मलाई मेरै जीवन
गर्भपतन गरी फालेको
भ्रुण जस्तै लाग्यो

काठमाडौँमा भगवान छन् भन्थे
ठुला मान्छे बस्छन् भन्थे
खै मान्छे बस्छन् कि केही अरु
ढोका ढोकामा लेखेको देख्छु
कुकुर देखी साबधान्
सोंच्छु
मान्छेदेखी साबधान किन नलेखेको होला ?
अहो त्यो रत्नपार्क !
मुतको पहाड माथि
थेगीनसक्नु बेरोजगारहरूको भीड
भीडमै कसैले बेच्दैछ
बदाम, भट्टमास, कण्डम र शिलाजित
सोंच्छु
अपरिभाषित समयका
नामर्द मानिसहरू
कतिचाँडै स्खलित हुन्छन् हँ ?

जब काठमाडौँलाई बुझ्दै गएँ
काठमाडौँ काठमाडौँ जस्तै लागेन
नेपाल नेपाल जस्तै लागेन
यहाँका मान्छे मान्छे जस्तै लागेनन्
बिस्तारामा उत्तानो परेर सुतेकी
बेश्या जस्तै
काठमाडौँ निर्वस्त्र छ
निर्लज्ज छ
जो आएर भोगे नि हुने
जो आएर ढोगे नि हुने
देख्छु
योनीच्छेदले मुर्छित युवती जस्तै
टुकुचा खोला दुर्गन्धले
भित्रभित्रै मरिरहेकी छ
आफैलाई हेर्न लाज लाग्छ
आफ्नै अनुहार
र बेचिदिन्छु ऐना कवाडीलाई

यो भीड यो कोलाहल
र यो दुर्गन्ध
प्रिय टुकुचा मलाई माफ गर
क्याबिन रेष्टुराँबाट मातेर
फर्कँदै गर्दा
थुप्रै पटक मैले मुतेको छु
तिम्रो बक्षमा
ओ टुकुचा
मलाई माफ गर बहुलाएको छु
काठमाडौँ देखेर म अघाएको छु ।

अजित क्षेत्री
स्याङ्जा
हाल:युएई

Note :
All Right Reserved with Writer of Above Poem 

कवि अजित क्षेत्रीका मान्छे शिर्षककाे कविता -05-05-2016 (Poem by Ajit Chhetri)

NepaliTalim | 5:03:00 PM | 0 comments
Poet-Ajit Chhetri
मान्छेहरु (कविता) 
यहाँ मान्छेहरु...
जो हाँसेजस्ता देखिन्छन् ती रोएका हुन्छन्
जो रोएको अभिनय गर्छन् ती हाँसेका भेटिन्छन्
जो अंकमाल गर्छन् ती छुरा बोकेका हुन्छन्
जो टाढा हुन्छन् ती अंकमालको आतुर हुन्छन्
वास्तवमा मान्छे
जे देखिन्छ त्यो होइन
जे देखिन्न त्यो पनि होइन
म मान्छे भएर पनि मान्छेलाई बुझ्न सकिन
थाहा छैन यहाँ
को मान्छे हो
को मान्छे होइन ।
हिउँद याममा
ब्रम्हपुत्र नदी किनारमा
समागमका लागी आतुर फिरन्ते बकुल्ला झैं
तम्तयार छन् मान्छे
मान्छेकै बध गर्न
हो, मान्छेका बस्तीहरु
बधशाला झैं लाग्छन् मलाई
मान्छेका भिडहरु
कसाईले पालेका
बिकासे खसीको बथान लाग्छछन् मलाई
तर हेर्नुस् न कस्तो अचम्म भने नी !
उही सिकारी भएको छ
उही सिकार भएको छ ।
पानी र हावाले खिइदा खिईंदै
एउटा बिबश पत्थर आज
भगवान बनेको छ
र पुजीन थालेको छ दोबाटोमा
हिंजोसम्म कुकुरले मुत्ने त्यो ढुङ्गो
आज साक्षात् भगवान भएको छ
बधशालामा आफन्तकै बध गरेर मान्छे
धुन्छ पाइखानामा आफ्ना रक्ताम्य हात
अनि पुग्दछ उही दोबाटोको
पत्थरको ईश्वरमा ढोग्न
र बर माग्दछ कहिल्यै नमर्ने ।
परस्त्रीसँग रातभर खेलेर फर्कन्छ मान्छे
अनि आफ्नी स्त्रीलाई भन्छ:
तिम्रो यादमा रातभर निदाउन सकिन
परपुरुषको शयनबाट फर्कन्छे उसकी स्वास्नी
र बस्छे सोमवारे एकादशी ब्रत
र रोप्छे तुलसीको बोट पनि
श्रीमानको दीर्घायुका लागी
हेर्नुस् न कस्तो अचम्म !
दुबैले दुबैलाई ढाँटेका छन्
तर दुबैले दुबैलाई बुझेका छन्
त्यहि भएर दुबै चुपचाप छन्
सम्झौतामा बाँचेको मान्छे
चङ्गाको डोरी भन्दा कमजोर छ
मान्छे मान्छे सँगै असुरक्षित छन्
किनकी बधशालामा मान्छेले मान्छे
किनबेच थालेको छ
खुद्रा मुल्यमा
हो त्यही भएर म
मान्छेलाई घृणा गर्न थालेको छु ।
हो त्यही भएर म
मान्छेलाई घृणा गर्न थालेको छु ।

Note :
Copyright Reserved with Writer of Above Poem

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger