Showing posts with label लघुकथा. Show all posts
Showing posts with label लघुकथा. Show all posts

कथाकार अजित क्षेत्रीको लघुकथा -बेलुन (Belun- Short Story by Ajit Chhetri )-30-12-2016

NepaliTalim | 10:22:00 AM | 0 comments
शिर्षक -बेलुन
कथाकार -
अजित क्षेत्री, स्याङ्जा, हाल: युएई

      कलेजमा ग्राजुयसनको अन्तिम बर्षको अन्तिम दिनहरु चल्दै थिए । केही उत्साहित र केही बिस्मित पनि थियौं हामी । उस्साहित यस कारण कि यो हाम्रो अन्तिम बर्ष थियो र अघिल्ला बर्षहरुका कुनै पेपर ब्याक लागेको थिएन । आउँदो बर्षको यसै मौसममा हामी मध्येका कति साथी बैंकमा, कति सरकारी अड्डामा र कतिपय एनजिओ आईएनजिमा काम गरिरहेका हुनेछौं । बिस्मय यसकारण कि हामीले जीवनको यो रमाइलो पाटो, केटौलेपन र जिम्मेवारी बिहीन जिन्दगीलाई कहिल्यै नपाउने गरी पछाडि छाड्दै थियौं । क्लास बंक गरी चुलबुले केटी साथीको साथमा हलमा पुगी शाहरुख खानका फिलिम हेर्नु अनि चौरमा बसी बदाम खाने यी पलहरु कलेजको तेस्रो बर्षको अन्त्यसँगै हाम्रो जीवनबाट अतित बन्ने तरखरमा छन् । कहिले चुरोट पिउँदै गर्दा केटी साथीले खोसेर एक टिप तानेको त कहिले लुकेर निला चलचित्र हेरेको बेला तिनै केटीहरुले फेला पारेको, अब यी कुराहरु अर्को बर्षदेखी हाम्रा मानसपटलमा मिठा अतित बनेर बल्झिरहने छन् ।

       म साथी सुलोचनाको डायरीमा सम्झनाका शब्दहरु कोर्दै थिएँ । तिनताका ईन्टरमिडियट, ग्राजुयशन वा डिग्री तहका अन्तिम बर्षका बिधार्थीले सम्झनाका लागी डायरी बनाउने र साथीहरुका हातबाट केही शब्द लेख्न लगाउने, तस्बिर टाँसेर राख्ने चलन थियो । मैले डायरी बनाई सकेको थिएँ । मेरो डायरीमा सुलोचना, पद्मा, सन्तोष, आरती, बिशाल, बिजया लगायतका थुप्रै साथीहरुले लेखिसकेका थिए । सुलोचनाको डायरी भरेर त्यसमा आफ्नो फोटो चिप्काउँदै थिएँ, समाजशास्त्रमा अध्यापक मिश्र सर कक्षामा प्रवेश गर्नुभयो, मैले डायरी बन्द गरें र समाजशास्त्रको किताब निकालें ।

      मिजाशिलो स्वभावका मिश्र सर नेपाली भाषामा कतैकतै मैथेली र हिन्दी मिसाएर बोल्नु हुन्थ्यो यधपी त्यो मिठो र सुन्दर भाषिक शिल्पीले निखारिएको हुन्थ्यो । हामी उहाँको क्लास कहिल्यै बङ्क गरेनौं किनकी उहाँले किताबी ज्ञान कम्ती र ब्यबहारीक ज्ञान ज्यादा दिनु हुन्थ्यो । सरको प्रबेशले क्लासको वातावरण एकाएक शान्त बन्यो । सरले उही चिर परिचित शैलीमा भन्नुभयो- ''आज एक खेल खेल्ने ।'' खेल भन्नासाथ सबै बिधार्थीको मस्तिष्क बाहिर मैदानमा पुगिसकेको थियो । सरले खल्तीबाट एउटा पोलिथिन ब्याग र त्यो ब्यागबाट थुप्रै बेलुन निकाल्नु भयो । यो कस्तो खेल हो हँ ?- हामी मुखामुख गर्न लाग्यौं। सरले ति बेलुन हाम्लाई दिनुभयो र फुक्न लगाउनु भयो । फुकी सकेपछि ति एकएक बेलुनमा क्लासका एकएक  बिधार्थीका नाम लेख्न लगाउनु भयो, लेख्यौं ।
     
     सर आँफैले एउटा प्याकिङ् बक्स ल्याएर ति फुकिएका बेलुन त्यसभित्र राख्नु भयो र भन्नु भयो: ''लौ सबैजना एकैसाथ अगाडी आओ र बक्सबाट आफ्नो नाम लेखिएको बेलुन निकाल ।'' दाम्लोबाट फुकाइएका डिँगा झैं हामी सबै एकसाथ तँछाडमछाड गर्दै बेलुन खोज्न लाग्यौं । पच्चिस बिधार्थी हामी बेलुन खोसाखोस जस्तै गर्न थाल्यौं । भिडभाडमा कसैले आफ्नो नामको बेलुन भेटाएन । मेरो नामको अरूको हातमा, अरूको नामको मेरो हातमा....यस्तै यस्तै भयो । पाँच मिनेट बित्यो असिनपसिन भैयो । सर एक छेउमा बसेर मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो । सकिएन । बेलुनको केटाकेटी खेलले पनि आज हामी पाका उमेरका बिधार्थीलाई थकाउँदा लज्जित भयौं । जिन्दगीमा आज न पाको भयौं न केटाकेटी हुन सक्यौं ।

       सरले बेलुन खोज्ने खेल रोक्ने ईसारा गरेपछि हामी रोकियौं । उहाँले खेलमा नयाँ नियम लगाउँदै भन्नुभयो: 'ल फेरी पनि सबैजनाले पहिले जसरी नै बेलुन खोज्नु तर यसपटक जसले जसको नाम लेखिएको बेलुन भेटाउँछ उसले सम्बन्धित ब्यक्तिको नाम बोलाउनु र फटाफट बेलुन दिनु । हामीले त्यसै गर्यौं । मैले उदय, आशिस र सन्तोषको नामको बेलुन भेटाएर दिएँ । बिजयाले मेरो बेलुन भेटिन् र मलाई दिइन् । एक मिनेट नपुग्दै सबैको हातमा आ- आफ्नो नामको बेलुन थियो । तर खेल अझै बुझिएन कसले जित्यो कसले हार्यो कहाँ सुरु कहाँ खतम ।
मिश्र सर सबै बिधार्थीको अगाडी उभिनु भो र भन्नु भो: 'खेल बल्ल सुरु भो ।'
खेल बल्ल सुरु भो- यो कुराले हामी झन् जिल्ल भयौं । सकिए पछि सुरु हुने यो कस्तो खेल? हामी त मरुभूमीमा हराएको सिकन्दरको घोडा जस्तै पो भयौं ।

      सरले चिरपरिचित हँसिलो मुद्रामा भन्नुभयो:- ''मेरा प्यारा बिधार्थी हो, बेलुनको खेल त एक दृष्टान्त मात्रै हो । तिमीहरुले जिवनमा यस्तै थुप्रै बास्तविक खेल खेल्नु छ । बल्ल तिमीहरु जिवनको खेल मैदानमा आएका छौ र खेल बल्ल सुरु भएको छ ।''

मिश्र सरले अगाडी भन्नुभयो:- '' पहिलो खेलमा सबैले आफ्नो नामको मात्र बेलुन खोज्यौ र असफल भयौ । दोस्रो पटकमा एकले अर्काको बेलुन भेट्यौ र दियौ, सबैले जित्यौ । म कसम खाएर भन्छु जुन दिनदेखी म मात्रै भन्ने स्वार्थी भावना त्यागेर हामी सबै भन्ने भावनाले काम गर्नेछौ, तिमी सबैजना सफल हुनेछौ ।''

यस्तो गहन बिषयलाई यति सरल र यति मिहिन पाराले सम्झाउने मिश्र सरको अध्यापकीय शैलीले हामी नतमस्तक भयौं ।

आज पनि जब जब मेरो सानो छोराले बेलुन फुक्छ म तिनै मिश्र सरलाई सम्झन्छु ।

____ अजित क्षेत्री, स्याङ्जा
        हाल: युएई

Note :
Copyright Reserved with Writer 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger