Showing posts with label कथाहरू. Show all posts
Showing posts with label कथाहरू. Show all posts

कथाकार अजित क्षेत्रीको कथा - पटाक्षेप (Story by Ajit Chhetri-Patachhep)-05-08-2016

NepaliTalim | 10:26:00 AM | 0 comments
कथाकार-अजित क्षेत्री 
कथा- पटाक्षेप
कथाकार-अजित क्षेत्री 
प्रकाशन मिति -05-08-2016
===================
उमेरले बैंशको फूल फुलाउन नपाउँदै उसको बिहे भयो ।

भर्खरै कोपीला लागेको आरुको फूल जस्तै थिई, सलक्कको जीऊ । उमेर पुग्नु अगाबै अंगहरु भरिएर आए । जता जान्थी उतै भमरा पछि लाग्थे । तर उ बेखबर थिई, फक्रिन लागेको आफ्नो जवानीको बास्ना डाँडा पारिसम्म पुगेछ । एकदिन भारतीय सेनामा कार्यरत युवक माग्न आए । कुराकानी मिल्यो र अन्ततः सामान्य रीतले बिहे पनि भयो । पुतली झैं बाबुआमाको काखमा हुर्किँदै गरेकी मैना अब दुई डाँडा पारीको बिल्कुलै नौलो परिवेशमा नयाँ घरमा बुहारी बनि ।

भारतीय सेनामा कार्यरत लालबहादुरको यो दोस्रो छुट्टी थियो । ईष्टमित्र र बाबुआमाले मैना फूल जस्ती छ भने । त्यो फुललाई आफ्नो घरमा सजाउन पाए घरै सुन्दर हुन्छ भने । लालबहादुर पनि लठ्ठियो, देख्यो मैना साँच्चीकै फूल जस्ती छ, गोरी छ, अग्ली छ, शर्मिली छ, लच्छिनकी छ । लोग्ने मानिस भमरा हुन् । लालबहादुर झन् तिर्खाएको भमरा । उसले मैनालाई बिहे गर्यो, तिर्खा मेट्यो ।

भारतीय आर्मी, त्यसमाथी भर्खरै बिहे भएको ! दुई महिनाको उसको छुट्टी घर- ससुराली गर्दैमा बित्यो । मैनाले लाहुरे पतिलाई खुब रत्याई आँफू पनि रत्यिई ।

दुई महिनाको छुट्टी पनि सकियो । परदेश जाने अघिल्लो रात मैना पनि निदाउन सकिन लालबहादुर पनि । एक अर्काको हातको सिरानी गरेर दुबैले बिछोडको आँसु झारे । प्रणयको मिठो मधुमासमा कतै हुरीले लछारे जस्तो भयो । रोएरै उज्यालो भयो ।

उज्यालो भयो । बाबुआमाले रातो टिका निधारै भरी लगाएर आशिर्वाद दिए । मैनाले पतिलाई बिदाई ढोग दिई । लाहुरे घरबाट निस्क्यो । मैनाको मन अमिलो भयो, मुटुमा किला रोपे सरी भयो । ढोका थुनेर धेरैबेर रोई । बाबु आमाले पनि दुई थोपा आँसु झारे ।

लालबहादुरले डाँडा पार नहुन्जेल घरतर्फ फर्किफर्कि हेर्यो । उसलाई लाग्थ्यो उसकी प्राणप्यारी आँसु बगाउँदै उसको पिछा गरिरहेकी छ । बस स्टेसन आयो, बस चढ्यो, सुनौली पुग्यो । सुनौली बाट गोरखपुर अनि गोरखपुरबाट रेलको सफर । केही घण्टा अघिसम्म आफ्नै घर आँगनमा रमाएको ऊ, अहिले परदेशको भुमिमा परदेशी भएको छ ।

अघिल्लो दिन ऊ पल्टनमा हाजिर भयो । भर्खर बिहे गरेर ल्याएकी पुतली जस्ती पत्नीलाई छोडेर आउनु पर्दा कहिलेकाहीँ उसको मन अमिलो हुन्थ्यो । पल्टनमा अरू साथीहरुले कस्ती छन् तेरी बुढी भनि सोध्दा पुतली जस्तै छिन् भन्थ्यो ।

यता मैनालाई पनि परदेशी पतिको खुब याद आइरह्यो । भर्खरै पिरतीको रस बस्न लागेको बेला उसको मालीले उसलाई छाडेर गएको थियो ।  जानेबेलामा लालबहादुरले चिठ्ठी पठाउने ठेगाना दिएर गएको थियो । मैनाले महिनै पिच्छे आफ्नो खसमलाई मनको बह पोखेर चिठ्ठी पठाउँथी । लालबहादुर पनि आफ्नी पुतलीलाई बराबर चिठ्ठीको जवाफ पठाउँथ्यो ।

समय बितेको पत्तै भएन । लाहुर गएको बर्षदिन पुगिसकेछ । लालबहादुर छुट्टि आयो । मैना अनि पुरै परिवारमा फेरि खुशी छायो ।

घरको एउटा मात्रै छोरा थियो लालबहादुर । ऊ लाहुर गएपनि घरमा बुहारी भएकाले उसका बाबुआमालाई घरमा छोराको अनुपस्थितीको कहिल्यै आभास हुन पाएन । बुहारीले गरेको सेवा सम्मानले उनीहरु अत्यन्तै खुसी थिए तैपनि आजकल केही दिनदेखि बुढाबुढीको मनमा एउटा रहरले डेरा जमाएको थियो ।

राम्ररी सजाईएको गमला त थियो तर त्यहाँ फूल थिएन । अब त्यो गमलामा सानो फूलको बिरुवा भैदिए त्यही बिरुवासँग रमाउँदैमा दिन जान्थ्यो होला । बुढाबुढीलाई अब घर आँगनमा नाती नातीनि खेलेको हेर्ने रहर जाग्यो ।

एकदिन आमाले एकान्तमा पारेर लालबहादुरलाई मनको बह पोखिन्:- बाबु तँसँग हामी साह्रै खुशी छौं, बुहारीले पनि हामीलाई केही कुराको कमी हुन दिएकी छैनन् । अब एक दुई नाती नातीनि यो पिँडी र आँगनमा तातेताते गर्दै खेलेको देख्न पाए अरू केही चाहिँदैन । नातीको मुख देखेर मर्न पाए स्वर्ग पुगिन्थ्यो बाबु ।" उसले केही जवान दिन सकेन ।

मनमनै सोंच्यो:- ठिकै भनेकी हुन् आमाले । बेलुका उसले आमाले भनेको कुरा मैनालाई सुनायो । मैना लजाई । हिउँदको आकासलाई चिसो बादले छोपे झैं उसले मैनालाई अंगालोमा कस्यो । मैनाले पनि पतिलाई साथ दिई । उसले सारा शरीर पतिको काखमा छाडिदिई र आँखा बन्द गरी । एकैछिनमा त्यहाँ प्रणयको बसन्त ऋतु आयो । प्रेमिल पंक्षीका जोडी सुखको सागरमा डुबे । पानी पर्यो,बाढी आयो, बाढीमा दुबैजना पसे । निथ्रुक्कै रुझे, निदाए ।

छुट्टी सकेर लालबहादुर फेरी पल्टन फर्क्यो ।

आज रामलाल काकाको नातीको पास्नी छ । गाउँभरीका मान्छेहरुलाई निम्तो गरिएको छ । रामलालका छोरा लक्ष्मण र बुहारी मधु छोराको पास्नीका लागि सामान जुटाउन र निम्तालुहरुको ब्यवस्थापनमै ब्यस्त छन् । एक किसिमले बिहे घर जस्तै भएको छ रामलाल काकाको घर आज ।

मैना र उनकी सासु दुबैजना पास्नीको निम्तो मान्न गएका छन् । सासुले काकाको घरायसी काम सघाई दिइन् भने मैना रोटी र कसार बनाउने महिलाहरु सँगै काम गरी ।

बच्चाको पास्नीको कार्यक्रम सकियो । सबैले बच्चालाई टिका लगाएर आशिर्वाद दिए । निम्तालु सबैले मिठामिठा भोजन ग्रहण गरे । माहोल निकै रमाईलो थियो । यत्तिकैमा काकीले मैनाकी सासु तिर हेर्दै भनिन्:-"अब अर्को साल तिम्रो नातीको पास्नी यस्तै रमाईलो गरी मनाउ पाइयोस् ठुली ।" सबै जना हाँसे । लाजले रातो पिरो भएकी मैना घरतिर भागी ।

छोरा पाउनु कता हो कता, कन्ननीको हतपत-मनमनै सोंची ।

यसपाली मैना दोजीया छे कि भन्ने सबैको मनमा थियो तर त्यसै रात उसको नियमित मासिक श्राब भयो । यो साल घरमा नयाँ सदस्य नआउने भो- सासु ससुराको मन खिस्रिक्क भयो ।

छरछिमेकीका घरमा बालकहरु कृष्ण झैं कहिले आमाका काखमा त कहिले आँगन भरी खेलेको देख्दा मैनाको मनमा पनि मातृत्व बिजारोपण हुन थालेको थियो । परदेशीको नासो भनेर काखमा खेलाउन पाए पनि त्यो पापी परदेशीको यो बिधी यादले त सताउँदैनथ्यो कि ? मैना मनमनै यस्तै सोंच्दथी ।

हिउँद गयो बर्षा याम पनि आयो गयो । यस पटक छुट्टीबाट गएको दस महिनामै लालबहादुर फेरी छुट्टीमा घर आएको छ त्यो पनि दुई महिनाको । कश्मीरबाट उसको पोष्टिङ् गोरखपूर भएको छ । करीब चार बर्ष पछाडि उसले यो बर्ष दशैं तिहार घरमै मनाउने छ । घर खुशीले भरिएको छ ।

दशैं आयो गयो । केही दिनपछि तिहार पनि आयो । तिहारमा मैना दुई दिन मात्रै बसि माइती र फर्कि हाली । लालबहादुरले परिवार र ईष्टमित्रका साथ दशैं र तिहार खुब रमाईलो गरी मनायो । तिहार लगत्तै छुट्टी सकेर ऊ पल्टन फर्क्यो ।

यसपटक पनि मैनाको पेटमा गर्भ रहेन । घरका सबैको चाहना थियो उसको कोखमा बच्चा होस् र यो घरै उज्यालो होस् । तर सोचेजस्तो भएन ।

