Home » , » अजित क्षेत्रीको कथा "मलाई माफ गर है माया" (Story-Malai Maaf Gara by Ajit Chhetri) : 05-07-2016

अजित क्षेत्रीको कथा "मलाई माफ गर है माया" (Story-Malai Maaf Gara by Ajit Chhetri) : 05-07-2016

NepaliTalim | 9:58:00 AM | 0 comments
अजित क्षेत्री
कथाकार-अजित क्षेत्री
मिति-05-07-2016

अफिस सकिनासाथ आज पनि उही चिया पसलमा पुगिसकेको थिएँ । चिया पकाउँदै रहिछन् पसलकी साहुनी । केही दिन यता अफिस समयपछि यो पसलको एक कप चिया र एउटा समोसा खाएर मात्र घर जाने मेरो दैनिकी नै बनेको छ । हल्का चिनी, कडक पत्ती र गाढा दुधमा बनेको भरी गिलास चियाकै कारण म यसै पसलमा आउने गर्छु । मेरो अफिस नेरैका थुप्रै चिया पसलेहरु मुख बंग्याउँछन् नजिकको तिर्थ हेला गर्यो भनेर । कसैले केटीले पकाएको खान गएको भन्छन् कसैले चिया पिउने निहुले चिया पसले युवती जिस्काउन गएको भन्छन् कसैले पल्किसक्यो सल्किसक्यो पनि भन्छन् । तर म त्यो चियाको स्वादमा पल्केर त्यहाँ जाने गर्छु । मानिसहरूका यि सबै भन्यो रे र भन्छन् अरे अरेका कुरा मात्र हुन् । मलाई मुखै फोरेर झुटो ईल्जाम लगाउने कसको ताकत ? कन्ना पछाडी त मेरा लागी फूल टिपुन् की हँसिया उध्याउन्, मलाई बाल मतलब ।

करीब आठ दस फुट चौडा सटरमा खोलीएको चिया पसल । पसलमा दुई टेबल, आठ दस कुर्सी, एक बेन्च र एक छेउमा समोसा, पकौडा, बिस्कुटले भरिएको सानो सोकेस र आडैमा ग्यास चुल्हो अनि भित्तामा भित्तामा टाँसिएको एक क्यालेन्डर, स्वर्गीय राजा बिरेन्द्रको परिवारको ए-थ्री साइजको फोटो, कान्तिपुर साप्ताहिक पत्रिकाको केही ब्लोअप र सम्मुखमै झुँडाईएको एउटा ऐना । यही हो यस पसलको परिचय । पसल एक युवतीले चलाएकी छिन् । करिब पच्चिस छब्बिस सालकी, अग्लो कदकी, हल्का कालो बर्णकी, आदरभाषी र बोल्दा हल्का मुस्कुराहट । काममा फुर्तिली र हातको स्वाद मिठो । यिनै कारणले धेरैजसो अफिसियलहरु एक कप चिया पिउनैका लागी यही चिया पसलमा आउने गर्थ्यौं । पसलमा पुग्नासाथ भित्तामा झुन्ड्याइएको ऐनामा दिनभरीको कामले च्याउसिएको आफ्नो अनुहार एक खेप हेर्नु र नाकको छेउछाउमा फस्टाएका डन्डिफोर निचोर्नु मेरो आदतै बनिसकेको थियो ।

ऐनामा एक झलक हेरिसकेर बसेको के थिएँ चिया आईपुग्यो टेबुलमा । 
"समोसा पनि राख्दिऊँ सर ?"-उसले भनी । "उम्" मैले टाउको हल्लाएँ । 
एक प्लेटमा समोसा पनि आयो । "आज त खुब च्वाँक देखिएकी छौ नि !"-मैले जिस्काउन भनें । 
"अँ होला खुब ? सर पनि जे पायो त्यै बोल्दिनु हुन्छ ।" उसको प्रतिक्रिया थियो । 
'हो भन्या, कस्सम आज झनै राम्री देखिएकी छौ के ।"-मैले थपें । 
'राम्रो नराम्रो त मान्छेको हेराई हो सर, राम्रो त मन हुनु पर्छ मन ।'-उसले भनि ।  
'तिमी मान्छे नि राम्री तिम्रो मन त झनै राम्रो, आकाशमा उडिरहेको रंगीन चङ्गा जस्तै ।'  फुर्क्याउने पाराले मैले भनें । तर उ फुर्किइन । 
'आकाशको चङ्गा जतिसुकै राम्रो भएपनि कि त कसैको मुठ्ठीमा आउने हो कि त धागो चुँडेर कहिँ पछारिने हो । तपाईँ पनि मलाई पछार्दै हुनुहुन्छ सर ।'-उसले जवाफ दिई ।
लाग्यो उसले मलाई तिखो प्रहार गरी । रक्षात्मक हुँदै मैले भनें :- 'तिमी त राजकुमारले उडाउने चङ्गा जस्ती छौ । चुँडेर खसे नि दरबारमै हातमा बसे नि दरबारमै ।' 
मेरो कुरामा उसले कुनै प्रतिक्रिया जनाइन । सायद प्रतिक्रिया जनाउन चाहिन पनि । उसँग यतिधेरै सवालजवाफ गरेको मैले यो पहिलो पटक थियो र उसले यति खुलेको पनि यो पहिलो पटक । कुनै पनि ग्राहकसँग धेरै बोल्दिन पनि र रिसाउँदिन पनि ऊ । ऊ अर्थात यो चिया पसलकी साहुनी । नाम भने थाहा भएन मलाई । कसैसँग नजर जुधाएर बोल्दिन अनि कसैसँग गफिएर बस्न न रुचाउँदिन । प्रायः नजर नजुधाउने मानिस कसैसँग सजिलै प्रेममा फँस्दैन र कसैले सजिलै बिस्वास जित्न पनि सक्दैन । मलाई लाग्छ ऊ आजसम्म प्रेमको मिठो फल नखाएकी यौवनकी कलि हो । धत् मैले त के के सोंच्न भ्याई सकेछु । साँच्ची युवतीहरु पनि हामी युवकहरुको बारेमा यस्तै धारणा बनाउँदा हुन् त? सोंचें- युवतीहरु युवाले जस्तै प्रेम र यौन अनि घरजमको बारेमा सोंच्नु भन्दा युवकको सुगठित शरिर र उसको आम्दानीका बारेमा सोंच्छन् होला । मेरा एक मित्र भन्ने गर्छन् पुरुषको एक चौथाई जिन्दगी युवतीको बारेमा सोंचेर र हस्तमैथुन गरेर बित्छ युवतीको आधा जिन्दगी मेकअप गरेर र ठुलो घरकी मालिक्नी हुने सपना देखेरै बित्छ । सोंचें- ठिकै भन्थ्यो उसले ।
'साहुनी सुन त'- मैले भनें ।
प्लीज सर मलाई साहुनी नभन्नुस् न- उसले आग्रह र निर्देशन मिसिएको स्वरमा भनी ।
"पसल चलाउछ्यौ साहुनी नभनेर के भनुँ त ?"
"कहाँ चलाएँ पसल? जुठो भाँडा उठाएर माझेर एक एक पैसा बटुल्ने मान्छे के को साहुनी नी ?"-उसको जवाफ आयो ।
त्यसो भए के भनौँ त ?
"बैनी भन्नुस्"-उसले सहजै भनि ।
उ सहज हुन खोजी मलाई भने असहज भयो । 
उ दुरी मेटाउँदै थिई तर सिमाना लगाउँदै थिई
म दुरी भेटाउँदै थिएँ तर सिमाना मेटाउन खोज्दै थिएँ ।
'नाईँ'-मैले भनें- 'यो सजायँ मलाई नदेऊ । यो त बाघलाई मुख र नङ्ग्रा बाँधेर बाख्राको खोरमा छोडे जस्तै भयो'-मैले थपें ।
"पापी"-उसले धारे हात लगाए जस्तो गरी मायालु पारामा भनी ।
पापी भन्ने शब्द सुन्नासाथ यस्तो लाग्यो मानौं कि मलाई यमराजको अघिल्तिर उभ्याईएको छ र यमराजबाट मैले गरेका पापहरुको लामो सूची बाचन गरिँदै छ ।
'म त धर्मको खोजीमा निस्केको मान्छे, तिमीले त पापी पनि घोषित गरिदियौ है ? अब पापीलाई सजाएँ पनि तिमी नै दिनु'- मैले भनें
''पापी नै त निस्कन्छन् धर्मको खोजीमा''-दार्शनिक शैलीमा उसले भनी- ''धर्म कमाउन त तिर्थ यात्रा र मन्दिर धाउनु नी सर, यता होइन नी"
''जहाँ पबित्रता हुन्छ त्यही हो तीर्थ, जहाँ बिश्वास हुन्छ त्यही हो मन्दिर अनि जहाँ सेवा त्यहीँ ईश्वर''- मैले पनि जाने जति एकैपटकमा भन्दिएँ । 
'तर सर'-उसले भनि-बाटोको ढुँगालाई फूल चढाउँदैमा त्यो ईश्वर बन्छ र?
'ईश्वर एक अमुर्त मानव चेतना मात्र हो जब त्यसमा बिश्वास रुपी जल चढाईन्छ नी, त्यो मुर्त बन्दछ र त्यसलाई केवल ज्ञानीहरुले मात्र देख्न सक्दछन् ।'-मैले भनें ।
'त्यसो भए तपाईं ज्ञानी हो ?'
''होइन, म त अज्ञानी किनकी ज्ञान प्राप्त गर्न ध्यान चाहिन्छ र म ध्यान गर्न सक्दिन''-मैले भनें ।
ऊ केही बोलिन । पसलमा चिया पिउन आएका ग्राहकहरु गई सकेका थिए । मैले पनि चिया सकिसकेको थिएँ पैसा बुझाएँ । 
आज अलि बढी गफिएको थिएँ । किनकिन गफमा मजा आइरहेको थियो । गफको मिठासमा चियाको स्वाद फिका थियो तर अनुभूति अनुपम थियो ।
एकछिनको मौनता तोडेर मैले नै कुराको सिलसिला बढाउन सोधें- 'ए साँच्ची, तिम्रो नाम के हो नी ?' 
हुन पनि यतिका दिनसम्म मैले उसको नाम सोधेको थिइन । खासमा मलाई उसको नाम जान्नुपर्ने आवश्यकता नै परेन आजसम्म । त्यसो भए आज किन त ? आँफैलाई सोधें मनमनै । मनले उत्तर फर्काएन । 
'के राखेको छ र नाममा ? बिना नाम पनि तपाईंले मलाई चिनिराख्नु भएकै छ के रे'.. लाग्यो-झटारोले लाग्ने गरी हिर्काई उसले मलाई । आज उसले जित्दै गइरहेकी थिइ र म, हार्दै । तर पनि यस्तो लाग्दैथ्यो हारे पनि रेफ्रीले मलाई नै बिजयी घोषणा गरिरहेको छ ।
'नाम ब्यक्तिको परिचय हो, ब्यक्तिको अनुपस्थितीमा पनि उसको नामले उसको भुमिका निर्वाह गर्दछ ।''-मैले भनें ।
'त्यसो भए नाम बिना मान्छेको परिचय नै हुँदैन त ? के बिना नामले म यो समाजमा परिचित हुन सक्दिनँ त ?-गम्भिर पारामा उसले प्रश्न गरी । 
'बिना नाम पनि परिचित हुनु सम्भव छ',-मैले भनें-'नाम भएकाहरुको भिडमा एक जना नाम बिहिन मान्छे बाँच्दछ भने नाम बिहिन हुनु नै उसको परिचय बन्दछ । तर त्यसरी एक्लो परिचयको एक्लो जीवन तिमीले जीएको हेर्न चाहन्न म ।'
''सीता, रीता, पार्वती, उमा, प्रमिला....आखिर जे नाम भए नी म मैँ हुँ, नामको शृंगारले मान्छेको बाहिरी परिचयमा त केही भिन्नता देखिएला तर मैले जीउने जिन्दगी र मेरा सपनाका अँध्यारा गल्लीहरुमा मलाई साथ दिन्छन् जस्तो लाग्दैन सर ।'' उसको दार्शनिक जवाफले म अवाक् भएँ । 
मैले भनें- 'दर्शन सिक्न त कोही तिमीसँग आओस् । तिम्रा रहस्यमय शब्दहरु सुनेपछि त लाग्छ तिमी कुनै दन्त्यकथाकी रहस्यमय पात्र हौ ।' 
'सर तारिफ धेरै भयो अब जानुस् ढिला भयो' उसले भनी । 
घडी हेरें साँझको सात बजिसकेछ । बाहिर हल्का अँध्यारो हुँदैथ्यो सरासर घरतिर लागें ।

नाम बताइन, यसै यसै टारी उसले मलाई आज ।

***********

दिनहरु यसैगरी आफ्नै गतिमा अगाडि बढ्दै गए । अफिस लागेका दिनहरुमा दिनमा एकपटक उसको पसलको चिया पिउनु, दुई चार मिठा गफहरु उसँग गर्नु, यी मेरा दैनिक रुटिङ् नै बनिसकेका थिए । वास्तवमा म मा लत नै बनिसकेको थियो यो पसल, यहाँको एक कप चिया र उसको मुस्कान । म आज भोली आफुलाई कताकता हराई रहेको थिएँ । अफिस र चोकतिर मेरा बारेमा गाईंगुई चल्न थालेको थियो तर कसैले मसंग मुखै चाहिँ फोरेका थिएनन् । खासमा चिया पसलकी साहुनीसँग मेरो त्यस्तो कुनै खास सम्बन्ध भने थिएन । म उसका लागि अरु ग्राहक सरह नै थिएँ । तर मेरा लागि भने उ केहि खास बन्दै गएकी थिई। खास यस मानेमा कि उ र उसको पसल मेरा लागी चौतारी जस्तै बनेको थियो दिनभरिको अफिसको कामको थकान मेटाउने, एक कप चिया पिउने, उसको सामिप्यमा केही बेर रहने र साँझ घर फर्कने । 
कलिलो लोर्के जोबन, चन्चले उमेरमा युवा युवती बाबुआमाको काखमा लाडप्यारमा रमाउने गर्छन् । उ भने उमेर भन्दा गरुङ्गो जिम्मेवारी सम्हालिरहेकी थिइ । मैले कारण सोधें । बुबा प्यारालाईसिसको बिमारले स्वर्गे हुनु भएको, बृद्धा आमाको काँधमा घरको सबै जिम्मेवारी भएकाले परिवारलाई सघाउन सानोतिनो भए नि पसल चलाएको उसले बताएकी थिई एकदिन ।

भोलिपल्ट बिहान समयमै अफिस पुगें । अघिल्लो दिनको केही काम बाँकी थियो- सकें । अफिसमा अडिट सुरु हुने वाला थियो त्यसैको तयारी स्वरुप म र अर्का एक स्टाफ करिब दुई हप्ताको लागि सुर्खेतको बिरेन्द्रनगर जानु पर्ने भयो । भोली बिहानैको बसमा जानु र त्यसका लागि अहिल्यै देखि तयार रहनु भन्ने निर्देशन आयो । मनमा एक प्रकारको हुटहुटि सुरु भो । भोलीका लागि तयारी गर्दै थिएँ, एक मन पहिल्यै बिरेन्द्रनगर पुगिसकेको थियो भने अर्को मन यतै कतै अल्झिरहेको थियो । एक मन दुईतिर बाँडिए जस्तो भैरहेको थियो । आँफू आँफैसँग थिइनँ कतै हराएको थिएँ । जति चाँडो काम सकाउँछु भन्यो उती नै ढिलो भयो । अफिसियल काम सकेर बाहिर निस्कँदा साँझको ६ बज्नै आँटेको थियो । सरासर उहि चिया पसलमा गएँ, भित्तामा झुन्डिएको ऐनामा आफ्नो अनुहारको एक्स रे गरें, नाकको छेउमा सानो डन्डिफोरले घर बनाउन लागेको रै'छ निचोरें र आडैको कुर्चीमा बसें । उही परिचित शैलीमा उसले चिया र समोसा टेबलमा राखिदिई । किनकिन आज मैले चिया एक चुस्कि भन्दा बढ्ता पिउनै सकिन । आज उसलाई मात्र हेरुँ हेरुँ लागेको थियो । भर्खर नुहाएर निस्केकी कुमारी युवतीको शरीरबाट बास्ना निस्के झैं उसको शरीरको बासनाले लठ्याए झैं भयो मलाई । अनि उसलाई छाडेर केही दिन बिरेन्द्रनगरको अपरिचित भिड छिचोल्न जाँदै थिएँ भोली यो पनि एक पीडा जस्तै भएको थियो मलाई यतिबेला । ऊ मेरो सामुन्नेको टेबलमा रायोको साग केलाउँदै थिई । 
"भोली म सुर्खेत जाँदैछु नि"-एकतमासले सब्जी केलाई रहेकी ऊ मेरो यो अप्रत्यासित कुराले झस्के जस्ती भई । 
"आबुई हो र ! कति कामले नि ? कि उतै बस्ने हो र अब सर ?" उस्सुकता र बिस्मयका साथ उसले एकैपटकमा थुप्रै प्रश्नहरु सोधी । 
"करीब १५ दिनका लागी" 
मैले यसो भने पनि उनको अनुहारमा कुनै परिवर्तन देखिएन । लाग्यो मेरो जवाफबाट सन्तुष्ट भईन ऊ । आफ्नो जवाफबाट म आफै पनि सन्तुष्ट हुन सकेको थिईन । 
"तर १५ दिन मेरा लागी १५ बर्ष जत्तिकै लामा हुनेछन्" मैले भनें । 
"किन नि त्यस्तो, सर ?" उसले सोधी ।
"जहाँ मन छैन त्यहाँ बतन कसरी रमाउन सक्छ र ?-मैले जवाफ दिएँ । 
"महासय, अनि मन किन यतै छोडि जाने नि ? आफ्नो मन आफैसँग लैजाने गर्नुहोला, नत्र चोरी हुन के बेर ।"-केही मुस्कुराउँदै उसले भनी ।  
'महासय' !! उसले पहिलो पटक मलाई यो शब्दले सम्बोधन गरी । चिसो पानी पिउँदा शरीरको भित्रैसम्म महसुस भए जस्तै उसको सम्बोधनले पनि मलाई एकैपटकमा भित्रैसम्म छोएर गयो । यस्तो लाग्यो पहिलो पल्ट कोही मेरो मनको तघारो जबर्जस्ती खोलेर संघारमै बस्न खोज्दैछ । उसले ठिक भनेकी थिई मन चोरीन सक्छ । तर महसुस गर्दै थिएँ मन बिस्तारै चोरी भैरहेको छ । र, म चुपचाप चोरलाई मनको तालाचाबी सुम्पिँदै थिएँ ।
"मन त चोरी भै सक्यो, अब म सुरक्षित छु"- मैले भनें ।
"त्यसो भए उजुरी दिनु नि मन चोरी भयो भनेर"
"कहाँ दिउँ उजुरी ? उनै चोर छन् र उनै सिपाही भएका छन्"-मैले भनें
"मन चोरी भएको प्रमाण केछ तपाईंसँग ?" उसको यो प्रश्नले म आफूलाई अदालको कठघरामा उभिएको कैदी जस्तै महसुस गरें जो आफू निर्दोष हुँदा हुँदै पनि निर्दोषिताको प्रमाण पेस गर्न असमर्थ हुन्छ । यस्तो लाग्दैछ जस्को बिरुद्ध उजुरी दिएको छु उहि मेरो उजुरी उपर सुनुवाई गर्दैछ ।
"तिमी केरकार बिभागको पुलिस अफिसर कि अदालतको न्यायधिश हँ ?-मैले कुरो थपें ।
"तपाईँ जे सम्झनुस्"-उसले भनि- "तपाईंको हराएको मन भेटाउन सहयोग गर्न चाहने एउटा शुभचिन्तक मात्र हुँ म ।"
उसो भए सुन- मैले भनेँ- "मान्छेले आफूले आफूलाई बिर्सनु, बिना पानीमा तैरन खोज्नु र बिना हुरी मन टाढा टाढा सम्म पुग्नु मन चोरीएको लक्षण होइन त?"
"कुन दिन सर पनि चोरिनु भयो रे भन्ने समाचार आउन बेर छैन ।"-हाँस्दै उसले थपि ।
"आओस् छिट्टै त्यो दिन"
हामी दुबै गलल्ल हास्यौं ।
घडी हेरें समय त घर्की सकेछ । पसलबाट निस्केर घरतर्फ पाइला बढाएँ । हिड्नै लाग्दा उसले भनि: "शुभयात्रा सर, चाँडै फर्कनु होला है ।"
हिँड्नै लाग्दा मैले आज फेरी उसको नाम सोधें । उसले सहज उत्तर दिई: "माया" ।
माया साँच्चिकै मायावी थिई । "माया"... यो शब्द ननिदाउँञ्जेल कानमा गुन्जिरह्यो ।

भोलिपल्ट बिहानै म र अर्का एक स्टाफ बिरेन्द्रनगरका लागी प्रस्थान गरियो ।

*********

बिरेन्द्रनगर आएको चौथो दिनमै दुई जना अपरिचित अनुहारहरु हाम्रो अफिस भित्र छिरे र अभिबादन कमरेड भन्दै जोडले हात मिलाए । दुई मध्ये एक अलिक रक्षात्मक हिसाबले ढोका नेरै उभियो र अर्को हामीसंग गफ गर्न लाग्यो । अत्यान्तै मृदुभाषी यी युवक माओवादी जनयुद्धमा लागेका र भर्खरै यो बजार क्षेत्रको पार्टी ईन्चार्ज भएर आएका रैछन् । असली नाम दिपक सुनाम भएपनि पार्टीको नाम क. उमंग रहेछ । मान्छे निक्कै तार्किक लागे। सके पार्टीमा सक्रिय भएर लाग्न र नसके पार्टीलाई आर्थिक-भौतिक र नैतिक समर्थन गर्नु पर्ने भन्दै उनले निर्देशनात्मक शैलीमा आग्रह गरे । केही आर्थिक सहयोग गर्नु पर्ने उनको मागलाई हामी हेड अफिससँग सल्लाह गर्नेछौं भनेर उम्कियौं ।
उनीहरू त्यहाँबाट निस्केको दुई घण्टा पनि भएको थिएन पुलिसको एउटा भ्यान आएर हाम्रो कार्यालय अगाडि रोकियो । तत्काल उनीहरुले हाम्रो कार्यालयलाई चारै तर्फबाट घेरा हाले । केही पुलिसहरु हाम्रो कार्यालयका कागजात खानतलासी गर्न लागे भने अफिसमा भएका हामी चारै जनालाई प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगे । त्यसदिन माओवादी कार्यकर्ताहरू हाम्रो कार्यालयमा आएको सुराकी कसैले प्रहरीलाई दिएको रहेछ ।
बिना कारण प्रहरी हिरासतमा १५ दिन जति राखियो हामीलाई । प्रहरी खोरमा बस्नुको पीडा र त्यहाँ पाईएको अपमानले भित्रभित्रै हिनताबोध र राज्यप्रति बितृष्णा नै पैदा भयो । माओवादीमा कतैपनि हाम्रो संलग्नता नपाईएको र हेड अफिसले मानब अधिकारकर्मी मार्फत दिएको दबाबका कारण १६ औं दिनमा प्रहरी हिरासतबाट मुक्त भइयो । मुक्त भएपछि सिधै कोठामा पुगें । सहकर्मीहरु कोठामै भेट्न आउनु भयो । भोलीपल्ट पनि कोठामै सुतें अफिस जानै मन लागेन ।

अर्को दिनदेखि नियमित अफिस जान थालेँ । केही दिन अघि घटेको त्यो अप्रत्यासित घटनाले मन बिचलित भैरह्यो । मनको शान्त तलाउमा कसैले ढुङ्गा खसालेर अशान्ति मच्चाए सरी भयो ।

एक दिन अचानक साँझपख तिनै माओवादीहरु बाटोमा भेट भए । प्रहरीले म लगाएत मेरा सहकर्मीहरुलाई पक्राउ गरेर यातना दिएकोमा कमरेड उमंगले गहिरो दुःख ब्यक्त गरे । सामन्ती राज्यसत्ताको बिभेद र दमन बिरुद्ध संघर्षको मैदानमा उत्रन उनीहरुले मलाई आग्रह गरे । मैले उपयुक्त समयमा यसबारेमा सोंच्न सकिने बताएँ । उनीहरुले केही मार्क्सवाद र माओवादी दर्शनका किताब मेरो हातमा थमाउँदै भने: यी पुस्तकहरुको अध्ययन गर्नुस् कमरेड, आशा छ तपाईं छिट्टै हाम्रो गौरवशाली पार्टीको पूर्णकालीन कार्यकर्ता बन्नु हुनेछ ।"
एकातिर माओवादीहरु मलाई माओवादी कार्यकर्ता बन्न दिनहुँ दबाब दिँदै थिए भने अर्को तर्फ म र मेरो अफिसका सहकर्मीहरु माथी सेना र प्रहरीको निगरानी बढिरहेको थियो । माओवादीको साथमा बसेको अबस्थामा सुरक्षाकर्मीले भेटाए मेरो पनि सफाया हुने निश्चित थियो । मन आतङ्कित थियो बाहिर मुस्कुराएको मात्र थिएँ म ।

दिनहरु बित्दै गए, म आफूलाई असुरक्षित महसुस गर्न थालें । कहिले माओवादी त कहिले सेना पुलिसका मान्छे भेट भईरहन्थे । एकदिन एकजना माओवादी कार्यकर्ता मेरो कार्यालयमै आएर अघिल्लो दिन हुने माओवादीको गोप्य सभामा सहभागी हुन जारी गरिएको उर्दी पत्र हातमा थमाएर गयो । चिट्ठी सर्सर्ती पढें-अनिवार्य उपस्थित हुनु भनिएको थियो । पत्र खल्तीमा राख्ने हिम्मत आएन टोकरीमा फाल्न पनि डर लाग्यो । सम्भावित भबितब्यको भयले शरीर लगलग काँप्यो । म जस्तो प्रजातन्त्र र स्वतन्त्रताको पक्षधर मानिस कसरी माओवादी जनवादी अभ्यास स्वीकार गर्न सकुँला र भन्ने पनि सोचेँ । अर्कोतिर माओवादी आग्रह र उर्दी लत्याउन सक्ने नैतिक बल पनि जुटाउन सकिन मैले । अफिसका साथीहरुको अबस्था पनि मेरै जस्तो रहेछ । कार्यक्रममा जाऊँ भने बिनासित्ति माओवादीको बिल्ला भिरिने अनि सेना प्रहरीको आक्रमणको सिकार पनि बन्न सकिने डर अनि नजाउँ भने माओवादीको नजरमा उनीहरुको बिरोधी भइने डर । साझ पर्दै गयो मनमा डर बढ्दै गयो, अन्यमनस्क स्थितिमा पुगें । खेदिएर भिरमा पुर्याईएको मृगको हालत भएको थियो मेरो, एकातिर भिर र अर्कोतिर बिशाल नदी थियो । भिरमा ज्यान फालुँ कि नदीमा हाम फालुँ ?

करीब दुई हप्ताको लागी बिरेन्द्र नगर आएको म करीब चार हप्तादेखि यतै थिएँ । अफिसको काम सकिनु त कता हो कता म त हरेक दिन नयाँ नयाँ उल्झनमा फस्दै थिएँ । जुन उत्साह लिएर यहाँ आएको थिएँ ति सबै पानीको फोका झैं बिलिन भैसकेका थिए । अब मलाई बिरेन्द्रनगरको बसाईं एक दिन पनि एक युग जस्तै लामो भैसकेको थियो । यस अवधिमा घरपरिवारको याद खुब आईरह्यो । सबैभन्दा बढी त उही चिया पसलको याद आयो अनि मायाको । बिरेन्द्रनगरका कुनै पनि चिया पसलले मलाई मायाको झल्को मेटाउन सकेनन् । यहाँका कुनै पनि पसलका चिया मलाई स्वादिष्ट लागेनन् । साँच्चै भन्नु पर्दा यो शहरले मलाई आफ्नो बनाउन सकेन अनि मैले यो शहरलाई आफ्नो बनाउन सकिन । यहाँ मैले कोही आफ्ना भेटिन । शहरको भिडमा म आफू आफैसँग हराई रहेको थिएँ । "कुनै दिन सर पनि चोरीनु भएको खबर आउन बेर छैन"- मायाले भनेका यी कुरा झट्ट याद आयो । म चोरीएको त थिईनँ तर हराई रहेको थिएँ यहाँ । साँच्ची कुनै दिन म यस शहरबाट साँच्चिनै हराएँ भनें !!
म गिरफ्तारीमा परेको र छुटेको थाहा पाए देखि नै मेरो परिवारबाट यहाँ नबस्न तिब्र दबाब आइरहेको थियो । र, अब यहाँ बसिरहन मलाई पनि असुरक्षित महसुस हुँदै थियो । आज रातभरमै मैले एउटा बोल्ड निर्णय लिनु पर्ने भयो ।
बिहान सबेरै निद खुल्यो । किन किन आज ज्यान चङ्गा जस्तै हलुका महसुस भैरहेको थियो । तनाव मुक्त थिएँ म । खाना खाईवरी समयमै अफिस पुगें । कम्प्युटर खोलें केही कुरा टाइप गरें एक प्रति प्रिन्ट गरें र सरासर कार्यालय प्रमुखको कक्षमा गएँ । अभिबादन आदानप्रदान पछि हातमा लिईराखेको पेपर उनलाई दिएँ । पत्र पढिसकेसी उनले अचम्मित हुँदै प्रश्न गरे- "राजेन्द्र सर तपाईंबाट राजीनामा !! तर के कारणले ?"
"कारण त प्रष्ट छ नि, यस्तो अशान्त वातावरण र चौतर्फी निगरानीको बिचमा म कसरी काम गर्न सक्छु सर ?"
उनी केही बोलेनन् । मैले मेरो जिम्मामा रहेका सम्पूर्ण फाइल र कागजातहरु उनलाई सुम्पिएँ ।
एकै छिनमै म अफिसबाट बाहिरिई सकेको थिएँ । सरासर म उहि चौतारी पछाडिको सानो चमेना गृहमा पुगें जहाँ बितेका केही दिन यता मैले कमरेड उमंगसँग भेट्ने गरेको थिएँ ।

कमरेड उमंगले करिब आधा घण्टा टाढा रहेको माओवादी पार्टीको आमसभा स्थलमा पुर्याए। खचाखच मानिसले भरिएको सभामा म संगै थुप्रैले माओवादी पार्टीको सदस्यता ग्रहण गरी पूर्णकालीन सदस्यता लिए ।
सेना प्रहरीको निगरानीमा रहनु र माओवादी धम्की खेपेर अधमरो जिन्दगी जीउनु भन्दा माओवादी भएरै हिँड्नु उचित लागेपछि मैले खाईपाईको जागिर पनि छाडेर यसरी माओवादी कार्यकर्ता बनेर हिडेँ । सुरुका दिनमा अर्घाखाँची र सल्यानका घना जंगलमा सैनिक तालिममा सहभागी भएँ ।

माओवादी पार्टीमा लागेर हिँडेको खबर घरमा पठाई सकेको थिएँ । सुरु सुरुका दिनमा घरको यादले सतायो । मनको क्यानभाषमा मायाको तस्बिर उस्तै गरी आई रह्यो केही दिन केही हप्ता । तर पछि पार्टीको स्कुलिङ् र फौजी खटनले यति ब्यस्त बनायो कि त्यहाँ आफू, आफ्नो पार्टी र जनयुद्ध बाहेक केही सोंच्नै सकिन । जनयुद्धमा लागेर भुमिगत भै हिँडेको चार पाँच सालमा एकाध पटक पार्टीको काम बिशेषले जाने क्रममा पसेको बाहेक घरमा गएको मलाई सम्झना छैन । जनयुद्धमा लागेको करिब डेढ बर्षपछि पहिलो पटक घर गएको थिएँ । मायालाई भेट्न उनको चिया पसल भएको ठाउँ पुगें तर त्यहाँ न त मायाँ थिई न त उसको चिया पसल । मन खिन्न भयो । छिट्टै आउनुहोस् है सर भनेकी थिई हिड्ने बेलामा । दुई हप्ताको लागी हिँडेको म डेढ बर्ष पछि फर्केको थिएँ । उसको पसल भएको ठाउँमा ठुलो बिल्डिङ् बनेको थियो र त्यहाँ अहिले हार्डवयर पसल थियो । कसैले पनि मलाई माया कहाँ गई भनेर बताउन सकेन । त्यसपछिका करीब चार बर्ष म जनयुद्ध र फौजी कारवाहीमै ब्यस्त भएँ । बिस्तारै मायाका यादहरु जीवनबाट ओझेल पर्दै गए ।

माओवादी पार्टीमा रहँदा दाङ्, सल्यान्, अर्घाखाँची र पाल्पा आक्रमणमा सहभागी भएँ म । पाल्पा सदरमुकाम तानसेनमा पार्टीले केही ब्यक्तिको सफाया गरेपछि भने म पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर सैन्य मोर्चा त्यागी राजनीतिक मोर्चामा सहभागी हुन थालेँ । तानसेनको घटनासँग मेरो केही असहमति रह्यो केही कुरा मैले चाहेर पनि गर्न सकिन । जायज कुरालाई कुल्चेर नाजायज कुरालाई समर्थन गर्नु मेरो नैतिकताले दिएन । आफ्नै आँखा अगाडि निर्दोष मानिसलाई समातेर मारिएपछि मलाई पार्टीको फौजी लाईन र बिरोधी सफाया प्रबृत्ति प्रति बितृष्णा उत्पन्न भयो । पछि पार्टीले राजनीतिक लाईन बदल्यो र नेकपा माओवादी खुल्ला राजनीतिमा प्रवेश गर्यो । लगत्तै पार्टी संसदमा प्रवेश गरी सरकारमा पुग्यो । जनजीविका र बर्ग संघर्षको मुद्दालाई पाखा लगाएर अवसरबादी पथबाट पार्टी गुज्रिन थालेपछि मैले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिई स्वतन्त्र जीवन यापन गर्ने निर्णय गरें ।

पार्टी जिम्मेवारीबाट राजीनामा दिए लगत्तै काठमाडौँबाट घर जान बस चढें । तनहुँ खैरेनीटार आईपुगेसी एक जना बिधवा महिला सानो बच्चाको साथमा बसमा चढिन् । महिला कहिँ कतै चिनेको जानेको जस्तै लाग्यो तर यही हो भनेर ठम्याउन सकिन । एकैछिनमा ति महिला मेरै आडको सिटमा बस्न आईपुगिन् । जब ति महिला मेरो आडैमा बसिन् मेरो होसले ठाउँ छोड्यो । मैले उनलाई राम्ररी चिनें तर उनले मलाई चिनिनन् । म पहिला पातलो मान्छे थिएँ अहिले मोटाएको थिएँ, दाह्री पालेको थिएँ चस्मा पहिरिएको थिएँ । त्यसैले उनले मलाई चिनिनन् । यी महिला पहिला हल्का र छरितो जीउडालकी, हल्का कालो बर्णकी तर चम्किली अनि आकर्षक थिईन् तर अहिले पातलो शरीर, फुस्रो रंग उडेजस्तो अनुहार र उस्तै कपडाको रंग पनि । उनलाई चिनेपछि म स्तब्ध भएँ । चार पाँच बर्षिय बच्चाको साथमा मेरो आडैको सिटमा बस्ने ति महिला तिनै माया थिईन् जसको हातले बनाएको चिया नपिएसम्म कुनै समय म अफिसबाट घर जाँदिनथें । यि तिनै माया थिईन् जसको रुप, यौवन र ब्यवहारबाट प्रभावित भएर म उनको एकोहोरो प्रेममा नजानिँदो किसिमले परेको थिएँ । यि तिनै माया थिईन् जसको सम्झनाले सुरुका दिनमा कैयौं पटक म माओवादी जनयुद्धबाट भागेर घर जाने सम्म सोच्न भ्याएको थिएँ । उनले मलाई नचिनेर ठिकै गरिन् जस्तो लाग्यो किनकी चिनेको भए उनले अतितका पुराना घाउ कोट्याउने थिइन् र सायद त्यसको पीडा उनले भन्दा बढी मैले सहनु पर्थ्यो । अथवा उनले मेरो अतितको बारेमा सोध्ने थिईन् र सायद मनमनै मलाई धोकेबाज पो भन्ने थिईन् कि ! किनकी मलाई अहिले पनि याद छ उनले कहिल्यै ब्यक्त गर्न नचाहे पनि उनी मलाई प्रेम गर्थिन् ।

बस आफ्नो गन्तब्यमा अगाडि बढ्दै गयो । म उनीसँग गफिन सुरु गरें । मलाई उनी र उनको जीवनमा बितेका पाँच/छ बर्षमा के के भए जान्न मन भयो । उनले पनि एक अपरिचित मानिससँग आफ्ना दुःखका पैया फुकाउन थालिन् । उनका प्रत्येक आवाजमा दुःख, असन्तुष्टी र पीडा मात्रै भेटें मैले । कतिचाँडै उनी बिबाहित र बिधवा पनि भईछन् कठै । कति चाँडै समयले कोल्टो फेर्दो रैछ !! उनको जीवनको रुखका हरिया पातहरु कति चाँडै ओईलाएछन् ? कुन खडेरीमा परेर उनका सपनाहरु बिपना हुन नपाई झरेछन् ? मनमा अनेक प्रश्नहरुले दोहोरी खेल्न थाले । उनको दुःखसँग एकाकार हुन मन लाग्यो मलाई । हुन पनि कुनै समयमा आफूले मन पराएको मान्छे जिन्दगी र तकदिरको खेलमा हारेर पछारिई रहेको देख्दा म कसरी निरपेक्ष रहन सक्थेँ र ? उनले आफ्नो बिहे भएदेखि आज सम्मका सबैकुरा बताउँदै गईन् । जब उनले माओवादी द्वारा आफ्नो पतिको हत्या गरिएको घटनाका बारेमा बताईन् मैले आफू बसेको जमिन भासिएको महसुस गर्न थालेँ । आज आएर थाहा भयो उनको पति तिनै अभागी ब्यक्ति थिए जसको हत्या मेरो पार्टीले मेरै आँखा अगाडि गरेको थियो । पाल्पामा शिक्षक सेवामा रहेका उनका पतिलाई सुराकी गरेको आरोपमा मेरै पार्टी माओवादीले पक्रेको थियो । मलाई थाहा थियो उनी निर्दोष थिए । पहिलो पटक पक्राउ पर्दा मैले नै उनलाई भगाएको थिएँ तर दोस्रो पटकमा मैले बचाउन सकिन उनी मेरै अगाडि मारिए । बिरोधीहरुले उनी सेनाको लागी काम गर्ने सुराकी भएको भन्दै पटक पटक उनी बिरुद्ध सुराकी दिएका थिए । एउटा सामान्य नागरिकले यसरी अनाहकमा ज्यान गुमाउनु परेको तानसेन घटनाको साक्षी बनेको त्यै घटना पछि नै मैले माओवादी सैन्य बिभागका महत्त्वपूर्ण जिम्मेवारीबाट राजीनामा दिएको थिएँ । आज म पार्टीबाटै राजीनामा दिनुको थुप्रै कारणहरुको पृष्ठभूमिमा त्यो हत्याकाण्ड पनि एक थियो ।

माया जतिजति आफ्ना जीवन कहानी सुनाउँदै जान्थिन् म उति उति पग्लँदै गैरहेको थिएँ । यी उनै माया थिईन् जसलाई म मन मन्दिरमा सजाएको थिएँ । कुनै समय म यिनैसंग प्रणय जीवनको कल्पना गरेर रोमान्चित हुने गर्दथें । यिनीसँगको सामिप्ताले म भित्र उत्तेजना र उद्वेगको बाढी आउने गर्दथ्यो । म उनको सामिप्यता चाहन्थें उनी डराउँथिन आफ्नो परिचय लुकाउँथिन् । तर आज... म उनीसँग भागिरहेको महसुस गर्दैछु । म कसरी भनुँ कि म उही अर्जुन सर हुँ जो आफ्नो मन परेको मान्छेलाई बिधवा भेषमा देख्दा पनि रुन सकेको छैन । म कसरी भनुँ कि म उही अर्जुन सर हुँ जो हिजो जसको परिचय खोज्दै दिनहुँ चिया पसलमा धाउने गर्थ्यो आज उसैको सामुन्ने आफ्नो परिचय लुकाउन खोज्दैछ । मलाई उनीसँग होइन आफैसँग डर लाग्यो आफै हराए झैं लाग्यो भिडमा । उनले मेरो परिचय जान्ने कोशिश पनि गरिनन् ।

बोल्दै जाँदा उनका परेलीमा आँसु छचल्किरहेका थिए । त्यो आँसुमा मैले उनको बिगत देखें बर्तमान देखें अनि धुर्मैलो भविष्य देखें । उनले माओवादीलाई आफ्नो निर्दोष पतिको हत्यारा भनिरहँदा मैले आफ्नो निधारमा पनि त्यो रगतको छिटा लागेको महसुस गरें । निधार छामें- चिडचिड पसिना आएको रहेछ । सिकारीको जालमा परेको मृग झैं म भित्रभित्रै मरिरहेको थिएँ । कतै उनले मलाई मेरो बारेमा मलाई सोधिन् भने ? या चिनिन् भने ? म उनको नजरमा हत्यारा हुनेछु या धोकेबाज ? उनले मेरो बारेमा सोधीन् भने म आफ्नो परिचय के भनेर दिऊँ ? आईएनजिओ को पूर्व कर्मचारी अर्जुन सर या पूर्व माओवादी लडाकु, उनको पूर्व प्रेमी या उनको सपनाहरूको हत्यारा ? वास्तवमा म आफै परिचय बिहिन भैसकेको थिएँ । उनको अनुहार हेर्नै सकिन ।

बस दमौली आइपुग्यो । ''हवस्त...राम्रोसँग जानुहोला" यति भनेर म बसबाट ओर्लिएँ । उनको काखको बच्चाले म बसबाट ओर्लने बेलासम्म मलाई हेरि रह्यो ।

यो कस्तो परिचय ? परिचित भएर पनि अपरिचित भएँ म आँफैसँग अनि आफ्नै मायासँग । मलाई माफ गर है माया म तिम्रो जीवन कथा अब कहिल्यै सोध्ने छैन ।
धन्यवाद !!!

कथाकार-अजित क्षेत्री
मिति-05-07-2016
नोट-कथाको कपिराइट कथाकारमा निहित 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger