Showing posts with label Guest Story. Show all posts
Showing posts with label Guest Story. Show all posts

कथाकार अजित क्षेत्रीको का "मास्टरको सपना" (Story -Masterko Sapana by Ajit Chhetri) : 09-07-2016

NepaliTalim | 11:34:00 AM | 0 comments
अजित क्षेत्री
"मास्टरको सपना"
  ॥कथा।। 
-अजित क्षेत्री

प्रकाशन मिति (09-07-2016)

   गाउँघर दशैंको आगमनले उल्लसित छ । घरहरू रंग पोतेर उज्याला र चम्किला पारिएका छन् । आँगन, गल्ली, बाटो र डहर चिरिच्याट्ट पारी दुलही झैं सिंगारिएको छ । बडादशैं मान्न घर जाने र आउनेहरुले गाडी भरिन थालेका छन् । जुवाका बादशाहहरु तासको खाल जमाइसकेका छन् । पसलेहरु आधा बाटो/सडकै कब्जा गरी दशैका सामान बिक्रीका लागी प्रदर्शन गरेका छन् । बच्चाहरु लठ्ठे पिङ मच्चाउनमा मस्त छन् । बास्तवमा सारा देश नै भाङ् खाएर लठ्ठिए झैं बडादशैंको उल्लासमा लठ्ठिएको छ ।

    हिँजैदेखी देशभरका सरकारी र सार्वजनिक बिधालयहरु दशैं बिदा भएर बन्द छन् । घरपाई बाट टाढा रहेका शिक्षक बिधार्थीहरु धमाधम घर फर्किँदै छन् । गाउँमा पिङ् हाल्ने र बाटोघाटो सफा बनाउने चटारो छ । देशभरी जस्तै स्याङ्जा कोल्माको एक बिधालय पनि दशैं बिदामा बन्द छ भने गाउँलाई दशैंको आगमनले घपक्कै ढाकेको छ । सोही बिधालयका एक शिक्षक हुन् चोलाकान्त शर्मा । नामले भन्दा पनि मास्टर जी र मास्टर उपनामले चिनिन्छन् उनी । बुढापाकाहरुले उनको अनुपस्थितिमा उनलाई मास्टर भनेर सम्बोधन गर्छन् । मृदुभाषी एवम् गाउँलेको दुखमा सधैं दिलोज्यान दिएर सहयोग गर्ने हुनाले गाउँदेखी सदरमुकामसम्म उनको राम्रै इज्जत छ । सदरमुकाम पुतलीबजारको बाडखोला घुम्ती भनिने चोकदेखी कोल्मा काहुले सम्म जीप गुड्ने बाटो बन्नुमा यिनै मास्टरले गरेको सामाजिक अगुवाइ नै मुख्य कारण हो भन्छन् गाउँलेहरु । हल्का चेक सर्ट, कटराईजको पाइन्ट, गोल्ड स्टार जुत्ता र ढाका टोपी यिनको पहिरन र पहिचान हुन् । सदरमुकाम झर्दा होस् या अन्त जाँदा होस्, हातमा ठुलो अफिसिएल ब्याग र ब्याग भित्र एकजोर कपडा प्राय: छुट्दैन । मास्टर पनि दशैँको आगमनले फुरुक्क छन् । अरूको घरमा जस्तै उनको घरमा पनि दशैंको चटारो छ । भोली बिहानै सदरमुकाम गएर दशैंको खरिदारी र लत्ताकपडा किन्ने योजना बनाउँदै मास्टर र उनको परिवार निदाउँछ ।
   
***********
    बिहानको खाना घरमै खाएर मास्टर जीप चढेर मास्टर सदरमुकाम जान्छन् । सदरमुकाम स्याङ्जा बजारमा उनले दिनभरमा खरिदारी सिद्याउँछन् भने बिभिन्न संघसंस्थाले आयोजना गरेका शुभकामना आदानप्रदान कार्यक्रममा पनि आफ्नो उपस्थिति जनाउँछन् । 
   दिनभर यताउति गर्दागर्दै झम्के साँझ परिहाल्यो । लौ मार्यो गाउँतिर जाने सबै जीपहरु पहिले नै छुटिसकेछन् । जीप पार्किङ्मा एउटै जीप नभएपछि मास्टर अब डेढ घण्टा उकालो जंगलको बाटो हिनेरै घर पुग्नु पर्ने भो । छिटो छिटो औषधी पसलबाट आमालाई दमको नियमित औषधी आगामी पन्ध्र दिनलाई पुग्ने गरी किन्छन् र झोलामा राख्छन् अनि झोलाबाट दुई बेट्रीवाला टर्च लाइट निकालेर बाल्छन् । धिपधिपे उज्यालो दिंदै टर्च मास्टर साबको सन्ध्याकालीन सेवामा तम्तयार भो । मास्टरले पाइला चाले ।
   उनले आज ठुली छोरीलाई जिन्सको पाइन्ट र टिसर्ट किनि दिएका छन् दशैंको दस्तुर । छोरालाई पनि जिन्स पाइन्ट र कलर भएको टिसर्ट अनि आफ्नी जीवनसंगीनी सरला अर्थात् मास्टर्नी साबको लागी पच्चीस सयको जापानीज सारी र बृद्ध आमालाई घरबुनाको धोती किनेका छन् । बँचेको पैसाले दसैँलाई केही मरमसाला किन्दा किन्दै पैसा सकियो, यसपाली उनको सोल च्यातिएको गोल्डस्टार जुत्ताले उनको खुट्टासंग सजिलै साथ छोड्न नपाउने भयो ।
   घर जति चाँडो पुग्यो उति चाँडो आमाले दमको औषधी खान पाउने छिन् । उनले आमालाई आफ्नै हातले औषधी खुवाउने छन् । ७५ बर्षिया आमाको ब्यबहार आजकल केटाकेटीको जस्तो हुन थालेको महसुस उनले गरेका छन् । दुई बर्ष अघि पतिले परलोक यात्रा गरेपछि बुढि आमाको जीउने आधार र सहारा भन्नु नै यै मास्टर छोरा र बुहारी भएका छन् । साँझ छोरा घरमा भएन भने आमा अतासिन्छिन् र नानाभाँती बतुराउँछिन् । बच्चाले बाऊ खोजे झैं बुढिआमा छोरो खोज्छिन् साँझ परे सी । त्यसो त घर पुग्न ढिला भएको दिन छोरा छोरीको ध्यान र नजर बाटोतिरै दौडिरहेको हुन्छ । भञ्ज्याङ्तिर कसैले उज्यालो बालेर गाउँ तिर ठडियो भने घरका सबैले त्यो उज्यालो कता जान्छ भनेर ठमासी बस्छन् । 
   
    मास्टरलाई जतिसक्दो चाँडो घर पुग्नु छ । भरे सदा झैं नौ बर्षिया छोरी र सात बर्षिय छोराले बाबुको थालबाट भात निकाली खाने छन् अनि बाबुको हातले भात खान उनीहरु खोसाखोस गर्नेछन् । त्यसो त कहिलेकाहीँ  छोराछोरीले नदेख्ने गरी उनले आफ्नी मास्टर्नीलाई पनि एक गास खुवाउन भ्याउँछन् । त्यसो गर्दा उनलाई मास्टर्नी आफ्नी पत्नी नभएर प्रेमीका जस्ती लाग्छिन् । मास्ट्नीलाई पनि श्रीमानको जुठो हात आफ्नो ओठ हुँदै पुन श्रीमानको ओठसम्म पुगेको दृश्य संसारकै सुन्दर र अलौकीक दृश्य लाग्दछन् । राती बिस्तरामा बाबुको दुबै हातको सिरानी नहाली दुबै छोराछोरी निदाउँदैनन् । दिनभर कामले थाकेकी मास्टर्नी पनि हिउँदको यो सालीन मौसममा आफ्ना पतिको छातीमा हात राखी निदाउन पाउँदा संसार जितेको महसुस गर्छिन् । अझ धेरैजसो रातहरुमा त निदाएका छोराछोरी बाबुको काखबाट अर्को बिस्तरामा सारेर सुताइन्छन् र उनको पुरै बिस्तरा र शरिरमाथी मास्टर्नीले अधिकार जमाइसकेकी हुन्छिन् । हुन पनि बच्चाहरू हुर्किन थालेपछि पत्नीले बढि नै आफुलाई माया गर्न थालेको र आफ्नो सामित्यताको लागी भोकाएर बस्ने गरेको उनले महसुस गर्न थालेका छन् । भोको बाघले शिकार झम्टे झैं हिंजो रात उनले झम्टेर आफुलाई एकै गास पारेको सम्झँदा उनी तरंगीत हुन्छन् । कानको लोती टोकि दिएर कम्ती दुखेको होइन मोरीले । मास्टर्नीसंगको सहबासको प्रसंग दिमागमा आउँदा बाटो कटेको पत्तै पाउँदैनन् उनी ।

   आफ्नै मनसँग कुरा गर्दै उनका पाइला अगाडी बढिरहेका छन् अनि पुतलीबजार बाडखोला बजार पछाडी छाडिइसकेको छ । खोलाको किनार र धानखेत हुँदै उनका पाइला देबीथान मन्दिर नेर पुगिसकेका छन् । मन्दिर कटेसी माथी कुँबरहरूको बस्ती भएको अरौंदी खोला आउनेछ अनि उकालो जंगलको बाटो हिंड्नु पर्नेछ । देबीथान मन्दिर कटिसकेको छ । अब अरौंदी खोला गाउँ पुग्न जंगलको छेवै छेऊ केही बेर हिंड्नु पर्नेछ ।

    बाडखोला र स्याङ्जा बजारमा घटस्थापनाको दिनदेखि नै जुवाडेहरु म्यारिज खेल्नमा र कौरा हान्नमा मस्त छन् । गल्लीका भित्री घरहरूमा पुलिस प्रसासनको आँखा छलेर जुवा खेलाईएका छन् । कोही हारेका छन् कोही जितेका । जुवाडेहरुलाई कुखुराका साँप्रा, काँक्राको सलाद र बियर ठाउँको ठाउँ सर्भिस दिइएको छ । चार दिन लगातार खेल्दा पनि जीतबहादुर र रिते कार्कीले एक दाउ जित्न सकेनन् । श्रीमतीको बेरुवा औंठी एक छिन लगाउँछु भनेर ल्याएको जीतबहादुरले त्यो पनि फालेको छ । खेलको नशाले लठ्याएको छ तर साथमा सुको पैसो छैन । तासको खेल छोडेर जीतबहादुर र रीते चोकतिर निस्कन्छन् ।

   दसैँको बेला भएकाले लाहुरेहरु र बिदेशीएकाहरु धमाधम गाउँ फर्केका छन् । देशमै भएकाहरु पनि दशैंको बोनस र मासिक तलब जेबमा राखी धमाधम घरतिर हिडेका देखिन्छन् । कोही पेन्सन थापी किनमेल गरी घर फर्केका छन् । मान्छेको चापलाई गाउँका जीपले थेग्न सक्दैनन् । त्यसैले मानिसहरू पैदलै पनि हिंडिरहेछन् कोही समुहमा कोही एक्लै आफ्नै सुरमा । जुवामा हारेका जीतबहादुर र रीते कार्कीको मनमा कुबिचारले स्थान ग्रहण गर्छ, दशैंमा घर फर्केकालाई लुट्ने र पैसा कमाउने । गत बर्ष यै समयमा यिनिहरूले तीन ठाउँमा लुटी करिब सवा लाख पचाएका थिए । लुटेराको सुईंको सम्म कसैले पाएनन् । यो जोडीले आज लुट्न योजना बनायो । सकेसम्म लुट्ने मात्र तर लुटिनेले आँफुहरुलाई चिनेको अवस्थामा मारिदिने योजना बन्छ ।

     झिमिक्कै साँझ परिसकेको छ । एक काँधमा ब्याग र हातमा टर्च लाईट अनि अर्को हातमा सामानले भरिएको पोलिथिन ब्याग लिएर मास्टर देबिथान हुँदै अरौंदी गाउँतिरको बाटोमा लम्किरहेछन् । बाटोको माथीतिर घना जंगल र तलतिर लहलहाउँदा धानका बाला छातीमा टाँसेर अरौंदी खोलाको फाँट मुस्कुराई रहेछ । अलितल सानो अरौंदी खोला एकतमासले सुसाई रहेकोछ । झ्याउँकिरी र भ्यागुताको टर्रटर्र आवाज कानमा गुन्जिरहन्छ । "यो दशैंमा म आइन भनेँ..निष्ठुरीलाई दाई तिम्ले नभने" दिउँसो रेडियोमा सुनेको यो गीत गुनगुनाउँदै मास्टर अगाडि बढिरहेछन् । बाटो निस्पट्ट अँध्यारो छ चुक पोखेजस्तो । पहाडको खोंच र कुईनेटो परेकाले यहाँ आईपुग्दा रातको समयमा मान्छे डराउँछन् ।

     जीत बहादुर र रिते कार्की यसै कुईनेटोमा बटुवा लुट्न ढुकी बसेका छन् । काँधमा र हातमा गह्रौं सामान बोक्दै एक मानिस टर्च लाईट बालेर आफ्नै नजिक आएपछि जीतबहादुर र तिते हौसिन्छन् । मास्टर नजिकै आईपुगेका छन् । एक्कासी रिते मास्टरमाथी जाई लाग्छ र हातको टर्च खोसेर खेततिर मिल्काई दिन्छ । उसैमौकामा जीत बहादुरले मास्टरको ब्याग खोस्छ । "ओई को हौ तिमीहरु ? के गरेको यो ?"- घबराउँदै मास्टरले भने ।
" हामी चोर" एउटाले भन्यो ।
"चुपचाप सबै सामान हामीलाई दे"-अर्कोले भन्यो ।
"सबै खोसी सकिस् अब के दिउँ ?
"कति पैसा छ निकाल !"-चोरले फेरी भन्यो
"छैन पैसा सैसा, खोई मेरो ब्याग दे ?"मास्टरले रिस, आक्रोश र डर मिसाउँदै भने
"बढ्ता बोल्छस् ?, ल खा...." रीतेले कम्मरको खुकुरी मास्टरको टाउकोमा बजार्छ । ढुनमुनिंदै मास्टर खेतमा लड्न पुग्छन् । रगतको छर्रा रिते र जीत बहादुरको मुखभरी पर्छ । छटपटाएका मास्टरको मुखभरी खेतको पानी जान्छ र बिस्तारै उनी चलमलाउन बन्द गर्छन् । चोरले उनको शरीर छामछुम गरेर झोला बोकेर जंगलतिर भागीसकेका छन् । झ्याउँकिरी र भ्यागुता कराउन बन्द गरे । उता खाना पकाएर पतिको पर्खाईमा बसेकी मास्टर्नीको छाती अचानक भारी भएर आयो । बाहिर निस्कन्छु भन्दा ढोकामा ठोक्कीएर हातको एउटा चुरा फुट्यो, छोराको टाउकाको टोपी खस्यो ।
"भगवान्, के अलल्छिन हो यस्तो !!" मास्टर्नी डरले चिच्याईन् । खोरमा थुनी राखेका कुखरा तर्से, बसिराखेको भैँसी जुरुक्क उठ्यो ।

*********
    "उफ्, कस्तो नराम्रो सपना देखेछु, बुढी एक गिलास पानी लेऊ त"-उठ्नासाथ मास्टरले भने । "छि, हजुर पनि ! चाडबाडको बेला के के सपना देख्नुहुन्छ ।"- एक गिलास पानी पतिको अगाडि राख्दै मास्टर्नीले भनिन्-"बिहानपख देखेको सपना पुग्छ भन्छन् ।"
'के गरम त नि, मैले देख्छु भनेर देखेको होइन के रे'-मास्टरको ओंठे जवाफ फर्कन्छ ।
''ल भै गो, पानी पिउनुस्, त्यो सपना शौचालय बस्दा आँफैलाई सुनाउनु, दोष काटिन्छ रे" यति भनि मास्टर्नी गोठतिर लागिन् । मास्टर पानी पिईसकेर शौच जान्छन् अनि आफ्नो सपना सुनाउन थाल्छन् आफैलाई । हुन पनि यति नराम्रो सपना उनले कहिल्यै देखेका थिएनन्, आँफै मारिएको सपना ।

    उज्यालो भएको छ, भर्खरै उदाएको घाममा चाँदिको घेरो सरी बादलले हल्का छोपेको छ । तल फाँटतिरबाट निस्केका हुस्सु आकाश छुन दौडेका छन् । हल्का चिसो मौसम छ । घरमा चिया पाकिसकेको छ मास्टर्नीले पति, बच्चा र सासुलाई चिया दिन्छिन् र आँफू पनि पिउँछिन् ।
"यसो रेडियो खोलओ न केटाकेटी हो, चाडबाडको बेला छ, के के भन्छ रेडियोले''- यति भन्दै बार्दलीमा बसेकी मास्टरकी बुढी आमैले खोक्न थालिन् ।
"दशैं सकिनासाथ आमालाई पोखरा लगेर ठुलै हस्पतालमा चेक गराउँछु" यति भन्दै उनी भित्ताको किलामा झुँडाई राखेको रेडियो रेडियो खोल्छन् । रेडियोमा प्रबिण गिरीले बिहानको समाचार पढिरहेका छन् । "कति चाँडै सात बजेछ है !" मास्टर मनमनै गुनगुनाउँछन् ।
"स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाको उत्तरपूर्वमा पर्ने देविस्थान् र अरौंदी गाउँको बिचको जंगलको बाटोमा गएराती अज्ञात ब्यक्तिहरुबाट कोल्मा काहुले गाबिसका एक बिधालयका प्रधान अध्यापकको धारीलो हतियार प्रहार गरि हत्या भएको छ....." प्रबिण गिरी समाचार बाचन गरिरहेछन् । समाचार सुनेर मास्टरको हातबाट चियाको गिलास भुईंमा खस्छ ।
"यै सपना हो मैले देखेको" एक्कासी मास्टर चिच्याउँछन् । "थुईया,,,ति पापीको घरमा आगो लागोस्, कस्तरी चाडको बेला अर्काको ज्यान लिईछस् पापी"- बार्दलीबाट मास्टरकी आमा रेडियोको समाचारको तितो प्रतिक्रिया स्वरुप हत्यारालाई गाली दिँदै थिईन् । 'साह्रै अनर्थ भएछ भगबान् '- मास्टर्नीले लामो सुस्केरा हाल्दै भनिन् । आँफूले केही घण्टा अगाडि देखेको सपनासँग ठ्याक्कै मेल खाने सपना...केवल पात्र फरक! जिऊ लगलग काम्छ,शरीर असिनपसिन हुन्छ । 'बिहानी पखको सपना पुग्छ भन्छन् भन्दैथी बुढी, हो त रै'छ'-उनी मनमनै गुनगुनाउँछन् । 'बच्चाले जस्तै चिया पोखेर के गरेको होला' भन्दै मास्टर्नी मास्टरले चिया पोखेको भुईं सफा गर्न लाग्छिन् । केटाकेटीले रेडियोको समाचारमा ध्यान दिएनन् आफ्नै सुरमा चिया पिउँदै छन् । मास्टर जुरुक्क उठ्छन् अनि रेडियो बन्द गर्छन् । कुर्चीमा थचक्क बस्छन् अनि श्रीमतीतिर हेर्दै भन्छन्- बुढी यो सपना भन्नी कुरो कसरी देखिन्छ होला? के राती मेरो आत्मा त्यहाँ गएको थियो र त्यो घटना प्रत्यक्ष देखेको थियो होला त ?"
मास्टर्नी एकोहोरो टोलाए जस्ती हुन्छिन् केही जवाफ दिन्नन् ।

    एकैछिन् पछि उनी भन्छिन्: "छिमेकाँ यस्तो नराम्रो घटना घटेसी चाडबाड आएको के सार भो र? अब सदरमुकाम क्यार्न जानु पर्यो र बरू गए हुन्छ हेडसरको घरतिर,..रुवाबासी होला कठै !"
"गैहाल्छु अब, छिमेक मर्दा पर्दा त हो नि चाहिने"-लामो सुस्केरा हाल्दै मास्टर भन्छन्-" यस्तो मृत्यु त कस्तै सत्रुको पनि नहोस् ।"

"नमस्कार मास्टर साप, गाउँमा त साह्रै नराम्रो घटना घटेछ है ! राम राम राम.." कोही मान्छे यति भन्दै उनको आँगनतिर आउँदैछ । उही जीतबहादुर रै'छ जसले सपनामा उनको हत्या गरेको थियो । मास्टर झस्के । 
"गुन्द्री तानेर बस"-मास्टर्नी बोलिन् । मास्टर भित्र पसे । प्यास लागेजस्तो भयो । एक अंखोरा पानी घटघटी पिएर सिध्याए ।
धन्यवाद 

अजित क्षेत्रीको कथा "मलाई माफ गर है माया" (Story-Malai Maaf Gara by Ajit Chhetri) : 05-07-2016

NepaliTalim | 9:58:00 AM | 0 comments
अजित क्षेत्री
कथाकार-अजित क्षेत्री
मिति-05-07-2016

अफिस सकिनासाथ आज पनि उही चिया पसलमा पुगिसकेको थिएँ । चिया पकाउँदै रहिछन् पसलकी साहुनी । केही दिन यता अफिस समयपछि यो पसलको एक कप चिया र एउटा समोसा खाएर मात्र घर जाने मेरो दैनिकी नै बनेको छ । हल्का चिनी, कडक पत्ती र गाढा दुधमा बनेको भरी गिलास चियाकै कारण म यसै पसलमा आउने गर्छु । मेरो अफिस नेरैका थुप्रै चिया पसलेहरु मुख बंग्याउँछन् नजिकको तिर्थ हेला गर्यो भनेर । कसैले केटीले पकाएको खान गएको भन्छन् कसैले चिया पिउने निहुले चिया पसले युवती जिस्काउन गएको भन्छन् कसैले पल्किसक्यो सल्किसक्यो पनि भन्छन् । तर म त्यो चियाको स्वादमा पल्केर त्यहाँ जाने गर्छु । मानिसहरूका यि सबै भन्यो रे र भन्छन् अरे अरेका कुरा मात्र हुन् । मलाई मुखै फोरेर झुटो ईल्जाम लगाउने कसको ताकत ? कन्ना पछाडी त मेरा लागी फूल टिपुन् की हँसिया उध्याउन्, मलाई बाल मतलब ।

करीब आठ दस फुट चौडा सटरमा खोलीएको चिया पसल । पसलमा दुई टेबल, आठ दस कुर्सी, एक बेन्च र एक छेउमा समोसा, पकौडा, बिस्कुटले भरिएको सानो सोकेस र आडैमा ग्यास चुल्हो अनि भित्तामा भित्तामा टाँसिएको एक क्यालेन्डर, स्वर्गीय राजा बिरेन्द्रको परिवारको ए-थ्री साइजको फोटो, कान्तिपुर साप्ताहिक पत्रिकाको केही ब्लोअप र सम्मुखमै झुँडाईएको एउटा ऐना । यही हो यस पसलको परिचय । पसल एक युवतीले चलाएकी छिन् । करिब पच्चिस छब्बिस सालकी, अग्लो कदकी, हल्का कालो बर्णकी, आदरभाषी र बोल्दा हल्का मुस्कुराहट । काममा फुर्तिली र हातको स्वाद मिठो । यिनै कारणले धेरैजसो अफिसियलहरु एक कप चिया पिउनैका लागी यही चिया पसलमा आउने गर्थ्यौं । पसलमा पुग्नासाथ भित्तामा झुन्ड्याइएको ऐनामा दिनभरीको कामले च्याउसिएको आफ्नो अनुहार एक खेप हेर्नु र नाकको छेउछाउमा फस्टाएका डन्डिफोर निचोर्नु मेरो आदतै बनिसकेको थियो ।

ऐनामा एक झलक हेरिसकेर बसेको के थिएँ चिया आईपुग्यो टेबुलमा । 
"समोसा पनि राख्दिऊँ सर ?"-उसले भनी । "उम्" मैले टाउको हल्लाएँ । 
एक प्लेटमा समोसा पनि आयो । "आज त खुब च्वाँक देखिएकी छौ नि !"-मैले जिस्काउन भनें । 
"अँ होला खुब ? सर पनि जे पायो त्यै बोल्दिनु हुन्छ ।" उसको प्रतिक्रिया थियो । 
'हो भन्या, कस्सम आज झनै राम्री देखिएकी छौ के ।"-मैले थपें । 
'राम्रो नराम्रो त मान्छेको हेराई हो सर, राम्रो त मन हुनु पर्छ मन ।'-उसले भनि ।  
'तिमी मान्छे नि राम्री तिम्रो मन त झनै राम्रो, आकाशमा उडिरहेको रंगीन चङ्गा जस्तै ।'  फुर्क्याउने पाराले मैले भनें । तर उ फुर्किइन । 
'आकाशको चङ्गा जतिसुकै राम्रो भएपनि कि त कसैको मुठ्ठीमा आउने हो कि त धागो चुँडेर कहिँ पछारिने हो । तपाईँ पनि मलाई पछार्दै हुनुहुन्छ सर ।'-उसले जवाफ दिई ।
लाग्यो उसले मलाई तिखो प्रहार गरी । रक्षात्मक हुँदै मैले भनें :- 'तिमी त राजकुमारले उडाउने चङ्गा जस्ती छौ । चुँडेर खसे नि दरबारमै हातमा बसे नि दरबारमै ।' 
मेरो कुरामा उसले कुनै प्रतिक्रिया जनाइन । सायद प्रतिक्रिया जनाउन चाहिन पनि । उसँग यतिधेरै सवालजवाफ गरेको मैले यो पहिलो पटक थियो र उसले यति खुलेको पनि यो पहिलो पटक । कुनै पनि ग्राहकसँग धेरै बोल्दिन पनि र रिसाउँदिन पनि ऊ । ऊ अर्थात यो चिया पसलकी साहुनी । नाम भने थाहा भएन मलाई । कसैसँग नजर जुधाएर बोल्दिन अनि कसैसँग गफिएर बस्न न रुचाउँदिन । प्रायः नजर नजुधाउने मानिस कसैसँग सजिलै प्रेममा फँस्दैन र कसैले सजिलै बिस्वास जित्न पनि सक्दैन । मलाई लाग्छ ऊ आजसम्म प्रेमको मिठो फल नखाएकी यौवनकी कलि हो । धत् मैले त के के सोंच्न भ्याई सकेछु । साँच्ची युवतीहरु पनि हामी युवकहरुको बारेमा यस्तै धारणा बनाउँदा हुन् त? सोंचें- युवतीहरु युवाले जस्तै प्रेम र यौन अनि घरजमको बारेमा सोंच्नु भन्दा युवकको सुगठित शरिर र उसको आम्दानीका बारेमा सोंच्छन् होला । मेरा एक मित्र भन्ने गर्छन् पुरुषको एक चौथाई जिन्दगी युवतीको बारेमा सोंचेर र हस्तमैथुन गरेर बित्छ युवतीको आधा जिन्दगी मेकअप गरेर र ठुलो घरकी मालिक्नी हुने सपना देखेरै बित्छ । सोंचें- ठिकै भन्थ्यो उसले ।
'साहुनी सुन त'- मैले भनें ।
प्लीज सर मलाई साहुनी नभन्नुस् न- उसले आग्रह र निर्देशन मिसिएको स्वरमा भनी ।
"पसल चलाउछ्यौ साहुनी नभनेर के भनुँ त ?"
"कहाँ चलाएँ पसल? जुठो भाँडा उठाएर माझेर एक एक पैसा बटुल्ने मान्छे के को साहुनी नी ?"-उसको जवाफ आयो ।
त्यसो भए के भनौँ त ?
"बैनी भन्नुस्"-उसले सहजै भनि ।
उ सहज हुन खोजी मलाई भने असहज भयो । 
उ दुरी मेटाउँदै थिई तर सिमाना लगाउँदै थिई
म दुरी भेटाउँदै थिएँ तर सिमाना मेटाउन खोज्दै थिएँ ।
'नाईँ'-मैले भनें- 'यो सजायँ मलाई नदेऊ । यो त बाघलाई मुख र नङ्ग्रा बाँधेर बाख्राको खोरमा छोडे जस्तै भयो'-मैले थपें ।
"पापी"-उसले धारे हात लगाए जस्तो गरी मायालु पारामा भनी ।
पापी भन्ने शब्द सुन्नासाथ यस्तो लाग्यो मानौं कि मलाई यमराजको अघिल्तिर उभ्याईएको छ र यमराजबाट मैले गरेका पापहरुको लामो सूची बाचन गरिँदै छ ।
'म त धर्मको खोजीमा निस्केको मान्छे, तिमीले त पापी पनि घोषित गरिदियौ है ? अब पापीलाई सजाएँ पनि तिमी नै दिनु'- मैले भनें
''पापी नै त निस्कन्छन् धर्मको खोजीमा''-दार्शनिक शैलीमा उसले भनी- ''धर्म कमाउन त तिर्थ यात्रा र मन्दिर धाउनु नी सर, यता होइन नी"
''जहाँ पबित्रता हुन्छ त्यही हो तीर्थ, जहाँ बिश्वास हुन्छ त्यही हो मन्दिर अनि जहाँ सेवा त्यहीँ ईश्वर''- मैले पनि जाने जति एकैपटकमा भन्दिएँ । 
'तर सर'-उसले भनि-बाटोको ढुँगालाई फूल चढाउँदैमा त्यो ईश्वर बन्छ र?
'ईश्वर एक अमुर्त मानव चेतना मात्र हो जब त्यसमा बिश्वास रुपी जल चढाईन्छ नी, त्यो मुर्त बन्दछ र त्यसलाई केवल ज्ञानीहरुले मात्र देख्न सक्दछन् ।'-मैले भनें ।
'त्यसो भए तपाईं ज्ञानी हो ?'
''होइन, म त अज्ञानी किनकी ज्ञान प्राप्त गर्न ध्यान चाहिन्छ र म ध्यान गर्न सक्दिन''-मैले भनें ।
ऊ केही बोलिन । पसलमा चिया पिउन आएका ग्राहकहरु गई सकेका थिए । मैले पनि चिया सकिसकेको थिएँ पैसा बुझाएँ । 
आज अलि बढी गफिएको थिएँ । किनकिन गफमा मजा आइरहेको थियो । गफको मिठासमा चियाको स्वाद फिका थियो तर अनुभूति अनुपम थियो ।
एकछिनको मौनता तोडेर मैले नै कुराको सिलसिला बढाउन सोधें- 'ए साँच्ची, तिम्रो नाम के हो नी ?' 
हुन पनि यतिका दिनसम्म मैले उसको नाम सोधेको थिइन । खासमा मलाई उसको नाम जान्नुपर्ने आवश्यकता नै परेन आजसम्म । त्यसो भए आज किन त ? आँफैलाई सोधें मनमनै । मनले उत्तर फर्काएन । 
'के राखेको छ र नाममा ? बिना नाम पनि तपाईंले मलाई चिनिराख्नु भएकै छ के रे'.. लाग्यो-झटारोले लाग्ने गरी हिर्काई उसले मलाई । आज उसले जित्दै गइरहेकी थिइ र म, हार्दै । तर पनि यस्तो लाग्दैथ्यो हारे पनि रेफ्रीले मलाई नै बिजयी घोषणा गरिरहेको छ ।
'नाम ब्यक्तिको परिचय हो, ब्यक्तिको अनुपस्थितीमा पनि उसको नामले उसको भुमिका निर्वाह गर्दछ ।''-मैले भनें ।
'त्यसो भए नाम बिना मान्छेको परिचय नै हुँदैन त ? के बिना नामले म यो समाजमा परिचित हुन सक्दिनँ त ?-गम्भिर पारामा उसले प्रश्न गरी । 
'बिना नाम पनि परिचित हुनु सम्भव छ',-मैले भनें-'नाम भएकाहरुको भिडमा एक जना नाम बिहिन मान्छे बाँच्दछ भने नाम बिहिन हुनु नै उसको परिचय बन्दछ । तर त्यसरी एक्लो परिचयको एक्लो जीवन तिमीले जीएको हेर्न चाहन्न म ।'
''सीता, रीता, पार्वती, उमा, प्रमिला....आखिर जे नाम भए नी म मैँ हुँ, नामको शृंगारले मान्छेको बाहिरी परिचयमा त केही भिन्नता देखिएला तर मैले जीउने जिन्दगी र मेरा सपनाका अँध्यारा गल्लीहरुमा मलाई साथ दिन्छन् जस्तो लाग्दैन सर ।'' उसको दार्शनिक जवाफले म अवाक् भएँ । 
मैले भनें- 'दर्शन सिक्न त कोही तिमीसँग आओस् । तिम्रा रहस्यमय शब्दहरु सुनेपछि त लाग्छ तिमी कुनै दन्त्यकथाकी रहस्यमय पात्र हौ ।' 
'सर तारिफ धेरै भयो अब जानुस् ढिला भयो' उसले भनी । 
घडी हेरें साँझको सात बजिसकेछ । बाहिर हल्का अँध्यारो हुँदैथ्यो सरासर घरतिर लागें ।

नाम बताइन, यसै यसै टारी उसले मलाई आज ।

***********

दिनहरु यसैगरी आफ्नै गतिमा अगाडि बढ्दै गए । अफिस लागेका दिनहरुमा दिनमा एकपटक उसको पसलको चिया पिउनु, दुई चार मिठा गफहरु उसँग गर्नु, यी मेरा दैनिक रुटिङ् नै बनिसकेका थिए । वास्तवमा म मा लत नै बनिसकेको थियो यो पसल, यहाँको एक कप चिया र उसको मुस्कान । म आज भोली आफुलाई कताकता हराई रहेको थिएँ । अफिस र चोकतिर मेरा बारेमा गाईंगुई चल्न थालेको थियो तर कसैले मसंग मुखै चाहिँ फोरेका थिएनन् । खासमा चिया पसलकी साहुनीसँग मेरो त्यस्तो कुनै खास सम्बन्ध भने थिएन । म उसका लागि अरु ग्राहक सरह नै थिएँ । तर मेरा लागि भने उ केहि खास बन्दै गएकी थिई। खास यस मानेमा कि उ र उसको पसल मेरा लागी चौतारी जस्तै बनेको थियो दिनभरिको अफिसको कामको थकान मेटाउने, एक कप चिया पिउने, उसको सामिप्यमा केही बेर रहने र साँझ घर फर्कने । 
कलिलो लोर्के जोबन, चन्चले उमेरमा युवा युवती बाबुआमाको काखमा लाडप्यारमा रमाउने गर्छन् । उ भने उमेर भन्दा गरुङ्गो जिम्मेवारी सम्हालिरहेकी थिइ । मैले कारण सोधें । बुबा प्यारालाईसिसको बिमारले स्वर्गे हुनु भएको, बृद्धा आमाको काँधमा घरको सबै जिम्मेवारी भएकाले परिवारलाई सघाउन सानोतिनो भए नि पसल चलाएको उसले बताएकी थिई एकदिन ।

भोलिपल्ट बिहान समयमै अफिस पुगें । अघिल्लो दिनको केही काम बाँकी थियो- सकें । अफिसमा अडिट सुरु हुने वाला थियो त्यसैको तयारी स्वरुप म र अर्का एक स्टाफ करिब दुई हप्ताको लागि सुर्खेतको बिरेन्द्रनगर जानु पर्ने भयो । भोली बिहानैको बसमा जानु र त्यसका लागि अहिल्यै देखि तयार रहनु भन्ने निर्देशन आयो । मनमा एक प्रकारको हुटहुटि सुरु भो । भोलीका लागि तयारी गर्दै थिएँ, एक मन पहिल्यै बिरेन्द्रनगर पुगिसकेको थियो भने अर्को मन यतै कतै अल्झिरहेको थियो । एक मन दुईतिर बाँडिए जस्तो भैरहेको थियो । आँफू आँफैसँग थिइनँ कतै हराएको थिएँ । जति चाँडो काम सकाउँछु भन्यो उती नै ढिलो भयो । अफिसियल काम सकेर बाहिर निस्कँदा साँझको ६ बज्नै आँटेको थियो । सरासर उहि चिया पसलमा गएँ, भित्तामा झुन्डिएको ऐनामा आफ्नो अनुहारको एक्स रे गरें, नाकको छेउमा सानो डन्डिफोरले घर बनाउन लागेको रै'छ निचोरें र आडैको कुर्चीमा बसें । उही परिचित शैलीमा उसले चिया र समोसा टेबलमा राखिदिई । किनकिन आज मैले चिया एक चुस्कि भन्दा बढ्ता पिउनै सकिन । आज उसलाई मात्र हेरुँ हेरुँ लागेको थियो । भर्खर नुहाएर निस्केकी कुमारी युवतीको शरीरबाट बास्ना निस्के झैं उसको शरीरको बासनाले लठ्याए झैं भयो मलाई । अनि उसलाई छाडेर केही दिन बिरेन्द्रनगरको अपरिचित भिड छिचोल्न जाँदै थिएँ भोली यो पनि एक पीडा जस्तै भएको थियो मलाई यतिबेला । ऊ मेरो सामुन्नेको टेबलमा रायोको साग केलाउँदै थिई । 
"भोली म सुर्खेत जाँदैछु नि"-एकतमासले सब्जी केलाई रहेकी ऊ मेरो यो अप्रत्यासित कुराले झस्के जस्ती भई । 
"आबुई हो र ! कति कामले नि ? कि उतै बस्ने हो र अब सर ?" उस्सुकता र बिस्मयका साथ उसले एकैपटकमा थुप्रै प्रश्नहरु सोधी । 
"करीब १५ दिनका लागी" 
मैले यसो भने पनि उनको अनुहारमा कुनै परिवर्तन देखिएन । लाग्यो मेरो जवाफबाट सन्तुष्ट भईन ऊ । आफ्नो जवाफबाट म आफै पनि सन्तुष्ट हुन सकेको थिईन । 
"तर १५ दिन मेरा लागी १५ बर्ष जत्तिकै लामा हुनेछन्" मैले भनें । 
"किन नि त्यस्तो, सर ?" उसले सोधी ।
"जहाँ मन छैन त्यहाँ बतन कसरी रमाउन सक्छ र ?-मैले जवाफ दिएँ । 
"महासय, अनि मन किन यतै छोडि जाने नि ? आफ्नो मन आफैसँग लैजाने गर्नुहोला, नत्र चोरी हुन के बेर ।"-केही मुस्कुराउँदै उसले भनी ।  
'महासय' !! उसले पहिलो पटक मलाई यो शब्दले सम्बोधन गरी । चिसो पानी पिउँदा शरीरको भित्रैसम्म महसुस भए जस्तै उसको सम्बोधनले पनि मलाई एकैपटकमा भित्रैसम्म छोएर गयो । यस्तो लाग्यो पहिलो पल्ट कोही मेरो मनको तघारो जबर्जस्ती खोलेर संघारमै बस्न खोज्दैछ । उसले ठिक भनेकी थिई मन चोरीन सक्छ । तर महसुस गर्दै थिएँ मन बिस्तारै चोरी भैरहेको छ । र, म चुपचाप चोरलाई मनको तालाचाबी सुम्पिँदै थिएँ ।
"मन त चोरी भै सक्यो, अब म सुरक्षित छु"- मैले भनें ।
"त्यसो भए उजुरी दिनु नि मन चोरी भयो भनेर"
"कहाँ दिउँ उजुरी ? उनै चोर छन् र उनै सिपाही भएका छन्"-मैले भनें
"मन चोरी भएको प्रमाण केछ तपाईंसँग ?" उसको यो प्रश्नले म आफूलाई अदालको कठघरामा उभिएको कैदी जस्तै महसुस गरें जो आफू निर्दोष हुँदा हुँदै पनि निर्दोषिताको प्रमाण पेस गर्न असमर्थ हुन्छ । यस्तो लाग्दैछ जस्को बिरुद्ध उजुरी दिएको छु उहि मेरो उजुरी उपर सुनुवाई गर्दैछ ।
"तिमी केरकार बिभागको पुलिस अफिसर कि अदालतको न्यायधिश हँ ?-मैले कुरो थपें ।
"तपाईँ जे सम्झनुस्"-उसले भनि- "तपाईंको हराएको मन भेटाउन सहयोग गर्न चाहने एउटा शुभचिन्तक मात्र हुँ म ।"
उसो भए सुन- मैले भनेँ- "मान्छेले आफूले आफूलाई बिर्सनु, बिना पानीमा तैरन खोज्नु र बिना हुरी मन टाढा टाढा सम्म पुग्नु मन चोरीएको लक्षण होइन त?"
"कुन दिन सर पनि चोरिनु भयो रे भन्ने समाचार आउन बेर छैन ।"-हाँस्दै उसले थपि ।
"आओस् छिट्टै त्यो दिन"
हामी दुबै गलल्ल हास्यौं ।
घडी हेरें समय त घर्की सकेछ । पसलबाट निस्केर घरतर्फ पाइला बढाएँ । हिड्नै लाग्दा उसले भनि: "शुभयात्रा सर, चाँडै फर्कनु होला है ।"
हिँड्नै लाग्दा मैले आज फेरी उसको नाम सोधें । उसले सहज उत्तर दिई: "माया" ।
माया साँच्चिकै मायावी थिई । "माया"... यो शब्द ननिदाउँञ्जेल कानमा गुन्जिरह्यो ।

भोलिपल्ट बिहानै म र अर्का एक स्टाफ बिरेन्द्रनगरका लागी प्रस्थान गरियो ।

*********

बिरेन्द्रनगर आएको चौथो दिनमै दुई जना अपरिचित अनुहारहरु हाम्रो अफिस भित्र छिरे र अभिबादन कमरेड भन्दै जोडले हात मिलाए । दुई मध्ये एक अलिक रक्षात्मक हिसाबले ढोका नेरै उभियो र अर्को हामीसंग गफ गर्न लाग्यो । अत्यान्तै मृदुभाषी यी युवक माओवादी जनयुद्धमा लागेका र भर्खरै यो बजार क्षेत्रको पार्टी ईन्चार्ज भएर आएका रैछन् । असली नाम दिपक सुनाम भएपनि पार्टीको नाम क. उमंग रहेछ । मान्छे निक्कै तार्किक लागे। सके पार्टीमा सक्रिय भएर लाग्न र नसके पार्टीलाई आर्थिक-भौतिक र नैतिक समर्थन गर्नु पर्ने भन्दै उनले निर्देशनात्मक शैलीमा आग्रह गरे । केही आर्थिक सहयोग गर्नु पर्ने उनको मागलाई हामी हेड अफिससँग सल्लाह गर्नेछौं भनेर उम्कियौं ।
उनीहरू त्यहाँबाट निस्केको दुई घण्टा पनि भएको थिएन पुलिसको एउटा भ्यान आएर हाम्रो कार्यालय अगाडि रोकियो । तत्काल उनीहरुले हाम्रो कार्यालयलाई चारै तर्फबाट घेरा हाले । केही पुलिसहरु हाम्रो कार्यालयका कागजात खानतलासी गर्न लागे भने अफिसमा भएका हामी चारै जनालाई प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगे । त्यसदिन माओवादी कार्यकर्ताहरू हाम्रो कार्यालयमा आएको सुराकी कसैले प्रहरीलाई दिएको रहेछ ।
बिना कारण प्रहरी हिरासतमा १५ दिन जति राखियो हामीलाई । प्रहरी खोरमा बस्नुको पीडा र त्यहाँ पाईएको अपमानले भित्रभित्रै हिनताबोध र राज्यप्रति बितृष्णा नै पैदा भयो । माओवादीमा कतैपनि हाम्रो संलग्नता नपाईएको र हेड अफिसले मानब अधिकारकर्मी मार्फत दिएको दबाबका कारण १६ औं दिनमा प्रहरी हिरासतबाट मुक्त भइयो । मुक्त भएपछि सिधै कोठामा पुगें । सहकर्मीहरु कोठामै भेट्न आउनु भयो । भोलीपल्ट पनि कोठामै सुतें अफिस जानै मन लागेन ।

अर्को दिनदेखि नियमित अफिस जान थालेँ । केही दिन अघि घटेको त्यो अप्रत्यासित घटनाले मन बिचलित भैरह्यो । मनको शान्त तलाउमा कसैले ढुङ्गा खसालेर अशान्ति मच्चाए सरी भयो ।

एक दिन अचानक साँझपख तिनै माओवादीहरु बाटोमा भेट भए । प्रहरीले म लगाएत मेरा सहकर्मीहरुलाई पक्राउ गरेर यातना दिएकोमा कमरेड उमंगले गहिरो दुःख ब्यक्त गरे । सामन्ती राज्यसत्ताको बिभेद र दमन बिरुद्ध संघर्षको मैदानमा उत्रन उनीहरुले मलाई आग्रह गरे । मैले उपयुक्त समयमा यसबारेमा सोंच्न सकिने बताएँ । उनीहरुले केही मार्क्सवाद र माओवादी दर्शनका किताब मेरो हातमा थमाउँदै भने: यी पुस्तकहरुको अध्ययन गर्नुस् कमरेड, आशा छ तपाईं छिट्टै हाम्रो गौरवशाली पार्टीको पूर्णकालीन कार्यकर्ता बन्नु हुनेछ ।"
एकातिर माओवादीहरु मलाई माओवादी कार्यकर्ता बन्न दिनहुँ दबाब दिँदै थिए भने अर्को तर्फ म र मेरो अफिसका सहकर्मीहरु माथी सेना र प्रहरीको निगरानी बढिरहेको थियो । माओवादीको साथमा बसेको अबस्थामा सुरक्षाकर्मीले भेटाए मेरो पनि सफाया हुने निश्चित थियो । मन आतङ्कित थियो बाहिर मुस्कुराएको मात्र थिएँ म ।

दिनहरु बित्दै गए, म आफूलाई असुरक्षित महसुस गर्न थालें । कहिले माओवादी त कहिले सेना पुलिसका मान्छे भेट भईरहन्थे । एकदिन एकजना माओवादी कार्यकर्ता मेरो कार्यालयमै आएर अघिल्लो दिन हुने माओवादीको गोप्य सभामा सहभागी हुन जारी गरिएको उर्दी पत्र हातमा थमाएर गयो । चिट्ठी सर्सर्ती पढें-अनिवार्य उपस्थित हुनु भनिएको थियो । पत्र खल्तीमा राख्ने हिम्मत आएन टोकरीमा फाल्न पनि डर लाग्यो । सम्भावित भबितब्यको भयले शरीर लगलग काँप्यो । म जस्तो प्रजातन्त्र र स्वतन्त्रताको पक्षधर मानिस कसरी माओवादी जनवादी अभ्यास स्वीकार गर्न सकुँला र भन्ने पनि सोचेँ । अर्कोतिर माओवादी आग्रह र उर्दी लत्याउन सक्ने नैतिक बल पनि जुटाउन सकिन मैले । अफिसका साथीहरुको अबस्था पनि मेरै जस्तो रहेछ । कार्यक्रममा जाऊँ भने बिनासित्ति माओवादीको बिल्ला भिरिने अनि सेना प्रहरीको आक्रमणको सिकार पनि बन्न सकिने डर अनि नजाउँ भने माओवादीको नजरमा उनीहरुको बिरोधी भइने डर । साझ पर्दै गयो मनमा डर बढ्दै गयो, अन्यमनस्क स्थितिमा पुगें । खेदिएर भिरमा पुर्याईएको मृगको हालत भएको थियो मेरो, एकातिर भिर र अर्कोतिर बिशाल नदी थियो । भिरमा ज्यान फालुँ कि नदीमा हाम फालुँ ?

करीब दुई हप्ताको लागी बिरेन्द्र नगर आएको म करीब चार हप्तादेखि यतै थिएँ । अफिसको काम सकिनु त कता हो कता म त हरेक दिन नयाँ नयाँ उल्झनमा फस्दै थिएँ । जुन उत्साह लिएर यहाँ आएको थिएँ ति सबै पानीको फोका झैं बिलिन भैसकेका थिए । अब मलाई बिरेन्द्रनगरको बसाईं एक दिन पनि एक युग जस्तै लामो भैसकेको थियो । यस अवधिमा घरपरिवारको याद खुब आईरह्यो । सबैभन्दा बढी त उही चिया पसलको याद आयो अनि मायाको । बिरेन्द्रनगरका कुनै पनि चिया पसलले मलाई मायाको झल्को मेटाउन सकेनन् । यहाँका कुनै पनि पसलका चिया मलाई स्वादिष्ट लागेनन् । साँच्चै भन्नु पर्दा यो शहरले मलाई आफ्नो बनाउन सकेन अनि मैले यो शहरलाई आफ्नो बनाउन सकिन । यहाँ मैले कोही आफ्ना भेटिन । शहरको भिडमा म आफू आफैसँग हराई रहेको थिएँ । "कुनै दिन सर पनि चोरीनु भएको खबर आउन बेर छैन"- मायाले भनेका यी कुरा झट्ट याद आयो । म चोरीएको त थिईनँ तर हराई रहेको थिएँ यहाँ । साँच्ची कुनै दिन म यस शहरबाट साँच्चिनै हराएँ भनें !!
म गिरफ्तारीमा परेको र छुटेको थाहा पाए देखि नै मेरो परिवारबाट यहाँ नबस्न तिब्र दबाब आइरहेको थियो । र, अब यहाँ बसिरहन मलाई पनि असुरक्षित महसुस हुँदै थियो । आज रातभरमै मैले एउटा बोल्ड निर्णय लिनु पर्ने भयो ।
बिहान सबेरै निद खुल्यो । किन किन आज ज्यान चङ्गा जस्तै हलुका महसुस भैरहेको थियो । तनाव मुक्त थिएँ म । खाना खाईवरी समयमै अफिस पुगें । कम्प्युटर खोलें केही कुरा टाइप गरें एक प्रति प्रिन्ट गरें र सरासर कार्यालय प्रमुखको कक्षमा गएँ । अभिबादन आदानप्रदान पछि हातमा लिईराखेको पेपर उनलाई दिएँ । पत्र पढिसकेसी उनले अचम्मित हुँदै प्रश्न गरे- "राजेन्द्र सर तपाईंबाट राजीनामा !! तर के कारणले ?"
"कारण त प्रष्ट छ नि, यस्तो अशान्त वातावरण र चौतर्फी निगरानीको बिचमा म कसरी काम गर्न सक्छु सर ?"
उनी केही बोलेनन् । मैले मेरो जिम्मामा रहेका सम्पूर्ण फाइल र कागजातहरु उनलाई सुम्पिएँ ।
एकै छिनमै म अफिसबाट बाहिरिई सकेको थिएँ । सरासर म उहि चौतारी पछाडिको सानो चमेना गृहमा पुगें जहाँ बितेका केही दिन यता मैले कमरेड उमंगसँग भेट्ने गरेको थिएँ ।

कमरेड उमंगले करिब आधा घण्टा टाढा रहेको माओवादी पार्टीको आमसभा स्थलमा पुर्याए। खचाखच मानिसले भरिएको सभामा म संगै थुप्रैले माओवादी पार्टीको सदस्यता ग्रहण गरी पूर्णकालीन सदस्यता लिए ।
सेना प्रहरीको निगरानीमा रहनु र माओवादी धम्की खेपेर अधमरो जिन्दगी जीउनु भन्दा माओवादी भएरै हिँड्नु उचित लागेपछि मैले खाईपाईको जागिर पनि छाडेर यसरी माओवादी कार्यकर्ता बनेर हिडेँ । सुरुका दिनमा अर्घाखाँची र सल्यानका घना जंगलमा सैनिक तालिममा सहभागी भएँ ।

माओवादी पार्टीमा लागेर हिँडेको खबर घरमा पठाई सकेको थिएँ । सुरु सुरुका दिनमा घरको यादले सतायो । मनको क्यानभाषमा मायाको तस्बिर उस्तै गरी आई रह्यो केही दिन केही हप्ता । तर पछि पार्टीको स्कुलिङ् र फौजी खटनले यति ब्यस्त बनायो कि त्यहाँ आफू, आफ्नो पार्टी र जनयुद्ध बाहेक केही सोंच्नै सकिन । जनयुद्धमा लागेर भुमिगत भै हिँडेको चार पाँच सालमा एकाध पटक पार्टीको काम बिशेषले जाने क्रममा पसेको बाहेक घरमा गएको मलाई सम्झना छैन । जनयुद्धमा लागेको करिब डेढ बर्षपछि पहिलो पटक घर गएको थिएँ । मायालाई भेट्न उनको चिया पसल भएको ठाउँ पुगें तर त्यहाँ न त मायाँ थिई न त उसको चिया पसल । मन खिन्न भयो । छिट्टै आउनुहोस् है सर भनेकी थिई हिड्ने बेलामा । दुई हप्ताको लागी हिँडेको म डेढ बर्ष पछि फर्केको थिएँ । उसको पसल भएको ठाउँमा ठुलो बिल्डिङ् बनेको थियो र त्यहाँ अहिले हार्डवयर पसल थियो । कसैले पनि मलाई माया कहाँ गई भनेर बताउन सकेन । त्यसपछिका करीब चार बर्ष म जनयुद्ध र फौजी कारवाहीमै ब्यस्त भएँ । बिस्तारै मायाका यादहरु जीवनबाट ओझेल पर्दै गए ।

माओवादी पार्टीमा रहँदा दाङ्, सल्यान्, अर्घाखाँची र पाल्पा आक्रमणमा सहभागी भएँ म । पाल्पा सदरमुकाम तानसेनमा पार्टीले केही ब्यक्तिको सफाया गरेपछि भने म पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर सैन्य मोर्चा त्यागी राजनीतिक मोर्चामा सहभागी हुन थालेँ । तानसेनको घटनासँग मेरो केही असहमति रह्यो केही कुरा मैले चाहेर पनि गर्न सकिन । जायज कुरालाई कुल्चेर नाजायज कुरालाई समर्थन गर्नु मेरो नैतिकताले दिएन । आफ्नै आँखा अगाडि निर्दोष मानिसलाई समातेर मारिएपछि मलाई पार्टीको फौजी लाईन र बिरोधी सफाया प्रबृत्ति प्रति बितृष्णा उत्पन्न भयो । पछि पार्टीले राजनीतिक लाईन बदल्यो र नेकपा माओवादी खुल्ला राजनीतिमा प्रवेश गर्यो । लगत्तै पार्टी संसदमा प्रवेश गरी सरकारमा पुग्यो । जनजीविका र बर्ग संघर्षको मुद्दालाई पाखा लगाएर अवसरबादी पथबाट पार्टी गुज्रिन थालेपछि मैले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिई स्वतन्त्र जीवन यापन गर्ने निर्णय गरें ।

पार्टी जिम्मेवारीबाट राजीनामा दिए लगत्तै काठमाडौँबाट घर जान बस चढें । तनहुँ खैरेनीटार आईपुगेसी एक जना बिधवा महिला सानो बच्चाको साथमा बसमा चढिन् । महिला कहिँ कतै चिनेको जानेको जस्तै लाग्यो तर यही हो भनेर ठम्याउन सकिन । एकैछिनमा ति महिला मेरै आडको सिटमा बस्न आईपुगिन् । जब ति महिला मेरो आडैमा बसिन् मेरो होसले ठाउँ छोड्यो । मैले उनलाई राम्ररी चिनें तर उनले मलाई चिनिनन् । म पहिला पातलो मान्छे थिएँ अहिले मोटाएको थिएँ, दाह्री पालेको थिएँ चस्मा पहिरिएको थिएँ । त्यसैले उनले मलाई चिनिनन् । यी महिला पहिला हल्का र छरितो जीउडालकी, हल्का कालो बर्णकी तर चम्किली अनि आकर्षक थिईन् तर अहिले पातलो शरीर, फुस्रो रंग उडेजस्तो अनुहार र उस्तै कपडाको रंग पनि । उनलाई चिनेपछि म स्तब्ध भएँ । चार पाँच बर्षिय बच्चाको साथमा मेरो आडैको सिटमा बस्ने ति महिला तिनै माया थिईन् जसको हातले बनाएको चिया नपिएसम्म कुनै समय म अफिसबाट घर जाँदिनथें । यि तिनै माया थिईन् जसको रुप, यौवन र ब्यवहारबाट प्रभावित भएर म उनको एकोहोरो प्रेममा नजानिँदो किसिमले परेको थिएँ । यि तिनै माया थिईन् जसको सम्झनाले सुरुका दिनमा कैयौं पटक म माओवादी जनयुद्धबाट भागेर घर जाने सम्म सोच्न भ्याएको थिएँ । उनले मलाई नचिनेर ठिकै गरिन् जस्तो लाग्यो किनकी चिनेको भए उनले अतितका पुराना घाउ कोट्याउने थिइन् र सायद त्यसको पीडा उनले भन्दा बढी मैले सहनु पर्थ्यो । अथवा उनले मेरो अतितको बारेमा सोध्ने थिईन् र सायद मनमनै मलाई धोकेबाज पो भन्ने थिईन् कि ! किनकी मलाई अहिले पनि याद छ उनले कहिल्यै ब्यक्त गर्न नचाहे पनि उनी मलाई प्रेम गर्थिन् ।

बस आफ्नो गन्तब्यमा अगाडि बढ्दै गयो । म उनीसँग गफिन सुरु गरें । मलाई उनी र उनको जीवनमा बितेका पाँच/छ बर्षमा के के भए जान्न मन भयो । उनले पनि एक अपरिचित मानिससँग आफ्ना दुःखका पैया फुकाउन थालिन् । उनका प्रत्येक आवाजमा दुःख, असन्तुष्टी र पीडा मात्रै भेटें मैले । कतिचाँडै उनी बिबाहित र बिधवा पनि भईछन् कठै । कति चाँडै समयले कोल्टो फेर्दो रैछ !! उनको जीवनको रुखका हरिया पातहरु कति चाँडै ओईलाएछन् ? कुन खडेरीमा परेर उनका सपनाहरु बिपना हुन नपाई झरेछन् ? मनमा अनेक प्रश्नहरुले दोहोरी खेल्न थाले । उनको दुःखसँग एकाकार हुन मन लाग्यो मलाई । हुन पनि कुनै समयमा आफूले मन पराएको मान्छे जिन्दगी र तकदिरको खेलमा हारेर पछारिई रहेको देख्दा म कसरी निरपेक्ष रहन सक्थेँ र ? उनले आफ्नो बिहे भएदेखि आज सम्मका सबैकुरा बताउँदै गईन् । जब उनले माओवादी द्वारा आफ्नो पतिको हत्या गरिएको घटनाका बारेमा बताईन् मैले आफू बसेको जमिन भासिएको महसुस गर्न थालेँ । आज आएर थाहा भयो उनको पति तिनै अभागी ब्यक्ति थिए जसको हत्या मेरो पार्टीले मेरै आँखा अगाडि गरेको थियो । पाल्पामा शिक्षक सेवामा रहेका उनका पतिलाई सुराकी गरेको आरोपमा मेरै पार्टी माओवादीले पक्रेको थियो । मलाई थाहा थियो उनी निर्दोष थिए । पहिलो पटक पक्राउ पर्दा मैले नै उनलाई भगाएको थिएँ तर दोस्रो पटकमा मैले बचाउन सकिन उनी मेरै अगाडि मारिए । बिरोधीहरुले उनी सेनाको लागी काम गर्ने सुराकी भएको भन्दै पटक पटक उनी बिरुद्ध सुराकी दिएका थिए । एउटा सामान्य नागरिकले यसरी अनाहकमा ज्यान गुमाउनु परेको तानसेन घटनाको साक्षी बनेको त्यै घटना पछि नै मैले माओवादी सैन्य बिभागका महत्त्वपूर्ण जिम्मेवारीबाट राजीनामा दिएको थिएँ । आज म पार्टीबाटै राजीनामा दिनुको थुप्रै कारणहरुको पृष्ठभूमिमा त्यो हत्याकाण्ड पनि एक थियो ।

माया जतिजति आफ्ना जीवन कहानी सुनाउँदै जान्थिन् म उति उति पग्लँदै गैरहेको थिएँ । यी उनै माया थिईन् जसलाई म मन मन्दिरमा सजाएको थिएँ । कुनै समय म यिनैसंग प्रणय जीवनको कल्पना गरेर रोमान्चित हुने गर्दथें । यिनीसँगको सामिप्ताले म भित्र उत्तेजना र उद्वेगको बाढी आउने गर्दथ्यो । म उनको सामिप्यता चाहन्थें उनी डराउँथिन आफ्नो परिचय लुकाउँथिन् । तर आज... म उनीसँग भागिरहेको महसुस गर्दैछु । म कसरी भनुँ कि म उही अर्जुन सर हुँ जो आफ्नो मन परेको मान्छेलाई बिधवा भेषमा देख्दा पनि रुन सकेको छैन । म कसरी भनुँ कि म उही अर्जुन सर हुँ जो हिजो जसको परिचय खोज्दै दिनहुँ चिया पसलमा धाउने गर्थ्यो आज उसैको सामुन्ने आफ्नो परिचय लुकाउन खोज्दैछ । मलाई उनीसँग होइन आफैसँग डर लाग्यो आफै हराए झैं लाग्यो भिडमा । उनले मेरो परिचय जान्ने कोशिश पनि गरिनन् ।

बोल्दै जाँदा उनका परेलीमा आँसु छचल्किरहेका थिए । त्यो आँसुमा मैले उनको बिगत देखें बर्तमान देखें अनि धुर्मैलो भविष्य देखें । उनले माओवादीलाई आफ्नो निर्दोष पतिको हत्यारा भनिरहँदा मैले आफ्नो निधारमा पनि त्यो रगतको छिटा लागेको महसुस गरें । निधार छामें- चिडचिड पसिना आएको रहेछ । सिकारीको जालमा परेको मृग झैं म भित्रभित्रै मरिरहेको थिएँ । कतै उनले मलाई मेरो बारेमा मलाई सोधिन् भने ? या चिनिन् भने ? म उनको नजरमा हत्यारा हुनेछु या धोकेबाज ? उनले मेरो बारेमा सोधीन् भने म आफ्नो परिचय के भनेर दिऊँ ? आईएनजिओ को पूर्व कर्मचारी अर्जुन सर या पूर्व माओवादी लडाकु, उनको पूर्व प्रेमी या उनको सपनाहरूको हत्यारा ? वास्तवमा म आफै परिचय बिहिन भैसकेको थिएँ । उनको अनुहार हेर्नै सकिन ।

बस दमौली आइपुग्यो । ''हवस्त...राम्रोसँग जानुहोला" यति भनेर म बसबाट ओर्लिएँ । उनको काखको बच्चाले म बसबाट ओर्लने बेलासम्म मलाई हेरि रह्यो ।

यो कस्तो परिचय ? परिचित भएर पनि अपरिचित भएँ म आँफैसँग अनि आफ्नै मायासँग । मलाई माफ गर है माया म तिम्रो जीवन कथा अब कहिल्यै सोध्ने छैन ।
धन्यवाद !!!

कथाकार-अजित क्षेत्री
मिति-05-07-2016
नोट-कथाको कपिराइट कथाकारमा निहित 

"स्वर्णिमाले मन पराएको पेन्टिङ" -बिक्रम गिरी "अपरिचित" : (12-07-2013)

NepaliTalim | 4:04:00 PM | 0 comments
नोट:सर्वाधिकार लेखकमा निहित  
बिक्रम गिरी "अपरिचित"

-BIKRAM GIRI "APARICHIT"

"स्वर्णिमाले मन पराएको पेन्टिङ"

एक्कासी छत बाट एउटा सुमधुर आवाज आउदथ्यो GOOD MORNING!!! म को हो भनेर हेर्न नपाउदै उ कति छिटो मेरो अगाडि आईपुग्थी,हो उ नै स्वर्णिमा थिई ,मेरी प्यारी स्वर्णिमा!उसको अनुहारमा बेग्लै चमक थियो,उसको नयनबाट नजर हटाउन म गाह्रो महसुस गर्दथे!उ म बसेको नजीक आएर बस्दथि र भन्थी "खै त मेरो लागी पेन्टिङ"!

उ बच्चा जस्तो कराउन थाल्दथी,भन्थी मान्छेले आफ्नैलाई हो आफ्नोलाई नै पराई ठान्दछ!उ उदास भएर फर्कन्थी! म किन हो किन केवल एक मुर्ति सरह उसलाई हेर्नु बाहेक केहि गर्न सक्दिनथे,उ सधै म बाट रिसाएर जान्थी तर मैले उसको लागी एउटा यस्तो पेन्टिङ बनाउने निर्णय गरेको थिए जो अलग होस,र केवल स्वर्णिमालाई नै पहिला देखाउने प्रण गरेको थिए!म त्यो पेन्टिङमा हेरेक रितुको आर्कषण,हेरेक खुसीको मिषरण र हरेक रङ्ग मिसाउन चाहन्थे!

स्वर्णिमा आफ्नो प्राय जस्तो समय मेरो अरु पेन्टिङ हेरेर बिताउदथी!उसका साथिहरु आएर बोलाउदा नि उ पटक्क सुन्दिनथी,मान्दिन्थी!अन्तिममा मलाई नै केहि गरिदिनु पर्थयो र उ बल्ल जानलाई राजी हुन्थी तर उसका साथिहरु मलाई छडके ईशाराले जिस्काउदथे!मैले धत लाटिहरु भनेर भगाईदिन्थे र आफै मनमनै हर्षित हुन्थे,लज्जीत  हुन्थे!कता कता स्वर्णिमा भनेपछि मलाई काम गर्न रुचि जाग्दैन्थ्यो,मेरो मन कता कता टोलाउन पो थाल्दथ्यो,एक दिनको कुरा हो मेरो नाम सोध्दै कुन अपरिचित केटि मेरो घरमा आएको रहेछ तर त्यो दिन म नभएकाले,अर्को दिन स्वर्णिमाले नै केटिलाई मेरो घरसम्म पुराईदिएको थिई,उसको नाम "राधा" रहेछ!

उसले मेरो एउटा पेन्टिङ कहा देखेकाले मेरो नाम र ठेगाना सोधि म कहा आएकि रहेछ, बुझ्दै जादा उ पल्लो गाउकि रहिछ, सहरमा बसेर पढने रहेछ! म उसँग गफ गर्दा स्वर्णिमा अलिक पर उभिरहेकि थिई र उसको अनुहारमा त्यो रङ्ग थिएन त्यो चमक थिएन जुन अरुबेला हुन्थ्यो!उसमा एक किसिमको ईर्ष्या,डाहा पलाईरहेको देखिन्थ्यो,मैले स्वर्णिमालाई आखाँ चार गर्न सकिरहेको थिएन र राधा लाई जाउ पनि भन्न सक्दिनथे!म दोधारमा परे स्वर्णिमा त आफ्नै परी पहिले राधालाई नै प्राथमिकता दिए!राधाको अनुसार उसलाई एउटा यस्तो पेन्टिङ चाहिएको थियो जसमा उ आफुलाई हराएको देख्न पाओस र आन्न्दित होस! मलाई झन गाह्रो काम थपियो उता स्वर्णिमाको पेन्टिङ पुरा त के सुरु पनि भाको छैन र यता राधाको त्यसतो पेन्टिङको माग मैले हुन्छ भनिदिए र केहि समय लाग्छ भनिदिए, उसले म एक दुई महिना छुट्टिमा छु जहिले बनाए पनि हुन्छ भनि र धन्यवाद भनेर गई!राधा गएको केहि क्षणमा नै स्वर्णिमा पनि मुख फुलाएर गई, म उसलाई रोक्न सकिन, म जान्दिनथे यो उसको प्रेम हो कि के हो? हुन त म उसलाई चाहन्थे र चाहनु नै प्रेम हो! यथार्थ त यो थियो कि उ यो प्रेमबाट बन्चीत थिई मैले गर्दा र कारण म मौन थिए उसको प्रेम देखी!  

त्यो दिन देखी स्वर्णिमा म सँग भेटन पनि आएको थिईन बरु तिन चार दिन पछि राधा टुपलुक्क आईपुगी!मैले उसको हाल सोधे उसले ठिकै छ र यो कसैको जादु हुनुपर्छ भनी,मैले बुझिन भने,उसले नबुझेकै जाती भनी र पेन्टिङ बनाउने काम सुरु गर्नुभयो भनेर प्रश्न गरी!मैले अह गरेको छैन भने मन नै लागेको छैन भने,उसले कसैले मन त चोरेन भनेर भनी र मुसुक्क मुस्कान दिई,म पनी के थाहा हुनसक्छ भनेर हासिदिए!उसले अस्तिको साथी खै त भनेर सोधि,सायद उ स्वर्णिमाको कुरा गर्दैथी,मैले उ आको छैन भने उसले नाम सोधि,मैले स्वर्णिमा भनिदिए र राम्रो नाम छ भनीन उनले मैले पनी तिम्रो नाम पनी नराम्रो त छैन नी भने,सुन्दा नै आन्नद हुने "राधा"!  

उसले सायद मसँग नजीकिएको आभास गर्न थालेको थिई र उसले मेरो एउटा फोटो मागी, मलाई के गरु र के नगरु भयो, मैले फोटो दिए र उसले यो साथीको चिनो हुनेछ भनी र उ त्यहा बाट गई! सायद उ त्यहाबाट गएको स्वर्णिमाले देखेको रहेछ र मसँग आएर झर्केर बोली, अर्काको लागी फुर्सदै फुर्सद छ हामि त पराई हामिसँग  त बोल्न पनी समय हुदैन है भनी आएर मख्ख पारेर गई अब पेन्टिङ त उसकै बन्छ होला नि भनी! उ अचानक मलाई तानी र आफ्नो अगाँलोमा च्यापी, उ मलाई चुम्न थाली सायद स्वर्णिमाले गुम्साएर राखेको प्रेम आज सबथोक सुम्पिदै थिई, म अवाक भए, मैले केहि पनि गरिन! उ मलाई अगाँलोबाट फुकाली र त्यहा बाट हिडि रिसको झोकमा! म बुझ्न सकीन यो कस्तो रीस हो या फिर यो कस्तो प्रेम हो? हुन त यो प्रेम हुनुपर्छ यसमा म जलन देखीरहेको थिए, पिडा देखीरहेको थिए! स्वर्णिमाको पेन्टिङ लगभग आधा बनीसकेको थियो र लाग्थ्यो त्यो आधा पेन्टिङमानै सारा सृष्टि समावेश छ,ईन्द्रेणिको हर रङ्ग समावेश छ,आधा चित्रमानै आर्श्चय थियो!उता राधाको पेन्टिङ आज बाट सुरु गरेको मैले के उतारु पेन्टिङमा भनी दुबिधामा परेको थिए!मैले जे बनाए पनी एउटा सृजना त पक्कै हुन्छ भनी सुरु गर्दे गए राधाको लागी उसको रोजाईको पेन्टिङ! 

यता हप्तौ भयो राधा नआएको र म स्वर्णिमा मा फेरी नया जागर देखिरहेको थिए!मैले स्वर्णिमालाई नभनेपनी भित्रभित्रै म राधाको पेन्टिङ सकाउन आटेको थिए र उसले सोचे भन्दा र खोजे भन्दा बढि थियो त्यो पेन्टिङमा!हप्तामा हप्तौ भयो राधाको केहि अत्तो पत्तो थिएन!  यता स्वर्णिमाको मेरो लागी प्रेम असाध्यै थियो!उसको नयनलाई जस्ताको त्यस्तै उतार्ने मन थियो मलाई त्यो आफ्नो अधुरु पेन्टिङमा!म स्वर्णिमालाई यति चाहन्थे कि उसको पेन्टिङ नै मेरो जीवनको अन्तिम पेन्टिङ बनाउन चाहन्थे! यी हातले उसको नाम नै आखिरी पटक  लेख्न चाहन्थे र यस धडकनको आखिरी धडक पनी स्वर्णिमाको नाममा धडकाउन चाहन्थे!उसलाई म माया आफुभन्दा बढि गर्थे!मलाई दुनियाको पर्वाह थिएन केवल आशिक,मज्नु,प्रेमी भएको थिए स्वर्णिमाको प्रेममा!

साच्चै माया आस्था हो,दुई मुटुको बलिदान हो!जे होस मलाई यति थाहा थियो कि स्वर्णिमा केवल मेरो थिई मात्र मेरो!यता राधाको पेन्टिङ पनि अच्ममको बनेको थियो सायद उसले रोजे र खोजे भन्दा बढि थियो!तर उसको आगमन नभएको धेरै भईसकेको थियो,सायद उ सहर गईसकेको थिई होली आफ्नो पेन्टिङको साटो उहि मेरो एउटा फोटो लिएर,साच्ची राधा पनि नराम्रो थिईन उसको नम्र बोली र व्यबहार आकर्षित पार्दथ्यो  मलाई!अपसोच उ टाढा भईसकेकी थिई,सहरको विरान ठाउमा पसिसकेकि थिई!मैले राधाको पेन्टिङलाई नाम दिन सकिरहेको थिएन,र अन्तिममा त्यो पेन्टिङको नाम नै मैले "राधा" राखिदिए! राधाको यादमा एउटा राधा अपहार भयो म बाट!

यता स्वर्णिमाको मामाको छोरी आएकोले उ भेटन नआएको गुनासो सुनाई!मैले उसलाई अगाँलोमा राखिरहे र उसको अधरलाई चुमे! मैले स्वर्णिमालाई भने स्वर्णिमा तिमी सधै कराउने,रिसाउने कुराको समाधान गरिसके!मैले यति के भन्न पाएथे उसले बुझिहाली मैले उसको लागी बनाउन सुरु गरेको पेन्टिङ पुरा भयो भनेर!उ सारै हर्षित भई, लाग्थ्यो कुनै लडाई जितेर छाएको खुसी छाएको छ,उ रणभुमी जितेर आएकी छे!स्वर्णिमाको लागी बनाएको मेरो पेन्टिङ 'राधा' नामक पेन्टिङ पछिको अन्तिम पेन्टिङ थियो! 

मैले स्वर्णिमालाई त्यो पेन्टिङ देखाए र उसको खुसीको सिमा रहेन!मैले स्वर्णिमालाई नै उतारेको थीए त्यस पेन्टिङमा!एउटा यस्तो चित्र बनेको थियो जुन सायद मोनालिसाको मुस्कान भन्दा पनी फरक थियो र राम्रो थियो!स्वर्णिमालाई त्यो पेन्टिङ साह्रै राम्रो लाग्यो! उसले मलाई एकछिन अगाँलोमा बाधिरहि र चुमिरहि!एकछिन स्पर्शको बहार भयो,दुई मुटु एकाएक जुधे, यस खुसीको बखत स्वर्णिमाले एउटा दुख दिने खबर सुनाई उ त मामाको छोरीसँग मामाघर जाने रे!मेरो मुहार एकाएक मलिन भयो तर उसले बाचा गरी उ एक हप्ता पछि आउछु भनी,र मैले पनि उसलाई हुन्छ भनिदिए!उसले त्यो पेन्टिङ पनि आफुसँग लग्छु भनी तर मैले त्यस पेन्टिङको नाम नै राख्न पाएको थिएन !स्वर्णिमाले भनी मलाई राम्रो लाग्यो पेन्टिङ राख्देउ न त यस पेन्टिङको नाम "स्वर्णिमाले मन पराएको पेन्टिङ"! साच्चै यो नाम राम्रो थियो र उ अन्तिम पटक मलाई चुमी त्यहाबाट बिदा मागी!

भोली बिहानै  एकाएक गाडि पल्टेर मान्छे मरे भन्ने हल्ला फैलियो! मलाई मनमा कता कता चिसो पस्यो कतै स्वर्णिमालाई त!म हतार हतार गर्दे गाडि पल्टेको ठाउमा पुगे र यो आखाँ रसाए जे नदेख्नु थियो  त्यहि देख्यो यी आखाँले!स्वर्णिमाको लाश गाडिको छेउमा थियो र उसको हातमा त्यहि पेन्टिङ थियो,मृत्युले रुवाउदा पनि उसको ओठमा अजिब मुस्कान थियो! म उसको नजिक गए मेरो आशुँ स्वर्णिमाको गालामा खस्यो, म रोए, कराए साराले सम्बेदना प्रकट गरे र मसँग स्वर्णिमासँग जोडिएको एउटै चिझ बच्यो स्वर्णिमाले, आफै नाम राखिदिएको पेन्टिङ "स्वर्णिमाले मन पराएको पेन्टिङ"!!!I LOVE YOU FOREVER SWORNIMA.......
बिक्रम गिरी "अपरिचित"
 चन्द्रौटा कपिलबस्तु
Note : Article Received in stharamsharan@gmail.com


गजलको सैद्धान्तिक परिचय: गजलका तत्वको संक्षिप्त अध्ययन_केशु बिरही

NepaliTalim | 11:42:00 AM | 0 comments

केशु बिरही

पृष्टभूमिः 
अरबिक माटोमा जन्मिएर हिन्दी, उर्दु भाषा हुदै भित्रिएको गजल विधाले नेपाली माटोमा आज एउटा लामो कालखण्ड विताइसकेको छ । दसौ शताव्दीमै इरानी अन्धा कवी रौदकी -अबु अब्द अल्लाह सफर इब्न मुहम्बत)ले जन्माएको विस्वास गरिएको यो विधा अरबी, फारसी, टर्केली, अंग्रेजी तथा अन्य भाषामा पनि प्रयोग हुदै आएको छ । झन यसले हिन्दी साहित्यमा त ठूलो स्थान ओगट्न सफल देखिन्छ । अन्य विधाको तुलनामा अग्रणी देखिन्छ ।

गायन तथा वाचन दुवै दृष्टिकोणमा यो विधा एक शसक्त रुपमा देखा परेको छ । पछिल्लो समयमा आएर यो विधाले नेपाली माटोमा पनि आफ्नो दरिलो उपस्थिती जनाइसकेको छ । अर्थात आफ्नो गतिलो प्रभाव जमाइसकेको छ । यो झन झन झांगिदो छ । फक्रदो र फुल्दो अवस्थामा छ ।

जीवन र जगतबाट प्राप्त अनुभव र अनुभूतिलाईर् कोमल, हार्दिक र कलात्मक रुपमा प्रस्तुत गर्न सफल यो काव्यिक विधाले नेपाली साहित्यमा गायन र वाचन दुवै आधारमा आफ्नो प्रभाव छाड्दै एउटा छुट्टै छितिज निर्माणको यात्रामा पाइलाहरू अनवरत रुपमा अगाडि वढाइरहेको देखिन्छ ।

गजल विधालाई नेपाली माटोमा भिञ्याउने श्रेय भने मोतीराम भट्ट -वि.स.१९२३ -१९५३)लाई जान्छ । मोतीराम आफ्नो अध्ययनको सिलसिलामा भारतको वनारस गएको र त्यहा रहादा बस्दा उनको भारतीय गजलकारहरू संग गतिलो उठबस भएको बताइन्छ । यसै क्रममा गजलमा प्रभावित भएर उनले त्यहिबाट यो विधालाई नेपाली माटोमा भिञ्याएको मानिन्छ । हुन त गजललाई मोतीराम भन्दा अघि नै अरु कसैले नेपाली माटोमा भिञ्याइसकेका थिए पनि भन्ने गरेको पनि पाइन्छ । ती व्यक्ती मगर थरका थिए भनेर कही कतै उल्लेख गरिए पनि त्यसको गतिलो प्रमाण भने भटिएको छैन । उनी को थिए ? कहाका थिए भनेर किटानीका साथ पनि लेखिएको पाइदैन । त्यसैले मोतीरामलाई नै गजलको प्रवर्तक मानिसकिएको अवस्था छ । यसरी मोतीरामलाई नै नेपाली गजलका प्रवर्तक मान्दा पनि नेपाली मोटोमा गजलले पाइला टेकेको सवा सयको भन्दा लामो समय भै सकेको छ । एउटा लामो कालखण्ड नै वितिसकेको छ भन्न सकिन्छ ।

लामो समयसम्म सुशुप्त अवस्थामा वसेको गजल विधाले तीसको दशक पछि मात्र मौलाउने अवसर पायो । झागिने अवसर पायो । वि.स. २०३६ -गजलको आधुनिक/ पुनर्जागरण काल) साल पछि भने यसले व्यापक रुप नै लिन पुग्यो । वि. स.२०४६ साल पछि गजल लेखनमा एउटा वहार नै आएको छ । झन वि.स.२०६० पछि त के बुढा के तन्नेरी सवै गजल लेख्नमा तम्सिएका देखिन्छन । गजलमा होमिएका देखिन्छन । गजलमा आफ्नो पनि छाप छोड्न होस वा आफ्नो प्रभावलाई कायमै राख्न होस सवै दौडधुप गरिरहेका देखिन्छन । हत्तारिरहेका देखिन्छन ।

गजल शव्दको स्रोत, व्यत्पति र अर्थ
गजल शव्दको स्रोतका वारेमा विद्वानहरूमा एकमत पाइदैन । एकथरीले यसलाई अरबी भाषाबाट आएको वताएका छन भने अर्काथरीले फारसीबाट । सवैले आ- आफ्नो धारणा अघिसारेका छन । तर अधिक विद्वाहरूको मत भने यो अरबी भाषाबाटै आएको ठहर छ । त्यही ठहरका साथ गजल पछिल्लो समयमा अघि वढेको पाइन्छ । त्यसैले अव गजल शब्दको स्रोतलाई अरबी नै मान्नु पर्ने कुरामा सवैजसोको सहमति देखिन्छ ।
फारसी स्रोत मान्नेहरूले गजल शव्दको व्युत्पति ‘गजला’बाट भएको बताएका छन । फारसीमा यस्को अर्थ हुन्छ मृगनयनी वा सुन्दरी । त्यसैको आधरमा गजललाई प्रेम र नारीको वयान गर्ने एक गतिलो माध्यमका रुपमा पनि लिएको पाइन्छ । केहीले गजल मूलतः फारसी शब्द हो । लोक सङ्गीतबाट जन्मिएको यस विधाले प्रेमप्रधान भावसंग सरोकार राख्ने कुरा बताएका छन ।

अरबी स्रोत मान्नेहरू यो अरबी साहित्यको कसिदाबाट आएको विस्वाश राख्छन । अरबीमा साहित्यमा प्रचलनमा आएको कसिदा र मर्सिया नामका दुई काव्य विधा थिए । कसिदाले जिवित व्यक्तीको वर्णन वा प्रशंसा गर्दथ्यो भने मर्सियाले दिवंगत व्यक्तीको । कसदिको आरम्भको दुई वा चार हरफको पद्यांशलाई तश्बीब भनिन्छ । कसिदाको यही अंशले नै पछि आएर गजलको रुप लियो । यही तश्बीबले कालन्तरमा आएर गजलको रुप लियो । र पछि आफ्नो अलग्गै अस्तित्व स्थापित गरेको वताइन्छ । तश्बीबले प्रायः प्रेमालापलाई नै वर्णन गर्ने भएकोले यसले गजलको स्वरुप प्राप्त गर्दा प्रेमीका साग वार्तालाप गरिने विधाको रुपमा चिनिएको हो भन्ने धेरैको मत रहेको छ ।

यही आधारमा अडिएर गजलकार मनु ब्राजाकीले गजल -ग+ज+अल्)को व्युत्पतिलभ्य अर्थ लगाएका छन । गजल शव्द अरबिक भाषाबाट आएको हो । अरबी भाषामा ग बाणी, ज स्त्री र अल् वार्तालाप भन्ने अर्थ हुन्छ । अरबी भाषाको यो अर्थलाई हेरेर नै गजललाई नारीसंग गरिने प्रेममय वार्तालाप भनिएको हुन सक्छ । त्यसैले गजलको संवन्ध प्रेमसंग जोडिएको र त्यही आधारमा गजलको सिर्जना गर्ने गरिएको पाइन्छ । आज यही मान्यतामा अडिएर गजल सिर्जना गर्नेको संख्या पनि कम छैन । अझ यसलाई केहीले त मात्र ‘गाजल’ अर्थात सौन्दर्य रुपमा पनि हेर्ने गरेका छन ।

यसैगरी गजल शव्दको व्युत्पतिको वारेमा एउटा छुट्टैखाले किंवदन्ति पनि रहेको छ । पहिला अरवमा ‘गजल’ नामका व्यक्ती थिए रे । उनले आफ्नो पुरै जीवन प्रेम र मस्तीमा डुवेरै विताउथे रे । उनी प्रेमकै विषयमा कविता पनि लेख्थे रे । प्रारम्भमा उनले लेख्ले गरेको प्रेमपरक कविताको स्मरणमा पछि लेखिएका यस्तै खाले कवितालाई पछि आएर गजल भन्न थालिएको हुन सक्छ भन्ने प्रसङ्ग पनि गजलकार डा. कृष्णहरि बरालले आफ्नो पुस्तक गजल सिद्धान्त र परम्परामा उल्लेख गरेका छन ।

अंग्रेजी भाषामा न्बशभिभ शब्द छ । इहायचम मष्अतयलबचथ ले न्बशभिभ को अर्थ Smबिि बलतष्यिउभ वताएको छ । Smबिि बलतष्यिउभ को अर्थ बल बलimब चिभकझदष्लिन ब मभभच हुन्छ । अर्थात हरिणको सानो वच्चा वा शावक ।
अंग्रेजी भाषाको न्बशभििभ शव्द र यही शव्दको अर्थलाई हेरेर नै समालोचक देबी पन्थीले हरिणको वच्चा -शावक)ले शिकारीको तीरबाट घायल वनेर एक्कासी निकालेको आवाज नै गजलको रुप हो र पछि त्यही ‘गजला’ शव्द अपभ्रंश भएर गजल भएको हुन सक्छ भन्ने आफ्नो धारणा गजल सिद्धान्त र समालोचना नामक पुस्तकमा अघि सारेका हुन सक्छन ।

त्यस्तै पछिल्लो समयमा आएर गजलको शाब्दिक अर्थलाई फरक फरक ढङ्गले पनि परिभाषित गर्ने गरेको पाईन्छ । त्यसै क्रममा समालोचक देवी नेपालले ‘गजल’को व्युत्पतिबाट यस्तो व्यञ्जनात्मक अर्थ प्रस्तुत गरेका छन ।

ग- गम्भीरता, गेयत्मकता, वा गतिशीलता
ज- जीवन्तता, जनपि्रय वा जादूपूर्ण
ल- लयात्मकता, लाक्षणिकता वा ललितता

तर जे जस्ता भारणा वा परिभाषा आए पनि यो विधाको सुरुवात भने सृङ्गार वा प्रेम बाटै भएको हो भन्ने ठाउहरू यथेष्ठ मात्रामा पाउन सकिन्छ । यो ध्रुवसत्यलाई छिपाउन सकिदैन । र छिपाउन मिल्दैन पनि तर अर्को सत्य पनि के हो भने पछिल्लो समयमा आएर गजलले आफ्नो क्षेत्रलाई फराकिलो वनाइसकेको छ । आजको गजलले सि्रङ्गार वा प्रेमभावलाई मात्र वोकेको छैन । यसले तमाम जनसरोकार विषयलाई उठाउदै आएको छ । यो मामलामा सफल पनि देखिएको छ । आज गजलले आफ्नो क्षेत्रलाई व्यापक वनाउदै नेपाली माटोमा आफ्नो दरिलो उपस्थिती जनाउन सफल भइसकेको छ । अर्थात गतिलो प्रभाव जमाइसकेको छ । यो आझ झन झन झांगिदो छ । फक्रदो र फुल्दो अवस्थामा छ ।

गजल संवन्धी धारणा वा परिभाषाहरू
“गजल अत्यन्त संवेदनशील र तीक्ष्ण विधा हो । यसमा सुक्ष्म र तिख्खर अभिव्यक्ती रहेको छ ।” – ज्ञानुवाकर पौडेल
“गजल भनेको प्रणय, कामना र आन्तरिक पीडाका हार्दिक भावहरूको सुललित अभिव्यक्ती हो ।” – मनु ब्रजाकी
“प्रेम विषयमा श्रृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कविता ।” – नेपाली बृहत शव्द कोष
“गीत र कविता आ- आफ्नै विशेषता भएका दुई नदी हुन् भने गजल तिनीहरूको संगम हो भन्न सकिन्छ । तर गजललाई गीत वा कविता मात्रै बनाउनु वा भन्नु अनविज्ञता सिवाय अरु केही पनि होइन ।” – डा. घनश्याम न्यौपाने ‘परिश्रमी’
“गजल कोमल र हार्दिक भावको सशक्त र सङ्क्षिप्त अभिव्यक्ति हो । यसमा काफिया र लय अनिवार्य तत्वका रुपमा रहन्छन । आभुनिकताका नाममा यी दुई तत्वलाई बिगार्न मिल्दैन ।” -ललिजन रावल
“भ्व, कल्पना, बिम्ब तथा प्रतिक आदिको प्रयोगका साथै निश्चित क्रममा प्रयोग गरिने यस्तो काव्य रुपलाई गजल भनिन्छ । जसमा एउटै छन्दका तीन वा तीन भन्दा बढी स्वतन्त्र शेरहरू हुन्छन ।” -डा. कृष्णहरि बराल
“गजल गेयात्मक र संगीतात्मक विधा हो ।” – अमर त्यागी
“गजल नेपाली साहित्यमा स्थापित उपविधा हो ।” – परशु प्रधान
“गजल फारसी र उर्दूमा एक प्रकारको कविता हो । जसमा एउटै वजन र काफिया र अनेकन शेर हुन्छन र प्रत्येक शेरको बिषया प्रायः एक अर्कासंग स्वतन्त्र हुन्छ ।” -उर्दू हिन्दी कोश

गजलका वारेमा धेरै खाले धारणा व् परिभाषाहरू आएका छन । कसैले गजललाई गाजल मात्र ठानेका छन भने कसैले गजल गाजल मात्र नभएर गाजल धारण गर्ने आाखा हो भन्न पनि पछि परेका छैनन । कसैले गजललाई छुट्टै काव्यिक विधाको रुपमा त कसैले गजललाई कविताको उप विधाको रुपमा हेरेका छन । त्यस्तै गीतसंग तुलना गर्ने पनि देखिन्छन ।

गजल अत्यन्त संवेदनशील र तीक्ष्ण विधा, आन्तरिक पीडाको हार्दिक भावहरूको सन्तुलन अभिव्यक्ती मोन्ने गजलकार द्वय ज्ञानुवाकर पौडेल र मनु ब्राजाकीको परिभाषाले गजलको वैशिष्ठतालाई प्रष्ठ पार्न खोजेको देखिन्छ भने परशु प्रधानको परिभाषाबाट गजललाई एउटा छुट्टै विधाको रुपमा स्वीकार गरेको आसय पाइन्छ । उनले गजललाई नेपाली साहित्यमा एउटा स्थापित उपविधा हो भनेका छन ।

गजललाई गीत र कविताको संगम मान्न सकिने तर गजललाई गीत वा कविता भन्नु चाही अज्ञानता हो भन्ने अभिव्यक्ती दिएर गजलको महत्वलाई अझ प्रष्ट पार्ने काम भएको छ डा. घनश्याम न्यौपाने ‘परिश्रमी’को परिभाषाबाट । यसले गाउन सकिने भएकोले गजल गीत हो भन्ने वुझाइलाई गलत भएको वताएको छ । गजल र गीतमा केही समानता हुदा हुदै पनि धेरै भिन्नता भएको वताएका छन ।

ललिजन रावलले गजलमा लयको कुरालाई बढावा दिएका छन । उनले कफिया र लयलाई अनिवार्य तत्वका रुपमा लिएका छन । वीचारको पछि मात्र लागेर लयअनुशासालाई ध्यान नदिनेहरूको लागि भने यो गतिलो जवाफ सावित भएको छ । अमर ‘त्यागी’को परिभाषा पनि ललिजन संग सन्निकटता देखिन्छ । उनको विचारमा गजल गेय विधा हो । यसलाई वाचनमा मात्र सिमित नगरेर गायन तर्फ अग्रसर गराइनु पर्नेमा जोड दिएका छन । त्यस्तै डा. कृष्णहरि बरालले भाव, कल्पना, बिम्ब र प्रतिकलाई महत्व दिदै गजललाई एउटा काव्यिक विधाका रुपमा लिएका छन । अर्थात उनले गजललाई कवितासंगै दाजेर हेरेका छन ।

त्यस्तै नेपाली बृहत शव्दकोषको र उर्दू हिन्दी कोशको गजल संवन्धी धारणा भने पुराना देखिन्छन । यी दुवैले गजलको छुट्टै अस्तीत्वलाई स्वीकारेका छैनन । नेपाली बृहत शव्दकोषले गजललाई “प्रेम विषयमा श्रृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कविता ।” हो भनेको छ । त्यस्तै उर्दू हिन्दी कोशले “गजल पारसी र उर्दूमा एक प्रकारको कविता हो । जसमा एउटै वजन र काफिया र अनेकन शेर हुन्छन र प्रत्येक शेरको बिषया प्रायः एक अर्कासंग स्वतन्त्र हुन्छ ।” भनेको छ ।

यी दुवै धारणा वा परिभाषाहरू समय सान्दर्भिक देखिदैनन । धेरै पुराना र त्यतिकै अव्यवहारिक पनि देखिन्छन । यी परिभाषालाई भने परिवर्तन गर्नु पर्ने दखिन्छ । नेपाली बृहत शव्द कोषले भने झैं अव गजल प्रेम विषयमा श्रृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कवितामा मात्र सिमित रहेन । त्यो मान्यता त अव पुरानो भैसकेको छ । गजलले आज आफ्नो क्षेत्रलाई फराकिलो पारिसकेको छ । पुरानो मान्यतालाई भत्काउदै आज गजलले मानव जीवनका अन्य सरोकार राख्ने सवै खाले विषय वस्तुलाई उठाउदै आएको छ र त्यसमा सफलता पनि हाता पारेको छ ।

जस्ले जे जस्तो धारणा वा परिभाषा अघि सारे पनि गजल एउटा कोमल तथा हार्दिक विधा हो । गजल सरल तथा सरस विधा हो । यसले सरलता र सरसता भित्रै सशक्तताको खोजि गर्छ भन्ने कुरामा कसैको पनि दुई मत छैन । सवैले यो कुरालाई स्वीकारेका छन र स्वीकार्नु पर्छ नै । गजल र गीतमा केही समानता हुदा हुदै पनि यी दुई अलग अलग विधा हुन ।
गीत, गजल र कविता एउटै हुनै सक्दैनन । अझ गजल एउटा छुट्टै विधा हो । यसको आफ्नै परिधी वा संरचना छ त्यसलाई भत्काएर गजल नै बन्न सक्दैन ।
गजललाई मैले भने यसरी परिभाषित गर्ने गरेको छु । शव्द र विम्बको ओजपूर्ण सुललित अभिव्यक्ती नै गजल हो । जस्को छुट्टै परिधी वा संरचना छ । त्यही परिधी वा संरचन भित्र रहेर गजलमा भाव, लय र वीचारले खेल्न पाउनु पर्छ ।

नेपाली गजलको काल विभाजन
प्राथमिक काल वि. स. १९४० – वि. स. २०००
पुनर्जागरण कालः वि. स. २०४० – वि. स. २०५०
विकास कालः वि. स. २०५० साल यता
-ललिजन रावल
प्राथमिक कालः वि.स.-१९४० वि.स.- १९९२
माध्यमिक कालः वि.स.-१९९३ वि.स.-२०३५
आधुनिक कालः वि.स.-२०३६ यता.
-दुबसु क्षेत्री
प्राथमिक कालः वि.स.-१९४० वि.स.-१९९२
आधुनिक कालः वि.स.-२०३६ यता
- डा. घनश्याम न्यौपाने ‘परिश्रमी’
प्राथमिक कालः वि.स.-१९४० वि.स.-१९९२
आधुनिक कालः वि.स.-१९९३ वि.स.-२०३५
पुनर्जागरण तथा आधुनिककालः वि.स.-२०३६ यता
- देवी पन्थी
पूर्वार्द्ध वि. स. १९४०-२०३५
प्रथम चरण -वि. स. १९४०-२००२)
द्वितीय चरण -वि. स. २००३ -२०३५)
उत्तरार्द्ध वि. स. २०३६ देखि यता
-कृष्णहरि बराल

काल विभाजनमा पनि सवैका आ-आफ्नै वीचारहरू रहेका छन । केहीले प्राथमिक र पुनर्जागरण काल । प्राथमिक, माध्यमिक, र आधुनिक काल । प्राथमिक र आधुनिक काल । प्राथमिक, पुनर्जागरण तथा आधुनिक काल । पूर्वाद्व र उत्तरार्द्व गरी दुई र तीन काल खण्डमा विभाजन गरेको पाइन्छ ।

यसरी काल विभाजन गर्ने क्रममा प्राथमिक कालको सुरुवातलाई सवैले एउटै समय -वि.स.-१९४०) लाई माने पनि त्यस्तो अन्त्यलाई भने फरक फरक रुपमा उल्लेख गरेको देखिन्छ । कसैले वि.स.१९९२ लाई प्राथमिकालको अन्त्य मानेका छन भने केहीले वि.स.१९९६ लाई । विं. स.-२००० लाई मान्नेपनि छन । त्यस्तै पुनर्जागरणकाल र आधुनिककाललाई पनि केहीले एउटै समयावधीमा रोखेका भए पनि त्यसको समय तोक्ने कुरामा मत वाझिएको पाइन्छ । धेरैले वि.स.२०३६ साल पछिको समयावधीलाई गजलको आधुनिककाल मानेका छन ।

गजल विधाको कालक्रम तोक्ने भनेको समय मात्र होइन । यसको शैली तथा प्रवृति पनि हो । शैली तथा प्रवृतिगत आधारमा छुट्याइनु उपयुक्त हुन्छ । यसरी शैली तथा प्रवृतिगत दुष्टिले हेर्दा वि.स. १९४०- वि.स. १९९६ प्राथमिक काल मान्नु उपयुक्त देखिन्छ । जसमा धेरै सहमत देखिन्छन । किनभने मोतीराम भट्ट देखि उपेन्द्रबआदुर ‘जिगर’को ‘एक रुप एक गजल संग्रह’ -१९९६) प्रकाशन सम्मको समय शैली तथा प्रवृतिगत रुपमा समानता पाउन सकिन्छ । त्यति भिन्नता पाउन सकिदैन । त्यस पछि वि.स.२०३५ साल सम्म गजल पूर्ण रुपमा सेलाएको अवस्था छ । त्यो सवैले स्वीकारेकै छन । तसर्थ वि.स.१९९६ – वि.स.२०३५ को समयावधीलाई माध्यमिक काल मान्न सकिन्छ ।

त्यस्तै वि. स. २०३६ साल देखि यताको समयलाई आधुनिक तथा पुनर्जागरण काल मान्नु उपयुक्त देखिदा देखिदै पनि यस अवधीलाई दुई भागमा वाढेर हेर्नु मुनासिव ठहरिन्छ । समयले आज ठूलो फड्को मारिसकेको छ । अर्थात आजको अवस्थामा आइपुग्दा गजलले पनि ठूलो फड्को मारिसकेको छ । २०३६ साल देखि पछिको समय अवधीको गजलक्रम पनि एकैनासले विकाश भएको पाइदैन । २०३६ साल देखि २०४६ साल पछिको परिवर्तनको केही साल सम्मको गजलको विकाश क्रम एक तरिकाले भएको छ भने त्यस पछिको गजलको विकाशक्रम अर्कै तरिकाले भएको पाइन्छ । तसर्थ यो वीचको समयलाई पनि अव अलग्गै रुपमा छुट्याएर हेर्नु मुनासिव हुने मैले ठानेको हु । त्यही आधारमा गजलकार ललिजन रावलले वि.स. २०४० देखि वि. स. २०५० सम्मको समयलाई आधुनिक वा पुनर्जागरण काल र वि. स. २०५० साल पछि पछिको समयलाई भने नेपाली गजलको विकास काल मान्नेका छन ।

उनको पछिल्लो काल विभाजन केही सान्दर्भिक जस्तो लागे पनि उनले वि. स. २००० देखि वि. स. २०४० सम्मको ४० बर्षको अवधीलाई काल विभाजनमा उल्लेख नगर्दा अलि अपुरो जस्तो लाग्न जान्छ । किन भने यो अवधीमा गजल सुन्य भए पनि मृत चााही थिएन भन्न सकिन्छ ।
तसर्थ समय सान्दर्भिक हुने हेतुले मैले गजलको काल विभाजनलाई यसरी गरेको छु ।
प्राथमिक कालः वि.स.- १९४० वि.स.- १९९६
माध्यमिक कालः वि.स.- १९९६ वि.स.- २०३५
पुनर्जागरण /आधुनिककालः वि.स.- २०३६ – वि. स. २०५०
विकास कालः वि. स. २०५० साल यता
-केशु बिरही

गजलको क्षेत्र
गजलको कुनै छुट्टै वा अलग्गै विशेष क्षेत्र भने देखिदैन । यसले साहित्यका अन्य विधाले उठाउने गरेका यावत विषय वस्तुहरू नै गजलका विषयवस्तु वन्ने गरेका छन । त्यसैले गजलको छुट्टै क्षेत्र वा विषय छ भन्नु अज्ञानता वाहेक केही पनि होइन । गजलले हिजो प्रेमी र प्रेमीकाका कुराहरू अर्थात प्रणयभाव मात्र वोक्न सक्छ भन्ने मान्यतामा पनि परिवर्तन भैसकेको छ । र यसले त्यो पुरानो मान्यतालाई भत्काएर नया मान्यतालाई स्थापित पनि गरि सेको छ । यसले पछिल्लो समयमा मानव जीवनका सरोकारका सवै विषय वस्तुहरूको उठान गरिसकेको छ । यस्तो अवस्थामा आएर गजलको यो नै क्षेत्र हो भनेर कित्ता लगाउने काम ठीक होइन भन्ने मेरो वीचार हो ।
हुन त गजलको जन्म प्रणयभावबाटै भएकोले गजललाई श्रृगारिक धारामा मात्र सिमित गर्नु पर्छ भन्ने वीचार पनि यदाकदा आउने गरेका छन । कहिलेकही केही सर्जक मित्रहरूबाट यस्तो आवाज उठ्ने गरेको छ । तर पछिल्लो समयमा गजलले पाएको व्यापकता र लोकपि्रयताले त्यस्ता वीचारहरूलाई स्वत अप्रमाणित गरिदिएका छन ।

गजलको भाषा
गजलको भाषा सरल र सरस हुनु पर्छ । सुवोध्य खाल्को हुनु पर्छ । थोरै शव्दले पनि धेरै अर्थ दिन सक्नु नै गजलको विशेषता हो । गजललाई कोमल तथा हार्दिक वनाउनलाई भाषाको महत्वपूर्ण भूमिका रहन्छ । अर्थात शव्द र विम्बसंग खेल्न जान्नु पर्छ । शब्द र बिम्ब संग खेल्न जान्ने, शब्दको लाक्षणिक अर्थ दिन सक्ने सर्जक नै वास्तवमा सफल गजलकार कहलिन्छ ।

संरचाका दृष्टिले कसकास गरेर मात्र सफल सिर्जना वन्न सक्दैन । समालोचकहरूले गजलमा रदिफ, काफिया र लयको अनिवार्यतालाई मात्र पूरा गरेर मात्र सुन्दर गजल सिर्जना वन्न सक्दैन, त्यसको लागि त गजलभित्रको जीवन्त भाव, चिन्तन र विचारले पनि उत्तिकै भूमिका खेलेको हुन्छ भन्ने विचरलाई अघि सार्दै आएका छन । गजलको भाषालाई महत्व दिदै आएका छन ।
गजलका किसिम वा प्रकारः
गजललाई मुख्यतया दुई किसिममा वर्गीकरण गरिएको छ ।
-१) विषयवस्तुको आधारमा
-२) रदिफको आधारमा

-१) विषयवस्तुको आधारमा गजललाई दुई किसिम विभाजन गरिएको छ । ती हुनः
-क) मुसलसल गजलः यसमा गजलका सवै शेरहरू एउटै विषयवस्तुमा आधारित भएर लेखिएका हुन्छन
-ख) गैरमुसलसल गजलः यसमा गजलका शेरहरू फरक-फरक विषयवस्तुमा आधारित भएर लेखिएका हुन्छन ।

-२) रदिफको आधारमा पनि गजललाई दुई भागमा विभाजन गरिएको छ ।
-क) मुरद्दफ गजलः – यसमा रदिफ र काफिया दुवैको प्रयोग भएको हुन्छ ।
-ख) गैरमुरद्दफ गजलः – यसमा रदिफको प्रयोग गरिएको हुदैन ।
-नोटः- उदाहरणहरू तल प्रस्तुत गरिएका छन ।)

गजलका तत्वहरू
गजलका तत्वहरूको निर्धारण गर्ने कुरामा पनि फरक फरक मत रहेका छन । कसैले रदिफ, काफिया , मतला, मकता, बहर -छन्द) आदिलाई वताएका छन भने केहीले गजलका तत्वका रुपमा भाव तथा विषय वस्तु, कल्पना, सङ्गीत, बिम्ब तथा प्रतिकका साथै भाषालाई समेत गजलका तत्वका रुपमा लिएका छन । संरचनाद्वारा कुनै रचनाले गजलको रुप धारण गरे पनि काव्यको लागि आवस्यक मानिने तत्वहरूका अभावमा केनै पनि रचना गजल बन्नै नसक्ने कुरा डा. कृष्ण्हरि बरालले गजलः सिद्धान्त र परम्परामा उल्लेख गरेका छन ।

गजलका तत्वका वोरेमा जे जस्ता कुरा आए पनि शेर, रदिफ, काफिया, मतला, मकता, बहर, तखल्लुस आदि नै मुख्य हुन । भाव, बिम्ब, प्रतिक, अलङ्कार आदिलाई गजलका मुख्य तत्वका रुपमा परिभाषित गर्नु सान्दर्भिक ठहरिदैन । किनभने बिम्ब र प्रतिक भनेका गजलका भाषा र लय भित्रै समायित हुने गर्छन । एउटा सुन्दर सिर्जना भित्र कतै न कतै यी तत्वहरू अटाएकै हुन्छन । तसर्थ गजलका तत्वहरूमा शेर, रदिफ, काफिया, मतला, मकता, तखल्लुस, बहर, भाषा र लयविधानलाई नै मुख्य तत्व मान्नु उपयुक्त देखिन्छ ।
यहा गजलको आधारभूत संरचनाको वारेमा संक्षिप्त रुपमा चर्चा गर्ने प्रयास गरिएको छ । हुन त आजभोलि गजलका निम्न लिखित सिद्धान्तको वारेमा सामान्यरुपमा ज्ञान भैसकेको छ । तै पनि नया तथा सिकारु गजलकारका लागि यी तत्वको वारेमा जानाकारी दिनु आवस्यक ठानेको छु । त्यसैले गजलमा प्रयोग हुने केही तत्वहरूको वारेमा केही चर्चा गरौं ।

शेर
एउटै लय वा छन्द -बहर)मा बाधिएका दुई पङ्िति मिलेर शेरको निर्माण हुन्छ । जसरी एउटा कवितामा श्लोक -कतबलशब) वा अनुच्छेद हुन्छ त्यसैगरी गजलमा शेर हुन्छ । गजलका अनुच्छेद वा श्लोकलाई शेर भनिन्छ । अंग्रेजीमा यसलाई -अयगउभित) वा दुई पङ्तिको श्लोक भनिएको छ ।
अर्थात समग्रमा भन्दा गजल शेरमा अनुवन्धित हुने साहित्यिक रचना हो । शेर अरबी भाषाबाट आएको शव्द हो । यो अरबी भाषाको पुलिङ्गी शब्द हो । यसको शाव्दिक अर्थ ‘केश’ हुन्छ । केशलाई सौन्दर्य वा प्रेमको प्रतिक पनि मानिन्छ । ‘शेर’ दुईओटा हरफ वा लाईनबाट निर्माण भएको हुन्छ । केही उदाहरण हेरौः -
कति दियौ पीडाहरू मैले गन्न वाकी थियो ।
तिमी भने हिडी हाल्यौ केही भन्न वाकी थियो ।। -ललिजन रावल

ढाटी छली आफूलाई कति बाच्न सकिएला ?
हृदयमा पीर बोकी कति हास्न सकिएला ? – मनु ब्राजाकी

उनी पनि सल्लाहमा आए राम्रो हुन्थ्यो ।
माल्सिरी भाखा सागै गाए राम्रो हुन्थ्यो ।। – बूद राना

मिसरा
गजलका प्रत्येक दुई पङ्क्तिलाई मिसरा भनिन्छ । अर्थात दुई मिसरा मिलेर एउटा शेरको निर्माण भएको हुन्छ । शेरको पहिलो पङ्क्तिलाई ‘मिसरा ए उला’ र दोश्रोलाई ‘मिसरा ए सानी’ भनिन्छ । ‘मिसरा ए उला’ र ‘मिसरा ए सानी’को सम्वन्ध एक आपसमा अन्योन्याश्रति हुन्छ । यी एक आपसमा असंवन्धित भएमा असंवन्धता दोश हुने कुरा डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले आफनो पछिल्लो कृति गजल मिमांसा र सौन्दर्यमा उल्लेख गरेका छन । ‘मिसरा ए उला’ ले उठाएको जिज्ञासा वा कौतुहलतालाई ‘मिसरा ए सानी’ टुङ्ग्याउने नै गजलको विषेशता हो । कहिलेकही ‘मिसरा ए सानी’ ले उठाएको जिज्ञासा वा कौतुहलतालाई ‘मिसरा ए उला’ ले पनि समाधान गर्न सक्छ । यी दुवै एक आपसका अन्योन्याश्रति पङ्क्तिबाटै शेरको पूर्ण भाव अभिव्यक्त भएको हुन्छ । केही उदाहरण हेरौः -
एक थोपा आसु पनि तर्न गाह्रो भयो । -मिसरा -ए उला)
भङ्गालोमा तरु भन्छु पर्न गाह्रो भयो । -मिसरा ए सानी) -बिजय सुब्बा

खाली छन् है प्रतगिका पाना यता गाउातिर । -मिसरा -ए उला)
चुहेका छन् हिजोजस्तै छाना यता गाउातिर ।। -मिसरा ए सानी) -चंकी श्रेष्ठ

जानी जानी राती पार्यौ नजाऊ यती राती भन्यौ । -मिसरा -ए उला)
कोही छैनन् घरमा आज, हिंड जाऊा माथी भन्यौ । -मिसरा ए सानी) -निश्प्रभ सज्जी

मतला
मतला वा मत्ला भन्नाले गजलको प्रथम शेर हो । यसलाई गजलको शीर मानिन्छ । यो अरबी भाषाको पुलिङ्गी शब्द हो । अरबी भाषामा यसलाई ‘मतलअ’ भनिन्छ । मतलाको शाव्दिक अर्थ ‘उदय हुनु’ वा ‘आरम्भ हुनु’ भन्ने हो । त्यसैले यसलाई गजलको टाउको पनि मानिएको हो । गजलमा ‘मतला’लाई गजलको प्रतिनिधि शेर पनि भनिन्छ । त्यसैले गजलमा मतलालाई महत्वपूर्ण रुपमा हेरिएको हुन्छ । केहीले यसलाई गजलको परिचय शेरको संज्ञा दिएर अपुरो अर्थ लगाउन पनि खोजेका छन तर यो आफैमा पूर्ण शेर हो । गजलका शेरहरू कहिल्यै पनि अपुरा हुनै सक्दैन । सर्धैं पूर्ण हुन्छन । एउटा गजल ‘मतला’बाट सुरु भएर ‘मकता’मा गएर टुगिंन्छ । मतलाका केही उदाहरण हेरौः -
खण्डहरमा परिणत घर भएछ ।
हताहत यहा धेरैको रहर भएछ ।। -ज्ञानुवाकर पौडेल

थाहै नपाई अनायसै, रिसाउछु राजेश्वरी ।
तिम्रै यादले सिरानीलाई भिजाउछु राजेश्वरी ।। -कृशु क्षेत्री

एक पल्ट बााधिहेर जञ्जिर त्यो खोली हेर ।
मुस्काएको नजरले लुम्बिनी त्यो भोलि हेर । – रामगोपाल आशुतोष

काफिया
गजलको मतला र त्यस पछिका हरेक शेरका ‘मिसरा ए सानी’मा आउने शब्द वा -स्वर) शब्द समूह नै नै काफिया हुन । काफिया अरबी भाषाको पुलिङ्गी शब्द हो । यसको अर्थ ‘बावम्बार आउने’ भन्ने हुन्छ । त्यसरी काफियामा भएका शव्दहरू भने परिवर्तन गर्न सकिए पनि स्वरहरू भने अपरिवर्तित हुन्छन । काफियालाई गजलको मुख्य तत्वको रुपमा लिइन्छ । काफियाको अभावमा गजलको परिकल्पना समेत गर्न सकिदैन । त्यसैले यसलाई गजलको मुटु मानिएको हो । गजल सिर्जनामा गजलकारले यसको प्रयोगमा धेरै ध्यान पुर्‍याउन जरुरी छ । अन्यथा गजल भनेर सिर्जना गरिएको रचना गजल नभएर पजल पनि हुन जान्छ ।

प्राथमिक कालका गजलहरूमा त्यो कमजारी देखिएको ललिजन रावलले प्रतिनिधि नेपाली गजलहरू भाग- ५ मा उल्लेख गरेका छन । ती गजलहरू सारमा मात्र नभएर रुपगत हिसावले पनि अति नै कमजोर भएको पनि उनको दावी छ । त्यसो भनेर आजभोलिका गजलहरूमा त्यो दोश छदै छैन भन्ने तर्फ भने उनको आसय होइन र लिनु पनि हुादैन । आजभोली गजलमा पनि त्यो दोश प्रसस्त मात्रमा देख्न सकिन्छ । गजलका नाममा फजलको सिर्जना भैरहेका छन । ती सवै कुरा काफियाको मर्मलाई नवुझ्दा भएका हुन । काफियाका केही उदाहरण हेरौः -
पाखा र पखेरा नाचेको मान्छे म म ।
सिन्की र ढिंडोमा बाचेको मान्छे म ।। -गोर्खे साइलो

आयौ र बास माग्दै छाती चरेर भाग्यौ ।
माया दिएर राखे गाली गरेर भाग्यौ ।। -घनेन्द्र ओझा

आश्वासनका मीठा कुरा सुनिदैछन् अझै पनि
हृदयका आवाजहरू, थुनिदैछन् अझै पनि ।। -खगेन्द्र गिरी ‘कोपिला’

पल- पल आखाबाट झरेको छु आज ।
थाहा छैन आफैलाई मरेको छु आज ।। -पुष्प अधिकारी ‘अञ्जली’

काफियालाई पूर्ण, आंशिक र एकाक्षरी गरेर मुख्यतया तीन भागमा विभाजन गरिए पनि पछिल्लो समयमा आएर पूर्ण, आंशिक, मिलित र एकाक्षरी गरी चार भागमा विभाजन गरिएको पनि पाइन्छ । धेरैले भने पूर्ण काफियालाई वढावा दिएका छन । काफियाको यो प्रयोगलाई मात्र दोश रहित मानेका छन । तर गजलमा आंशिक, मिलित र एकाक्षरी काफियाले पनि उतिकै मान्यता पाएका छन । पूर्ण, आंशिक, मिलित वा एकाक्षरी काफिया जे हुन गजलकारले गजल सिर्जनामा काफियाको स्वरलाई भने चिन्न सक्नु पर्छ ।

-क) पूर्ण काफियाः पूर्ण शब्दको प्रयोग भएका अर्थात स्वर र व्यञ्जनका आधारमा श्रुतिसमान शब्दलाई पूर्ण काफिया हुन । जस्तै गर्न, तर्न, मर्न, र्झन, भर्न, छर्न । त्यस्तै पिएकी, जिएकी, लिएकी, सिएकी आदि । पराई, तराई, मराई आदि । 
पूर्ण काफिया प्रयोग भएका केही शेरहरू हेरौंः -
घरको छत् ‘नि तराई हुन्छ तिम्रो सहरमा ।
छिमेकी ‘नि पराई हुन्छ तिम्रो सहरमा ।। -प्रकाश आङदम्बे

घातीसाग मनको बह फुकाउनु हुन्न सानु ।
बिनाकसुर उचो शीर झुकाउनु हुन्न सानु ।। -प्रकट पगेनी ‘शिव’

जसै गजल लेख्न वसे बहर बोकी आयौ तिमी ।
अनायसै सम्झनाका लहर बोकी आयौ तिमी ।। -अञ्जु अञ्जली

आंशिक काफियाः पूर्ण रुपमा नभै त्यस शब्दमा केही वर्ण मात्रै काफियाको रुपमा प्रयोग भएका हुन्छन । जस्तै कहानी, सिरानी, निशानी, दिवानी, जिन्दगानी, रानी आदि । आंशिक काफिया प्रयोग भएका केही शेरहरू हेरौं -

म जसलाई भन्ने गर्छु सिकारी हो त्यो ।
तिमी उसैलाई भन्छौ पुजारी हो त्यो । डा. घनश्याम न्यौपाने ‘परिश्रमी’

नबोल बोल सुस्तरी लुकाइ बैास षोडसी ।
नखोल खोल अङ्गका उमङ्ग रङ्ग घसी ।। -नवराज लम्साल

तिमी साथ भए पछि भगवान पनि चाहिदैन ।
मेरो रात जग्मगाऊ, विहान पनि चाहिदैन ।। -सुरेश वाग्ले

तिमी हास्नलाई मलाई रुवायौ ।
बडो सञ्च मान्दै चिमोठी दुखायौ ।। -रमेश ‘शुभेच्छु’

मिलित काफियाः
यसमा स्वर र व्यञ्जनको ध्वनी समान भएका पद वा बाक्यको काफियाका रुपमा प्रयोग भएका हुन्छन । जस्तै गर्छ यो, भयो, गयो, छन त, भन त आदि । मिलित काफिया प्रयोग भएका केही शेरहरू हेरौं -

घामको लाली घोलेर रातो छ त नि छन त ।
रातमा छाया परेर हो कि अधेरो जगत ।। -बूद राना

एकाक्षरी काफियाः
शब्दको अन्त्यमा एउटा अक्षर मात्र काफियाका रुपमा प्रयोग भएका हुन्छन । जस्तै यो, त्यो, को हो भो आदि । एकाक्षरी काफियामा निर्मित गललको शेरको उदाहरण तल प्रस्तुत गरिएको छ ।

छुट्टाछुट्टै बल्न खोज्दा प्रकाश टुक्रिन्छ दियाहरूको ।
टुक्रिएरै बल्न खोज्दा सधैंभरि हार होला जिन्दगीको ।। -ललिजन रावल

रदिफ
मतलाको दुवै पङ्क्तिका ‘मिसरा ए उला’ र ‘मिसरा ए सानी’ को अन्त्यमा दोहोरिएर आउने शव्द वा शव्द समूह नै रदिफ हुन । रदिफ अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो । यसको अर्थ ‘पछिपछि आउने’ भन्ने लाग्छ । रदिफ काफियाको पछि प्रयोग हुने हुनाले यो ‘पछिपछि’ आउने अर्थ सान्दर्भिक नै देखिन्छ । कापियालाई ‘पुर्वानुप्रास’ र रदिफलाई ‘अन्त्यानुप्रास’ पनि भन्न सकिन्छ भन्ने पनि छन । यो मतलाका दुवै शेरमा र वााकी मिसराका सवै दोश्रो पङ्ति, ‘मिसरा ए सानी’मा आउछ ।

प्रयोगको आधारमा गजललाई ‘मुरद्दफ’ र ‘गैरमुरद्दफ’ गरी दुई भागमा बााडिएको पाइन्छ । मुद्दरफ भन्नाले रदिफ प्रयोग गरिएको र गैरमुद्दरफ भन्नाले रदिफ प्रयोग नभएको गजल भन्ने अर्थ जनाउाछ । हुन त रदिफ विना पनि गजलको सिर्जना गर्न सकिन्छ । विना रदिफ लेखिएका गजलहरू पनि नेपाली गजलमा प्रशस्तै भेटिन्छन । केहीले यसलाई अनिवार्य तत्वको रुपमा नलिइ ऐक्षिक तत्वका रुपमा पनि उल्लेख गेरेका छन । रदिफ शब्दले ‘घोडसवारको पछि वस्ने मानिस’ भन्ने अर्थ जनाउछ । घोडा चलाउन पछाडिको मानिसको आवस्यक्ता पर्दैन । अर्थात उसको अभावमा पनि घोडा चल्न सक्छ भन्ने मान्यतालाई लिएरै रदिफको प्रयोगलाई ऐक्षिक मानेका हुन सक्छन । तर यस्को प्रयोगले गजललाई झनै सुन्दर वनाउछ । अझ यसरी पनि भनौ न घोडासवार पछि अर्को मानिस पनि छ भने संभावित खतराबाट जोगाउाछ । लड्न दिदैन । त्यसैले यसको प्रयोगलाई महत्व दिइएको हो । केहीले यसलाई अनिवार्य तत्वको रुपमा पनि लिने गरेका छन । रदिफ प्रयोग भएका र रदिफप्रयोग नभएका केही शेरहरू हेरौः -

मुरद्दफ गजलका शेरहरू उदाहरण
खालि आसु बगाउनु- तिम्रो भाग्य हैन ।
एकान्तमा रमाउनु- तिम्रो भाग्य हैन ।। – रासा

जति जल्यौ अव नजल साथी ।
क्षणिक झिल्का भै नवल साथी ।। -केशु बिरही

नबोले नि झिम्झिम् गर्ने परेलीकी बातै मजाको ।
तिमी हुादा पो त हुन्छ पूणिर्माको रातै मजाको ।। ‘विवश’ बलिभद्र कोइराला

‘गैरमुरद्दफ’ गजलका शेरहरू उदाहरणः

अझै पनि यो मुटुमा तिम्रै माया साचिरा’छु ।
तिमी आउने दिन गन्दै औलाहरू भाचिरा’छु ।। -सुन्दर कुरुप

तिम्रो भव्य दरवारमा व्यर्थै पीर पोखिएछ ।
न्याय गर्न तिमीबाट ब्वाासोलाई तोकिएछ । – श्रेष्ठ पि्रया ‘पथ्थर’

फूलमा हैन हैन म कतै झारमा छु ।
यस्तै छ जिन्दगी सधै हतारमा छु । -सुरेश वाग्ले

रदिफलाई मूख्यतया ‘स्वतन्त्र’ र ‘मिश्रति’ गरि दुई भागमा विभाजन गरिएको छ ।
-क) स्वतन्त्र रदिफः गजलका शेरमा स्वतन्त्र एकाइको रुपमा दोहोरिएर आउने शव्द नै स्वतन्त्र रदिफ हुन । जुन काफियाको पछि विना परिवर्तन आउने गर्छन ।
-ख) मिश्रति रदिफः काफियाको पछि वा काफिया संगै एकाकार भएर आउने रदिफ नै मिश्रति रदिफ हुन ।
त्यस्तै देवी नेपाल, सुरेश सुवेदी र घनेन्द्र ओझा -लेखक त्रय)द्वारा लिखित गजल कसरी लेख्ने ? भन्ने कृतिमा रदिफलाई पदमूलक, पदावली मूलक र वाक्यात्मक गरी तीन भागमा विभाजन गरिएको पाइन्छ । सोही कृतिबाट केही उदाहरण पनि लिऔ ः

-क) पदमूलक रदिफः काफिया पछि एउटा पद मात्र रदिफको रुपमा आएको हुन्छ ।

ब्रमा खुड्किलो चढ्छ जो चढ्न द्यौ ।।
बढ्छ राको अझै युद्धको बढ्न द्यौ ।। -बलराम दाहाल

तिमी फूल गुरास भन्छ्यौ म खसेको पात परे ।
बाहिरै देऊ पिउने पानी म झरेको जात परे ।। -’विवश’ बलिभद्र कोइराला

पदावलीमूलक रदिफः

दुई वा दुई भन्दा वढी शब्द काफियाको रुपमा प्रयोग भएका हुन्छन ।

दुःखमा नै जिएकी छ मेरी धरा ।
आसु झारी पिएकी छ मेरी धरा ।। -सुसैन खाा

झरी पर्दा तिमी एक्ली थियौ ।
जून झर्दा तिमी एक्ली थियौ ।। -रासा

मलाई चरी बात लगायौ तिमीले ।
हजारौ थरी बात लगायौ तिमीले ।। -सुरेश सुबेदी

बाक्यात्मक रदिफः

एउटा पुरै वाक्य नै रदिफको रुपमा प्रयो भएका हुन्छन ।

जुन मोडमा बिदा लियौ, म छु आज सम्म त्यही पि्रया ।
अ, हिजो तिमी पनि त्यै थियौ, म छु आज सम्म त्यही पि्रया ।। -शारदा सजल

कमै मिल्ने प्यारजस्ती, मायाको के कुरा गरौ ।
बहुमूल्य हारजस्ती, मायाको के कुरा गरौ ।। -रुपक बनबासी

मकता
अरबी भाषाको ‘मक्तूअ’बाट विकसित हुदै ‘मकता’ वा ‘मक्ता’ भएको हो । गजलको अन्तिम शेरलाई मकता भनिन्छ । यसलाई गजलको टुङ्ग्याउनी पनि भनिन्छ । केहीले ‘तखल्लुस’ प्रयोग भएको छ भने मात्र मकता हुने नत्र मिसरा नै मान्नु पर्ने मत पनि अघि सारेका छन । तर मतलालाई गजलको आरम्भ वा थालनी मानिसके पछि अव मकतालाई गजलको अन्त्य भाग मान्नु उपयुक्त देखिन्छ । चाहे त्यहा तखल्लुस प्रयोग गरिएको होस् या नहोस । किन भने तखल्लुसलाई अनिवार्य तत्व मानिएको छैन । तखल्लुस राख्ने वा नराख्ने त्यो लेखकमै भर पर्ने कुरो हो । तखल्लुस प्रयोग नभएको शेरलाई मकता नमाने मिसरा मात्रै मान्ने हो भने त्यो गजलको अन्त्य कहिल्यै हुने ? के तखल्लुस प्रयोग नभएको गजलको अन्त्य नै हुादैन त ? तसर्थ विना संकोच गजलको अन्तिम शेरलाई मकता भन्नु नै उपयुक्त हुन जान्छ । 

मकताका केही शेरहरू हेरौः -
नजातले रोक्यो उसलाई नस्वार्थले रोक्छ ।
प्रगतिबादी वोल्न ऊ भक्भकाएर आउने छ ।। – सिवाकोटी पुरानाघरे

स्वभीमान जिन्दावाद नारा जिन्दगीको ।
बितेको रात हु मेरो कहानी के सुनाउा ।। -गोपाल अश्क

दिनमा तर्किएर हिड्नुको मजा ।
भेट्न आउाछु भनेको राति रहेछ ।। -वियोगी बुढाथोकी

तखल्लुस
‘तखल्लुस’ अरबी भाषाको पुलिङ्गी शब्द हो । गजल वा सायरीमा लेखकले आफ्नो नाम वा उप नाम राख्ने चलन रहेको छ । लेखकको त्यही नाम वा उप नामको रुपमा प्रयोग भएर आउने शब्दलाई ‘तखल्लुस’ भनिन्छ । हुन त यसलाई अनिवार्य तत्वका रुपमा भने लिइएको पाइदैन । यसलाई ऐक्षिक तत्वको रुपमा हेरिएको छ । यस्ले गजललाई सुन्दर वनाउछ । अझ अर्थपूर्ण वनाउछ । सुन्दर वा अर्थपूर्ण वनाउने हुनाले यस्को प्रयोगलाई पनि अर्थपूर्ण रुपमा लिनु जरुरी देखिन्छ । तर असान्दर्भिक रुपमा गरिएको तखल्लुसको प्रयोगको भने कुनै अर्थ रहदैन । सही तखल्लुसको प्रयोगले मात्र गजलकारको परिपक्कताको वोध गराउछ । 
तखल्लुस प्रयोग भएका केही शेरहरू हेरौं ।
सायद कुनै पविर्तन हुदैछ ।
‘विभोर’ बिनाकारण क्रुद्ध हुदैन ।। -विभोर बराल

छर्नेहरू छरिर’छन जनताका नाम ।
‘विजय’लाई अक्षर समेत छर्न गाह्रो भयो । -विजय सुब्बा

साथीहरू घर घरै न्यानो गरी सुते होलान् ।
आफू भने ‘मनु’जीको पछि पछि लाग्दो रहेछु ।। -मनु ब्राजाकी

कहा पुग्थे ल ‘गोर्खे’का सवाल,
घरैहुल्ने भएपो माधुरीको ।। -गोर्खे साइालो

बहर
नेपाली गजलमा प्रयोग हुने शास्त्रीय लयलाई नै बहर भनिन्छ । संस्कृत काव्य परम्परामा ‘छन्द’ भने झैं फारसी गजल परम्परामा ‘बहर’ भनिन्छ । यसले गजलको लयअनुसानलाई निर्धारण गरेको हुन्छ ।
उर्दु तथा फारसीमा थुप्रै बहरहरू छन । पचास जति बहरहरू र त्यसमा पनि भेद तथा उपभेद भएको कुरा विभिन्न समाचोलकहरूले उल्लेख गरेका भए पनि गजलकार गोर्खे साइालोले पल्ब साहित्यिक पत्रिका – गजल विशेषाङ्कमा -भाग – १३ मा) नेपाली बहरका ११, मात्रिक बहरका ४ र शास्त्रीय बहरका १९९ गरी जम्म २१४ ओटा बहरको वारेमा परिचय सहित उल्लेख गरेका छन ।

तर नेपाली गजलमा ती सवै बहरहरूको प्रयोग हुन सकेको देखिदैन । नेपाली गजलमा सिमित बहरहरूको मात्र प्रयोग भएको पाइन्छ । हुन त बहरमा गजल लेख्नेको संख्या नै त्यति वढी नभए पनि । अर्थात मुक्त बहर -छन्द)मा लेख्नेको तुलनामा यस्ता मानिसहरूको संख्या न्युन रहेपनि पछिल्लो समयमा आएर यस्तो संख्या बढ्दो छ । शास्त्रीय बहर तर्फको आकर्षण दिनानुदिन वढ्दो देखिन्छ । फुटकर रुपमा मात्र नभएर पछिल्ललो समयमा आएर शास्त्रीय बहरमा मात्र लेखिएका गजलहरूको सङ्ग्रह पनि प्रकाशित भैरहेका छन र हुने क्रममा छन । यो क्रम वढ्दो छ ।

केही पिङ्गला छन्दहरू शास्त्रीय बहर संग मिल्न जान्छन । त्यसैले पनि पिङ्गला छन्दको राम्रो ज्ञान भएकालाई शास्त्रीय बहरमा गजल सिर्जना गर्न सहयोग मिलेको देखिन्छ । पछिल्लो समयमा आएर त्यस्ता बहरका साथसाथै अन्य स्व निर्मित बहरमा गजल लेख्नेको संख्या पनि कम छैन ।

रुक्नहरूको संयोजनबाट बहरहरूको निर्माण गरिन्छ । रुक्न भनेका बहरका गण हुन । रुक्नहरूको समूहलाई अर्कान भनिन्छ । हुन त पिङ्गला छन्दमा -यमाताराजभानसलगा) आठ गण भए झैा इस्लामिक आठ रुक्नहरूको पनि चर्चा गरिएको पाइन्छ । तर उर्दू तथा फारसीमा प्रयोग हुने रुक्न त्यति मात्र होइनन । उर्दू तथा फारसीमा रुक्नहरू यति नै छन भनेर किटानी गरिएको पनि पाइदैन ।

गजलका बहरहरूलाई मूलरुपमा मुफरद -मूल) मुरक्कब -मिश्रति) तथा मुजाहिफ -परिबर्तित) गरि तीन भागमा विभाजन गरिएको छ । मुफरद बहर एउटै रुक्नको दुई, तीन र चार आवृत्तिबाट बन्छ भने मुरक्कब बहर दुई वा दुई भन्दा बढी फरक फरक रुक्नको मेलबाट बन्दछ र मुजहिफ बहर भने टुक्रिएका रुक्नको मेलबाट बन्छ ।
न्ोटः काब्य विधामा संस्कृत छन्दका गणमा क्ष् -लघु) र क -गुरु) भए झैा गजलका बहरमा भने रुक्नका लघुलाई १ र गुरुलाई २ ले जनाइन्छ ।
यहाा बहरको वारेमा सङ्क्षिप्त जानाकारी मात्र दिन खोजिएको हो । बहरको वारेमा पूर्ण जानाकारी भने नेपाली गजलमा शास्त्रीय बहरकोे आवस्यक्ता र सान्दर्भिकता नामको लेखमा उल्लेख गरिएको छ ।

निस्कर्षः

गजल मूलतः शास्त्रीय विधा हो । थोरै शव्दले पनि धेरै अर्थ दिन सक्नु नै यस विधाको विशेषता हो । यो सर्वमान्य सत्य पनि हो । गजल सरल भएर पनि सशक्त छ । कोमल तथा हार्दिक भएकै कारणले आज यो विधा नेपाली माटोमा सवैको पि्रय भएको छ । पुराना तथा नयाा सवै स्रष्टाहरूको यो विधा तर्फ अधिक आकर्षण रहेको पाइन्छ ।
नेपाली गजलले छोटो समयमै लोकपि्रयता कमाएको छ । यो लोकपि्रयतालाई वचाइराख्नु नितान्त जरुरी छ । यस तर्फ तमाम गजलप्रेमीले सोच्नु पर्ने वेला आएको छ । गजलमा परिस्कारको आवस्यक्ता महसुस हुन थालेको छ र यही आवस्यक्तालाई मध्यनजर राख्दै पछिल्लो समयमा गजलमा परिस्कार आन्दोलनको कार्य पनि सुरु भएको छ । परिस्कार गरेर गजललाई शसक्त एवम् मर्यादित पार्ने काम आफैमा स्वागत योग्य छ । त्यस्तै केही मानिसहरू गजलमा नयाा प्रयोग भित्र्याउन पनि लागिपरेका छन । नविनतम प्रयोगले गजललाई सुन्दर तथा व्यापक वनाउछ । तर प्रयोगको नाममा गजललाई यसको मर्मबार्ट अलग्याउने । सरलताबाट क्लिष्टता तर्फ डोहोर्याउने काम भने हुनु हुादैन । अर्थात यसले गजललाई मजवुत नभएर अझ कमजोर वनाउछ भन्ने कुरालाई सवैले वुझ्नु र वुझाउनु आवस्यक छ ।

सन्दर्भ सामाग्रीहरूः
(१) बराल, कृष्णहरि – (२०६४) गजल सिद्धान्तर परम्परा ÷ साझा प्रकाशन
(२) रावल, ललिजन – (२०६५) प्रतिनिधि नेपाली गजलहरू ÷ विवेक सिर्जशील प्रकाशन समूह
(३) परिश्रमी, घनश्याम न्यौपाने (२०६४) गजल ः सौन्दर्य र मिमांसा ÷ वुटवल सनसाइन आवासीय मावि
(४) बिरही, केशु – (२०६३) दन्किएको आगो (गजल सङ्ग्रह) ÷ नेपाल गजल प्रतिष्ठान
(५) विवश, वलिभद्र कोइराला – (२०६७) काँचको मुटु ÷ पूर्वाञ्चल गजल मञ्च
६) बिरही, केशु – (२०६४) नेपाली गजल र यसमा प्रयोग भएका केही बहरहरू ÷पल्लव गजल विशेषाङ्क
(७) साँइलो, गोर्खे (२०६४) हुसैन खाँको डायरीभित्र लहरिदा ÷ पल्लव गजल विशेषाङ्क
(८) पन्थी, देबी (२०५९) गजल सिद्धान्त र समालोचना विविध वाङ्मय प्रतिष्ठान
(९) नेपाल, देवी ÷ सुवेदी, सुरेश ÷ ओझा, घनेन्द्र – (२०६६) गजल कसरी लेख्ने ?
ऐरावती प्रकाशन
(१०) अर्चना, सप्रेम (२०६६) सपना कहा छुन सक्छु र ! (गजल सङ्ग्रह) तन्नेरी डट कम
(११) वराल, विभोर (२०६६) उड्दै गए सपनाहरू (गजल सङ्ग्रह) तन्नेरी डट कम

- मगलबार, 28 मङ्गसीर, 2067

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger