कथाकार अजित क्षेत्रीको कथा -प्रेमको बाछिटा (Story-Premko Bachhita by Ajit Chhetri) :-20-07-2016

NepaliTalim | 3:26:00 PM | 0 comments
अजित क्षेत्री
कथा -प्रेमको बाछिटा
-अजित क्षेत्री
मिति -20-07-2016

अफिस सकिनासाथ आज पनि उही चिया पसलमा पुगिसकेको थिएँ । पसलकी साहुनी चिया पकाउँदै रहिछन् ।

केही दिनयता अफिसपछि घर फर्कने बेला यही पसलमा चिया र समोसा खाने दैनिकी नै बनेको छ । रङ कडा र बाक्लो दूधको चिया गिलासभरि पाइने भएकैले म यही पसलमा आउने गर्छु ।

अफिस नजिकैका चिया पसलेहरु नजिकको तीर्थ हेला गर्‍यो भनेर मुख खुम्च्याउँछन् । कसैले केटीले पकाएको चिया खान गएको भन्छन् । कसैले चिया खाने निहुँले त्यही केटीलाई जिस्काउन गएको ठान्छन् । तर म चियाको स्वादमै पल्केर यहाँ आउँछु ।

करिब आठ/दस फुट चौडा सटरमा खोलिएको छ चिया पसल । पसलमा दुईवटा टेबल, आठ/दस कुर्सी र एउटा बेन्च छ । छेउमै समोसा, पकौडा र बिस्कुटले भरिएको सानो सोकेस छ । सोकेसको छेउमा छ ग्यास चुल्हो ।

भित्तामा एउटा क्यालेन्डर, स्वर्गीय राजा वीरेन्द्रको परिवारको फोटो, साप्ताहिक पत्रिकाको केही ब्लोअप र त्यसको सामुन्ने एउटा ऐना । यही हो यो पसलको चिनारी ।

पसल एक युवतीले चलाएकी छिन् । अन्दाजी पच्चीस वर्षकी अग्लो कदकी युवतीको मुहार हल्का कालो वर्णको छ । मुस्काउँदै बोल्ने उसको सम्बोधनमा आदर झल्किन्छ । काममा फूर्तिली र हातको स्वाद मीठो ।

पसलमा पुग्नासाथ भित्ताको ऐनामा दिनभरिको कामले च्याउसिएको आफ्नो अनुहार एक खेप हेर्नु र गाला छेउछाउ फस्टाएका डन्डिफोर निचोर्नु मेरो बानी नै बनिसक्यो ।

ऐनामा एक झलक हेरिसकेर बसेको के थिएँ चिया आइपुग्यो टेबुलमा ।
“समोसा पनि ल्याऊँ सर ?” उसले भनी ।

“उम्” मैले टाउको हल्लाएँ ।
प्लेटमा समोसा पनि आयो ।

“आज त खूब च्वाँक देखिएकी छ्यौ नि !”- मैले जिस्काउने सुर कसेँ ।
“अँ होला खुब ! सर पनि जे पायो त्यै बोल्दिनु हुन्छ ।” उसको प्रतिक्रिया थियो ।
“हो भन्या, कस्सम । आज झनै राम्री देखिएकी छ्यौ ।” मैले थपेँ ।
“राम्रो-नराम्रो त मान्छेको हेराइ हो सर । राम्रो त मन हुनुपर्छ मन ।” उसले भारी शब्दमा बोली ।
“तिमी मान्छे’नि राम्री । तिम्रो मन झनै सुन्दर, आकाशको रंगीन चंगाजस्तै ।”  फुर्क्याउने पाराले भनेँ ।

तर, ऊ फुर्किइन ।
‘आकाशको चङ्गा जतिसुकै राम्रो भए पनि कि त कसैको मुठीमा आउने हो, कि त धागो चुँडिएर कतै पछारिने हो । तपाईँ पनि मलाई पछार्दै हुनुहुन्छ सर ।’ उसले सहजै भनी ।
लाग्यो- उसले मलाई तीखो प्रहार गरी ।

रक्षात्मक हुँदै मैले भनेँ – ‘तिमी त राजकुमारले विशाल दरबारमा उडाउने चङ्गा जस्ती छ्यौ । चुँडिएर खसे’नि दरबारमै खस्छ्यौ ।’
मेरो कुरामा उसले कुनै प्रतिक्रिया जनाइन । सायद जरुरी पनि ठानिँन ।

ऊ सँग मैले यति धेरै सवालजवाफ गरेको यो पहिलो चोटि थियो । उसले यति खुलेको पनि यो पहिलो पटक ।

खासमा कुनै पनि ग्राहकसँग धेरै बोल्दिन ऊ । रिसाउँदिन पनि । ऊ अर्थात् यो चिया पसलकी साहुनी । नाम अझैसम्म थाहा थिएन ।

कसैसँग नजर नजुधाई काममै घोरिन्छे हरदम । नजर नजुधाउने मानिस कसैसँग सजिलै प्रेममा फस्दैन भन्छन् । मलाई लाग्छ ऊ आजसम्म प्रेमको मीठो फल नखाएकी यौवनकी कलि हो । धत् ! मैले त के के सोच्न भ्याइसकेछु ।

साँच्ची, युवतीहरु पनि हामी युवकको बारेमा यस्तै सोच्दा हुन् त ?

सोचेँ – युवतीहरु प्रेम र यौन अनि घरजमको बारेमा सोच्नुभन्दा युवकको सुगठित शरीर र उसको आम्दानीका बारेमा सोच्छन् होला । मेरा एक मित्र भन्ने गर्थे – ‘पुरुषको एक चौथाइ जिन्दगी युवतीको बारेमा सोचेर बित्छ । युवतीको आधा जिन्दगी मेकअप गरेर र ठूलो घरकी मालिक्नी हुने सपना देखेरै बित्छ ।’

सोचेँ – ठीकै भन्थ्यो उसले ।
“साहुनी सुन त !” बोलाएँ ।
“प्लीज सर मलाई साहुनी नभन्नुस् न ।” उसले आग्रह र निर्देशन मिसिएको स्वरमा भनी ।
“पसल चलाउछ्यौ, साहुनी नभनेर के भनूँ त ?”
“जुठो भाँडा उठाएर एक-एक पैसा बटुल्ने मान्छे के को साहुनी नि ?” उसको प्रतिप्रश्न आयो ।
“त्यसो भए के भनूँ त ?” म अलमलिएँ ।
“बैनी भन्नुस् ।” उसले सहजै भनी ।
ऊ सहज हुन खोजी । मलाई भने असहज भयो ।
ऊ एकातिर दूरी मेटाउँदै थिई । तर, अर्कातिर सीमाना पनि कोर्दै थिई ।
“नाइँ । बैनी त भन्दिनँ ।” मैले थपेँ – “यस्तो सजाय मलाई नदेऊ । यो त बाघलाई दाह्रा र नङ्ग्रा भाँचेर बाख्राको खोरमा छोडे जस्तै भयो ।”
“पापी !”- उसले धारे हात लगाएजस्तो गरी मायालु पारामा भनी ।
पापी शब्द सुन्नासाथै यस्तो लाग्यो, मानौं मलाई यमराजको अघिल्तिर उभ्याइएको छ र मैले गरेका पापहरुको लामो सूची वाचन गरिँदै छ ।
“म त धर्मको खोजीमा निस्केको मान्छे, तिमीले त पापी पनि घोषित गरिदियौ है ?,”  बैनी बन्न तम्सिने साहुनीलाई मैले दङ्ग्याएँ ।

आज अलि बढी गफिएको थिएँ । किन-किन गफमा मजा आइरहेको थियो । गफको मिठासमा चियाको स्वाद फिका थियो ।
एकछिनको मौनता तोडेर मैले नै कुराको सिलसिला बढाएँ – ‘ए साँच्चि, तिम्रो नाम के हो नि ?’

”पापी नै त निस्कन्छन् धर्मको खोजीमा,” दार्शनिक शैलीमा उसले भनी- ”धर्म कमाउन त तीर्थ यात्रा र मन्दिर धाउनु नि सर, यता चिया पसलतिर होइन ।”
”जहाँ पवित्रता हुन्छ त्यही हो तीर्थ, जहाँ विश्वास हुन्छ त्यही हो मन्दिर, अनि जहाँ सेवा त्यही ईश्वर,” मैले पनि जाने जति एकै सासमा भन्दिएँ ।
“तर सर बाटोको ढुंगालाई फूल चढाउँदैमा त्यो ईश्वर बन्छ र ?” उसले प्रश्न तेर्स्याई ।
“ईश्वर त विश्वास गरेपछि हुने कुरा न हो । विश्वास गरेपछि अमूर्त कुरा पनि मूर्त बन्छ । ज्ञानीहरुले मात्र देख्न सक्छन् ईश्वरलाई ।” मैले भनेँ ।
“त्यसो भए तपाईं ज्ञानी हो ?”
”होइन, ज्ञान प्राप्त गर्न ध्यान चाहिन्छ । म ध्यान गर्न सक्दिनँ ।” मैले भनेँ ।
ऊ केही बोलिन । पसलमा चिया पिउन आएका ग्राहकहरु गइसकेका थिए ।

मैले पनि चिया सकिसकेको थिएँ । पैसा बुझाएँ ।

आज अलि बढी गफिएको थिएँ । किन-किन गफमा मजा आइरहेको थियो । गफको मिठासमा चियाको स्वाद फिका थियो ।
एकछिनको मौनता तोडेर मैले नै कुराको सिलसिला बढाएँ – ‘ए साँच्चि, तिम्रो नाम के हो नि ?’

हुन पनि यतिका दिनसम्म मैले उसको नाम सोधेको थिइनँ ।

“के राखेको छ र नाममा ? नाम बिना पनि तपाईंले मलाई चिनिराख्नुभएकै छ क्यारे ।” झटारोले लाग्ने गरी हिर्काई उसले ।

आज उसले जित्दै गइरहेकी थिई । म हार्दै थिएँ । तर यस्तो लाग्दै थियो – हारे पनि रेफ्रीले मलाई नै विजयी घोषणा गरिरहेको छ ।
“नाम व्यक्तिको परिचय हो । व्यक्तिको अनुपस्थितिमा पनि नामले उसको भूमिका निर्वाह गर्छ ।” मैले उसलाई पढाउन खोजेँ ।
“त्यसो भए नाम बिना मान्छेको परिचय नै हुँदैन त ? जे नाम भए पनि म मैँ हुँ, नामको शृंगारले मान्छेको बाहिरी परिचयमा त केही भिन्नता देखिएला तर मैले जिउने जिन्दगी र मेरा सपनामा मलाई साथ दिन्छन् जस्तो लाग्दैन सर ।” उल्टै उसैले पो मेरो क्लास लिने छाँट देखाई ।
उसको दार्शनिक जवाफले म अवाक् भएँ । मैले भनेँ- ‘दर्शन सिक्न त कोही तिमीसँग आओस् ।’
“सर तारिफ धेरै भयो अब जानुस् ढिला भयो,” उसले सम्झाई ।
नाम नभनी यसै टारी ।

घडी हेरेँ, साँझको सात बजिसकेछ । हल्का अँध्यारो हुँदैथ्यो । सरासर घरतिर लागेँ ।

OOOO

दिनहरु यसैगरी अगाडि बढ्दै गए ।

अफिस लागेका बेला दिनमा एकपटक उसको पसल पुग्ने रुटिन छँदै थियो । आदत नै बनिसकेको थियो – यो पसल, यहाँको एक कप चिया र उसको मुस्कान ।

आज-भोलि आफू कताकता हराउँदै गएको थिएँ । अफिस र चोकतिर मेरो बारेमा गाइँगुइँ चल्न थालेको थियो । तर, कसैले सामुन्नेमा मुखै चाहिँ फोरेका थिएनन् ।

खासमा साहुनीसँग मेरो कुनै खास सम्बन्ध भने थिएन । म उसका लागि अरु ग्राहक सरह नै थिएँ । तर, मेरा लागि ऊ खास बन्दै गएकी थिई। खास कुन अर्थमा भने उसको पसल मेरा लागि सुस्ताउने चौतारी बनेको थियो ।

चञ्चले उमेरमा ठिटा-ठिटीहरु यस्तो भएन, त्यस्तो चाहियो भन्दै बाबुआमालाई दङ्ग्याउँछन् । ऊ भने आफ्नो उमेरभन्दा गह्रुंगो जिम्मेवारी बोकिरहेकी थिई ।

मैले एकदिन कारण सोधेँ । बुबा प्यारालाइसिसका कारण बितेको र वृद्ध आमाको काँधमा घरको जिम्मेवारी आएकाले परिवारलाई सघाउन पसल चलाएको उसले बताएकी थिई ।

अर्को दिन समयमै अफिस पुगेँ । अघिल्लो दिनको केही काम बाँकी थियो- सकेँ । अफिसमा अडिट सुरु हुने लागेको थियो । त्यसैको तयारीस्वरुप भोलि बिहानै म र अर्का एक कर्मचारी करिब दुई साताको लागि सुर्खेतको वीरेन्द्रनगर जानुपर्ने भयो ।

अफिसमा बसेर जाने तयारी गर्दै गर्दा मनमा हुटहुटी भइरहेको थियो । एक मन पहिल्यै वीरेन्द्रनगर पुगिसकेको थियो भने अर्को मन यतै कतै अल्झिरहेको थियो ।

काम सकेर अफिसबाट निस्कँदा साँझको ६ बज्नै लागेको थियो ।

सरासर उही चिया पसलमा गएँ । भित्तामा झुन्डिएको ऐनामा आफ्नो अनुहारको एक्स रे गरेँ । छेउको कुर्सीमा बसेँ । उही परिचित शैलीमा उसले चिया र समोसा टेबलमा राखिदिई । किन-किन आज मैले चिया एक चुस्कीभन्दा बढ्ता पिउनै सकिनँ । उसलाई मात्र एकोहोरो हेरिरहूँ लागेको थियो । भर्खर नुहाएर निस्केकी कुमारी युवतीको शरीरबाट बास्ना निस्के झैं उसको शरीरको बास्नाले लठ्याए झैं भयो । उसलाई छाडेर केही दिन वीरेन्द्रनगरको अपरिचित भिडमा जाँदै थिएँ भोलि । यो पनि पीडा जस्तै भएको थियो ।

ऊ मेरो सामुन्नेको टेबलमा रायोको साग केलाउँदै थिई ।
“भोलि म सुर्खेत जाँदैछु नि ।”- काममा एकोहोरिएकी ऊ मेरो यो अप्रत्यासित कुराले झस्के जस्ती भई ।
“आबुई हो र ! कति कामले नि ? कि उतै बस्ने हो र अब सर ?” उस्सुकता र विस्मयका साथ उसले एकैपटकमा थुप्रै प्रश्न सोधी ।
“करिब १५ दिनका लागि ।”
मैले यसो भने पनि उनको अनुहारमा कुनै परिवर्तन देखिएन । लाग्यो- मेरो जवाफबाट सन्तुष्ट भइन ऊ । आफ्नो जवाफबाट म आफैं पनि सन्तुष्ट हुन सकेको थिइनँ ।
झ्वाट्ट मुखमा आयो – “तर १५ दिन मेरा लागि १५ वर्ष जत्तिकै लामा हुनेछन् ।”
“किन नि त्यस्तो, सर ?”

“मन यतै छुटेपछि त्यहाँ कसरी रमाउन सकिन्छ र ?” मैले जवाफ दिएँ ।
“महासय, मन किन यतै छोडि जाने नि ? आफ्नो मन आफैसँग लैजाने गर्नुहोला, नत्र चोरी हुन के बेर !” मलाई हाकाहाकी जिस्क्याई ।
‘महासय’ ! उसले पहिलो पटक यो शब्दले सम्बोधन गरी ।

मन चोरिन सक्छ भनेर उसले ठीक भनेकी थिई । पछिल्लो समय मन विस्तारै चोरिँदै गएको महसुस गर्दै थिएँ । र म चोरलाई चुपचाप मनको तालाचाबी सुम्पिँदै थिएँ ।
“मन त चोरी भइसक्यो ।” मैले भनेँ ।
“त्यसो भए उजुरी दिनुस् न मन चोरी भो भनेर ।”
“कहाँ दिऊँ उजुरी ? उनै चोर छन्, उनै सिपाही भएका छन्” मैले संकेत गरेँ ।
“मन चोरी भएको के प्रमाण छ तपाईंसँग ?”

उसको यो प्रश्नले म आफूलाई अदालतको कठघरामा उभिएको कैदी जस्तै महसुस गरें । यस्तो लाग्यो – जसको विरुद्ध उजुरी दिएको छु, उही मेरो उजुरी उपर सुनुवाइ गर्दै छ ।

“तिमी केरकार विभागको प्रहरी अधिकृत कि अदालतको न्यायाधीश हँ ?” सोधेँ ।

“तपाईँ जे सम्झनुस्,” उसले भनी- “तपाईंको हराएको मन भेटाउन सहयोग गर्न चाहने एउटा शुभचिन्तक मात्र हुँ म ।”
“उसो भए सुन,” मैले भनेँ- “मान्छेले आफैंलाई बिर्सनु, बिना पानी तैरिन खोज्नु र बिना हुरी मन टाढा-टाढासम्म पुग्नु मन चोरिएको लक्षण होइन त ?”

“कुन दिन सर पनि चोरिनु भयो रे भन्ने समाचार आउन बेर छैन ।”- हाँस्दै उसले थपी ।

“आओस् छिटै त्यो दिन ।”
हामी दुवै गलल्ल हाँस्यौं ।

घडी हेरें समय त घर्किसकेछ । पसलबाट निस्केर घरतर्फ पाइला बढाएँ । हिड्नै लाग्दा उसले भनी – “शुभयात्रा सर । चाँडै फर्कनुहोला ।”

हिँड्नै लाग्दा मैले आज फेरि उसको नाम सोधेँ । उसले यो पालि कुनै तर्क-वितर्क नगरी भनी सहज उत्तर दिई – “माया” ।
“माया” यो शब्द ननिदाउन्जेल कानमा गुञ्जिरह्यो ।

भोलिपल्ट बिहानै म अफिसको साथीसहित वीरेन्द्रनगरतर्फ लागेँ ।

OOO

वीरेन्द्रनगर आएको चौथो दिनमै दुई अपरिचित अनुहार हाम्रो अफिसमा छिरे र अभिवादन कमरेड भन्दै जोडले हात मिलाए । दुईमध्ये एक रक्षात्मक हिसाबले ढोकानेरै उभियो र अर्को हामीसँग गफिन थाल्यो । निकै मृदुभाषी यी युवक माओवादी जनयुद्धमा लागेका र भर्खरै यो बजारक्षेत्रको पार्टी इन्चार्ज भएर आएका रैछन् । असली नाम दीपक सुनाम । पार्टीले दिएको नाम कमरेड उमंग ।

केही आर्थिक सहयोग गर्नुपर्ने उनको माग थियो । हेड अफिससँग सल्लाह गर्नेछौं भनेर हामी उम्कियौं ।

उनीहरू त्यहाँबाट निस्केको दुई घण्टापछि पुलिसको एउटा भ्यान आएर हाम्रो कार्यालय अगाडि रोकियो । तत्काल हाम्रो कार्यालयलाई चारै तर्फबाट घेरा हाले । केही प्रहरी जवान कार्यालयका कागजात खानतलासी गर्न लागे । अफिसमा भएका हामी चारै जनालाई भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगे । त्यस दिन माओवादी कार्यकर्ताहरू हाम्रो कार्यालयमा आएको सुराकी कसैले प्रहरीलाई दिएको रहेछ ।

बिना कारण प्रहरी हिरासतमा १५ दिन जति राखियो हामीलाई । प्रहरी खोरमा बस्नुको पीडा र त्यहाँ भएको अपमानले हीनताबोध भयो । राज्यप्रति वितृष्णा पैदा भयो । माओवादीमा कतै पनि हाम्रो संलग्नता नपाइएको र हेड अफिसले मानव अधिकारकर्मी मार्फत दिएको दबाबका कारण १६औं दिनमा प्रहरी हिरासतबाट मुक्त भइयो । मुक्त भएपछि सीधै कोठामा पुगेँ । सहकर्मीहरु कोठामै भेट्न आए । भोलिपल्ट पनि कोठामै सुतेँ । अफिस जानै मन लागेन ।

अर्को दिनदेखि नियमित अफिस जान थालेँ । केही दिनअघि भएको अप्रत्यासित घटनाले मन विचलित भइरह्यो ।

एक दिन अचानक साँझपख तिनै माओवादीहरु बाटोमा भेट भए । प्रहरीले म र अन्य सहकर्मीलाई पक्राउ गरेर यातना दिएकोमा कमरेड उमंगले गहिरो दुःख व्यक्त गरे । सामन्ती राज्यसत्ताको विभेद र दमनविरुद्ध संघर्षमा उत्रन उनीहरुले मलाई आग्रह गरे । मैले उपयुक्त समयमा यसबारेमा सोच्न सकिने बताएँ ।

उनीहरुले मार्क्सवाद र माओवादी दर्शनका केही किताब मेरो हातमा थमाउँदै तिनको अध्ययन गरेर छिटै पार्टीको पूर्णकालीन कार्यकर्ता बन्न आउन आग्रह गरे ।

सबैभन्दा बढी त उही चिया पसलको याद आयो अनि मायाको । वीरेन्द्रनगरका कुनै पनि चिया पसलले मलाई मायाको झल्को मेटाउन सकेनन्

एकातिर माओवादीहरु मलाई माओवादी कार्यकर्ता बन्न दिनहुँ दबाब दिँदै थिए भने अर्कोतर्फ म र अफिसका सहकर्मीहरुमाथि सेना र प्रकोहरी निगरानी बढिरहेको थियो । माओवादीको साथमा बसेको अवस्थामा सुरक्षाकर्मीले फेला पारे मेरो पनि सफाया हुने निश्चित थियो । मन आतङ्कित थियो ।

दिनहरु बित्दै गए । म आफूलाई असुरक्षित महसुस गर्न थालेँ । कहिले माओवादी त कहिले सेना पुलिसका मान्छे भेट भइरहन्थे ।

एक दिन एकजना माओवादी कार्यकर्ता मेरो कार्यालयमै आएर अघिल्लो दिन हुने माओवादीको गोप्य सभामा सहभागी हुन जारी गरिएको उर्दी हातमा थमाएर गयो । चिठी सर्सर्ती पढेँ- अनिवार्य उपस्थित हुनु भनिएको थियो । पत्र खल्तीमा राख्ने हिम्मत आएन, टोकरीमा फाल्न पनि डर लाग्यो । म जस्तो प्रजातन्त्र र स्वतन्त्रताको पक्षधर मानिस कसरी माओवादी जनवादी अभ्यास स्वीकार गर्न सकूँला र भन्ने पनि सोचेँ । अर्कोतिर, माओवादी आग्रह र उर्दी लत्याउन सक्ने नैतिक बल पनि जुटाउन सकिनँ । मेरै जस्तो हालत रैछ अफिसका साथीहरुको पनि।

कार्यक्रममा जाऊँ त बिनसित्ति माओवादीको बिल्ला भिरिने र सेना-प्रहरीको आक्रमणको सिकार पनि बन्न सकिने डर । नजाऊँ भने माओवादीको उर्दी नमानेर उनीहरुको नजरमा विरोधी बनिने डर । खेदिएर भिरमा पुर्‍याइएको मृगको हालत भएको थियो मेरो । एकातिर भिर र अर्कोतिर विशाल नदी । भिरमा ज्यान फालूँ कि नदीमा हाम फालूँ ?

दुई साताको लागि वीरेन्द्रनगर आएको म करिब चार सातादेखि यतै थिएँ । अफिसको काम सकिनु त कता हो कता, हरेक दिन नयाँ-नयाँ उल्झनमा फस्दै थिएँ । एक दिन पनि एक युग जस्तै लाग्दै थियो ।

यस अवधिमा घर-परिवारको याद खूब आइरह्यो । सबैभन्दा बढी त उही चिया पसलको याद आयो अनि मायाको । वीरेन्द्रनगरका कुनै पनि चिया पसलले मलाई मायाको झल्को मेटाउन सकेनन् । यहाँका कुनै पनि पसलका चिया मलाई स्वादिला लागेनन् । साँच्चै भन्दा यो सहरले मलाई आफ्नो बनाउन सकेन, मैले यो सहरलाई आफ्नो बनाउन सकिनँ । यहाँ मैले कोही आफ्ना भेटिनँ ।

सहरको भिडमा म हराइरहेको थिएँ ।

“कुनै दिन सर पनि चोरिनुभएको समाचार आउन बेर छैन ।”- मायाले भनेका यी कुरा झट्ट याद आयो । म चोरिएको त थिइनँ तर हराइरहेको थिएँ यहाँ । साँच्ची कुनै दिन म यस सहरबाट साँच्चि नै हराएँ भने !

म गिरफ्तारीमा परेको र छुटेको थाहा पाएदेखि नै मेरो परिवारबाट यहाँ नबस्न तीव्र दबाब आइरहेको थियो । र, मलाई पनि अब यहाँ बसिरहन असुरक्षित महसुस हुँदै थियो । आज रातभरमै मैले एउटा साहसिक निर्णय लिनुपर्ने भयो ।

बिहान सबेरै निद्रा खुल्यो । किन-किन आज तनाव हटेर ज्यान चङ्गा भएको महसुस भइरहेको थियो । खाना खाइवरी समयमै अफिस पुगेँ । कम्प्युटर खोलेर केही कुरा टाइप गरेँ । एक प्रति प्रिन्ट गरेँ र सरासर कार्यालय प्रमुखको कक्षमा गएर उनलाई बुझाएँ ।

पत्र पढिसकेपछि उनले अचम्मित हुँदै प्रश्न गरे- “अर्जुन सर, तपाईंबाट राजीनामा ! तर के कारणले ?”

“कारण प्रष्टै छ सर । यस्तो अशान्त वातावरण र चौतर्फी निगरानीको बीचमा म कसरी काम गर्न सक्छु र ?”

उनी केही बोलेनन् ।

एकैछिनमा म अफिसबाट बाहिरिइसकेको थिएँ । सरासर म उही चौतारी पछाडिको सानो चमेनागृहमा पुगेँ, जहाँ बितेका केही दिनयता मैले कमरेड उमंगसँग भेट्ने गरेको थिएँ ।

जनयुद्धमा लागेको करिब डेढ वर्षपछि पहिलो पटक घर गएको थिएँ । मायालाई भेट्न उनको चिया पसल भएको ठाउँ पुगेँ । तर त्यहाँ न त माया थिई, न त उसको चिया पसल

उनले करिब केही पर रहेको माओवादी पार्टीको आमसभा स्थलमा पुर्‍याए । सभामा मसँगै थुप्रैले माओवादी पार्टीको पूर्णकालीन सदस्यता लिए ।

सेना प्रहरीको निगरानीमा रहनु र माओवादी धम्की खेपेर अधमरो जिन्दगी जिउनुभन्दा माओवादी भएरै हिँड्नु उचित लाग्यो ।

पार्टी प्रवेश लगत्तै अर्घाखाँची र सल्यानका घना जंगलमा सैनिक तालिममा सहभागी भएँ ।

माओवादी पार्टीमा लागेर हिँडेको खबर घरमा पठाइसकेको थिएँ । सुरुका दिनमा घरको यादले निकै सतायो । मनको क्यानभासमा मायाको तस्बिर उस्तै गरी आइरह्यो । केही दिन । केही हप्ता । तर, विस्तारै फौजी खटन र पार्टीको स्कुलिङले यति व्यस्त बनायो, त्यहाँ आफू, आफ्नो पार्टी र जनयुद्ध बाहेक केही सोच्न सकिनँ ।

जनयुद्धमा लागेर भूमिगत भएर हिँडेको चार-पाँच सालमा एक-दुई पटक घर गए । त्यो पनि पार्टीको कामविशेषले जाने क्रममा एकछिनका लागि पसियो ।

जनयुद्धमा लागेको करिब डेढ वर्षपछि पहिलो पटक घर गएको थिएँ । मायालाई भेट्न उनको चिया पसल भएको ठाउँ पुगेँ । तर त्यहाँ न त माया थिई, न त उसको चिया पसल । मन खिन्न भयो । ‘छिटै आउनुस् है सर’ भनेकी थिई हिँड्ने बेलामा ।

दुई साताको लागि हिँडेको म डेढ वर्षपछि फर्केको थिएँ । उसको पसल भएको ठाउँमा ठूलो भवन बनेको थियो र त्यहाँ अहिले हार्डवेयर पसल थियो । कसैले पनि मलाई माया कहाँ गई भनेर बताउन सकेनन् । त्यसपछिका करिब चार वर्ष म जनयुद्ध र फौजी कारबाहीमै व्यस्त भएँ । विस्तारै मायाका यादहरु जीवनबाट ओझेल पर्दै गए ।

माओवादी पार्टीमा रहँदा दाङ, सल्यान, अर्घाखाँची र पाल्पा आक्रमणमा सहभागी भएँ । पाल्पा सदरमुकाम तानसेनमा पार्टीले केही व्यक्तिको सफाया गरेपछि भने म पार्टीको सैन्य मोर्चा त्यागी राजनीतिक मोर्चामा सहभागी हुन थालेँ । तानसेनको घटनासँग मेरो केही असहमति रह्यो । आफ्नै आँखा अगाडि निर्दोष मानिसलाई समातेर मारिएपछि मलाई पार्टीको फौजी लाइन र सफाया प्रवृत्तिप्रति वितृष्णा भयो ।

पछि पार्टी शान्ति प्रक्रियामा आयो । पार्टी लाइन बदलेर नेकपा माओवादी खुला राजनीतिमा प्रवेश गर्‍यो । लगत्तै पार्टी संसदमा प्रवेश गरी सरकारमा पुग्यो । जनजीविका र वर्ग संघर्षको मुद्दालाई पाखा लगाएर अवसरवादी पथबाट पार्टी गुज्रिन थालेपछि मैले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिई स्वतन्त्र जीवनयापन गर्ने निर्णय गरेँ ।

पार्टी जिम्मेवारी छाडे लगत्तै काठमाडौँबाट घर जान बस चढेँ ।

तनहुँ खैरेनीटार आइपुगेपछि एक जना विधवा महिला सानो बच्चासहित बसमा चढिन् । महिला कहीँ कतै चिने-जानेको जस्तै लाग्यो । तर यही हो भनेर ठम्याउन सकिनँ । एकैछिनमा ती महिला मेरै छेवैको सिटमा बस्न आइपुगिन् । जब ती महिला मेरो आडैमा बसिन्, मेरो होसले ठाउँ छोड्यो ।

मैले उनलाई राम्ररी चिनेँ तर उनले मलाई चिनिनन् । म पहिला दुब्लो थिएँ, अहिले मोटाएको थिएँ । त्यसमा पनि दाह्री पालेर चश्मा लगाएको थिएँ । उनलाई चिनेपछि म स्तब्ध भएँ । पहिला छरितो जीउडाल र कालो वर्ण भए पनि हिस्सी परेकी युवती अहिले निकै गलेर फुङ्ग उडेकी ।

चार-पाँच वर्षे बच्चाको साथमा सिटमा बसेकी महिला मेरी साहुनी उनै माया थिइन् ।

यी तिनै माया थिइन्, जसको हातको चिया नखाएसम्म म अफिसबाट घरको बाटो देख्दैन थिएँ ।

यी तिनै माया थिइन्, रुप, बोली र व्यवहारबाट प्रभावित भएर म एकोहोरो प्रेममा परेको थिएँ ।

यी तिनै माया थिइन्, जसको सम्झनाले भक्कानिएर सुरुका दिनमा कैयौं पटक म माओवादी जनयुद्धबाट भागेर घर जानेसम्म सोच्थेँ ।

उनको दुःखसँग एकाकार हुन मन लाग्यो मलाई । हुन पनि कुनै समय आफूले मन पराएको मान्छे जिन्दगीको खेलमा पछारिएको देख्दा म कसरी निरपेक्ष रहन सक्थेँ र ?

उनले मलाई चिनेको भए अतीतका घाउ कोट्टिने थियो । मैले उनको बारेमा सोध्ने थिएँ, उनले मेरो बारेमा । सायद मनमनै मलाई धोकेवाज भन्ने थिइन् । किनकि मैले बुझेको थिएँ, भावना कहिल्यै व्यक्त नगरे पनि उनी पनि मलाई प्रेम गर्थिन् ।

नचिनेर ठीकै गरिन् जस्तो लाग्यो ।

बस अगाडि बढ्दै गयो । म अपरिचित पात्रकै रुपमा उनीसँग गफिन सुरु गरेँ ।

मलाई उनी र उनको जीवनमा बितेका पाँच/छ वर्षमा के-के भए जान्न मन भयो । उनले पनि मनमा गाँठो परेर बसेको आफ्नो दुःखको पोयो फुकाउन थालिन् । उनका प्रत्येक आवाजमा दुःख र असन्तुष्टि मात्रै भेटेँ । कति चाँडै विवाहित र विधवा पनि भइछन् कठै ! कति चाँडै समयले कोल्टो फेर्दो रैछ ! उनको जीवनको रुखका हरिया पातहरु कति चाँडै ओइलाएछन् ?

मनमा अनेक प्रश्नहरुले दोहोरी खेल्न थाले । उनको दुःखसँग एकाकार हुन मन लाग्यो मलाई । हुन पनि कुनै समय आफूले मन पराएको मान्छे जिन्दगीको खेलमा पछारिएको देख्दा म कसरी निरपेक्ष रहन सक्थेँ र ?

उनले आफ्नो बिहे भएदेखि आजसम्मका सबै कुरा बताउँदै गइन् ।

जब उनले माओवादीले आफ्नो पतिको हत्या गरेको घटनाबारे बताइन्, मैले आफू बसेको ठाउँ हजारौं फिट भासिएको महसुस गरेँ । आज आएर थाहा भयो- उनका पति तिनै अभागी व्यक्ति थिए जसको हत्या मेरो पार्टीले मेरै आँखा अगाडि गरेको थियो । पाल्पामा शिक्षक सेवामा रहेका उनका पतिलाई सुराकी गरेको आरोपमा सफाया गरेको थियो । उनी निर्दोष थिए भन्ने मलाई थाहा थियो । उनी पहिलोपटक पक्राउ पर्दा मैले नै उनलाई भगाएको थिएँ । तर, दोस्रो पटकमा बचाउन सकिनँ ।

एउटा निर्दोषले त्यसरी अनाहकमा ज्यान गुमाउनु परेको तानसेन घटनाको साक्षी बनेपछि नै मैले माओवादी सैन्य विभागको जिम्मेवारीबाट राजीनामा दिएको थिएँ ।

माया जति-जति आफ्ना कहानी सुनाउँदै जान्थिन्, म उति पग्लँदै गएको थिएँ । कुनै समय म यिनैसँग प्रणय जीवनको कल्पना गरेर रोमाञ्चित हुने गर्थेँ । म उनको निकटता चाहन्थेँ, उनी डराउँदै आफ्नो परिचय लुकाउँथिन् । तर आज म उनीसँग भागेर आफ्नो परिचय लुकाउँदै छु ।

म कसरी भनूँ म उही अर्जुन सर हुँ, जो आफ्नो मन परेको मान्छेलाई विधवा भेषमा देख्दा पनि रुन सकेको छैन । म कसरी भनूँ म उही अर्जुन सर हुँ, जो हिजो परिचय खोज्दै दिनहुँ चिया पसल धाउने गर्थ्यो आज उसैको सामुन्ने आफ्नो परिचय लुकाउन खोज्दै छ । मलाई उनीसँग होइन, आफैसँग डर लाग्यो । आफैं हराए झैं लाग्यो भिडमा । उनले मेरो परिचय जान्न पनि खोजिनन् ।

बोल्दै जाँदा उनका परेलीमा आँसु छचल्किरहेका थिए । त्यो आँसुमा मैले उनको विगत देखेँ, वर्तमान देखेँ अनि धमिलो भविष्य देखेँ ।

उनले माओवादीलाई आफ्नो निर्दोष पतिको हत्यारा भनिरहँदा मैले आफ्नो निधारमा पनि त्यो रगतको छिटा लागेको महसुस गरेँ । निधार छामें- चिटचिट पसिना आएको रहेछ । सिकारीको जालमा परेको मृग झैं म भित्रभित्रै मरिरहेको थिएँ । कतै उनले मलाई मेरो बारेमा मलाई सोधिन् भने ? या चिनिन् भने ? म उनको नजरमा हत्यारा हुनेछु या धोकेवाज ? उनले मेरो बारेमा सोधिन् भने म आफ्नो परिचय के भनेर दिऊँ ? आईएनजीओको पूर्व कर्मचारी अर्जुन सर या पूर्व माओवादी लडाकु, उनको पूर्वप्रेमी या उनको सपनाहरूको हत्यारा ?

वास्तवमा म आफैं परिचयविहीन भइसकेको थिएँ । उनको अनुहार हेर्नै सकिनँ ।

बस दमौली आइपुग्यो ।

कथा -प्रेमको बाछिटा
-अजित क्षेत्री
मिति -20-07-2016
कपिराइट लेखकमा निहित छ । 

श्रृंखला 213 : वहकिने मन Bahakine Man (18-07-2016/2073-04-03) : Download

NepaliTalim | 5:39:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -213
Thaha Sanchar Network Presents
DATE :  (18-07-2016/2073-04-03)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Facebook : Bahakine Man 
http://thahasanchar.com/

नमस्कार,

आज मिति 2073 साउन 03 तदनुसार 18-July-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 213 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -164 (10-07-2016/2073-03-26) : Download

NepaliTalim | 12:22:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(10-07-2016/2073-03-26)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 असार 26 गते तदनुसार 10-July-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

गजल-प्यार बोकेर सुमधुर प्रिया यस्तो भन्छिन (खगेन्द्र बोहरा)-12-07-2016

NepaliTalim | 10:22:00 AM | 0 comments
प्यार बोकेर सुमधुर प्रिया यस्तो भन्छिन
घर आउनु न हजुर प्रिया यस्तो भन्छिन  

  सुख दुःख दुबै मिलि यतै गरौंला नि
चाहिदैन सुनको गजुर प्रिया यस्तो भन्छिन

   सायदै बिलासिता नमिल्ला म मान्छु
हुन्छ आत्मा खुशी जरुर प्रिया यस्तो भन्छिन

   घर बाट जतिसुकै टाढा बसे पनि
हुदैन आफ्नोे लाहुर प्रिया यस्तो भन्छिन

  यसपालि त बाबा घर आउनु हुन्छ भनी
छोराछोरी भा छन् आतुर प्रिया यस्तो भन्छिन

खगेन्द्र बोहरा
गुलरिया कंचनपुर

पाठ २: मात्रा गणना, जुज, रुक्न, तक्तीअ र बहर (बहर पाठशाला बाट साभार - करूण थापा)

NepaliTalim | 10:12:00 AM | 0 comments
करूण थापा
शब्दका मात्रा या वजन (उर्दू वज्न)  
हामीले पहिलो पाठबाट थाहा पाइसक्यौं कि मात्रा लघु या गुरु हुन सक्छन् । हामीले लघुलाई १ र गुरुलाई २ भनेर गन्न सक्छौं । यी दुवै आफूमा भिन्न रुप हुन् । २ लघु बराबर १ गुरु नहुन पनि सक्छ । तर करीब करीब २ लघु बराबर १ गुरु हुने अवस्था मानिएकोछ । यसैले बहरमा कहिलेकाँही २ लघुको ठाउँमा १ गुरु पनि राख्न पाइने नियम छ ।

हाम्रो भाषा सँस्कृतबाट आएको हुनाले हामी लघु गुरु भन्छौं । अनि हामीकहाँ पिङगल छन्दको प्रावधान छ । अनि उर्दूमा पिङ्गल जस्तै नियमसँग मिल्दो बहर छ । यसै गरी ग्रीक र ल्याटिनमा पनि prosody भनिन्छ र ती भाषामा पनि आफ्नै किसिमका छन्द विद्यमान छन् ।

ल्याटिन जहाँबाट अँग्रेजी भाषा आएकोछ त्यहाँ पनि यो व्यवस्था छ जसमा mora भनेको मात्रा हुन्छ र १ mora (लघु) short syllable तथा २ mora लाई गुरु या long syllable मानिन्छ । तीन मात्राको अर्थात् १ mora (short syllable लघु) र २ mora (long syllable गुरु) सँयुक्त मात्रालाई trochee भनिन्छ । यसै गरी २ गुरु (४ mora) को समूहलाई spondee भनिन्छ ।

चार मात्राका ल्याटिन छन्दका रुपहरुः

Dactyl : 211
Anapest : 112
Spondee : 22
Proceleusmaticus : 1111

यी जस्तै अन्य विभिन्न रुप छन् र ल्याटिनमा यी माथिका 1 या 2 का सट्टा यिनलाई उच्चारण गर्दा लाग्ने समयको आधारमा सीधै संगीतका नोटेसनमा यिनलाई लेखिन्छ ।

यसैकारण छन्दशाश्त्र, अरुज या prosody जसले जहाँ जे जे भने पनि,  यिनका रुपहरु र नियमहरु केही भिन्न भए पनि आधारभूत कुराहरुमा सबैमा समानता पाइन्छ । यी छन्दशाश्त्र या अरुज या prosody को एकै लक्ष्य हो काव्यलाई गेय बनाउनु ।

यसलाई यहीं छोडेर लघु १ र गुरु २ लेखेर अब हामी अघि बढ्छौं । हामी छन्दमा भन्दा पनि बढी बहरमा केन्द्रित हुनेछौं किनकि गजलमा छन्द भन्दा पनि बहरको प्रयोग हुनुपर्छ ।

शब्दको मात्रा या वजन निर्धारण

हामी यो पाठमा विभिन्न शब्दहरुका मात्रा विभाजन या वजन निर्धारण बारेमा अझै गहिराईमा छलफल गर्नेछौं ।
पहिलो पाठमा छुट्याइका लघु र गुरु या १ या २ मात्राका वर्णहरुलाई लिएर कुनै पनि शब्दको वजन या मात्रा निर्धारित गर्न सकिन्छ । कुनै पनि शब्दको वजन त्यो शब्दको मात्राको जोड गरेपछि आउँछ । कुनै पनि शब्दको वजन कति हुन्छ भनेर अब हामी यहाँ केही उदाहरणका साथ अभ्यास गर्छौं ।

पहिला बहरमा मात्रा गणनाका साधारण नियममा हामी अभ्यस्त हुनाका लागि केही नियमहरु यहाँ राख्न चाहन्छौं । यहाँ भएका नियम बाहेक पनि केही उपनियमहरु छन् जसको चर्चा पछि बिस्तारमा गरिनेछ ।
बहरमा मात्राहरुको निर्धारण लिखित भन्दा पनि शुद्ध उच्चारण गर्दा सुनिने आवाजका आधारमा गरिन्छ । पिङ्गल छन्दमा भने लिखितको महत्व पनि त्यतिकै देखिन्छ । यसैले पिङ्गल छन्दमा लिखितमा खुट्टा काटेर त्यो अक्षर आधा हो भनिरहनुपर्छ भने बहरमा खुट्टा काटेर लेखिन जरुरी हुँदैन ।

बहर = एक दिन नारद सत्यलोक
छन्द = एक् दिन् नारद् सत्यलोक्

हुन त छन्द र बहरका नियममा समानता देखिन्छन् तर हामी बहरमा बढी अब केन्द्रित हुने भएकाले अब बहरकै हिसाबले नियमहरु पनि लेखिंदै गइनेछ । मात्रा गणना गर्ने पद्धतिलाई उर्दूमा तक्तीअ भनिन्छ । अबदेखि तक्तीअ शब्द नै प्रयोग गरिनेछ ।

नियमहरुः
क. अ इ उ ऋ तथा चन्द्रविन्दु आफैमा या व्यञ्जनको पछि आउँदा लघु हुन्छ = १ मात्रा
   उदाहरणः अ, इ, उ, ऋ, क, कि, कु, नि, अँ, कुँ आदि

ख. आ ई ऊ ए ऐ ओ औ अं आफैमा या व्यञ्जनको पछि आउँदा गुरु हुन्छ = २ मात्रा
   उदाहरणः  आ ई ऊ ए ऐ ओ औ अं, नै, लौ, पे, सं आदि

अन्य उदाहरणहरुः

सम्झिने = सम् + झि + ने = २ १ २
मन  = मन् = २
बिर्सुँ  = बिर् + सुँ = २ १
कसोरी  = क + सो + री ‍= १ २ २
जाने =  जा + ने = २ २
निष्ठुरी  = निष् + ठु + री = २ १ २
समय = स + म + य = १ १ १
कम = कम = २
पलपल = पल् + पल = २ २

यी तलका शब्दलाई तक्तीअ गरेर वजन पत्ता लाउनुस्ः
पत्यार
उज्यालो
पवित्र
पत्र
न्वारान
तिम्रो
तिमीलाई
चन्द्रमा
चन्द्रमुखी
पुनर्जन्म
जिन्दगी
स्थायी
बसोबास
कक्षा
प्रज्ञा
कष्ट
सुमधुर
जून
हुन
कृष्ण
आनन्द
सँक्रान्ति
यक्ष
क्षितिज
निमन्त्रणा
साहित्य
मान्यवर

शब्दका बराबर वजन भएमा हामी तिनलाई हमवज्न या सममात्री शब्द भनिन्छ । सममात्रा भन्नाले बराबर मात्रा मात्र बुझ्नु भने हुँदैन । सममात्रा भन्नाले शब्दमा आउने लघु गुरुको निश्चित क्रममा हुन जरुरी हुन्छ । उदाहरणका लागिः

बन्धकी = २१२ = ५
कामना = २१२ ‍= ५

दुवैमा २१२ मात्रा आएको हुँदा हामी यिनलाई हमवज्न या सममात्री भन्न सक्छौं । जब किः

मसाला = १२२ = ५
तम्बाकु = २२१ = ५

हमवज्न या सममात्री हैनन् । किनकि दुवैको वजन ५ भए पनि क्रममा भने १२२ र २२१ छन् जुन समान छैनन् ।
नेपालीमा सममात्री भन्नुभन्दा पनि नयाँ शब्द सहमात्री भन्न म रुचाउँछु । तर मैले कुनै शब्द प्रतिपादन गरेर चलेको शब्दलाई यसको मूल्य घटाउन चाहेको हैन ।

रुक्न (गण) के हो ?

रुक्नलाई नेपालीमा हामी गण भन्छौं । उर्दूमा रुक्नको अर्थ खम्बा या pillar हो । मतलब बहरका खम्बा नै रुक्न हो । लघु र गुरु (उर्दूमा लाम - लघु र गाफ - गुरु) का निश्चित क्रममा भएका समूहलाई नै रुक्न भनिन्छ । बहरमा लाम र गाफका मात्राको एक एकाईलाई जुज भनिन्छ । जुजको निश्चित क्रमलाई रुक्न भनिन्छ । जुज निम्न प्रकारका हुन्छन्ः

सबाब-ए-खफीफ > २
सबाब-ए-साकी > ११
वताद-ए-मज्मू > १२
वताद-ए-मफरुक > २१
फासिला-ए-सुगरा > ११२
फासिला-ए-कुबरा > १११२

यी माथिका जुजहरु (बहुबचन अज्जा) का समूह भए पनि उर्दू बहरमा यी तलका अज्जामात्र प्रयोग गर्न उचित मानिएकोछः

सबाब-ए-खफीफ > २
वताद-ए-मज्मू > १२
वताद-ए-मफरुक > २१
फासिला-ए-सुगरा > ११२

रुक्न यिनै जुजहरु या अज्जाका समूहका निश्चित मात्राक्रमलाई भनिन्छ । रुक्नको बहुवचन या समूहलाई अरकान भनिन्छ । जुजका मिश्रणबाट अनगिन्ति रुक्न र अनगिन्ति अरकान निस्कन सक्छन् । तर ७ आधारभूत रुक्नलाई पहिचान दिइएकोछ बहरमा । पछि पछि अन्य रुक्नका प्रयोग बारे छलफल गरिनेछ ।
रुक्नका नामहरु अरबी भाषाबाट आएका तिनका कुनै माने हुँदैन । हरेक रुक्नलाई अफाइल (अर्थात् फूट) मा बाँडिएका हुन्छन् । एक रुक्नमा ३, ४ या ५ अफाइल हुन्छन् ।

उदाहरणका लागि

फाइलुन् = फा ‌+ इ + लुन् = ३ अफाइल (फूट)
यसको वजन = २ ‌+ १ + २ ‍= ५ मात्रा
अफाइल या फूटका आधारमा रुक्नहरुको वर्गिकरण र तिनका नामहरुः

३ अफाइल जसलाई खामसी अर्कान पनि भनिन्छ
-----------------------------------------------------
फाइलुन् = फा ‌+ इ + लुन् = ३ अफाइल (फूट) = २ १ २
फऊलुन = फ ‌+ ऊ + लुन् = ३ अफाइल (फूट) = १ २ २

४ अफाइल
-----------
मफाईलुन = मु + फा ‌+ ई + लुन् = ४ अफाइल (फूट) = १२२२
फाइलातुन = फा ‌+ इ + ला + तुन् = ४ अफाइल (फूट) = २१२२
मुस्तफ्इलुन = मु्स् ‌+ तफ् + इ + लुन् = ४ अफाइल (फूट) =२२१२

यसमा पछि फाईलातु अर्थात २२२१ को पनि रुक्न थपिएकोछ जुन जायज देखिन्छ ।

५ अफाइल
-----------
मुतफाइलुन = मु + त ‌+ फा + इ + लुन् = ५ अफाइल (फूट) = ११२१२
मफाइलतुन = म + फा ‌+ इ + ल + तुन् = ५ अफाइल (फूट) = १२११२

माथिका ४ र ५ अफाइल भएका रुक्न या अरकानलाई सबाई अरकान पनि भनिन्छ ।

रुक्नको शुद्ध रुप र परिवर्तित रुपका अनुसार २ रुप छन्ः

१. सालिम रुक्न - शुद्ध र मूल रुक्न
२. मुजाहिफ रुक्न - परिवर्तित तथा उप रुक्न

हामी यहाँ शुद्ध रुक्नको नाम र तिनका रुपहरु राख्दैछौं ।

फऊलुन = मुतकारिब = १२२
फाइलुन् = मुतदारिक = २१२
मफाईलुन = हजज = १२२२
फाइलातुन = रमल = २१२२
मुस्तफ्इलुन = रजज = २२१२
मुतफाइलुन = कामिल = ११२१२
मफाइलतुन = वाफिर = १२११२

यी आधारभूत अरकानको पुनरावृत्तिबाट बहर बनेको हुन्छ । यी अरकान कतिपटक पुनरावृत्ति भएकाछन् तिनको अनुरुप भिन्न नाम हुन सक्छन् । यिनका शुद्ध रुप मात्र प्रयोग भए भने सालिम रुप हुन्छन् ।

जस्तैः
क) १२२२ - १२२२ - १२२२ - १२२२ = ४ पुनरावृत्ति = मुसम्मन
ख) १२२२ - १२२२ - १२२२ = ३ पुनरावृत्ति = मुसद्दस
ग) १२२२ - १२२२ = २ पुनरावृत्ति = मुरब्बा
ग) १२२२ = मुसना

अब आजको लागि एक तक्तीअ गर्ने विधि तथा बहरको नाम थाहा पाउने विधिः

मानौं एक गजल लियौं-
उही उस्तै सधैँ जस्तै, चटारोले जल्यो छाती
नयाँ, नौलो समस्याको, लठारोले जल्यो छाती
- प्रभाती किरण

अब यसलाई तक्तीअ गरौं । यो गजलको रुक्न पत्ता लगाउनु पहिलो काम हुन्छ । तल तक्तीअ गरिएको एक उदाहरणः

१-२-२--२ १-२-२-२,   १-२-२-२   १-२-२-२
मफाईलुन मफाईलुन मफाईलुन मफाईलुन
उही उस्तै सधैँ जस्तै, चटारोले जल्यो छाती

१-२-२-२  १-२-२-२,  १-२-२-२   १-२-२-२
मफाईलुन मफाईलुन मफाईलुन मफाईलुन
नयाँ, नौलो समस्याको, लठारोले जल्यो छाती

यो गजलमा रुक्न छः
मफाईलुन x ४= १२२२ x ४

माथि तालिकामा हेरियो भने यो हजजको शुद्ध रुप अर्थात् सालिम रुप हो । यसैले यसलाई बहरको नाम भन्नु पर्दा "हजज सालिम" भन्न सकिन्छ । अनि ४ पटक पुनरावृत्ति भएको भनेर जनाउनका लागि हामी "मुसम्मन" पनि जोड्छौं । यसो गर्दा बहरको नाम भयोः "हजज मुसम्मन सालिम" ।

 यही नियम अन्य बहरमा पनि प्रयोग हुन्छ । अन्य बहरका नाम र तिनका वजन तथा मुजाहिफ रुक्न हामी अर्को पाठमा समावेश गर्दै जानेछौं । साथै तक्तीअ गर्ने अन्य विधिहरुका उपनियमहरु पनि राख्दै जानेछौं ।

Written by Karun Thapa

श्रृंखला 212 : वहकिने मन Bahakine Man (11-07-2016/2073-03-27) : Download

NepaliTalim | 9:48:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN -212
Thaha Sanchar Network Presents
DATE : (11-07-2016/2073-03-27)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Facebook : Bahakine Man 
http://thahasanchar.com/

नमस्कार,

आज मिति 2073 असार 27 तदनुसार 11-July-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 212 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

बहर के हो ? बिस्तृत जानकारीमुलक लेख बहर पाठशाला बाट साभार - करूण थापा

NepaliTalim | 6:11:00 PM | 3comments
लेखक : करूण थापा

बहर के हो ? भनेर बुझ्नु अघि केही आधारभूत कुराहरु बुझ्नु जरुरी हुन्छ ।

संसारमा धेरै भाषाहरु छन् र सबैजसो भाषामा साहित्य लेखिएका पनि छन् । ती सबै भाषाका सबैभन्दा सानो रुप भनेको वर्ण हो । अरु भाषाको कुरा छाडेर हामी नेपाली भाषाको कुरा गर्दा नेपाली भाषामा हामी जुन शब्दले आफ्ना अभिव्यक्तिहरु व्यक्त गर्छौं ती शब्दहरु अक्षरबाट (वर्ण) बनेका हुन्छन् । हामी नेपाली लेख्नका लागि देवनागरी लिपिको प्रयोग गर्छौं । देवनागरी लिपिमा वर्ण २ प्रकारका छन्ः

१. स्वर
२. व्यञ्जन
१. स्वरः     
----------
जुन वर्णका उच्चारण स्वतन्त्र उच्चारण गरिन्छ र जसको उच्चारणका लागि अन्य वर्णको सहयोग लिनु पर्दैन ।
- स्वर वर्णका उदाहरणः अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ
उच्चारणका समयको हिसाबले स्वरमा तीन प्रकारमा बाँडिएकोछः
क. ह्रश्व स्वरः कम समय लाग्ने स्वरहरु - अ, इ, उ, ऋ (लघु)
ख. दीर्घ स्वरः लामो समय लाग्ने स्वरहरु - आ, ई, ऊ, ए, ऐ, ओ, औ (गुरु)
ग. प्लुत स्वरः टाढाको व्यक्तिलाई बोलाईंदा प्रयोग हुने स्वर

२. व्यञ्जनः    
--------------
जुन वर्णका पूर्ण उच्चारणका लागि स्वरको सहायता लिनुपर्छ यस्ता वर्णलाई व्यञ्जन भनिन्छ । व्यञ्जनको उच्चारणको लागि स्वरको सहायता चाहिन्छ नत्र तिनलाई उच्चारण गर्न सकिन्न ।
    यी व्यञ्जन निम्न प्रकारका हुन्छन्ः
    क. स्पर्शः यी वर्णहरु पाँच भागमा विभाजित छन् जसमा पाँच पाँच व्यञ्जन छन्ः
        कवर्गः क् ख् ग् घ् ड़्
        चवर्गः च् छ् ज् झ् ञ्
        टवर्गः ट् ठ् ड् ढ् ण्
        तवर्गः त् थ् द् ध् न्
        पवर्गः प् फ् ब् भ् म्
    ख. अंतःस्थ:    य् र् ल् व्
    ग. ऊष्म : श् ष् स् ह्
    घ. सयुंक्त व्यंजनः क्ष, त्र, ज्ञ
        - यी व्यञ्जहरुलाई पनि वर्णमालामा गनिए पनि यी तीन अक्षरहरु क्रमशः
        क्ष=क्+ष / ज्ञ=ज्+ञ / त्र=त्+र
मात्राः
 ------
* मात्रा १: माथि वर्णन गरिएका लघु स्वर र लघु स्वर लागेका व्यञ्जनहरुको मात्रा - १
(अ, इ, उ, ऋ, क, कि, कु, कृ)

* मात्रा २: माथि वर्णन गरिएका दीर्घ स्वर र दीर्घ स्वर लागेका व्यञ्जनहरुको मात्रा - २
(आ, ई, ऊ, ए, ऐ, ओ, औ, का, की, के, को, कौ)

* मात्रा २: कुनै पनि संयुक्त अक्षर भएका अगाडिका स्वर या व्यञ्जनको मात्रा - २
जस्तैः     
'अङ्क' मा 'अङ्' - २
'मन्त्र' मा 'मन्' - २    

मात्राका गणनाका उदाहरणहरुः
कलम = क + ल + म = १ + १ + १ लेख्दा यस्तो भए पनि गजलमा बोलीका आधारमा गणना गरिने भएकाले बोल्दाः
कलम = क + लम् = १ + २   
गमला = ग + म + ला = १ + १ + २
कालो ‍= का + लो = २ ‌+ २
भोलि = भो + लि = २ + १
काम = काम् = २
शान्ति = शान् + ति = २ ‌+ १
पूर्व = पूर् + व = २ ‌+ १

मात्रा गणना बारे विस्तृत अभ्यास अर्को पाठमा गराइनेछ ।
Stress:
 ----------
नेपाली तथा अन्य सँस्कृतबाट आएका भाषामा लामो र छोटो स्वरका आधारमा उच्चारण गरिन्छ भने Latin बाट आएका भाषाहरु जस्तै अंग्रेजी आदिमा stress अर्थात् जोडका आधारमा उच्चारण हुने गर्दछ । यसैले अंग्रेजी भाषामा बहर या छन्द लामो र छोटो स्वरको आधारमा भन्दा पनि stress को आधारमा गरिन्छ । यसैले अंग्रेजी भाषामा बहरका गुञ्जाइस कम हुन्छ । अंग्रेजीमा लेखिएका गजलहरु बहरमा हुनु नपर्ने अर्को कारण ती पूर्वीय शाश्त्रीय संगीतमा संगीतबद्ध गरेर कमै गाइन्छ ।

यसर्थ पूर्वीय काव्यको छन्द र लयको सीधा लक्ष्य भनेकै पूर्वीय शाश्त्रीय संगीत हो र यसैकारण छन्द बहर र शाश्त्रीय संगीतको नजीकको सम्बन्ध छ ।

छन्द / बहर के हो ?
-----------------------
गजल एक गेय विधा हो र यसलाई  Lyrical poem (गेय कविता) पनि भनिन्छ भनेर सबैले बुझिसक्नुभएकोछ । Lyrical poem (गेय कविता) भएको हुनाले गाइनका लागि यसका लागि निश्चित लयको खाँचो हुन्छ । जब हामी गाउने कुरा गर्छौं, यसमा लय या तालको खुबै ठूलो भूमिका हुने गर्दछ । संगीतमा ताल र लय भनेको निश्चित समयमा निश्चित ध्वनिको पुनरावृत्ति हुने अवस्था हो । काव्यमा लय या ताल छोटा स्वर र लामा स्वरका शब्दहरुको निश्चित समयमा निश्चित पुनरावृत्ति हो भनेर बुझिन्छ । यही छोटा र लामा स्वर अर्थात् लघु र गुरुको निश्चित समयमा हुने पुनरावृत्तिको अवस्थालाई लय भनिन्छ । तर सबै लयहरु कर्णप्रिय हुन्छन् भन्ने छैन । यसैकारण संगीतमा धेरै तालहरु हुँदा हुँदै पनि केही तालहरु मात्र प्रचलित भए जस्तै काव्यमा पनि केही निश्चित तरीकाले बनेका लयहरुको समूहमा रचित काव्य लयमा वाचन गर्दा सुन्दर लाग्छन् र संगीतमा पनि सुन्दर लाग्छन् । तिनै निश्चित तरिकामा बाँधिएका लयका समूहलाई नै हामी बहर या छन्द भनिन्छ ।
छन्दशाश्त्रलाई उर्दूमा अरुज र अंग्रेजीमा prosody भनिन्छ । छन्दलाई उर्दूमा बहर तथा अँग्रेजीमा meter भनिन्छ । 
केही उदाहरणहरु
-------------------
छन्द
२२२ -- ११२ -- १२१ -- ११२ -- २२१ -- २२१ -- २
भाका, भू--ल, दया,-- क्षमा र -- ममता, -- सन्तोष -- जान्दैन -- त्यो,
२२२ -- ११२ -- १२१ -- ११२ -- २२१ -- २२१ -- २
इन्द्रै बि--न्ति गरुन् -- झुकेर -- पदमा -- त्यो बिन्ति -- मान्दैन -- त्यो,
- लेखनाथ पौडेल

बहर
२२१२ - २२१२ // २२१२- २२१२
खोली बग्यो - यो आँसुको // पानी भयो - भन्नै पर्योा ।
२२१२ - २२१२ // २२१२- २२१२
छाती दुख्यो - मर्ने गरी // बानी भयो - भन्नै पर्योा ।
- करुण थापा

यी समूहलाई कसले निर्माण गर्यो  भन्ने प्रश्न पनि उठ्छ । यी छन्द र बहरहरु काव्य र संगीतज्ञाताहरुबाट नै निर्माण भएका हुन् । जसरी अन्य शाश्त्र जस्तै आयुर्वेद, संगीतशाश्त्र छन् जुन हामी सबैले मानेकाछौं । यस्तै काव्यका यी छन्दहरु पनि ती ज्ञाताहरुबाट नै निर्माण गरिएकाहुन् । जसरी आयुर्वेद तथा संगीतशाश्त्रलाई वैज्ञानिक युगले नकार्न सकेकोछैन, त्यसै गरी छन्द र बहर पनि विज्ञानले नकारेको अवस्था छैन । यसर्थ गजल काव्यको पनि सीधा सम्पर्क संगीतशाश्त्रसँग बनाउनका लागि बहर र छन्दको निर्माण भएकोहो । यी शाश्त्रमा बहस गर्नु पर्ने र गजल बहरमा लेखिने परम्परामा औंला ठड्याउनु पर्ने कुनै कारण देखिंदैन । यदि काव्यशाश्त्रमा बहर चाहिंदैन भन्छौं भने संगीतमा पनि सरगम र संगीतशाश्त्र चाहिंदैन या आयुर्वेद चाहिंदैन भन्नु बराबर हो ।

त, निश्चित समयमा निश्चित लघु स्वर र निश्चित गुरु स्वरको बनावट जुन शाश्त्रका ज्ञाताहरुबाट प्रतिपादन गरिएकाछन्, तिनको प्रयोग गजलमा गर्नुले गजललाई लयमा वाचन गर्न सजिलो, संगीतवद्ध गर्न सजिलो, गाउन सजिलो तथा कोमल र मीठो बनाउने कुरामा दुई मत हुन नहुने पक्का छ ।

पाठ २: मात्रा गणना, जुज, रुक्न, तक्तीअ र बहर
शब्दका मात्रा या वजन (उर्दू वज्न)
हामीले पहिलो पाठबाट थाहा पाइसक्यौं कि मात्रा लघु या गुरु हुन सक्छन् । हामीले लघुलाई १ र गुरुलाई २ भनेर गन्न सक्छौं । यी दुवै आफूमा भिन्न रुप हुन् । २ लघु बराबर १ गुरु नहुन पनि सक्छ । तर करीब करीब २ लघु बराबर १ गुरु हुने अवस्था मानिएकोछ । यसैले बहरमा कहिलेकाँही २ लघुको ठाउँमा १ गुरु पनि राख्न पाइने नियम छ ।

हाम्रो भाषा सँस्कृतबाट आएको हुनाले हामी लघु गुरु भन्छौं । अनि हामीकहाँ पिङगल छन्दको प्रावधान छ । अनि उर्दूमा पिङ्गल जस्तै नियमसँग मिल्दो बहर छ । यसै गरी ग्रीक र ल्याटिनमा पनि prosody भनिन्छ र ती भाषामा पनि आफ्नै किसिमका छन्द विद्यमान छन् ।

ल्याटिन जहाँबाट अँग्रेजी भाषा आएकोछ त्यहाँ पनि यो व्यवस्था छ जसमा mora भनेको मात्रा हुन्छ र १ mora (लघु) short syllable तथा २ mora लाई गुरु या long syllable मानिन्छ । तीन मात्राको अर्थात् १ mora (short syllable लघु) र २ mora (long syllable गुरु) सँयुक्त मात्रालाई trochee भनिन्छ । यसै गरी २ गुरु (४ mora) को समूहलाई spondee भनिन्छ ।

चार मात्राका ल्याटिन छन्दका रुपहरुः 
Dactyl : 211
Anapest : 112
Spondee : 22
Proceleusmaticus : 1111

यी जस्तै अन्य विभिन्न रुप छन् र ल्याटिनमा यी माथिका 1 या 2 का सट्टा यिनलाई उच्चारण गर्दा लाग्ने समयको आधारमा सीधै संगीतका नोटेसनमा यिनलाई लेखिन्छ ।

यसैकारण छन्दशाश्त्र, अरुज या prosody जसले जहाँ जे जे भने पनि,  यिनका रुपहरु र नियमहरु केही भिन्न भए पनि आधारभूत कुराहरुमा सबैमा समानता पाइन्छ । यी छन्दशाश्त्र या अरुज या prosody को एकै लक्ष्य हो काव्यलाई गेय बनाउनु ।

यसलाई यहीं छोडेर लघु १ र गुरु २ लेखेर अब हामी अघि बढ्छौं । हामी छन्दमा भन्दा पनि बढी बहरमा केन्द्रित हुनेछौं किनकि गजलमा छन्द भन्दा पनि बहरको प्रयोग हुनुपर्छ ।

शब्दको मात्रा या वजन निर्धारण
हामी यो पाठमा विभिन्न शब्दहरुका मात्रा विभाजन या वजन निर्धारण बारेमा अझै गहिराईमा छलफल गर्नेछौं ।
पहिलो पाठमा छुट्याइका लघु र गुरु या १ या २ मात्राका वर्णहरुलाई लिएर कुनै पनि शब्दको वजन या मात्रा निर्धारित गर्न सकिन्छ । कुनै पनि शब्दको वजन त्यो शब्दको मात्राको जोड गरेपछि आउँछ । कुनै पनि शब्दको वजन कति हुन्छ भनेर अब हामी यहाँ केही उदाहरणका साथ अभ्यास गर्छौं ।

पहिला बहरमा मात्रा गणनाका साधारण नियममा हामी अभ्यस्त हुनाका लागि केही नियमहरु यहाँ राख्न चाहन्छौं । यहाँ भएका नियम बाहेक पनि केही उपनियमहरु छन् जसको चर्चा पछि बिस्तारमा गरिनेछ ।
बहरमा मात्राहरुको निर्धारण लिखित भन्दा पनि शुद्ध उच्चारण गर्दा सुनिने आवाजका आधारमा गरिन्छ । पिङ्गल छन्दमा भने लिखितको महत्व पनि त्यतिकै देखिन्छ । यसैले पिङ्गल छन्दमा लिखितमा खुट्टा काटेर त्यो अक्षर आधा हो भनिरहनुपर्छ भने बहरमा खुट्टा काटेर लेखिन जरुरी हुँदैन ।
बहर = एक दिन नारद सत्यलोक
छन्द = एक् दिन् नारद् सत्यलोक्

हुन त छन्द र बहरका नियममा समानता देखिन्छन् तर हामी बहरमा बढी अब केन्द्रित हुने भएकाले अब बहरकै हिसाबले नियमहरु पनि लेखिंदै गइनेछ । मात्रा गणना गर्ने पद्धतिलाई उर्दूमा तक्तीअ भनिन्छ । अबदेखि तक्तीअ शब्द नै प्रयोग गरिनेछ ।
नियमहरुः
क. अ इ उ ऋ तथा चन्द्रविन्दु आफैमा या व्यञ्जनको पछि आउँदा लघु हुन्छ = १ मात्रा
   उदाहरणः अ, इ, उ, ऋ, क, कि, कु, नि, अँ, कुँ आदि

ख. आ ई ऊ ए ऐ ओ औ अं आफैमा या व्यञ्जनको पछि आउँदा गुरु हुन्छ = २ मात्रा
   उदाहरणः  आ ई ऊ ए ऐ ओ औ अं, नै, लौ, पे, सं आदि

अन्य उदाहरणहरुः
सम्झिने = सम् + झि + ने = २ १ २
मन  = मन् = २
बिर्सुँ  = बिर् + सुँ = २ १
कसोरी  = क + सो + री ‍= १ २ २
जाने =  जा + ने = २ २
निष्ठुरी  = निष् + ठु + री = २ १ २
समय = स + म + य = १ १ १
कम = कम = २
पलपल = पल् + पल = २ २

यी तलका शब्दलाई तक्तीअ गरेर वजन पत्ता लाउनुस्ः
पत्यार
उज्यालो
पवित्र
पत्र
न्वारान
तिम्रो
तिमीलाई
चन्द्रमा
चन्द्रमुखी
पुनर्जन्म
जिन्दगी
स्थायी
बसोबास
कक्षा
प्रज्ञा
कष्ट
सुमधुर
जून
हुन
कृष्ण
आनन्द
सँक्रान्ति
यक्ष
क्षितिज
निमन्त्रणा
साहित्य
मान्यवर
शब्दका बराबर वजन भएमा हामी तिनलाई हमवज्न या सममात्री शब्द भनिन्छ । सममात्रा भन्नाले बराबर मात्रा मात्र बुझ्नु भने हुँदैन । सममात्रा भन्नाले शब्दमा आउने लघु गुरुको निश्चित क्रममा हुन जरुरी हुन्छ । उदाहरणका लागिः
बन्धकी = २१२ = ५
कामना = २१२ ‍= ५
दुवैमा २१२ मात्रा आएको हुँदा हामी यिनलाई हमवज्न या सममात्री भन्न सक्छौं । जब किः
मसाला = १२२ = ५
तम्बाकु = २२१ = ५

हमवज्न या सममात्री हैनन् । किनकि दुवैको वजन ५ भए पनि क्रममा भने १२२ र २२१ छन् जुन समान छैनन् ।
नेपालीमा सममात्री भन्नुभन्दा पनि नयाँ शब्द सहमात्री भन्न म रुचाउँछु । तर मैले कुनै शब्द प्रतिपादन गरेर चलेको शब्दलाई यसको मूल्य घटाउन चाहेको हैन ।

रुक्न (गण) के हो ?
रुक्नलाई नेपालीमा हामी गण भन्छौं । उर्दूमा रुक्नको अर्थ खम्बा या pillar हो । मतलब बहरका खम्बा नै रुक्न हो । लघु र गुरु (उर्दूमा लाम - लघु र गाफ - गुरु) का निश्चित क्रममा भएका समूहलाई नै रुक्न भनिन्छ । बहरमा लाम र गाफका मात्राको एक एकाईलाई जुज भनिन्छ । जुजको निश्चित क्रमलाई रुक्न भनिन्छ । जुज निम्न प्रकारका हुन्छन्ः

सबाब-ए-खफीफ > २
सबाब-ए-साकी > ११
वताद-ए-मज्मू > १२
वताद-ए-मफरुक > २१
फासिला-ए-सुगरा > ११२
फासिला-ए-कुबरा > १११२

यी माथिका जुजहरु (बहुबचन अज्जा) का समूह भए पनि उर्दू बहरमा यी तलका अज्जामात्र प्रयोग गर्न उचित मानिएकोछः
सबाब-ए-खफीफ > २
वताद-ए-मज्मू > १२
वताद-ए-मफरुक > २१
फासिला-ए-सुगरा > ११२ 
रुक्न यिनै जुजहरु या अज्जाका समूहका निश्चित मात्राक्रमलाई भनिन्छ । रुक्नको बहुवचन या समूहलाई अरकान भनिन्छ । जुजका मिश्रणबाट अनगिन्ति रुक्न र अनगिन्ति अरकान निस्कन सक्छन् । तर ७ आधारभूत रुक्नलाई पहिचान दिइएकोछ बहरमा । पछि पछि अन्य रुक्नका प्रयोग बारे छलफल गरिनेछ ।
रुक्नका नामहरु अरबी भाषाबाट आएका तिनका कुनै माने हुँदैन । हरेक रुक्नलाई अफाइल (अर्थात् फूट) मा बाँडिएका हुन्छन् । एक रुक्नमा ३, ४ या ५ अफाइल हुन्छन् ।

उदाहरणका लागि
फाइलुन् = फा ‌+ इ + लुन् = ३ अफाइल (फूट)
यसको वजन = २ ‌+ १ + २ ‍= ५ मात्रा
अफाइल या फूटका आधारमा रुक्नहरुको वर्गिकरण र तिनका नामहरुः

३ अफाइल जसलाई खामसी अर्कान पनि भनिन्छ
-----------------------------------------------------
फाइलुन् = फा ‌+ इ + लुन् = ३ अफाइल (फूट) = २ १ २
फऊलुन = फ ‌+ ऊ + लुन् = ३ अफाइल (फूट) = १ २ २

४ अफाइल
-----------
मफाईलुन = मु + फा ‌+ ई + लुन् = ४ अफाइल (फूट) = १२२२
फाइलातुन = फा ‌+ इ + ला + तुन् = ४ अफाइल (फूट) = २१२२
मुस्तफ्इलुन = मु्स् ‌+ तफ् + इ + लुन् = ४ अफाइल (फूट) =२२१२

यसमा पछि फाईलातु अर्थात २२२१ को पनि रुक्न थपिएकोछ जुन जायज देखिन्छ ।

५ अफाइल
-----------
मुतफाइलुन = मु + त ‌+ फा + इ + लुन् = ५ अफाइल (फूट) = ११२१२
मफाइलतुन = म + फा ‌+ इ + ल + तुन् = ५ अफाइल (फूट) = १२११२

माथिका ४ र ५ अफाइल भएका रुक्न या अरकानलाई सबाई अरकान पनि भनिन्छ ।
रुक्नको शुद्ध रुप र परिवर्तित रुपका अनुसार २ रुप छन्ः

१. सालिम रुक्न - शुद्ध र मूल रुक्न
२. मुजाहिफ रुक्न - परिवर्तित तथा उप रुक्न 
हामी यहाँ शुद्ध रुक्नको नाम र तिनका रुपहरु राख्दैछौं ।

फऊलुन = मुतकारिब = १२२
फाइलुन् = मुतदारिक = २१२
मफाईलुन = हजज = १२२२
फाइलातुन = रमल = २१२२
मुस्तफ्इलुन = रजज = २२१२
मुतफाइलुन = कामिल = ११२१२
मफाइलतुन = वाफिर = १२११२

यी आधारभूत अरकानको पुनरावृत्तिबाट बहर बनेको हुन्छ । यी अरकान कतिपटक पुनरावृत्ति भएकाछन् तिनको अनुरुप भिन्न नाम हुन सक्छन् । यिनका शुद्ध रुप मात्र प्रयोग भए भने सालिम रुप हुन्छन् ।

जस्तैः
क) १२२२ - १२२२ - १२२२ - १२२२ = ४ पुनरावृत्ति = मुसम्मन
ख) १२२२ - १२२२ - १२२२ = ३ पुनरावृत्ति = मुसद्दस
ग) १२२२ - १२२२ = २ पुनरावृत्ति = मुरब्बा
ग) १२२२ = मुसना

अब आजको लागि एक तक्तीअ गर्ने विधि तथा बहरको नाम थाहा पाउने विधिः
मानौं एक गजल लियौं-
उही उस्तै सधैँ जस्तै, चटारोले जल्यो छाती
नयाँ, नौलो समस्याको, लठारोले जल्यो छाती
- प्रभाती किरण

अब यसलाई तक्तीअ गरौं । यो गजलको रुक्न पत्ता लगाउनु पहिलो काम हुन्छ । तल तक्तीअ गरिएको एक उदाहरणः

१-२-२--२ १-२-२-२,   १-२-२-२   १-२-२-२
मफाईलुन मफाईलुन मफाईलुन मफाईलुन
उही उस्तै सधैँ जस्तै, चटारोले जल्यो छाती

१-२-२-२  १-२-२-२,  १-२-२-२   १-२-२-२
मफाईलुन मफाईलुन मफाईलुन मफाईलुन
नयाँ, नौलो समस्याको, लठारोले जल्यो छाती

यो गजलमा रुक्न छः
मफाईलुन x ४= १२२२ x ४

माथि तालिकामा हेरियो भने यो हजजको शुद्ध रुप अर्थात् सालिम रुप हो । यसैले यसलाई बहरको नाम भन्नु पर्दा "हजज सालिम" भन्न सकिन्छ । अनि ४ पटक पुनरावृत्ति भएको भनेर जनाउनका लागि हामी "मुसम्मन" पनि जोड्छौं । यसो गर्दा बहरको नाम भयोः "हजज मुसम्मन सालिम" ।

यही नियम अन्य बहरमा पनि प्रयोग हुन्छ । अन्य बहरका नाम र तिनका वजन तथा मुजाहिफ रुक्न हामी अर्को पाठमा समावेश गर्दै जानेछौं । साथै तक्तीअ गर्ने अन्य विधिहरुका उपनियमहरु पनि राख्दै जानेछौं । 
आजलाई यत्ति । प्रश्नहरु र छलफल यही लेख मुनि गरियोस् ।

Thank you 
Article Written By Karun Thapa

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger