रामेछाप जिल्लाको सदरमुकाम मन्थलीदेखि लगभग ४ किलोमिटर पश्चिमोत्तर दिशामा अवस्थित चिसापानी गाउ“ विकास समितिको पूर्वमा मन्थली र कठजोर (तामाकोशी नदी), उत्तरमा गेलु र चनखु (महादेव र बफर खोला), पश्चिममा पुरानागाउँ र दक्षिणमा भटौली गाविस (कर्कले खोला) स“ग जोडिएको छ । चिसापानी गाविसले रामेछाप जिल्लाका ५५ गाविसमध्येको १३६५.१७ हेक्टर क्षेत्रफल ओगटेको छ ।
चिसापानी गाविसलाई प्रकृतिले त सि“गारेको छ नै, त्यसमा झन् स्थानीय जात–जाति, भाषा–भाषी, रहनसहन र सांस्कृतिक परम्पराको विविधताले गर्दा जिल्लाका अरू गा.वि.स.भन्दा छुट्टै परिचय बनाएको पाइन्छ । यो गाविसमा निम्नानुसार जनजातिका मानिसहरूको बसोबास पाइन्छ ।
यो गाविसका विभिन्न जात–जाति, भाषा–भाषी, रहनसहन र संस्कृति हेर्दा लोभलाग्दो पाइन्छ । यस गाविसमा निम्नानुसार जातजातिका मानिसहरूको बसोबास रहेको छः
१. ब्राहृमण २. क्षेत्री ३. नेवार ४. मगर ५. माझी ६. सार्की ७. सन्यासी ८. कामी ९. दमाई १०. घर्ती÷पहरी ११. बादी आदि । यी जातजातिहरूको कतिपय फरक स्थानीय परम्परा र संस्कृति रहेको देखिन्छ । यसलाई सम्पूर्णतामा उतार्ने प्रयास गरिएको छः
१. ब्राम्हन
यो जाति वैदिक परम्परामा आधारित र तागाधारीको रूपमा रहेको पाइन्छ । यिनीहरूलाई स्थानीय भाषामा बाहुन भनेर चिनिन्छ । यिनीहरू सम्पूर्णलाई जनाउँदा ब्राहृमण भनिए पनि विभिन्न थरमा रहेका पाइन्छन् । ढुङ्केल, घिमिरे, सुवेदी, दाहाल, पाठक, त्रिपाठी, सिलवाल, कँडेल, (कुमाई) आदि थरमा विभाजित ब्राहृमणहरू विभिन्न वडामा छरिएर रहेका भए पनि वडा नं. २ मा ढुङ्केलको बाहुल्यता पाइन्छ भने वडा नं. ७ मा घिमिरेको । यिनीहरूको परम्पराअनुसार चौको काटेको चुल्हामा रहेर धोती फेरेर खाना खाने, कर्म नचलाएका छोराछोरीले पकाएको नखाने, बासी नखाने आदि रहेको भए पनि धोती फेर्ने चलन युवापुस्ताले क्रमशः कम गर्दै लगेको पाइन्छ । छोरी चेलीलाई पहिलोपटक रजस्वला हुँदा एघार दिनसम्म दाजुभाइ, बाबु, काकाले अनुहार हेर्नु हुँदैन भन्ने परम्परा यिनीहरूमा अद्यावधिक पाइन्छ ।
यस्तो समयमा आफ्ना चेलीबेटीलाई नजिकैको पायक पर्ने पानी चल्ने जातिको घरमा लगेर राख्ने चलन छ । एघार दिनको नुहाइधुवाइपछि उनीहरूलाई घरमा आउन अनुमति दिइन्छ । ब्राहृमण जातिमा रजस्वला नभएकी छोरी विवाह गरिदिने पुरानो चलन भए पनि शैक्षिक विकास अर्थात् गाउँको विद्यालयमा पढ्न पठाउन थालेका कारण हाल उमेर पुगेपछि नै विवाह हुने प्रचलन छ । यहाँ ढुङ्केल, घिमिरे, दाहाल, पण्डित कर्मकाण्डमा पनि पोख्त छन् । उनीहरू छिमेकी गाविस पुरानोगाउँ, चनखु, गेलु आदि ठाउँमा आफ्नो पेशामाध्यमले बाँधिन सफल भए तापनि युवापुस्तामा यो पेशाप्रति झुकाव पाइन्न । यसको मूल कारण आधुनिक शिक्षाको प्रभाव हो ।
(क) न्वारन,पास्नी
सामान्यतः यहाँका मानिसहरू परम्परामा आधारित रही एघार दिनमा नवजात शिशुको न्वारन अर्को गोत्रको कर्मकाण्डी बाहुनद्वारा गराउँछन् । तर, समाजमा देवकार्य, पितृकार्य आदि रोकिएको छ भने सात दिनमा वा अत्यन्त आवश्यक परेमा तीन दिनमा पनि अप्ठ्यारो फुकाउने चलन छ । तापनि, यो आंशिकरूपमा मात्र प्रयोगमा ल्याइन्छ । अन्यथा, परम्पराअनुसार चलाइन्छ । न्वारन जति दिनमा गरे पनि सुत्केरीलाई २१ दिन पानी बार्न लगाइन्छ र २२ दिनमा पानी फुकाइन्छ । यो परम्परामा आधारित चलन हो । न्वारन नगरिएको बालकलाई घाममा तेल लगाई आमालाई ज्वानो, मासु, घ्यूलगायतका तागतिला खाद्यवस्तु दिने पुरानो चलन पाइन्छ । तर, हाल यसलाई पूर्णता दिन सकेको देखिँदैन । सुत्केरी भएको समयमा नाल बेडाउँदा बाँसको कप्टेरो वा हँसिया आदिले काट्ने चलन भए पनि हाल सुत्केरी–सामग्रीको प्रयोग गरिन थालेको छ । सुत्केरीलाई अगेनाको छेउमा राख्ने चलन भए पनि हिजोआज सुत्केरी राखेको ठाउँमा आगो बाल्ने चलन छ ।
पास्नीलाई अन्नप्रासन भनिन्छ । पास्नी गर्दा छोरीको ५ वा ७ महिनामा गरिन्छ भने छोराको ६ वा ८ महिनामा गरिन्छ । यो परम्परादेखि चलिअएको भए तापनि ऐच्छिक रूपमा स्वीकारिएको छ । यो कार्यमा कर्मकाण्डी बाहुनद्वारा होम, जप पनि गराइन्छ ।
(ख) व्रतबन्ध (कर्म चलाउने)
पुरानो चलनअनुसार ८ वर्षमा व्रतबन्ध गरेर जनै लगाउने बाहुनका छोराहरू अहिले यो नियमलाई आंशिकरूपमा मान्छन् । व्रतबन्ध प्रायः श्रीपञ्चमी पारेर गर्ने चलन भए तापनि अहिले आर्थिक कठिनाइको मारमा परेर सामूहिकरूपमा ओल्लो÷पल्लो घर वा दाजुभाइको एकै स्थानमा व्रतबन्ध गर्ने चलन छ । व्रतबन्धमा आफ्ना गुरु, पण्डित वा बाबुबाट गायत्री मन्त्र सुन्ने चलन हालसम्म कायम छ । व्रतबन्ध गरेपछि बिहान गायत्री अर्थात् सन्जे जप्नुअगाडि नुहाइधुवाइ गर्ने पुरानो चलन भए तापनि युवापुस्ताले यस परम्परालाई पूर्णरूपमा निरन्तरता दिन सकेको पाइन्न ।
(ग) विवाह
सामान्य परम्पराअनुसार छोरोको उमेर १५–१६ वर्ष पुगेपछि र छारीको उमेर १२–१३ वर्ष पुगेपछि विवाह गर्ने चलन भए तापनि शिक्षा र सामाजिक चेतनाको विकासले गर्दा हाल छोराको विवाह २५–३० वर्षमा र छोरीको विवाह २०–२२ वर्षमा गर्ने गरेको पाइन्छ भने ३५–४० वर्षसम्ममा विवाह गर्नेको संख्या पनि केही मात्रामा पाउन सकिन्छ । आजीवन विवाहबन्धनमा बाँधिन नचाहनेको संख्या पनि न्यून मात्रामा पाइन्छ । साटासाट परम्पराको विवाह अहिले छोरीको संख्या बढेका कारण बाहुनको सतमा बसेका अर्को थरको बाहुनलाई दिने परम्परा कायमै छ । अन्य जातिसँग विवाह टोकरपुर, सिन्धुपाल्चोकतिर हुने गरेको भए तापनि अहिले स्थानीय बाहुनसँग नै लिने दिने चलेको छ ।
वरियाती विवाहमा पुरानो चलनअनुसार श्लोक हाल्ने, खाँडो जगाउने, डोली बोक्ने, कल्सौली बोक्ने र रात राख्ने परम्परा भए तापनि अहिले थोरै मानिस र पञ्चैबाजाबिना नै बेहुलीको घरमा जाने र दिउँसो विवाह गर्ने, मन्दिरमा सिन्दुर हाल्न लगाई घर पठाइदिने चलन बढेको पाइन्छ । विवाहमा केटा–केटीका अभिभावकको बोलवाला हुन्छ । परम्परागत चलनअनुसार विवाहमा जन्त आएका मानिसलाई बेहुलीभत्तेर बेलुका र जन्ते–बाख्रो बिहान खुवाउने चलन भए पनि हाल दिउँसोको विवाहमा पुलाउ, दही, च्युरालगायतका हल्का खानाको व्यवस्था गर्ने चलन भित्रिएको पाइन्छ ।
विवाहमा सकेको दाइजो दिने चलन परम्परादेखि हालसम्म कायमै रहेको छ । तर, यो प्रथाको आंशिकरूपमा विरोधको आवाज उठेको पाइन्छ ।
विवाहपश्चात् घरायसी व्यवहारमा रम्ने चलन रहे तापनि ब्राहृमण युवा जागिरका लागि नेपालका प्रशासनिक, सैनिक र प्रहरीमा समेत रहेका पाइन्छन् । यस गाविसका युवा शिक्षण पेशामा अधिक पाइन्छन् । विवाह भएका छोरालाई घरबार सुम्पिएर बूढा ब्राहृमण केही पर गएर आश्रम बनाई बस्ने पुरानो चलन रहेकोमा हाल यो परम्परा लोप भएको पाइन्छ । आश्रम बनाई, घरपरिवार त्यागी जोगी बेनेको समयमा कसैले आÇनी पत्नी पनि साथमा लगेर सन्तान जन्मिएको खण्डमा त्यस्ता सन्तानको जात “सन्यासी” कायम गर्ने गरेको पाइन्छ ।
(घ) मृत्यु संस्कार
यस गाविसका ब्राहृमण परिवारमा कर्म चलेको र कर्म नचलेको मानिसको मृत्युमा फरक–फरक संस्कार पाइन्छ । कर्म नचलेको बालकको मृत्यु भएमा जुठो ३ दिन वा स्थानीय नियमअनुसार बार्छन् । अनि, घरमा रुद्री गरेर चोखिने चलन छ । तर, कर्म चलेको मानिसको त्यसरी नचलाई १२ दिनसम्म जुठो बारेर एक वर्षपश्चात् चोखिने परम्परा छ । मृतकका छोरा र श्रीमतीले प्रत्येक महिना मासिक श्राद्ध गरेर वर्षदिनमा चोखिने परम्परादेखि चलिआएको चलन कायमै छ ।
काजक्रिया बस्दा काँचो धागोले छेकेर एउटा ढिकुर
(ओडारजस्तो) बनाइन्छ । अनि त्यसमा मृतकका छोरालाई क्रियापुत्री राखिन्छ । छोरा नभए अन्य व्यक्ति खोजी उसलाई क्रियापुत्री राखिन्छ । मृतककी श्रीमती भए छुट्टै राखिन्छ । क्रियापुत्रीलाई नजिकको पँधेरामा लगेर मृतकको नाममा ढिकुरो उठाउन लगाई दैनिक कर्मकाण्डद्वारा पूजा गर्न लगाइन्छ र एक छाक भात, घ्यू, मरिच, अदुवासहित खान दिइन्छ । तर, नुन खाने चलन छैन । तथापि, प्राकृतिक नुनको प्रयोगमा बन्देज मानिँदैन । १० दिनमा ढिकुरो फुटाइन्छ र ११ औ“ दिनको दिन आÇनो गच्छेअनुसार शøयादान गरिन्छ । यो दान कर्मकाण्डी पुरोहित बाहुनले लिने चलन परम्परादेखि रहेको छ । तर, त्यस दिन ब्राहृमणले यो एघारौ“को दान अस्वीकार गर्ने गरेको पाइए पनि चलन अद्यावधि कायमै छ ।
१२ औ“ दिन गाउँघर, छरछिमेकका सम्पूर्ण दाजुभाइ आई कार्यसिद्धि गराई क्रियापुत्रीलाई कपडा दिने चलन छ । जुठो परेका मानिसले आÇना माता–पिता, श्रीमान्को नाममा एक वर्षसम्म सेतो लुगा पहिरिने चलन छ । तापनि, यसलाई हाल स्वेच्छिक बनाएर समाजमा लिइएको पाइन्छ ।
२. क्षेत्री,खत्री
यो जातिका मानिसहरू गाउँ विकास समितिको १, २, ३, ४, ७ आदि वडामा छरिएर रहेका पाइन्छन् । परापूर्वकालदेखि ‘बहादुर’ कहलिँदै आएका क्षेत्रीहरू नेपालको शाही सेना तथा प्रहरी सेवामा सेवारत पाइन्छन् । ब्राहृमणले आफूभन्दा तल्लो भनिने जातकी महिलालाई स्वास्नी तुल्याई जन्मेका सन्तानलाई गाउँको चलनअनुसार खत्री,जैसी भनिन्छ ।
(क) न्वारन
सुत्केरी हुँदा बाहिर ढिकेटो, पाली गोठमा राख्ने पुरानो परम्परा भए पनि सुरक्षा दिन नसकिने, आगो बालेर ताप्नुपर्ने र बेला–बेलामा खाना बनाउनु र खुवाउनुपर्ने भएकाले हाल यस्तो अवस्थामा रहेका श्रीमती÷बुहारीलाई घरको एक कुनामा राखेर आगो बाली सुरक्षा पु¥याउन थालिएको छ ।
बच्चा जन्मिएको ११ औ“ दिनमा कर्मकाण्डी बाहुनलाई पुरोहित लगाएर यिनीहरू आÇनो बच्चाको न्वारन गराउँछन् । ब्राहृमणले पनि जन्मेको समय हेरेर योग, नक्षत्र आदि मिलाई नाम राख्छन् । पहिला बालक जम्मिएको ६ दिनको राति भावीले बच्चाको भाग्य लेख्न आउँछ भनेर ढोका खुला राखिने चलन रहेकोमा हाल छैटी मनाउने र केही देवीदेवताको पूजा गरी दियो बाल्ने गरिन्छ । गाउँको सांस्कृतिक र परम्परागत अवस्थालाई ध्यानमा राखेर हाल ३ दिन, ५ दिन र ७ दिन आदिमा पनि न्वारन गरिन्छ ।
(ख) कर्म चलाउने
आठ वर्षमा व्रतबन्ध गर्ने परम्परा रहे पनि अहिले यस परम्परालाई ऐच्छिक रूपमा स्वीकारिन्छ । आर्थिक दुरावस्था, समयाभाव आदिका कारण विवाहको अघिल्लो दिन वा सोही दिन पनि व्रतबन्ध गराएर बेहुलो सिँगार्ने चलन पनि चल्न थालेको पाइन्छ । व्रतबन्ध गर्नुअगाडि र विवाहमा बेहुलो सि“गार्नुअगाडि बुकुवा दल्ने चलन छ ।
(ग) विवाह
आठ वर्षमा कर्म चलेका क्षेत्री जातिका मानिसहरू १२ देखि २५–३० वर्षसम्ममा विवाह गर्दछन् । प्रायः १४–१५ वर्षमा विवाह गर्ने परम्परा अद्यावधि लागू छ । छोरीलाई रजस्वला हुनुपूर्व विवाह गर्ने परम्परा यस जातिमा पनि पाइन्छ । तर, हिजोआज २० वर्ष पुगेपछि मात्र विवाह गर्नुपर्छ भन्ने मानसिकता विकास भएको पाइन्छ ।
यस जातिका खेतीवाल, पुँजीपतिहरूले सातवटीसम्म श्रीमती जम्मा गरेको देखिए पनि हाल बहुविवाह गर्ने चलन कम पाइन्छ । पुरानो समयमा उखानै थियो– मर्दका सातवटी स्वास्नी हुन्छन् । यिनीहरूमा अर्काकी श्रीमती भिœयाउने, जारी तिर्ने, जात्रामा समाई ल्याउने, घाँस–पात, मेला–पर्वबाट समेत फकाएर ल्याउने पुरानो चलन भए पनि हाल यो परम्परा क्रमशः कम हुँदै गएको छ । विवाहमा रात राखेर पञ्चैबाजा, वरियात आउने चलन कम हुँदै मन्दिर र दिउँसो विवाहमा आधुनिकीकरण हुँदै आएको पाइन्छ । बाहुनको परम्परा यिनीहरूको पनि साझा परम्परा भएको पाइन्छ ।
(घ) मृत्यु संस्कार
यस गाविसमा ब्राहृमण र क्षेत्री–खत्रीको मृत्यु संस्कार एकै खालको पाइन्छ ।
३. नेवारः
‘नेपाल” भन्ने शब्द ‘नेवार’ शब्दबाट विकसित भएको तथ्य हाम्रो देशका इतिहासविदहरूले उल्लेख गरेको पाइन्छ । नेवारी भाषाकोशमा ‘पा’ को सट्टा ‘वा’ र ‘ल’ को सट्टा ‘र’ प्रयोग गरिन्छ । नेवारहरूलाई काठमाडौं उपत्यकाको आदिवासीको रूपमा लिइए पनि यो जात वा नेवारी भाषिक समूह देशका विभिन्न स्थानमा छरिएको पाइन्छ । रामेछाप जिल्लाभरि नै नेवारहरूको उल्लेखनीय वस्ती भएको ठाउँ हो ।
चिसापानी गाउँका नेवारहरू अधिकांशले आÇनो नामको पछाडि ‘श्रेष्ठ’ र ‘कर्माचार्य’ लेखी आफूलाई नेवार भएको परिचय गराउँछन् । स्थानीय भाषामा धा“यजु, कमिन्चा, बावः, मगचा, नालामी, बनेपाली, पाटने, बासु, फोसी आदि विशेषणले सम्बोधन गर्ने नेवारहरू सम्पूर्णले ‘श्रेष्ठ’ थर लेख्छन् भने अचाजुहरूले कर्माचार्य लेख्छन् । समुदायमा बस्न रुचाउने यस गाविसका नेवारहरूको मुख्य वस्ती वाड नं. ५ र ६ मा छ भने अन्य वडाहरू ३ र ४ मा पनि बहुसंख्यक छन् । उनीहरूको मुख्य पेशा कृषि भए तापनि हाल आएर व्यापार र अन्य रोजगारीमा सक्रिय र उल्लेखनीय सहभागिता पाइन्छ । यस गाउँका हरेक कार्यक्रममा नेवारहरूको निर्णायक भूमिका रहन्छ । नेवारी परम्पराअनुसार भजन गाउने, डबलीमा नाटक प्रदर्शन गर्ने, लाखे नाच देखाउने आदि चलन अहिलेसम्म पनि जोगाइराख्न यस गाउँका नेवारहरू सफल भएका छन् । कार्तिके भजन, माघे भजन यस गाउँका नेवारहरूको मुख्य भजन हो ।
यस गाउ“का नेवारहरू तल्लो टोल र माथिल्लो टोलमा विभाजित भई आ–आÇनो टोलमा भजन गाउँछन् ।
चिसापानीका सबै नेवारहरू आÇनै मातृभाषा नेवारी बोल्छन् भने खस (नेपाली) भाषा बोल्न पनि उत्तिकै सक्षम छन् । उनीहरू सबै हिन्दु धर्मावलम्बी भएकाले हिन्दु धर्मअनुसारको काजक्रिया, पूजाआजा गर्छन् । विवाह, व्रतबन्ध वा अन्य जुनसुकै समारोह होस्, यहा“का नेवारहरू भोजको आयोजना गर्छन् । भोजमा नेवारी परिकार तयार पारिएको हुन्छ र केराको पातलाई थालको रूपमा प्रयोग गरिन्छ ।
(क) न्वारनः
चिसापानीको नेवारी समाजमा छोराछोरीको जन्मपछि सामान्यतया ३ दिनको दिन न्वारन गरिन्छ । ३ दिनको दिन न्वारन नगरे त्यसपछि ५, ७ वा ९ औ“ दिनमा न्वारन गर्दछन् । तर, आपतकालीन अवस्थामा बच्चा जन्मेको दिन तुरुन्तै पनि न्वारन गर्ने चलन रहेको छ । यसरी न्वारन जति दिनमा गरे पनि १२ औ“ दिनपछि मात्र पूजा–आजाका लागि सूतक चोखिन्छ । पहिलो सन्तान छोरा वा छोरी जे भए पनि १२ औ“ दिन सूर्यपूजा गर्ने चलन पनि छ ।
(ख) पास्नीः
पास्नी अर्थात् अन्नप्रासन (भातखुवाइ) छोराको ६ महिना र छोरीको ५ महिनामा गराइन्छ । पास्नी गर्ने चलन परम्परादेखि चलिआएको भए तापनि ऐच्छिक रूपमा स्वीकारिएको छ । बच्चालाई न्वारनको दिन आमाले आफ्नो जूठो भात खुवाएमा र समय मिलेको अवस्थामा दशैंको महाष्टमीको भोज बच्चालाई खान दिएको अवस्थामा पास्नी गर्नुपर्दैन भन्ने मान्यता पनि रहेको पाइन्छ ।
(ग) व्रतबन्धः
छोराहरूको व्रतबन्ध समय र परिस्थितिअनुसार ३ वर्षपछि बिजोर वर्ष पारेर गरिन्छ । व्रतबन्धमा मामाले कपाल काट्ने र फुपू वा दिदीले कपाल भुइ“मा पर्न नदिईकन थाली वा टपरीमा थाप्ने काम गर्दछन् । मामाले कपाल काटेपछि भान्जालाई टोपी लगाइदिने चलन छ । यस कार्यलाई समग्रमा व्रतबन्ध भन्ने गरिन्छ । त्यसपछि कुलको सबैभन्दा जेठो
(नायो) ले कैटा (लगौंटी) बा“धिदिन्छन् र सगुण दिने काम हुन्छ ।
(घ) बेल विवाह र गुफा राख्नेः
छोरीहरू यौवन अवस्थामा प्रवेश गर्नुभन्दा पहिला (१३ वर्षअगावै) बेलविवाह (इंही यायेगुः) र गुफा राख्ने चलन छ । बेलविवाह र गुफा बिजोर वर्षमा राख्ने चलन भए तापनि ८÷१२ वर्षबाहेक अन्य जोर वर्षमा परिस्थिति मिलेमा काम सम्पन्न गर्ने चलन पनि पाइन्छ । नेवारी परम्परामा छोरीको बेलसँग विवाह गरिने हुनाले श्रीमान् मरे पनि विधवा हुँदैन भन्ने मान्यता रहेको पाइन्छ ।
बेलसँग विवाह ब्राéण चलनअनुसार गर्ने गरेको पाइन्छ । गुफा राख्दा घाम नदेखिने अँध्यारो कोठामा राखिन्छ । गुफा राखेको अवधिमा पुरुषलाई हेर्नु हुँदैन । गुफा राखेको १२ औ“ दिन गुफाबाट निकालिन्छ । त्यस अवसरमा सूर्यको दर्शन र पूजा गराउने चलन छ ।
(ङ) मृत्यु संस्कारः
चिसापानीको नेवारी समाजमा नेवारी कर्मकाण्डका पुरेत
(गुभाजुः) नभएकाले काजक्रिया र कर्मकाण्ड खस जातिका पुरेतहरूद्वारा गराउनुपर्ने हुनाले काजक्रियामा शुद्ध नेवारीपन पाइँदैन । मृत्युपश्चात् गरिने काजक्रियामा १२ दिनसम्म आशोच बार्ने चलन छ ।
मृतककी छोरी पाँचौ“ दिनमा आशोचबाट शुद्ध हुन्छे र छैटौ“ दिन बेलुकी छैटौ“को विधि लिने, सातौ“ दिन छोरीहरूले मृतकको आत्मा शान्तिका लागि न्हेन्मा (सात दिनको भात) चढाउ“छन् भने ९ औ“ दिन सबै दाजुभाइले लुगा धुने अनि १० औ“ दिन सबै जम्मा भएर नुहाइधुवाइ गरी गहुँत खाई चोख्याउने चलन छ । ११ औ“ दिनमा ११ औ“को काम गरेर बेलुकी मृतकको नाममा बत्ती लाने र १२ औ“ दिनमा चोखिने काम हुन्छ । तर, १२ औ“ दिन सोमबार वा बुधबार परेमा १३ औ“ दिनमा काम सक्ने चलन छ ।
यो गाउँमा मृत्युपश्चात् दाहसंस्कारका लागि दुईवटा गुठी
(मरु गुठी) प्राचीनकालदेखि नै सञ्चालित छन् । तल्लो टोल र माथिल्लो टोलका दुईवटा गुठीमा करिव २८० घरधुरी आबद्ध छन् । त्यस गुठीका सम्पूर्ण सदस्यहरूले आÇनो समूहको गुठियारको घरमा मृत्यु भएका मृतकको दाहसंस्कारका लागि सहयोग गर्छन् ।
४. सन्यासी, घर्ती, पहरीः
चिसापानी गाविसको २, ४, ७, ९ आदि वाडामा यिनीहरू छरिएर बसेका पाइन्छन् । सन्यासीको परम्परा मागेर खाने भए पनि हाल खेतीपाती, जागिर, व्यापार आदि गरेर जीवन निर्वाह गर्दै आएका छन् । यहाँका सन्यासी फेरी लगाउने, माग्ने कार्य गर्दैनन्, खेती गर्छन् । घर्ती÷पहरी पनि पहिला दास बनेर रहेका भए पनि दासप्रथाको अन्त्य भएपछि यिनीहरू स्वतन्त्ररूपमा खेतीपाती, काठ–ढुंगाको काम गर्ने, लाहुरे बन्ने आदि काम गरेर आÇनो जीवन निर्वाह गर्दै आएका पाइन्छ ।
यिनीहरूको आÇनो खास परम्परा नभएका कारण नजिकको बहुमत समुदायको देखासिकी गरेर नै संस्कार चलाई आएका छन् । यी जातिहरूको विवाह र मृत्यु संस्कार पनि क्षेत्री, बाहुनबाट प्रभावित छ । विवाहमा डोली बोक्ने पुरानो पुख्र्यौली पेशा भए पनि अहिले क्रमशः छोड्दै गएका छन् । शिक्षाको विकासले यिनीहरू पढाइ–लेखाइमा पनि लागेका छन् ।
५. सार्की र कामीः
यस गाविसका २, ३, ४, ७ आदि वडामा सार्की र कामी छरिएर बसेका छन् । सार्कीको पुख्र्यौली पेशा छालाका जुत्ता सिउने, मरेका गाईगोरू आदि चौपायाहरू उपभोग गर्ने परम्परा रहे पनि हाल यिनीहरूको युवा पुस्ता खेती गर्छन् र कोही भारत र देशकै प्रमुख सहरहरूमा ज्याला मजदुरी गरेर केही सुध्रिएको पाइन्छ ।
यस गाविसका विभिन्न वडामा भुग्राती, आछामी, रम्तेल, रोकाया, बसेल, ब्रहृमशाखा थर गरेका सार्कीहरूको बसोबास पाइन्छ । ६० घरधुरी भएका सार्की चिसापानीको कुल जनसंख्यामा ९ प्रतिशत रहेका छन् । सार्कीहरूको परम्पराअनुसार छोरा जन्मिएमा सात दिनमा र छोरी जन्मिएमा पाँच दिनमा न्वारन गर्ने चलन छ ।
सार्कीहरू आफ्नो छोरालाई कर्म चलाउने क्रममा सातदेखि नौ वर्षका बीचमा लगौंटी दिएर चलाइने गरेको पाइन्छ । त्यपपछि छोराको विवाहमा छोरी पक्षलाई रीत दिने चलन पनि अद्यावधि छँदैछ । रीतको नियमभित्र एक मुरी चामल, १० पाथी जाँड बनाउने अन्न (मकै, कोदो आदि) अनि ११ रूपियाँ नगद र पा“चवटा कुखुरा दिनुपर्ने चलन छ ।
चिसापानीमा बसोबास गर्ने सार्कीहरूलाई समग्रमा ‘सार्की’ थरले सम्बोधन गरिन्छ । ‘सार्की’ सम्बोधन गरिएकोमा ज्ञानबहादुर सार्की ‘माथिल्लो जातिका कलम चलाउनेले हाम्रो थर हराइदिए, हामी मुग्राती हौ“’ भनी गुनासो गर्छन् ।
रीत खाने चलनको सन्दर्भमा चौहानटारका पुन्नरे सार्की र सल्लेरीका ज्ञानबहादुर सार्कीले आफूले रीत नखाई उदाहरण बनेको र नयाँ चलन बसालेका छन् ।
तर, कसै–कसैले हालसम्म पनि आफ्नो परम्परा छाडेका छैनन् । यिनीहरूमा कर्म चलेको मानिसको मृत्यु भएमा १० दिनमा क्रिया सकिन्छ । तर, सकिने दिन सोमबार वा बुधबार परेमा ९ दिनको दिन सम्पूर्ण काम सक्ने गर्दछन् । अरूको क्रिया बस्नुपर्दा मृत्यु भएको ७ दिनदेखि बसेर १० दिनमा सकिन्छ । यिनीहरूको पुरेत ज्वाइ“ वा भान्जा हुने गर्दछन् ।
यस गाविसको वडा नं. २, ७ आदिमा कामीहरूको नगन्य वस्ती पाइन्छ । यिनीहरू आफ्नो पुर्खौली पेशा फलाम, आल्मुनियम आदिका भाँडा बनाउने काम गर्दैनन् । यस गाउँका कामीहरू आफूलाई ‘सुनार’ भनेर चिनाउन चाहन्छन् । पुरानो प्रचलनमा ‘विश्वकर्मा’ जातिले परिचित यो जातिका मानिसहरू अहिले सुनको काम, खेतीपाती आदि व्यवसाय गरेर जीवनयापन गर्दछन् ।
यिनीहरूको र सार्कीको परापूर्वकालमा विवाह चल्दथ्यो । तर, दशैंमा साँप्रो विवाद परेका कारण विवाह रोकिए पनि अरू चलनमा सामीप्यता पाइन्छ । सार्की र कामी समान जातीय वर्गमा रहे तापनि एक–आपसमा ढि“डो र दाल नचल्ने कुरा कृष्णबहादुर सुनेल बताउ“छन् ।
६. दमाई
यस गाविसको वडा नं. १, ३ र ५ मा छरिएर रहेका दमाई लगभग १५ घरमा सीमित छन् । समग्रमा ‘दमाई’ भनेर चिनिए पनि यिनीहरू भुषाल र सुन्दास गरेर दुई थरका छन् ।
यिनीहरूको परम्पराअनुसार छोराछोरी जन्मिएको ७ दिनमा न्वारन गर्दछन् । सुत्केरीलाई ११ दिनपछि पानी छुवाउने प्रचलन कायम छ । छोराछोरी जन्मिएको ६ महिनामा भातख्वाइ गर्ने दमाईहरू ५ वर्षमा छेवर गर्दछन् । छेवर गर्दा मामाले कपाल थाप्नुपर्ने परम्परा छ ।
यिनीहरूको कर्म चलाउने छुट्टै नियम केही नभएकोले विवाहमा रीत खाने पुरानो चलन अझै पूर्णरूपमा हटिसकेको छैन । यिनीहरूको रीतमा १० पाथी चामल, एउटा सुंगुर, दुईवटा कुखुरा र ८ देखि १० पाथीसम्म रक्सी केटीपक्षले केटापक्षबाट लिने गरिन्छ । तर, अचेल यो इच्छाधीन हुन थालेको छ । हिजोआज यिनीहरूको विवाहमा अठोट लगाउँदा रक्सी एक पुङ्क र अठोटको कागज दिइन्छ । यही कागजको नियममा रहेर विवाह सम्पन्न गरिन्छ ।
यिनीहरूमा बूढापाकाको मृत्यु भएमा क्रमश ः १० दिनमा काम सक्ने परम्परा छ । यदि बार परेन भने अर्थात् सोमबार वा बुधबार परेमा ९ दिनमा नै सक्ने चलन छ । दमाईको काजक्रियामा पुरेतको आवश्यता पर्दैन । तर, विवाहमा भने पुरेत चाहिन्छ ।
७. मगर
यस गाविसको वडा नं. १ मा मगरको बाहुल्य छ । यहाँ आले, सारू, पुलामी, किंग्रिङ, बुढामगर बसोबास गर्दछन् । ४१ घरमा बाँडिएर रहेका मगरहरू चिसापानीको कुल जनसंख्याको ६ प्रतिशत छन् ।
यिनीहरू आफ्ना छोराछोरी जन्मिएको ७ दिनमा न्वारन गर्दछन् । छोरीको ५ महिनामा भातख्वाइ गर्दछन् र छोराको चाहिँ ६ महिनामा । विवाह बाहुनको परम्पराअनुसार हुने भए पनि यिनीहरूको पनि विवाहको अठोटको समयमा रक्सी, सेल आदि केटापक्षबाट ल्याउने र खानेपिउने परम्परा छ । पुरानो चलनमा रीत खाने भए पनि हाल त्यो चलन प्रयोगमा पाइन्न । पोइला जाने, घिस्याउने आदि कार्य गरेर पनि स्वास्नी तुल्याउने चलन यिनीहरूमा पाइन्छ ।
यिनीहरूको मृत्युमा लगातार १० दिनमा काम सक्ने परम्परा छ । यदि बार परेन भने यिनीहरू पनि ९ दिनमा नै काम सक्छन् । यिनीहरूको काजक्रियामा बाहुन चाहिन्न । तर, भोलिपल्ट रुद्री लगाएपछि चोखिन्छन् र काजक्रियाको वार्षिक बोझबाट मुक्त हुन्छन् । यिनीहरूको मृत्यु हुँदा ज्वाइँचेलालाई डालो बोक्न लगाइन्छ । पुरानो परम्पराअनुसार ज्वाइँ नभए साइनो मिल्नेले बोक्ने चलन पनि रहेको छ ।
८. माझी
चिसापानी गाविसको ८ र ९ वडामा माझीहरूको वस्ती रहेको छ । माछा मारेर र डुंगा चलाएर जीविका चलाउने पुख्र्यौली पेशाका कारणले होला, माझी जातिको बसोबास कोशी किनारमा रहेको पाइन्छ । पुख्र्यौली पेशा जे भए तापनि शिक्षा, विकास, सञ्चारका प्रभावले माझीहरूले पनि आजकाल विभिन्न पेशा अ“गालेको पाइन्छ । यो जातिको विवाह आÇनै जातमा हुने गरेता पनि अन्य जात जस्तै दरै, दनुवार, कुमान, आदि जातिमा पनि गरेको पाइन्छ । यस जातिमा बच्चा (शिशु) जन्मे पछि शिशुको भाग्य लेख्नको लागि छैटौ दिनमा भावि आँउछ भन्ने विश्वास माझीहरू झाम्रे नाचेर रातभरि जागा बस्छन् । त्यस दिन दाजुभाइ र इष्टमित्रलाई बोलाई खानपान गर्ने चलन छ । बच्चा जन्मेको ३ दिनदेखि ७ दिनमा नामकरण (न्वारान) गर्ने गर्छन ।
यसरी नामकरण गर्दा बच्चा जन्मेको बार, ठाँउ र महिनालाई आधार बनाएर राखिने चलन भएता पनि हाल यो चलन विस्तारै हट्दैछ । छोराको ६ महिनामा र छोरीको ५ महिनामा अन्नप्राशन गर्ने चलन छ । छोराको ५, ७ वा ११ वर्षको छेवर (कपालको रौ फेदैदेखि फाल्ने प्रथा) गर्ने गर्छन् । छेवरमा मामाले वालकलाई गाउँको गोठमा दाम्लाले बाँधि एकमाना चामलको पिठोको सेलरोटी ख्वाई कपालको रौं फालिदिन्छ । माझीहरूको प्रमुख चाडपर्वहरूमा दशैं, तिहार, ठूली एकादशी, कोशीपूजा, वैशाख पूर्णिमा, धान्य पूर्णिमा, फागु पूर्णिमा, असारे पूजा, बिहीबारपूजा, साउने संक्रान्ति, माघे संक्रान्ति, चैते दशैं प्रमुख छन् । उनीहरूले विशेष रूपमा मनाउने पर्वहरूमा दशैं, तिहार, ठूली एकादशी, कोशीपूजा र सोह्रश्राद्ध हुन् ।
माझी जातिमा मानिसको मृत्यु भएमा खोला वा नदी किनारमा लगेर जलाउने÷गाड्ने गर्छन् । यो जातिकाले ११ दिनसम्म काजक्रिया गर्दछन् । मानिस मरेको ११ दिनमा ११ वटा चुला बनाई भोज खुवाउने र मृतकको सम्झनामा बर्खी गीत गाउ“छन् भने १२ दिनमा क्रिया बसेका ठाउँमा नै मृतकको नाउँमा थारो भैंसीको बलि दिई नाचगान गरी भोजभतेर गर्ने चलन छ । यसरी माझीहरू मृतकको काजक्रिया सम्पन्न गर्दछन् ।
उनीहरू चौथो दिन केरा भुटेर खाने, छैटौ“ दिन घोत मिसाउने चलन छ । (राजऋषि क“डेलको त्।ग्। ः।ब्। सोधपत्र ‘रामेछाप जिल्ला चिसापानी गा.वि.स.का माझी जातिको सांस्कृतिक पक्षः एक अध्ययन’ बाट साभार)
धर्म, संस्कृति, जाति र भाषा
यस गाविसका प्रमुख जातिहरूमा बाहुन, क्षेत्री, नेवार, सार्की, माझी, मगर, दमाई आदि हुन् । यिनीहरूमध्ये बाहुन–क्षेत्री २२.४ प्रतिशत, नेवार ३४.८ प्रतिशत, माझी १५.५ प्रतिशत, सार्की ९.८ प्रतिशत, मगर ६.७ प्रतिशत रहेका छन् भने कामी, घर्ती, दमाई र अन्य गरेर ८.८ प्रतिशत रहेका छन् ।
यस गाविसमा बसोबास गर्ने मगर, नेवार र माझीले आफ्नो भाषा बोल्छन् भने यिनीहरूको सम्पर्कभाषा नेपाली हो । बाँकी सम्पूर्ण जातिहरू नेपाली भाषा बोल्छन् । यस गाविसका मानिसहरू परम्पराअनुसार हिन्दुधर्म मान्छन् । हिन्दुधर्म माने पनि अरू धर्मप्रति पनि उत्तिकै श्रद्धा राख्छन् । जनैपूर्णिमा, गाईजात्रा, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, दशैं र तिहारलगायत भत्तेरेदेवी पूजा आदि सामूहिक र जातीय परम्परा कायम रहेको भए तापनि एक जातिको संस्कृतिले अर्को जातिलाई हानि–नोक्सानी हुने काम भने कसैले गर्दैनन् । एक–आपसमा सहयोगको भावना सबैमा पाइन्छ ।
–श्रीप्रसाद घिमिरे
चिसापानी जनकल्याण समाजका सदस्य
स्रोत
चिसापानी दर्पण