Home » » गजलकार विष्णु विरही श्रेष्ठका ५ गजलहरू (5 Ghazals by Bishnu Birahi Shrestha) -22-07-2016

गजलकार विष्णु विरही श्रेष्ठका ५ गजलहरू (5 Ghazals by Bishnu Birahi Shrestha) -22-07-2016

NepaliTalim | 11:39:00 PM | 0 comments
विष्णु विरही श्रेष्ठ 

१.गजल
कोही हर्षमा छन् यहाँ कोही छन् पिरै पिरमा 
बाँचेका छन् कोही ऋणै ऋण बोकेर शिरमा

याद पनि आइरहन्छ,औधी माया लाग्छ उस्कै
जो लेखिएको रैनछ अभागी यो तक्दिरमा

वृद्ध बाआमा वृध्दाश्रम् पठाएर छोराबुहरी
पुण्य कर्म गर्छु भन्दै धाइरहेछन् मन्दिरमा 

जे गर्नु अब म गर्छु, ए बा! किन हत्ते गर्छौ?
खरानी हुनु त रैछ यो जिन्दगी आखिरमा 

ए! प्रिया, नदेख्नु तिमी महङ्गा सपनाहरू
यो जिन्दगी अडेको छ यौटा सानो जागिरमा
विष्णु विरही श्रेष्ठ
गागल- भदौरे-१,

धुलेबेशी रामेछाप।

२.गजल
तिमी सम्पन्न छौ रुपियाँ र सम्पतिले
म'नि सम्पन्न छु अभाव र गरिबीले

पीडा मात्रै दिन्छ, सधैँ रोइरहनु पर्ने
भाग्य लेखिएको होला आँसुको मसीले

जस्तो पाएकी छे माया छोरीले घरबाट
त्यस्तै माया कैल्यै पाउँदिनन् बुहारीले

बढार्नु पर्नेथ्यो हावाले उडायो भन्दै
नाच्छौ होला तिमी मेरो मृत्युमा खुशीले

यो सहर हो यहाँ जे गर्छ पैसाले गर्छ
जिन्दगी चल्दैन याँ योग्यता र खुबीले
विष्णु विरही श्रेष्ठ
गागल- भदौरे-१,

धुलेबेशी रामेछाप।

३.गजल
मुटुको घाउ र तिम्रो याद मेटाउन सकिएन
र त सँधै अनिदो छु निदाउन सकिएन

छाती चर्काईरहन्छ र मुटु बिझाईरहन्छ
तिम्रा याद्हरूबाट दिल् बचाउन सकिएन

हरपल सताईरहन्छ कहाँबाट आउँछ आउँछ
तिम्रो याद आउने द्वार पत्ता लाउन सकिएन

तिम्ले आफ्नो बे'को सुखद् खबर् सुनाएर गयौ
गह्रुङ्गो भो मन् चाहेर' नि मुस्कुराउन सकिएन
विष्णु विरही श्रेष्ठ
गागल- भदौरे-१,

धुलेबेशी रामेछाप।

४.गजल
जब मान्छे चोट् सहँदा सहँदा हैरान हुन्छ 
फूल जस्तै कोमल लाग्ने दिल्पनि चट्टान हुन्छ

तोडिनु हुन्न धैर्यता सबैको पालो आउँछ 
जसरी मन्दिर छिरे'सी ढुङ्गो भगवान हुन्छ

आफ्नै श्रीमती र छोरी बेचेर धनी बन्यो ऊ
अब हेर्नुस् उस्को फुर्ती कस्तो कस्तो शान हुन्छ

दिनदिनै सुस्त सुस्त भेट्दै गर्दा बोल्दै गर्दा
मन्सँग मन्को परिचय आदान प्रदान हुन्छ
विष्णु विरही श्रेष्ठ
गागल- भदौरे-१,

धुलेबेशी रामेछाप।

५.गजल
यी आँखाका नानी बनाउँछु तिम्रो हात मलाई देऊ
माया गर्छु, दिल्मै सजाउँछु तिम्रो हात मलाई देऊ

एकोहोरिन्छु, भुल्छु दुनिया तिमीलाई देखेपछि
कसम् तिमीलाई मन पराउँछु तिम्रो हात मलाई देऊ

केके गर्नुपर्छ गर्छु, मन्दिरको द्यौतासामु पनि
फूलपाती अक्षता चढाउँछु तिम्रो हात मलाई देऊ

मायाको खडेरी पर्न दिन्न खुसी राख्छु जुनीभरी
तिमीसँगै हाँस्छु, रमाउँछु तिम्रो हात मलाई देऊ
विष्णु विरही श्रेष्ठ
गागल- भदौरे-१,

धुलेबेशी रामेछाप।

Note-
Copyright Reserve with Writer 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger