Home » , » कवि अजित क्षेत्रीको कविता - मूल्य (Poem Mulya by Ajit Chhetri)-29-10-2018

कवि अजित क्षेत्रीको कविता - मूल्य (Poem Mulya by Ajit Chhetri)-29-10-2018

NepaliTalim | 4:30:00 PM | 0 comments
कविता - मूल्य 

तिम्रो क्यानभाषको आयातन
बढेको पक्कै हो-
जब तिम्रा कुचीले कामुक मुस्कान वाली
बिश्वसुन्दरीको चित्र दुरुस्तै कोरेको थियो
तिम्रो क्यानभाषको मुल्य आकासिएको पक्कै हो
जब त्यसमा कोरीए-
नामुद नगरबधुको मोहनी मुस्कान,
चर्चित नेताको मुखाकृति,
दरबारमार्गको बुढो शिरिषको रुख
सिंहदरबार अगाडीका पृथ्वीनारायणको चोर औंला
र मार्क्स लेलिनका जुँगे तस्विर !
शहरले तिमीलाई रातारात महान् बनायो
तिम्रा सबै पेन्टिङ् हातहातै बिक्री भए
मनग्य पैसा कमायौ
सुनें, ठमेलको बिदेशी होटलमा सक्सेस पार्टी दियौ
तिम्रो सम्मानमा स्याम्पेन खोलिए
तालि बजाईए,
सुत्न लागेको सहर एकपल्ट पुनः बिउँझियो
तिमीलाई महान् चित्रकारको उपाधि दियो ।

तर,
ओ- महान् चित्रकार महोदय,
तिम्रो घरको एउटा कुनामा 
बर्षौंदेखी थन्क्याएर
बेवास्ता साथ फालिएकी म,
तिमी मातेर फर्कँदा
तिम्रो ह्विस्किको तातो नमिठो हस्कोले
हरेक रात निसास्सिई रहेकी छु
तिम्रो उत्तेजनाको डम्पिङ् साइट भएर
हरेक पटक म आफ्नै मृत्युको उत्सव
मनाईरहेछु

मध्यरातमा केही मिनेटको उपयोग पछि
म फेरी उपयोगहीन हुन्छु अर्को मध्यरातसम्म ।
मलाई यी रातहरु
बेश्यालयका नियमित ग्राहक जस्ता लाग्छन् ।

सक्छौ भने मलाई पनि फ्रेममा सजाएर
प्रदर्शनीमा राखिदेउ न
म आफ्नो मूल्य जान्न चाहन्छु ।

-अजित क्षेत्री
हाल: युएई
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger