Showing posts with label Poem. Show all posts
Showing posts with label Poem. Show all posts

कवि मौसम भुसालका ५ पाँच कविताहरू -16-03-2016

NepaliTalim | 2:55:00 PM | 2comments
मौसम भुसाल
नमस्कार, आज हामी पर्वतका कवि मौसम भुसालका ५ कविताहरु लिएर उपस्थित भएका छौं , यहाँको कविता पढेर प्रतिकृया र हौसला प्रदान गरिदिनुहुन सबै साहित्य प्रेमिलाई अनुरोध गर्दछौं । आज हामी उहाँका कविताहरु आमा, म वीरमा, मेरो खुसि परिवार, गाउँ बलेको छ र म कोदालो शिर्षकका कविताहरु प्रस्तुत गर्दैछौं ।  यदि तपाईपनि आफ्ना जुनसुकै रचनाहरु प्रकाशन गर्न चाहानुहुन्छ भने हामीलाई मेल गर्नुहोला । 

१.किवता -आमा 
.....
आमा!
म त्यही दिन सम्झन्छु
जहिले तिमी औँसीको रातमा डोको लिएर
खाली खुट्टै धुसेनी धाउँथ्यौ
बिहानै भालेलाई समेत जितेर 
पँधेरी धाउँथ्यौ
लगाउने चप्पल फाटेर 
लोती लाई सुथरीले बाँधेर लाउँथ्यौ
आमा!
हजुर आमाले कत्ति चाँडै बिर्सिएकी
बुहारीको मर्म,वेदनालाई 
गोठमा भैँसीलाई पाकेका बेला तिम्रा लागि पाक्थेन
बिरलै पाएको भात पनि आफ्नो मुखले चाख्थेन
मेरै भोक देखेकी हुन्थ्यौ
न्यानो काखले सेकेकी हुन्थ्यौ
हो आमा!
म त्यही दिन सम्झन्छु ।
पर्म गएका बेला पाएको अर्नि
मेरो भोक सम्झेर
आफ्नो भोक कत्ती सजिलै खेपेर
पटुकामा बेर्थ्यौ नि मेरो लागि
ठुला बढाका छोराछोरीले लगाएका लुगा
बडो आश्चर्य साथ हेर्थ्यौ मेरै लागि
त्यही भोकको बलिदान
त्यही शोकको बलिदान
म यत्ति  सजिलै कहाँ भुल्न सक्छु
आमा! म त्यही दिन सम्झन्छु
जब तिमी आफ्नो चोलो काटेर 
मेरो लागि पत्लुङ सिलाइदिएकी थियौ!
आमा! म त्यही दिन सम्झन्छु
बुबा घर नहुँदा
जब मासु लिन दाइलाइ थाल लिएर पठाउँदा
थाली भरिको गाली लिएर फर्केका दाइ
अनि मलाई
मासु भन्दा मीठो कटहर पकाएर खुवाएकी थियौ।
हामीलाई खुवाएर आफू अघाउने शक्ति 
कहाँ बाट ल्यायौ आमा?
हिजो तिमी भोकै थियौ
आज म भोको छु
सबैभन्दा ठूलो भोको
काखको भोको आमा!
तिमी तारा बनेकी छौ भनेर तारै निल्न कहाँ सक्छु र?
तिम्रा अंग अंग नदीमा छ भन्दैमा 
म नदी नै सुकाउन कहाँ सक्छु र?
बस्! ,तिमी जाडोमा कठ्याङ्ग्रीदै  घरगोठ कुदेको 
कोदाको रोटी घाँटी सर्कुन्जेल खाएको सम्झिन्छु
हो आमा! 
म त्यही दिन सम्झन्छु |
.....
मौसम भुसाल, 
जिल्ला-पर्वत
हाल: सामाखुसी, काठमाडौँ
.........................

२.कविता- म वीरमान
............
म वीरमान 
जुन नामको पछाडि
अंकुशझैँ अड्किएको छ अर्को नाम
जसले गर्दा
म नागबेली झैँ बेरिएको छु
जताततै बाट घेरिएको छु,
युगले कोल्टो फेर्दा पनि
नउदाएको घाम
जुन घामको पर्खाइमा
निरङ्कुश रात संगै झुन्डिरह्यो
मेरो नामको पछाडिको अर्को नाम।
यस्तो लाग्छ
नीति मेरा लागि लेखिदैन
रीति मेरा लागि बनाइँदैन
हे कानुन!
सक्छस् त तँ डिल र पिँढी जोड्न?
सक्छस् भने ठुन्काइदे
सदियौँ देखि म जस्ता अचाना माथि
रगडिँदा रगडिँदा
नबोदिएको खुकुरी
म त दिउसै अँधेरो पाउँछु
म त छुट्टै पँधेरो धाउँछु
मूल बाटो अपरिचित छ
दुई छाक आटोको सट्टा 
निल्नै नसकिने फाटोले
बुझो लाइदिन्छ
र,
फटाइदिन्छ सारा सपना !
मन्दिर बाहिरै मेरा पाइला अड्किन्छन्
पँधेरी नपुग्दै गाग्री भरिन्छ
किनकि,
एक हुल मानिसका पाषाण आँखामा 
लेखिएको हुन्छ
प्रवेष निषेध!
हे शोषक,
नजाउँला म तिम्रो मन्दिर
तर, मैले कुँदेको भगवान 
तिमीले पुज्नु हुँदैन
नहिँडुला म तिमी हिँडेको बाटो
तर,मैले ओसारेको ढुङ्गा टेक्नु हुँदैन
नटेकुँला म तिम्रो पधेँरी
तर, मैले खनेको कुवा उभाउन पाउने छैनौ
आखिर आज सम्म 
मैले तिम्रो इज्जत सिलाएको छु
अन्न अर्चापेको छु
सुख पिलाएको छु|
हैन भने
कतिन्जेल म
यो नियति सहेर बाँचु?
म तिनीहरूलाई मेरा सन्तानले
शुली चढाएको हेर्न चाहान्न
किनकि
मेरा फाटेका टालाहरूमा
ध्वाँसो लागेका हातहरूमा
सिमलको भुवा जस्तो
हलुका मन छ ।
समयले कुन्नी कहाँ थेचार्यो मलाई
मृग झैँ यता र उता 
विनासित्ति  भौतारिनु पर्छ
उही नाम सम्याउन
यसरी कि मेरो नाम पछडिको अर्को नाम
तिमीले जस्तै सजिलै भन्न सकुँ ।
..............
मौसम भुसाल, 
जिल्ला-पर्वत
हाल: सामाखुसी, काठमाडौँ

३.कविता : पाठ:१ -मेरो सुखी परिवार 

साउनको झरी;
सुनसान रातको छाडा झरी
कसैलाई निन्द्रा लाग्ने झरी
कसैको निन्द्रा खोस्ने झरी।

चुहिएको छानो 
छानो मुनी गरीबको मानो 
पाक्ने सानो चुल्हो
चुल्होमा बल्लबल्ल बलेको चिसो ठुटो
चुल्है नेर छानोको पानीले टम्म 
सानो दिउरी 
तर,
भात ढुकिरहेको खाली पेट
पुर्पुरोमा हात लगाएर खिन्न मनले
ठुटो ठोसिरहेकी एउटी आमा!
हुरीले ढोका हल्लाउँदा पनि पुर्लुक्क हेर्छिन्
घरि बाहिर घरि छोरो तिर
अनि  बर्बराउँछिन्
"तेरो बाउले मर्न नि दिन्न , बाच्न नि खै ?
आज नि त्यतै त  धोक्दै होलान्
पैलेको झरीले पारी खेत लग्यो
यो झरीले यिनैलाई लगे नि हाइसुक्कै हुन्थ्यो"
पिल्पिलिदै
भुन्टे विचरा घरि भोको पेट मसार्छ
घरि हँसियाले काटेको घाउ मसार्छ
त्यो घाउ भन्दा गहिरो घाउ त 
दिनदिनै मसार्दो हो
त्यो भोक भन्दा नि ठुलो भोक
दिनदिनै खेप्दो हो
मायाको भोक !
यही भोकले बल्झाएको घाउ!
धिप्धिप गर्दै मधुरो बलिरहेको 
टुकी नजिकै जान्छ र
अघिल्लो बर्षकै नयाँ किताब खोल्छ 
अनि बडो सकसले पढ्छ
"पाठ:१- मेरो सुखी परिवार "
.......
मौसम भुसाल, 
जिल्ला-पर्वत
हाल: सामाखुसी, काठमाडौँ
...............................................
४.कविता: गाउँ बलेको छ
....
बेलामा ढिब्रीको धिप्धिप उज्यालोमा
म अक्षर नियाल्थेँ
आखाको सिमाभित्र छामछुम गरी
कोरकार गर्थें अभावका शब्द
'ब' बाट 'बिजुली'
तर, उ कापीमा आउँथ्यो तर गाउँमा आएन ।
समयको तारतम्य
अहिले सुनेको छु,
ती ढिब्री अहिले झाडीमा भेटिन्छन रे!
गाउँमा बिजुली पुगेछ
छहाँदी खोला उज्यालिँदै बगेकी होली
अझ गाउँमा गोबर ग्यास पुगेछ
पारी वन अँध्यारिदी हो 
हाम्रो घरै मुन्तिरबाट हर्न घन्काउँदै
मोटर गुड्छ रे
मेरो यहाँ मन गुडेको छ
मलाई
प्रचण्ड अँध्यारो बाट प्रचण्ड उज्यालोले 
तिर्मिराएको मेरो गाउँ हेर्ने मन छ
शहर का घुम्तीका झिल्काहरुले पोलेको मन
गाउँका घुम्तीले सुम्सुम्याउन मन छ
कुन मुखले सुनाऊँ ?
म बल्न आएँ शहरको उज्यालोमा
निभाइदियो सारा सपना
आज गाउँ बलिरहेका बेला म भित्रै देखि निभेको छु
मलाई फेरि पनि बल्ने मन छ
फेरि बौरिन मन छ
उही गाउँकै उज्यालोमा
उही गाउँकै काखमा
उही गाउँकै आत्मियतामा ।
.......
मौसम भुसाल, 
जिल्ला-पर्वत
हाल: सामाखुसी, काठमाडौँ

५.कविता: म कोदालो

म कोदालो
जो बिहानै अनिँदैमा 
एक हुल खेतालाहरु पच्छ्याउँदै 
सुतिरहेको खेत कोपर्न पुग्छु
आफ्नो ढाड फुस्किन्जेल सम्म
दह्रा अटेरी बाँझा खेपिरहन्छु
जसको बदलामा खेत सम्भावित हरियालीबाट 
सु-सज्जित बन्नेछ 
चुनौति दिँदै खडेरीलाई 
उम्रनेछ धानका बाला
बाला सँगै छेउछाउमा देखिन्छन् आशका कुटिल गेडीहरु
भरिनेछन् गरिबका भोका माना ।
म विवस भै हेरिरहेछु 
घरि बिगतका घानका बाला
घरि आजका गाँजाका झोताहरु
खेत त्यही हो
मान्छे त्यही हो
बाँझो कोपर्ने मैँ हो
तर,
समय बद्लियो रातारात
भोक फेरियो समय सँगै 
हो,म बिवस भै हेरिरहेछु
परिवर्तनका बिब्ल्याँटाहरु
तुहिएका कुटिल गेडीहरु
ए,मानिस!
म थाकिसकेँ
मलाई बरु छानोमा सिउरिदेउ
कि त मल्खातमा पुरिदेउ
म अन्न फलाउने नाउँमा
भ्रष्टाचार  गर्न चाहान्न ।
...........
मौसम भुसाल, 
जिल्ला-पर्वत
हाल: सामाखुसी, काठमाडौँ

Note : Copy Protected , All copyright reserved with Poet .

कविता -"म, 'हल्लुँड को शरबत' भन्दा नमिठो" - दिपक निरौला (08-11-2015)

NepaliTalim | 12:47:00 PM | 1comments

दाई
मलाई अचानोमा राखेर
मेरो शरिरको
कुनै एक भाग गिँडेर,
कुटु-कुटु चाखि हेर्नुस् त।
अनि भन्नुस्, कुन मिठो,
उहिलेको म?
कि अहिलेको म?

गोरू भा'छु म
मतलव, टिपिकल नेप्लिज गोरू।

माले र झुले भा'छु
झिस्मिसे नहुँदै बिचरालाई,
पुच्छारे काकाले
सिमालीको लौरोले व्युँझाऊँथे।

म निर्धोलाई,
एउटा जाबो टिक्टिके घडीले
बेस्मारी दनक दिन्छ, चार नबज्दै।

यहाँ म
गोरू आफैँ
हलि पनि आफैँ
बाँझो फोरेर पल्लो कुना नपुग्दै
उपल्लो कुना, झार बढेर फेरी बाँझै।

फर्कि फेरि जोत,
फेरि फर्कि, फेरि जोत

हेर्नुस न दाई,
पुच्छारे काकाले
पचास सिजन् खेत जोति सके
तर मैले
एक मेलो पनि जिन्दगी जोति सकिँन।

अनुहार फोरिएर
चाउरि पर्न थालिसक्यो
हात गोडा, थाँङ्थीलो भै सक्यो
अनि भुत्राको मिठो होस् मेरो स्वाद।

दाई,
बरू हल्लुँड'को शरबत मिठो होला,
बरू पाँच बेत ब्याएकी
चिहानडाँडे काईलाकी
कालि भैँसि मिट्ठि होलिन्।
थाँङ्थीलो छु,
म पहिलाको जस्तो मिठो छैन,
म मा पहिलाको फ्लेभर बाँकी रहेन,
अब, मेरो स्वाद बदलिएको छ।।

Dipak Niraula Taplejung Now:Sydney, Australia

यज्ञ प्रसाद गिरीका ५ गजलहरू : 05-07-2015

NepaliTalim | 11:26:00 AM | 0 comments
1.गजल
तिमी छौ र त यो शहर सुन्दर लाग्छ ;
तिमी छौ र त यो घर मन्दिर लाग्छ ।
(१)
लाग्दैन केही’नि ठुलो यो दुनियामा ;
तिम्रो मायानै, श्रेष्ठताको शिर लाग्छ ।
(२)
मन तिम्रो उदार र ऊच्च सोचको धनि ;
सुन्दर र स्वस्थय, तिम्रो शरिर लाग्छ ।
(३)
के के लाग्छ, सक्दैन भन्न, किमार्थ म;
माया भने तिम्रो कसम, गम्भिर लाग्छ।
(४)
साथ तिम्रो नपाउँदा, जिन्दगीको सफरमा;
सम्मो बाटो’नि, अनकन्टार भिर लाग्छ ।
रचना : यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
बैशाख ३ गते बिहीबार, २०७२ साल

2.गजल
आफैलाई नचिन्नेले , पहिचानका कुरा गर्यौ् ;
राष्ट्रघाती लुटेराको, गुणगानका कुरा गर्यौौ ।
(१)
कुरा गर्यौी, कुरै गर्यौ , कुरै-कुरा मात्र गर्यौ ;
अरुकै श्रम खानेले , स्वाभिमानका कुरा गर्यौौ ।
(२)
कुरा एउटा काम अर्कै, मनमा पाप लुकाएर ;
राष्ट्रभक्ति , आदर्श र, बलिदानका कुरा गर्यौि ।
(३)
चरण छुन्छौ बिदेशीको, सत्ता प्राप्त हुने भए ;
नेपाल र नेपालीको कुन, शानको कुरा गर्यौक ?
(४)
मठ- मन्दिर देखाउँछौ, पुजा- पाठ सिकाउँछौ ;
लालसाले ग्रस्त हुदै, कुन ध्यानको कुरा गर्यौा ?
(५)
अत्याचारी, भष्ट्राचारी, भनी चिन्छ समाजले ;
लाज घिन पचाएर, अभियानको कुरा गर्यौ ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
फागुन २८ गते, २०७१ साल

3.गजल
उल्टो-उल्टो काम गर्दै, जमानालाई दोष किन ?
कुठाँउमा पाइलो राखी, सिमानालाई दोष किन ?
(१)
कर्मले नै तोक्ने गर्छ, जित-हार जिन्दगीमा ;
हात बाँधी बस्ने गर्छौ , दैवसंग रोष किन ?
(२)
नदौडेरै जित्छ कस्ले, दौड जिन्दगीको ;
काम गर्नु भन्दा अघि, राखिदैन होस किन ?
(३)
कुरा उल्टो, काम उल्टो, उल्टो सोचमात्र देख्छु;
राखिएको पाईदैन , सकारात्मक सोच किन ?
(४)
पवित्र छ भन्ने गर्थ्यौ, यो सम्बन्ध हिजोसम्म;
समयले कोल्टो फेर्दा, आज अपशोच किन ?
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
माघ २२ गते, २०७१ साल


4.गजल
त्यै नजरले कुनै बेला, गर्‌यो स्वागत मलाई;
कुनै बेला सडकछाप, ठान्यो फगत मलाई ।
(१)
नाता ह्रदयको भए , हाल यस्तो किन हुन्थ्यो ;
ननिल्नु र ओकल्नु भो, तिम्रो चाहत मलाई ।
(२)
साख्खिएर कुनै बेला, मिठा, चिप्ला कुरा गर्‌यौं ;
मौका छोपी जानी-जानी, गर्‌यौं आहत मलाई ।
(३)
चोटै-चोट सहेको छु, तिम्रो सहयात्री बनी ;
यो निहुँ वा त्यो निहुँमा, छैन राहत मलाई ।
(४)
भेटिएन दयावान , दैव कुनै देवस्थलमा ;
शुन्य, खल्लो मात्र लाग्छ, तिम्रो जगत मलाई ।
(५)
चन्द्र एउटै, सुर्य एउटै, प्रकृतिको रित एउटै ।
किन लाग्छ दुनियाको, उल्टो नियत मलाई ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
मंसिर २४ गते, २०७१ साल

5.गजल
गर्न अझै बाँकी रह्यो, युद्ध आफैसित ;
नबुझेरै बन्दै हिड्छौं क्रुध्द, आफैसित ।
(१)
सबैतिर अशान्ति छ, शान्ति कतै छैन ;
हुँदा-हुँदै बिर्सि दियौ , बुद्ध आफैसित ।
(२)
किन बित्था अरुलाई, औला ठड्याउँने ,
जाँचौं मन छ कि छैन, शुद्ध आफैसित ।
(३)
बेकार छ दुनियाको, दोष खोजी हिड्नु ;
पाली-पोषी वासनाको , गिद्ध आफैसित ।
(४)
अभिलाषा जिवनको, धन्य पार्ने भए;
हुर्काउन सक्नु पर्छ , सिद्ध आफैसित ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
मंसिर १८ गते, २०७१ साल

हतारहरु ...(30-05-2013)

NepaliTalim | 4:57:00 PM | 0 comments
हतारहरु 
यसरी अघि अघि हिँडेका छन् की 
मैले न्वारान देखीको बल 
लगाएर दौडिरहँदा पनि 
कहिल्यै भेट्न सकिँन 

जसरी,
घडिको 
घण्टा मिनेट र सेकेन्ड सुइहरु 
जसरी 
प्रकासका किरणहरु 
जसरी 
अनुभबनै नहुनेगरी 
घुमिरहेको पृथ्वी
एक्कासी कालो आँसिको रात 

चुनौती,
सम्पूर्ण तागत लगाएर मैले
समना गरिरहेँ गर्दैछु र गरिरहनेछु 
हतारलाई भेट्न 
लागिरहनेछु 
मेरो अन्तिम घडिसम्म । 

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 

अबसान भएका रहरहरू (10-06-2013)

NepaliTalim | 4:54:00 PM | 0 comments
रहरहरु साना साना खोल्सा खहरे हुँदै
बग्दै बग्दै नदि अनि समुद्र सम्म पुग्दा
रहरहरुको अस्तित्व समाप्त भएका छन् ।

जम्नदै देखेका रहरुहरु
अलि हुर्केर देखेका रहरहरु
अनि समयसँगै आएका
थुप्रै आखाभरी मनभरी सजिएका
अनगिन्ती ताराहरुझैं आकासका
आज बगैचाको फूलझैं टिपिएका छन् चटक्कै
कोही भगवानलाई चढाउन ।

समयले यस्तो दायित्व दिएर गयो
दायित्व भित्रका साना तिना र ठूल्ठूला भएभरका
सुनौंला रहरहरुलारुलाई पूरा गर्दा गर्दा
आज मेरा रहरहरु समयभन्दा धेरै पछी
छुटेका रहेछन्

त्यहि ठाउँहो मैले हिडेका
उकाली ओराली मलिला खेतहरु
अनि बुढीखोरीया बन, बनको विच
त्यहि चिसापानीको देउराली
जहाँ उभिएर चिच्याई चिच्याई
मैले समयलाई भनेको थिएँ
तिमीलाई पनि जितेर देखाउँछु

आज फर्केर हेर्दा
उ धेरै अगाडी पुगिसकेको रहेछ
म भने घस्रिंदै उहि तालमा,
अबसान भएका रहरहरुलाई
काखी च्याप्दै हिडिरहेछु,
बुढो मान्छे थाकेर
रहरहरुको सागर बोकेर ।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

कविता - आँध्यारो

NepaliTalim | 10:37:00 PM | 0 comments
लाखौ सूर्यको तेज लिएर 
भर्खर उदाएको कलिलो सुर्य 
लागिरहेछ ब्लाकहोलमा फस्दैछ
कहिल्यै नफर्कने गरी ।

जीन्दगी त्यही एक किरणको लागि 
जन्मदेखी यो बुढेसकालसम्म
हजारौ ठक्कर खाँदै यो निराकार निष्पट्ट 
आँध्यारोका एक झुल्का उज्यालोको 
खोजिमा निरन्तर भौतारिरहेको बेला
चिरविर चिरविर चराहरुले मलाई
आभास दिएका थिए र भनेका थिए
अब उज्यालो हुँदैछ ।

आगोको विद्रोह बोकेर
मुटु मन र छातिभरी देश राखी
हिडेको पनि हिजै जस्तो लाग्छ
निरंकुशता विरुद्ध शान्ति यज्ञमा
हातमा हात मिलाई काँधमा काँध मिलाई
तानाशाहको बन्दुकको अगाडी
अलिकती पनि नडराई लडेर जितेर
अधिकारको अस्तित्व स्थपित गरेको पनि
हिजै जस्तो लाग्छ
तर आज फेरी किन ??
नेपाल आमाले गुहार मागीरहेछिन्
आफ्ना सन्तानहरु सँग ।

लाग्दैछ, मैले सोचेको परिस्थिती
र परिवर्तन भएकै रहेनछ
दिन प्रतिदिन उज्यालो हैन अँध्यारेमा
गहिरो खाडल भित्र हराउँदैछ
केही अदृस्य शक्तिले निलीरहेछ या
पूरै पृथ्वीनै ब्लाकहोलमा परिरहेछ
देखिरहेछु केवल निराकार निष्पट्ट
आँध्यारो नै आँध्यारो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

कविता- ए मुटु ढुङ्गा हुनेहरु.... (राम शरण श्रेष्ठ)

NepaliTalim | 3:47:00 PM | 0 comments
ए मुटु ढुङ्गा हुनेहरु...., 
सक्छौ स्विकार गर यो चुनौती,
आफ्नो मुटु टुक्रा टुक्रा पार
अनि इटको सट्टा
आफु बस्ने महल बनाउ
अनी नाचगान गर
एक्लै रमाउ एक्लै हाँस
किनकी...
तिमीहरु माया
बिना बाँच्न सक्छौ ।

ए मुटु ढुङ्गा हुनेहरु....,
यो अर्को चुनौती
तिमीहरु मिलेर
यौटा संगठन खोल
क्रान्तिकारी पार्टि खोल
दस्ता खोल
चुनाव लड...जित
अनि कसैले मायाँ गर्न नपाउँने
नियम कानुन बनाउ
मायाँको बिरुद्धमा संविधान बनाउ
अनी मायाँ गर्नेहरुलाई
सजाय फाँसी देउ ।

ए मुटु ढुङ्गा हुनेहरु....,
मेरो अन्तिम चुनौती
सक्छौ भने आजै
मुटु दान गर
किनकी तिम्रो छाति भित्र,
धड्कीनु बेकार छ
तिमीहरु दिमागले काम चलाउ
तिमीहरु मुटुविना बाँच्न सक्छौ
तर.......
तर म सक्दिँन
मलाई मुटु चाहिन्छ
मायाँ चाहिन्छ
अहँ सक्दिँन एक्लै बाँच
अहाँ सक्दिँन  ।।

>राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/



भावना -जवाफ त्यहि हो, नसोध नसोध

NepaliTalim | 10:19:00 PM | 0 comments
साथीहरु गजल लेख्न खोज्दा खोज्दै भावना वनि यौटा गजल हुन नसकेका रचना आज तपाईहरु सामु राखेको छु ।

भावना
जवाफ त्यहि हो, नसोध नसोध ।।
अभाव त्यहि हो, नसोध नसोध ।।

हुँदैन हुँदैन, अहँ धोका हुँदैन
विस्वास त्यहि हो, नसोध नसोध ।।

भनेकै छु नि दोहोर्याई दोहोर्याई
माग त्यहि हो, नसोध नसोध ।।

झुकाई नजर, लजाई आएछौ
लाज त्यहि हो, नसोध नसोध ।।

टक्रयाई मुटुनै, परास्त पर्यौनी
हार त्यहि हो, नसोध नसोध ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger