|
सुनील स्पन्दन |
1. गजल (सवाइ लय)
भन्छन् अझै बुढापाका, नलाऊ कर्के आँखा
खुल्लै भए मनको ढोका, लाग्छ चोर डाँका
शुद्धि छैन बुद्धि छैन, कस्तो मति लाग्यो !
आजकालका मान्छेहरू, केके भाका भाका
नबोल्नु नै बेस होला, बोले बढ्छ दुःख
बन्द हुन्छ सबै मार्ग, आउने सबै नाका
के खाँदो हो लाउँदो हो, भन्छिन् बूढी आमा
कान्छो विदेश हानिएथ्यो, पोहोर यसै ताका
राजनीति भन्नु पनि, सत्ता मोह मात्रै
सत्ता मोह कोही काखा, कोही पारि पाखा
हुत्तिहारा रैछन आखिर, सबै टाउकेहरू
यो त्यो गर्छु भन्नेले नै, कसले मा¥यो माखा
कस्तो दृश्य देख्नुपर्यो यो कलिमा प्रभू !
आगो बाली डढाउँदैछन्, माहुरीले चाका
–सुनील स्पन्दन, भक्तपुर
2. गजल (सवाई)
केके अर्थ हुन सक्छ, मेरो बुझाईमा
रहस्य र पीडा आ’छ, तिम्रो बधाईमा
सत्य सत्य बोल्दैछु म, झुट रामो राम
दिल मेरो हरी गयौ, एकै बसाईमा
आफ्नै मन कुनबेला, भयो परदेशी
म पनि त बाँचेको छु, तिम्रो पखाईमा
सगरमाथा चढ्न पनि, मुटु हुनु पर्छ
विश्वासले गाँस माया, पुग्छ उचाईमा
कुनै दिन म पनि त, जानै पर्छ हेर
तिमी पनि हास्नु साथी, मेरो विदाईमा
सुनील स्पन्दन, भक्तपुर
3. गजल (बहरे मुतकारिब)
छ रोजी र छाडी विचारी चुनेभो
म आ’को छु तिम्रो दिलैमा थुनेभो
महङगी छ यस्तो गरीबी छ चर्को
हरे यो जमाना अकासै छुनेभो
नहेरी नसोधी सही छाप लाएँ
पर्यो लौन आपत नि केके हुने भो
अभागी छ भाग्य र कर्मैै छ खोटो
सधैँ नै सुनील यो नहाँसी रुनेभो
सुनील स्पन्दन,
भक्तपुर
4. गजल (असारे लय)
भन्दछौ भने देशको लागि हाँसेर मर्छु म
मुलुकभरि पठाऊ शान्ति पुकार गर्छु म
बनाऊ खाका नलाऊ पाखा बनाऊ संविधान
बिग्रीए सोच राष्ट्रिय बोझ, अन्यौलमा पर्छु म
हिमाल हैन, तराई हैन दुवै हो नेपाल
लगाए भाग सन्तान तिमै्र, अरुमै सर्छु म
के होला देशाँ मनमा सधै चिन्ताले गाँज्दछ
हिम्मत हार्नु हुँदैन भनि विश्वास भर्छु म
नहुने के छ हातमा हात बढाइ हेरौँ त
नवीन जोस नवीन चेत सबैमा छर्छु म
सुनील स्पन्दन,
भक्तपुर ।
5. गजल
अँजुलीमा सारा खुसी छेकी ल्याउने मान्छे ।
कलेजीमा मैरे नाम लेखी ल्याउने मान्छे ।
हरायो कि कतै कुन्नी, पाउन छाडे खबर,
तिम्रो पत्र कोशौँ दूरदेखि ल्याउने मान्छे ।
कुरा काट्न थालिसके, मेरो आजभोलि
नआउँछ डोली भार ठेकी ल्याउने मान्छे
प्रतिक्षामा बसूँ कति आशा संगालेर
आऊन हो सिन्दुरको रेखी ल्याउने मान्छे
अँजुलीमा सारा खुसी छेकी ल्याउने मान्छे ।
कलेजीमा मैरे नाम लेखी ल्याउने मान्छे ।
सुनील स्पन्दन, भक्तपुर ।
6. गजल
आफू बदलिन्न, मान्छे बदल्छे
दैनिक विभिन्न, मान्छे बदल्छे
यस्तो अनौठो, बानी छ उसको
र केही सम्झिन्न, मान्छे बदल्छे
कति आए गए, सम्झाउनेहरु
उसलाई सकिन्न, मान्छे बदल्छे
यसरी सुनील, भो नपछुताऊ
अबेर भो चिन्न, मान्छे बदल्छे
सुनील स्पन्दन,
भक्तपुर ।
7. गजल
कैलेकाहीँ नसोचेको, हुन्छ किन साथी !
उनकै मात्र सपनी, देखिरा’छु राती ।
उनी उस्तै म नि उस्तैै, पुग्ने लक्ष्य एकै,
लक्ष्य एकै भएपछि, किन राख्ने थाँती ?
हराएको छैन मेरो, आस्था मनबाट,
अझै पनि द्यौरालीमा, चढाउँदैछु पाती ।
भाग्य आफै कोर्नुपर्छ, सफलताको लागि,
परिश्रमका बाटाहरू, कोरिएकै जाती ।
अविराम अविराम, गर्दै गए यात्रा,
अवश्य नै एक दिन, पुगिन्छ रे ! माथि ।
सुनील स्पन्दन, भक्तपुर ।
8. गजल
तिम्लाई आफ्नो ठान्दा–ठान्दै, रुवायौ नि कठै !
कोमल मुटु जान्दा–जान्दै, रुवायौ नि कठै !
कत्ति सारो छियाछिया, पा¥यौ सानो मन
तिम्रो वचन मान्दा–मान्दै, रुवायौ नि कठै !
कुदृष्टिले हेर्छ मान्छे, आँखा फुटेपछि
लक्ष्मणरेखा तान्दा–तान्दै, रुवायौ नि कठै !
कोही होला लिलामीमा, आफैलाई बेच्ने ?
गृहस्थी यो धान्दा–धान्दै, रुवायौ नि कठै !
म नै होची म नै काली, म नै अरघेली
राम्री राम्री छान्दा–छान्दै, रुवायौ नि कठै !
सुनील स्पन्दन, भक्तपुर ।
9. गजल (सवाई)
कैले आफ्नै नजरबाट, झर्नुपर्छ बुझ्यौ !
निराशाका जङ्घारहरु, तर्नुपर्छ बुझ्यौ !?
रावणको राज्यभित्र, जन्म लिएपछि
रामलेपनि छद्म भेष, धर्नुपर्छ बुझ्यौ !
के हुँदैन यो माटोमा, केही गरी हेरौँ
यही भिरमा कोदो मकै, छर्नुपर्छ बुझ्यौ !
धैर्यबाँधी बसिरा’छु, भाग्यको तिरैमा
मेरै भागमा ठूलो माछा, पर्नुपर्छ बुझ्यौ !
सुनील आज मर्यो भनी, झ्याली नपिटाऊ
तिमीले पनि कुनैदिन, मर्नुपर्छ बुझ्यौ !
–सुनील स्पन्दन,
भक्तपुर
10. गजल
सस्तोमा बिक्यौ, भाउमा पनि
दाग लगायौ, नाउमा पनि
कागज गरायो, किन छोराले ?
भरोसा छैन, बाउमा पनि
होला त निको, मनको चोट?
नुन छर्केर, घाउमा पनि !
ऊ जालभित्र, पार्दैछ मलाई
कुटिल हाँसो, साहुमा पनि
काँडामा टेक्छु, खुसीमा तिम्रो
फूल नै फूल होस्, पाउमा पनि
सुनील स्पन्दन,
भक्तपुर ।
11. गजल
जगाएर हृदयमा आश अचम्मै !
कहाँबाट ल्यायौ मधुमास अचम्मै !
के गर्यौ नि भन ए, आँखा जुधाएर
कहाँ गयो भोक–निद्रा, प्यास अचम्मै !
के हुदैछ मुटुभित्र, भन्न सक्दिन म
खुशी अलि पीडा अलि, आभाष अचम्मै !
छैन–छैन भन्दा भन्दै, जति ठाउँ छेक
दिइसकेछौ मुटुभित्र, बास अचम्मै !
तिमीभनि मरि मेट्ने, हजारौ पो थिए
के देख्यो र सुनीलमा, खास अचम्मै !
सुनील स्पन्दन,
भक्तपुर ।
12. गजल
सस्तोमा बिक्यौ, भाउमा पनि
दाग लगायौ, नाउमा पनि
कागज गरायो, किन छोराले ?
भरोसा छैन, बाउमा पनि
होला त निको, मनको चोट?
नुन छर्केर, घाउमा पनि !
ऊ जालभित्र, पार्दैछ मलाई
कुटिल हाँसो, साहुमा पनि
काँडामा टेक्छु, खुसीमा तिम्रो
फूल नै फूल होस्, पाउमा पनि
सुनील स्पन्दन, भक्तपुर ।
13 गजल (बहरे मुतकारिब)
रहेनौ तिमी नै, गयो खेर वाचा
म पानी बिनाको, भएको छु माछा
म हार्नेछु शायद्, चलेको छ युद्ध
उताकै शकूनी, उतै देख्छु पासा
नियालेर हेरँे, रगतको निशानी
नमर्ने सपुत्को, छ यो एक गाथा
शिशिरको तुवाँलो, छ पाखा पखेरी
लुकाएर सूर्जे, नपोखेर आभा
सुनील के बुझेनौ, र हेर्दै बसेको ?
कि आउनेछ सङ्कट, बजाएर बाजा
सुनील स्पन्दन,
भक्तपुर
14. गजल (सवाई लय)
पिरतीको मोल भाउ, तोक्छौ तोकी राख
पराइलाई काँधमाथि, बोक्छौ बोकी राख
भाषणमा बोल्छौ तर, छैन जातपात
अझै पनि धारा पानी, रोक्छौ रोकी राख
मिल्ने भए फेर्ने थियौ, लेखी आको भाग्य
रिसाउँदै आफ्नै टाउको, ठोक्छौ ठोकी राख
कति भन्नु सुपारीले, राम्रो हुन्न बूढा !
मरिहत्ते कुटुकुटु टोक्छौ टोकी राख
गुनासोको दुई शब्द, के कोरेथ्यौ ‘सुनील’
भै’गएछौ गजलकार !, खोक्छौ खोकी राख
सुनील स्पन्दन,
भक्तपुर
15. गजल (झ्याउरे लय)
शिरको म त, पाउमा राखी, यसरी नहाँस
भीरमा फुलेँ, भीरैमा झरेँ, म लाली गुराँस
लेक र बेसी, सजाएँ तिम्रो, बिकिन बजार
दैवलाई पनि, नचल्ने म त, फुलेँछु पलाँस
सबैले राम्रो, भनेको देख्छु, बेली र चमेली
अभागी रैछु, म मखमली, मालामा नगाँस
मगमा मग, वासना दिने, छ इन्द्र कमल
शोभा नै छैन, धर्तीलाई पनि, फुलेर यो काँस
न बन्न सकेँ, म सुनगाभा, न बनेँ गुलाफ
न लागेँ काम, म बनमारा, न फूल न घाँस
–सुनील स्पन्दन, भक्तपुर
16. गजल शङख् नारी छन्द
।ऽऽ ।ऽऽ
नपर्खेर हुन्छ !?
नफर्केर हुन्छ !?
उडाउँदैछ हाँसो
नझर्केर हुन्छ !?
म भित्रै छ मेघ
नदर्केर हुन्छ !?
शिशा फुट्छ फुट्छ
नचर्केर हुन्छ !?
भई फूल बास्ना
नछर्केर हुन्छ !?
सुनील स्पन्दन
भक्तपुर ।