गर्भवती हुन नसकेकै कारण केही दिनयता सासु ससुराको बुहारी प्रतिको ब्यवहारमा परिवर्तन आएको छ । लालबहादुरले पनि पत्नीको चिठ्ठीको जवाफ फर्काउन छाडेको छ । पहिले पहिले महिनै पिच्छे चिठ्ठी पठाउने उसले अहिले गएको आठ महिनामा दुईवटा मात्रै चिठ्ठी पठायो । चिठ्ठी पठाई हाले पनि आमा हुन नसकेकी भन्दै मैनालाई उपहास गर्थ्यो उसले ।

घरको कलह यति सम्म बढ्यो कि सासु ससुरा र बुहारी बिचमा दोहोरो सम्बाद हुनै छाड्यो । खाइस् खाइनेस् र सन्चो बिसन्चो सोध्ने आफ्नै मनबाहेक कोही रहेन अब मैनालाई त्यसघरमा । साह्रै भएपछि एकदिन ऊ माईत गई र दुई हप्ता बसेर फर्की ।

माईतीबाट फर्केपछि कसैलाई नसोधी गएको भन्दै सासुले दिनहुँ टोकस्न थालिन् । ससुराले खासै केही भन्दैनथे तापनी सासु बुहारीको झगडामा उनी आफ्नै पत्नीको पक्ष लाग्दथे र घर झगडा मिलाउनतिर कहिल्यै अग्रसरता देखाउँदैनथे । छरछिमेकीहरु पनि सासुको कुरा सुनेर आजकल मैनासँग उतिसारो हिमचिम बढाउँदैनन् ।

आफ्नै घरभित्र पराई भएकी छ मैना । उसलाई यो घर घरजस्तो लागेको छैन । आँफै बसेको ठाउँ कुनै निर्जन मरूभूमि जस्तो लाग्न थालेको छ । बेदनाले पिल्सिएको जिउ लिएर हिँडेकी छ । भित्रभित्रै मरेकी छ तर दुनिया भन्छन् ऊ बाँचेकी छ । यस्तो जीवन पनि के जीवन जहाँ मन र तनको मिलन नहोस् । हो, उसको आफ्नै मनले उसको साथ छाडेको छ । केवल किँकर्तब्यविमुढ ज्यान मात्रै लिएर बाँचेकी छ ऊ ।

जान मन लाग्छ कतै टाढा एकान्तमा जहाँ उ रोएको कसैले नदेखोस् । तर जाने कहाँ ? रुन मन लागेको बेला एकान्तमा गएर रुन्छे अनि आफ्नै कर्मै यस्तै रहेछ भनेर आफैलाई सान्त्वना दिन्छे ।

दुई बर्षपछि फेरि लालबहादुर घर आएको छ । छिमेकीहरु भन्छन् - आजकल मध्यरातमा लालबहादुरको घरमा मान्छे रोएको आवाज सुनिन्छ । पँधेरोमा पनि त्यही घरको कुरा चल्छ । "लालबहादुरले त अर्की ल्याउन लागेको छ रे नि !"- पँधेरोमा एउटी बोल्छिन् ।
"नल्याएर के गरोस् त मैना थारी रै'छ"- अर्कीले थप्छे । 
रातदिन कुट्छ रे नि त मैनालाई'-अर्कीले साउती गर्दै भनि ।
"त्यस्तो हुँदा नि किन बसिराखेकी हो त्यो मैना, दुई छाक नि खुवाउन नसक्ने रै'छन् कि के हो माईती पनि ?- पहिली चाहिँ महिला पुन: बोली ।
'गरिब छन् रे'-अर्कीले अट्टहास गर्दै बोली ।
"कस्तो बाँझो कोख भएकी आइमाई रै'छे है ! छि छि छि"-महिलाहरु गलल्ल हाँस्छन् ।

महिलाहरुले आँफूलाई गरेको उपहास सुनेर मैनाको मुटु पोलेर आयो । कसैले तिखो छुरीले मुटुमै हाने जस्तै भयो । महिलाहरु अरू पनि के के कुरा गर्दै थिए सुन्नै सकिन उसले । पँधेरो नपुगी घर फर्की । एक मनले त सोंचेकी थिई पँधेरोमा गएर ति कुरौटे आइमाईहरूको जगल्टा च्यातिदिउँ तर सोंची क-कसको जगल्टा च्यात्ने ? कतिजनासँग झगडा गरेर सक्ने ?

मिल्ने भए उसलाई आफ्नै कर्मसँग झगडा गर्ने मन थियो । भेटिने भए खोटो कर्म लेखिदिने त्यो ईश्वरको अनुहार त्यातिदिनु मन थियो । महिलालाई गर्भाधानको मेसिन सम्झने पुरुषबादीहरुको पुरुष जननेन्द्रीय उखेलिदिनु मन थियो अनि भन्नु मन थियो तिमीहरु गर्भ बोक अनि हेर नपुँसक पुरुष हो । तर लाचार छे । लाचारी नै मानिसको सबैभन्दा ठुलो दुश्मन रहेछ । आँफैसँग हारी ऊ ।

उसलाई अब त्यो घर अनि समाजमा एक क्षण पनि बस्न मन लागेन । बिहानको खाना पनि नखाई ऊ माईत हिँडी । घरमै रहेका पति लालबहादुर र सासु ससुरा कसैले पनि उसलाई रोक्ने कोसिस गरेनन् । मनको पर्खाल गहिरो गरि भत्किसकेको थियो । जोड्नु उचित पनि सम्झिन उसले । र, सम्भवत अब त्यो जोडिने हालतमा पनि थिएन ।

मैना घर छाडेर माईत गएको दस दिनमै लालबहादुरले गाउँकै नरमायाँलाई कान्छी श्रीमतीको रुपमा घर भित्र्यायो । यो खबर पाएर पनि मैनालाई कुनै दुख लागेन किनकी ऊ अब सदाका लागी लालबहादुरलाई त्यागेर आएकी थिई । ऊ अब आफ्नो हिस्साको जीवन आफ्नै लागि जीउन चाहन्थी ।

उमेर पुग्दै जाँदा मैना दिनदिन जवानीले मस्त हुँदै गई । माइतीमा रहँदा बस्दा उसको पनि गाउँकै एक युवकसँग हिमचिम बढ्यो । अन्ततः नजिकैको मन्दिरमा गएर एकदिन उनीहरुले बिवाह गरे । विवाहको केही महिनामै ऊ गर्भवती समेत भई र एक बर्ष नहुँदै उसको कोखबाट छोराको जन्म पनि भयो ।

बिवाह पछि मैनाका पति पत्नी मिलेर गाउँमै रासन दुकान खोले । दुकानबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरुले दुकानको छेउमै रासन मिल पनि राखे । मिल पतिले हेर्छन् भने दुकान मैनाले सम्हाल्छिन् ।

बिहेको चार साल बितिसकेको छ र मैनाको कोखबाट दोस्रो सन्तानको रुपमा छोरीको जन्म भएको छ । मैना अब पहिलाकी मैना रहिन । अहिले उसको संसार बदलिएको छ अनि आकास अझै बिशाल । उसका सपना बिस्तारित भएका छन् भने बाटा चौडा । बिगत पुरै मेटिएका छन् अतितका पानाबाट, छन् त  केबल सुन्दर बर्तमान र सुनौलो भबिश्यको रंगीन चित्र मात्र ।

दोस्रो विवाह गरेको लालबहादुर फेरी पनि खुसी हुन सकेन । बिहे पछि उसले नरमायाँलाई दुई साल पल्टनमै राख्यो । त्यसपछि पनि बर्षै पिच्छे घर छुट्टीमा आयो तर नरमायाँ आमा बन्न सकिन । गोरखपुरदेखि लखनउ र काठमाडौँका कैयौं अस्पतालमा उसले नरमायाँको स्वास्थ्य परिक्षण गरायो तर हरेक अस्पतालले नरमायाँ बिल्कुल स्वस्थ रहेको र उनी बच्चा जन्माउन सक्षम रहेको रिपोर्ट दिए ।

त्यसो भए सन्तान किन हुँदैन त ? कहिँ आफ्नै कारण सन्तान नभएको त होइन कतै ? यस्तो सोंचाई आउनासाथ उ घबराउँथ्यो । अब त सन्तान नभएको चिन्ता भन्दा बढि कहिँ आफ्नै मर्दाङ्गीको खिल्ली उड्ने हो कि भन्ने चिन्ताले सताउँथ्यो उसलाई । त्यसैले आफ्नो कमजोरीको पटाक्षेप हुने डरले श्रीमतीका कारणले बच्चा नभएको देखाउन बिभिन्न अस्पताल चाहर्दै उसले नरमायाँको स्वास्थ्य परिक्षण गराउँछ ।

नरमायाँले पनि पतिको कमजोरी बुझिसकेकी छ । यसै बिषयलाई लिएर लालबहादुर र नरमायाको बिच आजकल खटपट सुरु भएको छ । अवस्था यतिसम्म पुगिसकेको छ कि अब आफ्नो स्वास्थ्य परिक्षण गराई त्यसको ईलाज नगराई केबल अर्कालाई मात्र दोषी प्रमाणित गर्न खोजिरहने हो भने आँफू अब यो घरमा बस्न नसक्ने धम्की पनि नरमायाले पति लालबहादुरलाई दिन्छे ।

अन्त्यमा बाध्य भएर लालबहादुर पत्नी नरमायाँको साथमा जिल्ला सरकारी अस्पतालमा आफ्नो स्वास्थ्य परिक्षण गराउन जान्छ । आवश्यक सम्पूर्ण परिक्षण पश्चात डाक्टरले जुन रिपोर्ट लालबहादुरको हातमा थमाई दिन्छन् त्यसको कारण आज ऊ स्वयम् सँग र पत्नी नरमायाँसँग पनि लज्जाबोध गरेको छ । हिँजोसम्म जुन पौरुष र मर्दाङ्गीको खुला छाती देखाउँदै पत्नीलाई ललकार्थ्यो ऊ, आज हिनताबोधले भित्रभित्रै जलेको छ । डाक्टरले ऊ बाँझोपनाको शिकार भएकोले बाबु बन्न नसक्ने रिपोर्ट दिएका छन् । नियतिको कठोर निर्णय चुपचाप स्वीकार्नु उसको बाध्यता बन्यो ।

संयोग नै भन्नु पर्छ आज सोही अस्पतालमा मैना पनि स्थाई परिवार नियोजन गर्न पतिको साथमा आएकी छ । डाक्टरी रिपोर्ट हातमा लिएर डाक्टरको क्याबिनबाट बाहिर निस्कँदा जब मैनासँग नजर जुझ्छ, लालबहादुरको नजर हिनताबोध र लज्जाले झुक्छ ।

                    समाप्त ।

Note : Copyright reserved with Writer 

कथाकार अजित क्षेत्रीको का "मास्टरको सपना" (Story -Masterko Sapana by Ajit Chhetri) : 09-07-2016

NepaliTalim | 11:34:00 AM | 0 comments
अजित क्षेत्री
"मास्टरको सपना"
  ॥कथा।। 
-अजित क्षेत्री

प्रकाशन मिति (09-07-2016)

   गाउँघर दशैंको आगमनले उल्लसित छ । घरहरू रंग पोतेर उज्याला र चम्किला पारिएका छन् । आँगन, गल्ली, बाटो र डहर चिरिच्याट्ट पारी दुलही झैं सिंगारिएको छ । बडादशैं मान्न घर जाने र आउनेहरुले गाडी भरिन थालेका छन् । जुवाका बादशाहहरु तासको खाल जमाइसकेका छन् । पसलेहरु आधा बाटो/सडकै कब्जा गरी दशैका सामान बिक्रीका लागी प्रदर्शन गरेका छन् । बच्चाहरु लठ्ठे पिङ मच्चाउनमा मस्त छन् । बास्तवमा सारा देश नै भाङ् खाएर लठ्ठिए झैं बडादशैंको उल्लासमा लठ्ठिएको छ ।

    हिँजैदेखी देशभरका सरकारी र सार्वजनिक बिधालयहरु दशैं बिदा भएर बन्द छन् । घरपाई बाट टाढा रहेका शिक्षक बिधार्थीहरु धमाधम घर फर्किँदै छन् । गाउँमा पिङ् हाल्ने र बाटोघाटो सफा बनाउने चटारो छ । देशभरी जस्तै स्याङ्जा कोल्माको एक बिधालय पनि दशैं बिदामा बन्द छ भने गाउँलाई दशैंको आगमनले घपक्कै ढाकेको छ । सोही बिधालयका एक शिक्षक हुन् चोलाकान्त शर्मा । नामले भन्दा पनि मास्टर जी र मास्टर उपनामले चिनिन्छन् उनी । बुढापाकाहरुले उनको अनुपस्थितिमा उनलाई मास्टर भनेर सम्बोधन गर्छन् । मृदुभाषी एवम् गाउँलेको दुखमा सधैं दिलोज्यान दिएर सहयोग गर्ने हुनाले गाउँदेखी सदरमुकामसम्म उनको राम्रै इज्जत छ । सदरमुकाम पुतलीबजारको बाडखोला घुम्ती भनिने चोकदेखी कोल्मा काहुले सम्म जीप गुड्ने बाटो बन्नुमा यिनै मास्टरले गरेको सामाजिक अगुवाइ नै मुख्य कारण हो भन्छन् गाउँलेहरु । हल्का चेक सर्ट, कटराईजको पाइन्ट, गोल्ड स्टार जुत्ता र ढाका टोपी यिनको पहिरन र पहिचान हुन् । सदरमुकाम झर्दा होस् या अन्त जाँदा होस्, हातमा ठुलो अफिसिएल ब्याग र ब्याग भित्र एकजोर कपडा प्राय: छुट्दैन । मास्टर पनि दशैँको आगमनले फुरुक्क छन् । अरूको घरमा जस्तै उनको घरमा पनि दशैंको चटारो छ । भोली बिहानै सदरमुकाम गएर दशैंको खरिदारी र लत्ताकपडा किन्ने योजना बनाउँदै मास्टर र उनको परिवार निदाउँछ ।
   
***********
    बिहानको खाना घरमै खाएर मास्टर जीप चढेर मास्टर सदरमुकाम जान्छन् । सदरमुकाम स्याङ्जा बजारमा उनले दिनभरमा खरिदारी सिद्याउँछन् भने बिभिन्न संघसंस्थाले आयोजना गरेका शुभकामना आदानप्रदान कार्यक्रममा पनि आफ्नो उपस्थिति जनाउँछन् । 
   दिनभर यताउति गर्दागर्दै झम्के साँझ परिहाल्यो । लौ मार्यो गाउँतिर जाने सबै जीपहरु पहिले नै छुटिसकेछन् । जीप पार्किङ्मा एउटै जीप नभएपछि मास्टर अब डेढ घण्टा उकालो जंगलको बाटो हिनेरै घर पुग्नु पर्ने भो । छिटो छिटो औषधी पसलबाट आमालाई दमको नियमित औषधी आगामी पन्ध्र दिनलाई पुग्ने गरी किन्छन् र झोलामा राख्छन् अनि झोलाबाट दुई बेट्रीवाला टर्च लाइट निकालेर बाल्छन् । धिपधिपे उज्यालो दिंदै टर्च मास्टर साबको सन्ध्याकालीन सेवामा तम्तयार भो । मास्टरले पाइला चाले ।
   उनले आज ठुली छोरीलाई जिन्सको पाइन्ट र टिसर्ट किनि दिएका छन् दशैंको दस्तुर । छोरालाई पनि जिन्स पाइन्ट र कलर भएको टिसर्ट अनि आफ्नी जीवनसंगीनी सरला अर्थात् मास्टर्नी साबको लागी पच्चीस सयको जापानीज सारी र बृद्ध आमालाई घरबुनाको धोती किनेका छन् । बँचेको पैसाले दसैँलाई केही मरमसाला किन्दा किन्दै पैसा सकियो, यसपाली उनको सोल च्यातिएको गोल्डस्टार जुत्ताले उनको खुट्टासंग सजिलै साथ छोड्न नपाउने भयो ।
   घर जति चाँडो पुग्यो उति चाँडो आमाले दमको औषधी खान पाउने छिन् । उनले आमालाई आफ्नै हातले औषधी खुवाउने छन् । ७५ बर्षिया आमाको ब्यबहार आजकल केटाकेटीको जस्तो हुन थालेको महसुस उनले गरेका छन् । दुई बर्ष अघि पतिले परलोक यात्रा गरेपछि बुढि आमाको जीउने आधार र सहारा भन्नु नै यै मास्टर छोरा र बुहारी भएका छन् । साँझ छोरा घरमा भएन भने आमा अतासिन्छिन् र नानाभाँती बतुराउँछिन् । बच्चाले बाऊ खोजे झैं बुढिआमा छोरो खोज्छिन् साँझ परे सी । त्यसो त घर पुग्न ढिला भएको दिन छोरा छोरीको ध्यान र नजर बाटोतिरै दौडिरहेको हुन्छ । भञ्ज्याङ्तिर कसैले उज्यालो बालेर गाउँ तिर ठडियो भने घरका सबैले त्यो उज्यालो कता जान्छ भनेर ठमासी बस्छन् । 
   
    मास्टरलाई जतिसक्दो चाँडो घर पुग्नु छ । भरे सदा झैं नौ बर्षिया छोरी र सात बर्षिय छोराले बाबुको थालबाट भात निकाली खाने छन् अनि बाबुको हातले भात खान उनीहरु खोसाखोस गर्नेछन् । त्यसो त कहिलेकाहीँ  छोराछोरीले नदेख्ने गरी उनले आफ्नी मास्टर्नीलाई पनि एक गास खुवाउन भ्याउँछन् । त्यसो गर्दा उनलाई मास्टर्नी आफ्नी पत्नी नभएर प्रेमीका जस्ती लाग्छिन् । मास्ट्नीलाई पनि श्रीमानको जुठो हात आफ्नो ओठ हुँदै पुन श्रीमानको ओठसम्म पुगेको दृश्य संसारकै सुन्दर र अलौकीक दृश्य लाग्दछन् । राती बिस्तरामा बाबुको दुबै हातको सिरानी नहाली दुबै छोराछोरी निदाउँदैनन् । दिनभर कामले थाकेकी मास्टर्नी पनि हिउँदको यो सालीन मौसममा आफ्ना पतिको छातीमा हात राखी निदाउन पाउँदा संसार जितेको महसुस गर्छिन् । अझ धेरैजसो रातहरुमा त निदाएका छोराछोरी बाबुको काखबाट अर्को बिस्तरामा सारेर सुताइन्छन् र उनको पुरै बिस्तरा र शरिरमाथी मास्टर्नीले अधिकार जमाइसकेकी हुन्छिन् । हुन पनि बच्चाहरू हुर्किन थालेपछि पत्नीले बढि नै आफुलाई माया गर्न थालेको र आफ्नो सामित्यताको लागी भोकाएर बस्ने गरेको उनले महसुस गर्न थालेका छन् । भोको बाघले शिकार झम्टे झैं हिंजो रात उनले झम्टेर आफुलाई एकै गास पारेको सम्झँदा उनी तरंगीत हुन्छन् । कानको लोती टोकि दिएर कम्ती दुखेको होइन मोरीले । मास्टर्नीसंगको सहबासको प्रसंग दिमागमा आउँदा बाटो कटेको पत्तै पाउँदैनन् उनी ।

   आफ्नै मनसँग कुरा गर्दै उनका पाइला अगाडी बढिरहेका छन् अनि पुतलीबजार बाडखोला बजार पछाडी छाडिइसकेको छ । खोलाको किनार र धानखेत हुँदै उनका पाइला देबीथान मन्दिर नेर पुगिसकेका छन् । मन्दिर कटेसी माथी कुँबरहरूको बस्ती भएको अरौंदी खोला आउनेछ अनि उकालो जंगलको बाटो हिंड्नु पर्नेछ । देबीथान मन्दिर कटिसकेको छ । अब अरौंदी खोला गाउँ पुग्न जंगलको छेवै छेऊ केही बेर हिंड्नु पर्नेछ ।

    बाडखोला र स्याङ्जा बजारमा घटस्थापनाको दिनदेखि नै जुवाडेहरु म्यारिज खेल्नमा र कौरा हान्नमा मस्त छन् । गल्लीका भित्री घरहरूमा पुलिस प्रसासनको आँखा छलेर जुवा खेलाईएका छन् । कोही हारेका छन् कोही जितेका । जुवाडेहरुलाई कुखुराका साँप्रा, काँक्राको सलाद र बियर ठाउँको ठाउँ सर्भिस दिइएको छ । चार दिन लगातार खेल्दा पनि जीतबहादुर र रिते कार्कीले एक दाउ जित्न सकेनन् । श्रीमतीको बेरुवा औंठी एक छिन लगाउँछु भनेर ल्याएको जीतबहादुरले त्यो पनि फालेको छ । खेलको नशाले लठ्याएको छ तर साथमा सुको पैसो छैन । तासको खेल छोडेर जीतबहादुर र रीते चोकतिर निस्कन्छन् ।

   दसैँको बेला भएकाले लाहुरेहरु र बिदेशीएकाहरु धमाधम गाउँ फर्केका छन् । देशमै भएकाहरु पनि दशैंको बोनस र मासिक तलब जेबमा राखी धमाधम घरतिर हिडेका देखिन्छन् । कोही पेन्सन थापी किनमेल गरी घर फर्केका छन् । मान्छेको चापलाई गाउँका जीपले थेग्न सक्दैनन् । त्यसैले मानिसहरू पैदलै पनि हिंडिरहेछन् कोही समुहमा कोही एक्लै आफ्नै सुरमा । जुवामा हारेका जीतबहादुर र रीते कार्कीको मनमा कुबिचारले स्थान ग्रहण गर्छ, दशैंमा घर फर्केकालाई लुट्ने र पैसा कमाउने । गत बर्ष यै समयमा यिनिहरूले तीन ठाउँमा लुटी करिब सवा लाख पचाएका थिए । लुटेराको सुईंको सम्म कसैले पाएनन् । यो जोडीले आज लुट्न योजना बनायो । सकेसम्म लुट्ने मात्र तर लुटिनेले आँफुहरुलाई चिनेको अवस्थामा मारिदिने योजना बन्छ ।

     झिमिक्कै साँझ परिसकेको छ । एक काँधमा ब्याग र हातमा टर्च लाईट अनि अर्को हातमा सामानले भरिएको पोलिथिन ब्याग लिएर मास्टर देबिथान हुँदै अरौंदी गाउँतिरको बाटोमा लम्किरहेछन् । बाटोको माथीतिर घना जंगल र तलतिर लहलहाउँदा धानका बाला छातीमा टाँसेर अरौंदी खोलाको फाँट मुस्कुराई रहेछ । अलितल सानो अरौंदी खोला एकतमासले सुसाई रहेकोछ । झ्याउँकिरी र भ्यागुताको टर्रटर्र आवाज कानमा गुन्जिरहन्छ । "यो दशैंमा म आइन भनेँ..निष्ठुरीलाई दाई तिम्ले नभने" दिउँसो रेडियोमा सुनेको यो गीत गुनगुनाउँदै मास्टर अगाडि बढिरहेछन् । बाटो निस्पट्ट अँध्यारो छ चुक पोखेजस्तो । पहाडको खोंच र कुईनेटो परेकाले यहाँ आईपुग्दा रातको समयमा मान्छे डराउँछन् ।

     जीत बहादुर र रिते कार्की यसै कुईनेटोमा बटुवा लुट्न ढुकी बसेका छन् । काँधमा र हातमा गह्रौं सामान बोक्दै एक मानिस टर्च लाईट बालेर आफ्नै नजिक आएपछि जीतबहादुर र तिते हौसिन्छन् । मास्टर नजिकै आईपुगेका छन् । एक्कासी रिते मास्टरमाथी जाई लाग्छ र हातको टर्च खोसेर खेततिर मिल्काई दिन्छ । उसैमौकामा जीत बहादुरले मास्टरको ब्याग खोस्छ । "ओई को हौ तिमीहरु ? के गरेको यो ?"- घबराउँदै मास्टरले भने ।
" हामी चोर" एउटाले भन्यो ।
"चुपचाप सबै सामान हामीलाई दे"-अर्कोले भन्यो ।
"सबै खोसी सकिस् अब के दिउँ ?
"कति पैसा छ निकाल !"-चोरले फेरी भन्यो
"छैन पैसा सैसा, खोई मेरो ब्याग दे ?"मास्टरले रिस, आक्रोश र डर मिसाउँदै भने
"बढ्ता बोल्छस् ?, ल खा...." रीतेले कम्मरको खुकुरी मास्टरको टाउकोमा बजार्छ । ढुनमुनिंदै मास्टर खेतमा लड्न पुग्छन् । रगतको छर्रा रिते र जीत बहादुरको मुखभरी पर्छ । छटपटाएका मास्टरको मुखभरी खेतको पानी जान्छ र बिस्तारै उनी चलमलाउन बन्द गर्छन् । चोरले उनको शरीर छामछुम गरेर झोला बोकेर जंगलतिर भागीसकेका छन् । झ्याउँकिरी र भ्यागुता कराउन बन्द गरे । उता खाना पकाएर पतिको पर्खाईमा बसेकी मास्टर्नीको छाती अचानक भारी भएर आयो । बाहिर निस्कन्छु भन्दा ढोकामा ठोक्कीएर हातको एउटा चुरा फुट्यो, छोराको टाउकाको टोपी खस्यो ।
"भगवान्, के अलल्छिन हो यस्तो !!" मास्टर्नी डरले चिच्याईन् । खोरमा थुनी राखेका कुखरा तर्से, बसिराखेको भैँसी जुरुक्क उठ्यो ।

*********
    "उफ्, कस्तो नराम्रो सपना देखेछु, बुढी एक गिलास पानी लेऊ त"-उठ्नासाथ मास्टरले भने । "छि, हजुर पनि ! चाडबाडको बेला के के सपना देख्नुहुन्छ ।"- एक गिलास पानी पतिको अगाडि राख्दै मास्टर्नीले भनिन्-"बिहानपख देखेको सपना पुग्छ भन्छन् ।"
'के गरम त नि, मैले देख्छु भनेर देखेको होइन के रे'-मास्टरको ओंठे जवाफ फर्कन्छ ।
''ल भै गो, पानी पिउनुस्, त्यो सपना शौचालय बस्दा आँफैलाई सुनाउनु, दोष काटिन्छ रे" यति भनि मास्टर्नी गोठतिर लागिन् । मास्टर पानी पिईसकेर शौच जान्छन् अनि आफ्नो सपना सुनाउन थाल्छन् आफैलाई । हुन पनि यति नराम्रो सपना उनले कहिल्यै देखेका थिएनन्, आँफै मारिएको सपना ।

    उज्यालो भएको छ, भर्खरै उदाएको घाममा चाँदिको घेरो सरी बादलले हल्का छोपेको छ । तल फाँटतिरबाट निस्केका हुस्सु आकाश छुन दौडेका छन् । हल्का चिसो मौसम छ । घरमा चिया पाकिसकेको छ मास्टर्नीले पति, बच्चा र सासुलाई चिया दिन्छिन् र आँफू पनि पिउँछिन् ।
"यसो रेडियो खोलओ न केटाकेटी हो, चाडबाडको बेला छ, के के भन्छ रेडियोले''- यति भन्दै बार्दलीमा बसेकी मास्टरकी बुढी आमैले खोक्न थालिन् ।
"दशैं सकिनासाथ आमालाई पोखरा लगेर ठुलै हस्पतालमा चेक गराउँछु" यति भन्दै उनी भित्ताको किलामा झुँडाई राखेको रेडियो रेडियो खोल्छन् । रेडियोमा प्रबिण गिरीले बिहानको समाचार पढिरहेका छन् । "कति चाँडै सात बजेछ है !" मास्टर मनमनै गुनगुनाउँछन् ।
"स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाको उत्तरपूर्वमा पर्ने देविस्थान् र अरौंदी गाउँको बिचको जंगलको बाटोमा गएराती अज्ञात ब्यक्तिहरुबाट कोल्मा काहुले गाबिसका एक बिधालयका प्रधान अध्यापकको धारीलो हतियार प्रहार गरि हत्या भएको छ....." प्रबिण गिरी समाचार बाचन गरिरहेछन् । समाचार सुनेर मास्टरको हातबाट चियाको गिलास भुईंमा खस्छ ।
"यै सपना हो मैले देखेको" एक्कासी मास्टर चिच्याउँछन् । "थुईया,,,ति पापीको घरमा आगो लागोस्, कस्तरी चाडको बेला अर्काको ज्यान लिईछस् पापी"- बार्दलीबाट मास्टरकी आमा रेडियोको समाचारको तितो प्रतिक्रिया स्वरुप हत्यारालाई गाली दिँदै थिईन् । 'साह्रै अनर्थ भएछ भगबान् '- मास्टर्नीले लामो सुस्केरा हाल्दै भनिन् । आँफूले केही घण्टा अगाडि देखेको सपनासँग ठ्याक्कै मेल खाने सपना...केवल पात्र फरक! जिऊ लगलग काम्छ,शरीर असिनपसिन हुन्छ । 'बिहानी पखको सपना पुग्छ भन्छन् भन्दैथी बुढी, हो त रै'छ'-उनी मनमनै गुनगुनाउँछन् । 'बच्चाले जस्तै चिया पोखेर के गरेको होला' भन्दै मास्टर्नी मास्टरले चिया पोखेको भुईं सफा गर्न लाग्छिन् । केटाकेटीले रेडियोको समाचारमा ध्यान दिएनन् आफ्नै सुरमा चिया पिउँदै छन् । मास्टर जुरुक्क उठ्छन् अनि रेडियो बन्द गर्छन् । कुर्चीमा थचक्क बस्छन् अनि श्रीमतीतिर हेर्दै भन्छन्- बुढी यो सपना भन्नी कुरो कसरी देखिन्छ होला? के राती मेरो आत्मा त्यहाँ गएको थियो र त्यो घटना प्रत्यक्ष देखेको थियो होला त ?"
मास्टर्नी एकोहोरो टोलाए जस्ती हुन्छिन् केही जवाफ दिन्नन् ।

    एकैछिन् पछि उनी भन्छिन्: "छिमेकाँ यस्तो नराम्रो घटना घटेसी चाडबाड आएको के सार भो र? अब सदरमुकाम क्यार्न जानु पर्यो र बरू गए हुन्छ हेडसरको घरतिर,..रुवाबासी होला कठै !"
"गैहाल्छु अब, छिमेक मर्दा पर्दा त हो नि चाहिने"-लामो सुस्केरा हाल्दै मास्टर भन्छन्-" यस्तो मृत्यु त कस्तै सत्रुको पनि नहोस् ।"

"नमस्कार मास्टर साप, गाउँमा त साह्रै नराम्रो घटना घटेछ है ! राम राम राम.." कोही मान्छे यति भन्दै उनको आँगनतिर आउँदैछ । उही जीतबहादुर रै'छ जसले सपनामा उनको हत्या गरेको थियो । मास्टर झस्के । 
"गुन्द्री तानेर बस"-मास्टर्नी बोलिन् । मास्टर भित्र पसे । प्यास लागेजस्तो भयो । एक अंखोरा पानी घटघटी पिएर सिध्याए ।
धन्यवाद 

अजित क्षेत्रीको कथा "मलाई माफ गर है माया" (Story-Malai Maaf Gara by Ajit Chhetri) : 05-07-2016

NepaliTalim | 9:58:00 AM | 0 comments
अजित क्षेत्री
कथाकार-अजित क्षेत्री
मिति-05-07-2016

अफिस सकिनासाथ आज पनि उही चिया पसलमा पुगिसकेको थिएँ । चिया पकाउँदै रहिछन् पसलकी साहुनी । केही दिन यता अफिस समयपछि यो पसलको एक कप चिया र एउटा समोसा खाएर मात्र घर जाने मेरो दैनिकी नै बनेको छ । हल्का चिनी, कडक पत्ती र गाढा दुधमा बनेको भरी गिलास चियाकै कारण म यसै पसलमा आउने गर्छु । मेरो अफिस नेरैका थुप्रै चिया पसलेहरु मुख बंग्याउँछन् नजिकको तिर्थ हेला गर्यो भनेर । कसैले केटीले पकाएको खान गएको भन्छन् कसैले चिया पिउने निहुले चिया पसले युवती जिस्काउन गएको भन्छन् कसैले पल्किसक्यो सल्किसक्यो पनि भन्छन् । तर म त्यो चियाको स्वादमा पल्केर त्यहाँ जाने गर्छु । मानिसहरूका यि सबै भन्यो रे र भन्छन् अरे अरेका कुरा मात्र हुन् । मलाई मुखै फोरेर झुटो ईल्जाम लगाउने कसको ताकत ? कन्ना पछाडी त मेरा लागी फूल टिपुन् की हँसिया उध्याउन्, मलाई बाल मतलब ।

करीब आठ दस फुट चौडा सटरमा खोलीएको चिया पसल । पसलमा दुई टेबल, आठ दस कुर्सी, एक बेन्च र एक छेउमा समोसा, पकौडा, बिस्कुटले भरिएको सानो सोकेस र आडैमा ग्यास चुल्हो अनि भित्तामा भित्तामा टाँसिएको एक क्यालेन्डर, स्वर्गीय राजा बिरेन्द्रको परिवारको ए-थ्री साइजको फोटो, कान्तिपुर साप्ताहिक पत्रिकाको केही ब्लोअप र सम्मुखमै झुँडाईएको एउटा ऐना । यही हो यस पसलको परिचय । पसल एक युवतीले चलाएकी छिन् । करिब पच्चिस छब्बिस सालकी, अग्लो कदकी, हल्का कालो बर्णकी, आदरभाषी र बोल्दा हल्का मुस्कुराहट । काममा फुर्तिली र हातको स्वाद मिठो । यिनै कारणले धेरैजसो अफिसियलहरु एक कप चिया पिउनैका लागी यही चिया पसलमा आउने गर्थ्यौं । पसलमा पुग्नासाथ भित्तामा झुन्ड्याइएको ऐनामा दिनभरीको कामले च्याउसिएको आफ्नो अनुहार एक खेप हेर्नु र नाकको छेउछाउमा फस्टाएका डन्डिफोर निचोर्नु मेरो आदतै बनिसकेको थियो ।

ऐनामा एक झलक हेरिसकेर बसेको के थिएँ चिया आईपुग्यो टेबुलमा । 
"समोसा पनि राख्दिऊँ सर ?"-उसले भनी । "उम्" मैले टाउको हल्लाएँ । 
एक प्लेटमा समोसा पनि आयो । "आज त खुब च्वाँक देखिएकी छौ नि !"-मैले जिस्काउन भनें । 
"अँ होला खुब ? सर पनि जे पायो त्यै बोल्दिनु हुन्छ ।" उसको प्रतिक्रिया थियो । 
'हो भन्या, कस्सम आज झनै राम्री देखिएकी छौ के ।"-मैले थपें । 
'राम्रो नराम्रो त मान्छेको हेराई हो सर, राम्रो त मन हुनु पर्छ मन ।'-उसले भनि ।  
'तिमी मान्छे नि राम्री तिम्रो मन त झनै राम्रो, आकाशमा उडिरहेको रंगीन चङ्गा जस्तै ।'  फुर्क्याउने पाराले मैले भनें । तर उ फुर्किइन । 
'आकाशको चङ्गा जतिसुकै राम्रो भएपनि कि त कसैको मुठ्ठीमा आउने हो कि त धागो चुँडेर कहिँ पछारिने हो । तपाईँ पनि मलाई पछार्दै हुनुहुन्छ सर ।'-उसले जवाफ दिई ।
लाग्यो उसले मलाई तिखो प्रहार गरी । रक्षात्मक हुँदै मैले भनें :- 'तिमी त राजकुमारले उडाउने चङ्गा जस्ती छौ । चुँडेर खसे नि दरबारमै हातमा बसे नि दरबारमै ।' 
मेरो कुरामा उसले कुनै प्रतिक्रिया जनाइन । सायद प्रतिक्रिया जनाउन चाहिन पनि । उसँग यतिधेरै सवालजवाफ गरेको मैले यो पहिलो पटक थियो र उसले यति खुलेको पनि यो पहिलो पटक । कुनै पनि ग्राहकसँग धेरै बोल्दिन पनि र रिसाउँदिन पनि ऊ । ऊ अर्थात यो चिया पसलकी साहुनी । नाम भने थाहा भएन मलाई । कसैसँग नजर जुधाएर बोल्दिन अनि कसैसँग गफिएर बस्न न रुचाउँदिन । प्रायः नजर नजुधाउने मानिस कसैसँग सजिलै प्रेममा फँस्दैन र कसैले सजिलै बिस्वास जित्न पनि सक्दैन । मलाई लाग्छ ऊ आजसम्म प्रेमको मिठो फल नखाएकी यौवनकी कलि हो । धत् मैले त के के सोंच्न भ्याई सकेछु । साँच्ची युवतीहरु पनि हामी युवकहरुको बारेमा यस्तै धारणा बनाउँदा हुन् त? सोंचें- युवतीहरु युवाले जस्तै प्रेम र यौन अनि घरजमको बारेमा सोंच्नु भन्दा युवकको सुगठित शरिर र उसको आम्दानीका बारेमा सोंच्छन् होला । मेरा एक मित्र भन्ने गर्छन् पुरुषको एक चौथाई जिन्दगी युवतीको बारेमा सोंचेर र हस्तमैथुन गरेर बित्छ युवतीको आधा जिन्दगी मेकअप गरेर र ठुलो घरकी मालिक्नी हुने सपना देखेरै बित्छ । सोंचें- ठिकै भन्थ्यो उसले ।
'साहुनी सुन त'- मैले भनें ।
प्लीज सर मलाई साहुनी नभन्नुस् न- उसले आग्रह र निर्देशन मिसिएको स्वरमा भनी ।
"पसल चलाउछ्यौ साहुनी नभनेर के भनुँ त ?"
"कहाँ चलाएँ पसल? जुठो भाँडा उठाएर माझेर एक एक पैसा बटुल्ने मान्छे के को साहुनी नी ?"-उसको जवाफ आयो ।
त्यसो भए के भनौँ त ?
"बैनी भन्नुस्"-उसले सहजै भनि ।
उ सहज हुन खोजी मलाई भने असहज भयो । 
उ दुरी मेटाउँदै थिई तर सिमाना लगाउँदै थिई
म दुरी भेटाउँदै थिएँ तर सिमाना मेटाउन खोज्दै थिएँ ।
'नाईँ'-मैले भनें- 'यो सजायँ मलाई नदेऊ । यो त बाघलाई मुख र नङ्ग्रा बाँधेर बाख्राको खोरमा छोडे जस्तै भयो'-मैले थपें ।
"पापी"-उसले धारे हात लगाए जस्तो गरी मायालु पारामा भनी ।
पापी भन्ने शब्द सुन्नासाथ यस्तो लाग्यो मानौं कि मलाई यमराजको अघिल्तिर उभ्याईएको छ र यमराजबाट मैले गरेका पापहरुको लामो सूची बाचन गरिँदै छ ।
'म त धर्मको खोजीमा निस्केको मान्छे, तिमीले त पापी पनि घोषित गरिदियौ है ? अब पापीलाई सजाएँ पनि तिमी नै दिनु'- मैले भनें
''पापी नै त निस्कन्छन् धर्मको खोजीमा''-दार्शनिक शैलीमा उसले भनी- ''धर्म कमाउन त तिर्थ यात्रा र मन्दिर धाउनु नी सर, यता होइन नी"
''जहाँ पबित्रता हुन्छ त्यही हो तीर्थ, जहाँ बिश्वास हुन्छ त्यही हो मन्दिर अनि जहाँ सेवा त्यहीँ ईश्वर''- मैले पनि जाने जति एकैपटकमा भन्दिएँ । 
'तर सर'-उसले भनि-बाटोको ढुँगालाई फूल चढाउँदैमा त्यो ईश्वर बन्छ र?
'ईश्वर एक अमुर्त मानव चेतना मात्र हो जब त्यसमा बिश्वास रुपी जल चढाईन्छ नी, त्यो मुर्त बन्दछ र त्यसलाई केवल ज्ञानीहरुले मात्र देख्न सक्दछन् ।'-मैले भनें ।
'त्यसो भए तपाईं ज्ञानी हो ?'
''होइन, म त अज्ञानी किनकी ज्ञान प्राप्त गर्न ध्यान चाहिन्छ र म ध्यान गर्न सक्दिन''-मैले भनें ।
ऊ केही बोलिन । पसलमा चिया पिउन आएका ग्राहकहरु गई सकेका थिए । मैले पनि चिया सकिसकेको थिएँ पैसा बुझाएँ । 
आज अलि बढी गफिएको थिएँ । किनकिन गफमा मजा आइरहेको थियो । गफको मिठासमा चियाको स्वाद फिका थियो तर अनुभूति अनुपम थियो ।
एकछिनको मौनता तोडेर मैले नै कुराको सिलसिला बढाउन सोधें- 'ए साँच्ची, तिम्रो नाम के हो नी ?' 
हुन पनि यतिका दिनसम्म मैले उसको नाम सोधेको थिइन । खासमा मलाई उसको नाम जान्नुपर्ने आवश्यकता नै परेन आजसम्म । त्यसो भए आज किन त ? आँफैलाई सोधें मनमनै । मनले उत्तर फर्काएन । 
'के राखेको छ र नाममा ? बिना नाम पनि तपाईंले मलाई चिनिराख्नु भएकै छ के रे'.. लाग्यो-झटारोले लाग्ने गरी हिर्काई उसले मलाई । आज उसले जित्दै गइरहेकी थिइ र म, हार्दै । तर पनि यस्तो लाग्दैथ्यो हारे पनि रेफ्रीले मलाई नै बिजयी घोषणा गरिरहेको छ ।
'नाम ब्यक्तिको परिचय हो, ब्यक्तिको अनुपस्थितीमा पनि उसको नामले उसको भुमिका निर्वाह गर्दछ ।''-मैले भनें ।
'त्यसो भए नाम बिना मान्छेको परिचय नै हुँदैन त ? के बिना नामले म यो समाजमा परिचित हुन सक्दिनँ त ?-गम्भिर पारामा उसले प्रश्न गरी । 
'बिना नाम पनि परिचित हुनु सम्भव छ',-मैले भनें-'नाम भएकाहरुको भिडमा एक जना नाम बिहिन मान्छे बाँच्दछ भने नाम बिहिन हुनु नै उसको परिचय बन्दछ । तर त्यसरी एक्लो परिचयको एक्लो जीवन तिमीले जीएको हेर्न चाहन्न म ।'
''सीता, रीता, पार्वती, उमा, प्रमिला....आखिर जे नाम भए नी म मैँ हुँ, नामको शृंगारले मान्छेको बाहिरी परिचयमा त केही भिन्नता देखिएला तर मैले जीउने जिन्दगी र मेरा सपनाका अँध्यारा गल्लीहरुमा मलाई साथ दिन्छन् जस्तो लाग्दैन सर ।'' उसको दार्शनिक जवाफले म अवाक् भएँ । 
मैले भनें- 'दर्शन सिक्न त कोही तिमीसँग आओस् । तिम्रा रहस्यमय शब्दहरु सुनेपछि त लाग्छ तिमी कुनै दन्त्यकथाकी रहस्यमय पात्र हौ ।' 
'सर तारिफ धेरै भयो अब जानुस् ढिला भयो' उसले भनी । 
घडी हेरें साँझको सात बजिसकेछ । बाहिर हल्का अँध्यारो हुँदैथ्यो सरासर घरतिर लागें ।

नाम बताइन, यसै यसै टारी उसले मलाई आज ।

***********

दिनहरु यसैगरी आफ्नै गतिमा अगाडि बढ्दै गए । अफिस लागेका दिनहरुमा दिनमा एकपटक उसको पसलको चिया पिउनु, दुई चार मिठा गफहरु उसँग गर्नु, यी मेरा दैनिक रुटिङ् नै बनिसकेका थिए । वास्तवमा म मा लत नै बनिसकेको थियो यो पसल, यहाँको एक कप चिया र उसको मुस्कान । म आज भोली आफुलाई कताकता हराई रहेको थिएँ । अफिस र चोकतिर मेरा बारेमा गाईंगुई चल्न थालेको थियो तर कसैले मसंग मुखै चाहिँ फोरेका थिएनन् । खासमा चिया पसलकी साहुनीसँग मेरो त्यस्तो कुनै खास सम्बन्ध भने थिएन । म उसका लागि अरु ग्राहक सरह नै थिएँ । तर मेरा लागि भने उ केहि खास बन्दै गएकी थिई। खास यस मानेमा कि उ र उसको पसल मेरा लागी चौतारी जस्तै बनेको थियो दिनभरिको अफिसको कामको थकान मेटाउने, एक कप चिया पिउने, उसको सामिप्यमा केही बेर रहने र साँझ घर फर्कने । 
कलिलो लोर्के जोबन, चन्चले उमेरमा युवा युवती बाबुआमाको काखमा लाडप्यारमा रमाउने गर्छन् । उ भने उमेर भन्दा गरुङ्गो जिम्मेवारी सम्हालिरहेकी थिइ । मैले कारण सोधें । बुबा प्यारालाईसिसको बिमारले स्वर्गे हुनु भएको, बृद्धा आमाको काँधमा घरको सबै जिम्मेवारी भएकाले परिवारलाई सघाउन सानोतिनो भए नि पसल चलाएको उसले बताएकी थिई एकदिन ।

भोलिपल्ट बिहान समयमै अफिस पुगें । अघिल्लो दिनको केही काम बाँकी थियो- सकें । अफिसमा अडिट सुरु हुने वाला थियो त्यसैको तयारी स्वरुप म र अर्का एक स्टाफ करिब दुई हप्ताको लागि सुर्खेतको बिरेन्द्रनगर जानु पर्ने भयो । भोली बिहानैको बसमा जानु र त्यसका लागि अहिल्यै देखि तयार रहनु भन्ने निर्देशन आयो । मनमा एक प्रकारको हुटहुटि सुरु भो । भोलीका लागि तयारी गर्दै थिएँ, एक मन पहिल्यै बिरेन्द्रनगर पुगिसकेको थियो भने अर्को मन यतै कतै अल्झिरहेको थियो । एक मन दुईतिर बाँडिए जस्तो भैरहेको थियो । आँफू आँफैसँग थिइनँ कतै हराएको थिएँ । जति चाँडो काम सकाउँछु भन्यो उती नै ढिलो भयो । अफिसियल काम सकेर बाहिर निस्कँदा साँझको ६ बज्नै आँटेको थियो । सरासर उहि चिया पसलमा गएँ, भित्तामा झुन्डिएको ऐनामा आफ्नो अनुहारको एक्स रे गरें, नाकको छेउमा सानो डन्डिफोरले घर बनाउन लागेको रै'छ निचोरें र आडैको कुर्चीमा बसें । उही परिचित शैलीमा उसले चिया र समोसा टेबलमा राखिदिई । किनकिन आज मैले चिया एक चुस्कि भन्दा बढ्ता पिउनै सकिन । आज उसलाई मात्र हेरुँ हेरुँ लागेको थियो । भर्खर नुहाएर निस्केकी कुमारी युवतीको शरीरबाट बास्ना निस्के झैं उसको शरीरको बासनाले लठ्याए झैं भयो मलाई । अनि उसलाई छाडेर केही दिन बिरेन्द्रनगरको अपरिचित भिड छिचोल्न जाँदै थिएँ भोली यो पनि एक पीडा जस्तै भएको थियो मलाई यतिबेला । ऊ मेरो सामुन्नेको टेबलमा रायोको साग केलाउँदै थिई । 
"भोली म सुर्खेत जाँदैछु नि"-एकतमासले सब्जी केलाई रहेकी ऊ मेरो यो अप्रत्यासित कुराले झस्के जस्ती भई । 
"आबुई हो र ! कति कामले नि ? कि उतै बस्ने हो र अब सर ?" उस्सुकता र बिस्मयका साथ उसले एकैपटकमा थुप्रै प्रश्नहरु सोधी । 
"करीब १५ दिनका लागी" 
मैले यसो भने पनि उनको अनुहारमा कुनै परिवर्तन देखिएन । लाग्यो मेरो जवाफबाट सन्तुष्ट भईन ऊ । आफ्नो जवाफबाट म आफै पनि सन्तुष्ट हुन सकेको थिईन । 
"तर १५ दिन मेरा लागी १५ बर्ष जत्तिकै लामा हुनेछन्" मैले भनें । 
"किन नि त्यस्तो, सर ?" उसले सोधी ।
"जहाँ मन छैन त्यहाँ बतन कसरी रमाउन सक्छ र ?-मैले जवाफ दिएँ । 
"महासय, अनि मन किन यतै छोडि जाने नि ? आफ्नो मन आफैसँग लैजाने गर्नुहोला, नत्र चोरी हुन के बेर ।"-केही मुस्कुराउँदै उसले भनी ।  
'महासय' !! उसले पहिलो पटक मलाई यो शब्दले सम्बोधन गरी । चिसो पानी पिउँदा शरीरको भित्रैसम्म महसुस भए जस्तै उसको सम्बोधनले पनि मलाई एकैपटकमा भित्रैसम्म छोएर गयो । यस्तो लाग्यो पहिलो पल्ट कोही मेरो मनको तघारो जबर्जस्ती खोलेर संघारमै बस्न खोज्दैछ । उसले ठिक भनेकी थिई मन चोरीन सक्छ । तर महसुस गर्दै थिएँ मन बिस्तारै चोरी भैरहेको छ । र, म चुपचाप चोरलाई मनको तालाचाबी सुम्पिँदै थिएँ ।
"मन त चोरी भै सक्यो, अब म सुरक्षित छु"- मैले भनें ।
"त्यसो भए उजुरी दिनु नि मन चोरी भयो भनेर"
"कहाँ दिउँ उजुरी ? उनै चोर छन् र उनै सिपाही भएका छन्"-मैले भनें
"मन चोरी भएको प्रमाण केछ तपाईंसँग ?" उसको यो प्रश्नले म आफूलाई अदालको कठघरामा उभिएको कैदी जस्तै महसुस गरें जो आफू निर्दोष हुँदा हुँदै पनि निर्दोषिताको प्रमाण पेस गर्न असमर्थ हुन्छ । यस्तो लाग्दैछ जस्को बिरुद्ध उजुरी दिएको छु उहि मेरो उजुरी उपर सुनुवाई गर्दैछ ।
"तिमी केरकार बिभागको पुलिस अफिसर कि अदालतको न्यायधिश हँ ?-मैले कुरो थपें ।
"तपाईँ जे सम्झनुस्"-उसले भनि- "तपाईंको हराएको मन भेटाउन सहयोग गर्न चाहने एउटा शुभचिन्तक मात्र हुँ म ।"
उसो भए सुन- मैले भनेँ- "मान्छेले आफूले आफूलाई बिर्सनु, बिना पानीमा तैरन खोज्नु र बिना हुरी मन टाढा टाढा सम्म पुग्नु मन चोरीएको लक्षण होइन त?"
"कुन दिन सर पनि चोरिनु भयो रे भन्ने समाचार आउन बेर छैन ।"-हाँस्दै उसले थपि ।
"आओस् छिट्टै त्यो दिन"
हामी दुबै गलल्ल हास्यौं ।
घडी हेरें समय त घर्की सकेछ । पसलबाट निस्केर घरतर्फ पाइला बढाएँ । हिड्नै लाग्दा उसले भनि: "शुभयात्रा सर, चाँडै फर्कनु होला है ।"
हिँड्नै लाग्दा मैले आज फेरी उसको नाम सोधें । उसले सहज उत्तर दिई: "माया" ।
माया साँच्चिकै मायावी थिई । "माया"... यो शब्द ननिदाउँञ्जेल कानमा गुन्जिरह्यो ।

भोलिपल्ट बिहानै म र अर्का एक स्टाफ बिरेन्द्रनगरका लागी प्रस्थान गरियो ।

*********

बिरेन्द्रनगर आएको चौथो दिनमै दुई जना अपरिचित अनुहारहरु हाम्रो अफिस भित्र छिरे र अभिबादन कमरेड भन्दै जोडले हात मिलाए । दुई मध्ये एक अलिक रक्षात्मक हिसाबले ढोका नेरै उभियो र अर्को हामीसंग गफ गर्न लाग्यो । अत्यान्तै मृदुभाषी यी युवक माओवादी जनयुद्धमा लागेका र भर्खरै यो बजार क्षेत्रको पार्टी ईन्चार्ज भएर आएका रैछन् । असली नाम दिपक सुनाम भएपनि पार्टीको नाम क. उमंग रहेछ । मान्छे निक्कै तार्किक लागे। सके पार्टीमा सक्रिय भएर लाग्न र नसके पार्टीलाई आर्थिक-भौतिक र नैतिक समर्थन गर्नु पर्ने भन्दै उनले निर्देशनात्मक शैलीमा आग्रह गरे । केही आर्थिक सहयोग गर्नु पर्ने उनको मागलाई हामी हेड अफिससँग सल्लाह गर्नेछौं भनेर उम्कियौं ।
उनीहरू त्यहाँबाट निस्केको दुई घण्टा पनि भएको थिएन पुलिसको एउटा भ्यान आएर हाम्रो कार्यालय अगाडि रोकियो । तत्काल उनीहरुले हाम्रो कार्यालयलाई चारै तर्फबाट घेरा हाले । केही पुलिसहरु हाम्रो कार्यालयका कागजात खानतलासी गर्न लागे भने अफिसमा भएका हामी चारै जनालाई प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगे । त्यसदिन माओवादी कार्यकर्ताहरू हाम्रो कार्यालयमा आएको सुराकी कसैले प्रहरीलाई दिएको रहेछ ।
बिना कारण प्रहरी हिरासतमा १५ दिन जति राखियो हामीलाई । प्रहरी खोरमा बस्नुको पीडा र त्यहाँ पाईएको अपमानले भित्रभित्रै हिनताबोध र राज्यप्रति बितृष्णा नै पैदा भयो । माओवादीमा कतैपनि हाम्रो संलग्नता नपाईएको र हेड अफिसले मानब अधिकारकर्मी मार्फत दिएको दबाबका कारण १६ औं दिनमा प्रहरी हिरासतबाट मुक्त भइयो । मुक्त भएपछि सिधै कोठामा पुगें । सहकर्मीहरु कोठामै भेट्न आउनु भयो । भोलीपल्ट पनि कोठामै सुतें अफिस जानै मन लागेन ।

अर्को दिनदेखि नियमित अफिस जान थालेँ । केही दिन अघि घटेको त्यो अप्रत्यासित घटनाले मन बिचलित भैरह्यो । मनको शान्त तलाउमा कसैले ढुङ्गा खसालेर अशान्ति मच्चाए सरी भयो ।

एक दिन अचानक साँझपख तिनै माओवादीहरु बाटोमा भेट भए । प्रहरीले म लगाएत मेरा सहकर्मीहरुलाई पक्राउ गरेर यातना दिएकोमा कमरेड उमंगले गहिरो दुःख ब्यक्त गरे । सामन्ती राज्यसत्ताको बिभेद र दमन बिरुद्ध संघर्षको मैदानमा उत्रन उनीहरुले मलाई आग्रह गरे । मैले उपयुक्त समयमा यसबारेमा सोंच्न सकिने बताएँ । उनीहरुले केही मार्क्सवाद र माओवादी दर्शनका किताब मेरो हातमा थमाउँदै भने: यी पुस्तकहरुको अध्ययन गर्नुस् कमरेड, आशा छ तपाईं छिट्टै हाम्रो गौरवशाली पार्टीको पूर्णकालीन कार्यकर्ता बन्नु हुनेछ ।"
एकातिर माओवादीहरु मलाई माओवादी कार्यकर्ता बन्न दिनहुँ दबाब दिँदै थिए भने अर्को तर्फ म र मेरो अफिसका सहकर्मीहरु माथी सेना र प्रहरीको निगरानी बढिरहेको थियो । माओवादीको साथमा बसेको अबस्थामा सुरक्षाकर्मीले भेटाए मेरो पनि सफाया हुने निश्चित थियो । मन आतङ्कित थियो बाहिर मुस्कुराएको मात्र थिएँ म ।

दिनहरु बित्दै गए, म आफूलाई असुरक्षित महसुस गर्न थालें । कहिले माओवादी त कहिले सेना पुलिसका मान्छे भेट भईरहन्थे । एकदिन एकजना माओवादी कार्यकर्ता मेरो कार्यालयमै आएर अघिल्लो दिन हुने माओवादीको गोप्य सभामा सहभागी हुन जारी गरिएको उर्दी पत्र हातमा थमाएर गयो । चिट्ठी सर्सर्ती पढें-अनिवार्य उपस्थित हुनु भनिएको थियो । पत्र खल्तीमा राख्ने हिम्मत आएन टोकरीमा फाल्न पनि डर लाग्यो । सम्भावित भबितब्यको भयले शरीर लगलग काँप्यो । म जस्तो प्रजातन्त्र र स्वतन्त्रताको पक्षधर मानिस कसरी माओवादी जनवादी अभ्यास स्वीकार गर्न सकुँला र भन्ने पनि सोचेँ । अर्कोतिर माओवादी आग्रह र उर्दी लत्याउन सक्ने नैतिक बल पनि जुटाउन सकिन मैले । अफिसका साथीहरुको अबस्था पनि मेरै जस्तो रहेछ । कार्यक्रममा जाऊँ भने बिनासित्ति माओवादीको बिल्ला भिरिने अनि सेना प्रहरीको आक्रमणको सिकार पनि बन्न सकिने डर अनि नजाउँ भने माओवादीको नजरमा उनीहरुको बिरोधी भइने डर । साझ पर्दै गयो मनमा डर बढ्दै गयो, अन्यमनस्क स्थितिमा पुगें । खेदिएर भिरमा पुर्याईएको मृगको हालत भएको थियो मेरो, एकातिर भिर र अर्कोतिर बिशाल नदी थियो । भिरमा ज्यान फालुँ कि नदीमा हाम फालुँ ?

करीब दुई हप्ताको लागी बिरेन्द्र नगर आएको म करीब चार हप्तादेखि यतै थिएँ । अफिसको काम सकिनु त कता हो कता म त हरेक दिन नयाँ नयाँ उल्झनमा फस्दै थिएँ । जुन उत्साह लिएर यहाँ आएको थिएँ ति सबै पानीको फोका झैं बिलिन भैसकेका थिए । अब मलाई बिरेन्द्रनगरको बसाईं एक दिन पनि एक युग जस्तै लामो भैसकेको थियो । यस अवधिमा घरपरिवारको याद खुब आईरह्यो । सबैभन्दा बढी त उही चिया पसलको याद आयो अनि मायाको । बिरेन्द्रनगरका कुनै पनि चिया पसलले मलाई मायाको झल्को मेटाउन सकेनन् । यहाँका कुनै पनि पसलका चिया मलाई स्वादिष्ट लागेनन् । साँच्चै भन्नु पर्दा यो शहरले मलाई आफ्नो बनाउन सकेन अनि मैले यो शहरलाई आफ्नो बनाउन सकिन । यहाँ मैले कोही आफ्ना भेटिन । शहरको भिडमा म आफू आफैसँग हराई रहेको थिएँ । "कुनै दिन सर पनि चोरीनु भएको खबर आउन बेर छैन"- मायाले भनेका यी कुरा झट्ट याद आयो । म चोरीएको त थिईनँ तर हराई रहेको थिएँ यहाँ । साँच्ची कुनै दिन म यस शहरबाट साँच्चिनै हराएँ भनें !!
म गिरफ्तारीमा परेको र छुटेको थाहा पाए देखि नै मेरो परिवारबाट यहाँ नबस्न तिब्र दबाब आइरहेको थियो । र, अब यहाँ बसिरहन मलाई पनि असुरक्षित महसुस हुँदै थियो । आज रातभरमै मैले एउटा बोल्ड निर्णय लिनु पर्ने भयो ।
बिहान सबेरै निद खुल्यो । किन किन आज ज्यान चङ्गा जस्तै हलुका महसुस भैरहेको थियो । तनाव मुक्त थिएँ म । खाना खाईवरी समयमै अफिस पुगें । कम्प्युटर खोलें केही कुरा टाइप गरें एक प्रति प्रिन्ट गरें र सरासर कार्यालय प्रमुखको कक्षमा गएँ । अभिबादन आदानप्रदान पछि हातमा लिईराखेको पेपर उनलाई दिएँ । पत्र पढिसकेसी उनले अचम्मित हुँदै प्रश्न गरे- "राजेन्द्र सर तपाईंबाट राजीनामा !! तर के कारणले ?"
"कारण त प्रष्ट छ नि, यस्तो अशान्त वातावरण र चौतर्फी निगरानीको बिचमा म कसरी काम गर्न सक्छु सर ?"
उनी केही बोलेनन् । मैले मेरो जिम्मामा रहेका सम्पूर्ण फाइल र कागजातहरु उनलाई सुम्पिएँ ।
एकै छिनमै म अफिसबाट बाहिरिई सकेको थिएँ । सरासर म उहि चौतारी पछाडिको सानो चमेना गृहमा पुगें जहाँ बितेका केही दिन यता मैले कमरेड उमंगसँग भेट्ने गरेको थिएँ ।

कमरेड उमंगले करिब आधा घण्टा टाढा रहेको माओवादी पार्टीको आमसभा स्थलमा पुर्याए। खचाखच मानिसले भरिएको सभामा म संगै थुप्रैले माओवादी पार्टीको सदस्यता ग्रहण गरी पूर्णकालीन सदस्यता लिए ।
सेना प्रहरीको निगरानीमा रहनु र माओवादी धम्की खेपेर अधमरो जिन्दगी जीउनु भन्दा माओवादी भएरै हिँड्नु उचित लागेपछि मैले खाईपाईको जागिर पनि छाडेर यसरी माओवादी कार्यकर्ता बनेर हिडेँ । सुरुका दिनमा अर्घाखाँची र सल्यानका घना जंगलमा सैनिक तालिममा सहभागी भएँ ।

माओवादी पार्टीमा लागेर हिँडेको खबर घरमा पठाई सकेको थिएँ । सुरु सुरुका दिनमा घरको यादले सतायो । मनको क्यानभाषमा मायाको तस्बिर उस्तै गरी आई रह्यो केही दिन केही हप्ता । तर पछि पार्टीको स्कुलिङ् र फौजी खटनले यति ब्यस्त बनायो कि त्यहाँ आफू, आफ्नो पार्टी र जनयुद्ध बाहेक केही सोंच्नै सकिन । जनयुद्धमा लागेर भुमिगत भै हिँडेको चार पाँच सालमा एकाध पटक पार्टीको काम बिशेषले जाने क्रममा पसेको बाहेक घरमा गएको मलाई सम्झना छैन । जनयुद्धमा लागेको करिब डेढ बर्षपछि पहिलो पटक घर गएको थिएँ । मायालाई भेट्न उनको चिया पसल भएको ठाउँ पुगें तर त्यहाँ न त मायाँ थिई न त उसको चिया पसल । मन खिन्न भयो । छिट्टै आउनुहोस् है सर भनेकी थिई हिड्ने बेलामा । दुई हप्ताको लागी हिँडेको म डेढ बर्ष पछि फर्केको थिएँ । उसको पसल भएको ठाउँमा ठुलो बिल्डिङ् बनेको थियो र त्यहाँ अहिले हार्डवयर पसल थियो । कसैले पनि मलाई माया कहाँ गई भनेर बताउन सकेन । त्यसपछिका करीब चार बर्ष म जनयुद्ध र फौजी कारवाहीमै ब्यस्त भएँ । बिस्तारै मायाका यादहरु जीवनबाट ओझेल पर्दै गए ।

माओवादी पार्टीमा रहँदा दाङ्, सल्यान्, अर्घाखाँची र पाल्पा आक्रमणमा सहभागी भएँ म । पाल्पा सदरमुकाम तानसेनमा पार्टीले केही ब्यक्तिको सफाया गरेपछि भने म पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर सैन्य मोर्चा त्यागी राजनीतिक मोर्चामा सहभागी हुन थालेँ । तानसेनको घटनासँग मेरो केही असहमति रह्यो केही कुरा मैले चाहेर पनि गर्न सकिन । जायज कुरालाई कुल्चेर नाजायज कुरालाई समर्थन गर्नु मेरो नैतिकताले दिएन । आफ्नै आँखा अगाडि निर्दोष मानिसलाई समातेर मारिएपछि मलाई पार्टीको फौजी लाईन र बिरोधी सफाया प्रबृत्ति प्रति बितृष्णा उत्पन्न भयो । पछि पार्टीले राजनीतिक लाईन बदल्यो र नेकपा माओवादी खुल्ला राजनीतिमा प्रवेश गर्यो । लगत्तै पार्टी संसदमा प्रवेश गरी सरकारमा पुग्यो । जनजीविका र बर्ग संघर्षको मुद्दालाई पाखा लगाएर अवसरबादी पथबाट पार्टी गुज्रिन थालेपछि मैले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिई स्वतन्त्र जीवन यापन गर्ने निर्णय गरें ।

पार्टी जिम्मेवारीबाट राजीनामा दिए लगत्तै काठमाडौँबाट घर जान बस चढें । तनहुँ खैरेनीटार आईपुगेसी एक जना बिधवा महिला सानो बच्चाको साथमा बसमा चढिन् । महिला कहिँ कतै चिनेको जानेको जस्तै लाग्यो तर यही हो भनेर ठम्याउन सकिन । एकैछिनमा ति महिला मेरै आडको सिटमा बस्न आईपुगिन् । जब ति महिला मेरो आडैमा बसिन् मेरो होसले ठाउँ छोड्यो । मैले उनलाई राम्ररी चिनें तर उनले मलाई चिनिनन् । म पहिला पातलो मान्छे थिएँ अहिले मोटाएको थिएँ, दाह्री पालेको थिएँ चस्मा पहिरिएको थिएँ । त्यसैले उनले मलाई चिनिनन् । यी महिला पहिला हल्का र छरितो जीउडालकी, हल्का कालो बर्णकी तर चम्किली अनि आकर्षक थिईन् तर अहिले पातलो शरीर, फुस्रो रंग उडेजस्तो अनुहार र उस्तै कपडाको रंग पनि । उनलाई चिनेपछि म स्तब्ध भएँ । चार पाँच बर्षिय बच्चाको साथमा मेरो आडैको सिटमा बस्ने ति महिला तिनै माया थिईन् जसको हातले बनाएको चिया नपिएसम्म कुनै समय म अफिसबाट घर जाँदिनथें । यि तिनै माया थिईन् जसको रुप, यौवन र ब्यवहारबाट प्रभावित भएर म उनको एकोहोरो प्रेममा नजानिँदो किसिमले परेको थिएँ । यि तिनै माया थिईन् जसको सम्झनाले सुरुका दिनमा कैयौं पटक म माओवादी जनयुद्धबाट भागेर घर जाने सम्म सोच्न भ्याएको थिएँ । उनले मलाई नचिनेर ठिकै गरिन् जस्तो लाग्यो किनकी चिनेको भए उनले अतितका पुराना घाउ कोट्याउने थिइन् र सायद त्यसको पीडा उनले भन्दा बढी मैले सहनु पर्थ्यो । अथवा उनले मेरो अतितको बारेमा सोध्ने थिईन् र सायद मनमनै मलाई धोकेबाज पो भन्ने थिईन् कि ! किनकी मलाई अहिले पनि याद छ उनले कहिल्यै ब्यक्त गर्न नचाहे पनि उनी मलाई प्रेम गर्थिन् ।

बस आफ्नो गन्तब्यमा अगाडि बढ्दै गयो । म उनीसँग गफिन सुरु गरें । मलाई उनी र उनको जीवनमा बितेका पाँच/छ बर्षमा के के भए जान्न मन भयो । उनले पनि एक अपरिचित मानिससँग आफ्ना दुःखका पैया फुकाउन थालिन् । उनका प्रत्येक आवाजमा दुःख, असन्तुष्टी र पीडा मात्रै भेटें मैले । कतिचाँडै उनी बिबाहित र बिधवा पनि भईछन् कठै । कति चाँडै समयले कोल्टो फेर्दो रैछ !! उनको जीवनको रुखका हरिया पातहरु कति चाँडै ओईलाएछन् ? कुन खडेरीमा परेर उनका सपनाहरु बिपना हुन नपाई झरेछन् ? मनमा अनेक प्रश्नहरुले दोहोरी खेल्न थाले । उनको दुःखसँग एकाकार हुन मन लाग्यो मलाई । हुन पनि कुनै समयमा आफूले मन पराएको मान्छे जिन्दगी र तकदिरको खेलमा हारेर पछारिई रहेको देख्दा म कसरी निरपेक्ष रहन सक्थेँ र ? उनले आफ्नो बिहे भएदेखि आज सम्मका सबैकुरा बताउँदै गईन् । जब उनले माओवादी द्वारा आफ्नो पतिको हत्या गरिएको घटनाका बारेमा बताईन् मैले आफू बसेको जमिन भासिएको महसुस गर्न थालेँ । आज आएर थाहा भयो उनको पति तिनै अभागी ब्यक्ति थिए जसको हत्या मेरो पार्टीले मेरै आँखा अगाडि गरेको थियो । पाल्पामा शिक्षक सेवामा रहेका उनका पतिलाई सुराकी गरेको आरोपमा मेरै पार्टी माओवादीले पक्रेको थियो । मलाई थाहा थियो उनी निर्दोष थिए । पहिलो पटक पक्राउ पर्दा मैले नै उनलाई भगाएको थिएँ तर दोस्रो पटकमा मैले बचाउन सकिन उनी मेरै अगाडि मारिए । बिरोधीहरुले उनी सेनाको लागी काम गर्ने सुराकी भएको भन्दै पटक पटक उनी बिरुद्ध सुराकी दिएका थिए । एउटा सामान्य नागरिकले यसरी अनाहकमा ज्यान गुमाउनु परेको तानसेन घटनाको साक्षी बनेको त्यै घटना पछि नै मैले माओवादी सैन्य बिभागका महत्त्वपूर्ण जिम्मेवारीबाट राजीनामा दिएको थिएँ । आज म पार्टीबाटै राजीनामा दिनुको थुप्रै कारणहरुको पृष्ठभूमिमा त्यो हत्याकाण्ड पनि एक थियो ।

माया जतिजति आफ्ना जीवन कहानी सुनाउँदै जान्थिन् म उति उति पग्लँदै गैरहेको थिएँ । यी उनै माया थिईन् जसलाई म मन मन्दिरमा सजाएको थिएँ । कुनै समय म यिनैसंग प्रणय जीवनको कल्पना गरेर रोमान्चित हुने गर्दथें । यिनीसँगको सामिप्ताले म भित्र उत्तेजना र उद्वेगको बाढी आउने गर्दथ्यो । म उनको सामिप्यता चाहन्थें उनी डराउँथिन आफ्नो परिचय लुकाउँथिन् । तर आज... म उनीसँग भागिरहेको महसुस गर्दैछु । म कसरी भनुँ कि म उही अर्जुन सर हुँ जो आफ्नो मन परेको मान्छेलाई बिधवा भेषमा देख्दा पनि रुन सकेको छैन । म कसरी भनुँ कि म उही अर्जुन सर हुँ जो हिजो जसको परिचय खोज्दै दिनहुँ चिया पसलमा धाउने गर्थ्यो आज उसैको सामुन्ने आफ्नो परिचय लुकाउन खोज्दैछ । मलाई उनीसँग होइन आफैसँग डर लाग्यो आफै हराए झैं लाग्यो भिडमा । उनले मेरो परिचय जान्ने कोशिश पनि गरिनन् ।

बोल्दै जाँदा उनका परेलीमा आँसु छचल्किरहेका थिए । त्यो आँसुमा मैले उनको बिगत देखें बर्तमान देखें अनि धुर्मैलो भविष्य देखें । उनले माओवादीलाई आफ्नो निर्दोष पतिको हत्यारा भनिरहँदा मैले आफ्नो निधारमा पनि त्यो रगतको छिटा लागेको महसुस गरें । निधार छामें- चिडचिड पसिना आएको रहेछ । सिकारीको जालमा परेको मृग झैं म भित्रभित्रै मरिरहेको थिएँ । कतै उनले मलाई मेरो बारेमा मलाई सोधिन् भने ? या चिनिन् भने ? म उनको नजरमा हत्यारा हुनेछु या धोकेबाज ? उनले मेरो बारेमा सोधीन् भने म आफ्नो परिचय के भनेर दिऊँ ? आईएनजिओ को पूर्व कर्मचारी अर्जुन सर या पूर्व माओवादी लडाकु, उनको पूर्व प्रेमी या उनको सपनाहरूको हत्यारा ? वास्तवमा म आफै परिचय बिहिन भैसकेको थिएँ । उनको अनुहार हेर्नै सकिन ।

बस दमौली आइपुग्यो । ''हवस्त...राम्रोसँग जानुहोला" यति भनेर म बसबाट ओर्लिएँ । उनको काखको बच्चाले म बसबाट ओर्लने बेलासम्म मलाई हेरि रह्यो ।

यो कस्तो परिचय ? परिचित भएर पनि अपरिचित भएँ म आँफैसँग अनि आफ्नै मायासँग । मलाई माफ गर है माया म तिम्रो जीवन कथा अब कहिल्यै सोध्ने छैन ।
धन्यवाद !!!

कथाकार-अजित क्षेत्री
मिति-05-07-2016
नोट-कथाको कपिराइट कथाकारमा निहित 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger