मैले धेरैपटक अविवाहितहरुको विषयलाई नै प्रधानता दिएँ । प्रेम र वियोग जस्ता विषयकै पेरीफेरीमा आफ्ना
शब्दहरुलाई सीमाकंन गरेँ । विवाह पूर्वको सम्बन्धप्रति मात्रै बढी चासो देखाएँ । यसो गरिरहँदा वैवाहिक जीवनमा सृजित हुने प्रेमलाई भने अवमुल्यन गरेको जस्तो देखियो । आखिर प्रेम त विवाह अघि भन्दा विवाह पछि पो झन अपरिहार्य छ त । प्रेम त जतिसँग पनि हुनसक्छ, तर केही अपवादलाई छाड्ने हो भने विवाह त एकसँग मात्रै गरिन्छ । प्रेम त एउटै मान्छेसँग पटकपटक पनि भइदिन सक्छ, केही समय ब्रेक अप अनि फेरी शुरु । तर विवाह चाहीँ एउटै मान्छेसँग बारम्बार गर्न सकिन्न । प्रेममा विवाह नहुँदा पनि हुन्छ तर विवाहमा प्रेम अपरिहार्य छ । प्रेमले कानुनी मान्यता पाउँदैन तर विवाहले कानुनी मान्यता पाउँछ । यस्तै केही विशिष्टताका कारण पनि प्रेम भन्दा वैध छ विवाह ।
अङ्ग्रेजीमा एउटा भनाई छ -Love is sweet dream but Marriage is alarm clock अर्थात प्रेम एउटा मिठो सपना हो तर विवाह चाहीँ त्यो सपनाबाट ब्यूँझाएर यथार्थमा ल्याउने घडीको अलार्म हो । अब यो भनाईसँग सहमत या असहमत हुने तपाईँको वैयक्तिक अधिकार त तपाइँमै निहित छ । तर मेरो संकेत चाहीँ के हो भने विवाह भनेको वास्तविकता हो । तपाईँ कसैको तस्बीरसँग अगाध प्रेम गर्न सक्नुहुन्छ । तस्बीरको सौन्दर्यले मात्रै पनि प्रेम हुनसक्छ तपाईँमा । तर विवाहका लागि भने त्यतिले मात्रै पुग्दैन । किनकी विवाह आत्मपरक भन्दा बढी वस्तुपरक हुन्छ । अर्थात भावनात्मक भन्दा धेरै यथार्थता गाँसिएको हुन्छ विवाहमा । हुन त स्वीडेनकी एक महिलाले मानव कंकालसँग सहवास गर्ने गरेको घटना हालै सार्वजनिक भइरहँदा कतिपय कुराहरु त भावनात्मक आवेगले गर्दा नै वास्तविकताको नेटो काट्छन् भन्ने तर्क पनि उठ्ला । तर पनि यस्ता एकाध अपवादलाई मान्यता नदिने हो भने हामी ढुक्क भएर भन्न सक्छौँ—विवाह भनेको वास्तविकता नै हो । र यो वास्तविकतालाई सफल बनाउन केही पक्षहरुमा भने ध्यान दिनु आवश्यक छ । केही दिन अघि चितवनका साथी स्वरुप सुयाँलले फेसबुकको स्टाटसमा एउटा प्रश्न राख्नुभयो-“जीन्दगी सम्झौता हो की वाध्यता ?” कसैको स्टाटसमा कमेण्ट गर्न खासै जाँगर नचलाउने मैले पनिएउटा कमेण्ट गरेँ-“जीन्दगी सम्झौता गर्नुपर्ने वाध्यता हो ।” वास्तवमा जीन्दगी भनेकै सम्झौता गर्नुपर्ने वाध्यता हो । जीन्दगीका धेरै रङ्गहरु हुन्छन्, अनेक पाटाहरु हुन्छन् । ती मध्ये कुनै एक मात्रै छाडियो भनेपनि जीन्दगी पूर्ण नरहन सक्छ, अपुरो भइदिन सक्छ । त्यस्तै एउटा पाटो हो विवाह पनि । विवाह अनिवार्य नै त नहुन सक्छ तर जीन्दगीको पूर्णता प्रदान गर्ने मुहान भने अवश्य नै हो । यसको अभावमा जीन्दगी, जीन्दगी जस्तो नहुन पनि सक्छ । अरुको नजरमा आफु सामाजिक नभइन सक्छ, अनि आफ्नै भोगाईमा स्वयम एकलकाटे ठहरिन सक्छ । अनि समग्रमा चाहीँ जीन्दगी, जीन्दगी जस्तै नभइदिन सक्छ । यसर्थमा पनि विवाह त्यस्तो पुल हो जस्ले पारिपट्टीको जीन्दगीसम्म पु¥याउँछ मान्छेलाई । म फेरी दोहो¥याउँछु, जीन्दगी सम्झौता गर्नुपर्ने वाध्यता हो । यही कुरालाई विवाहसँग जोडेर हेर्ने हो भनेपनि विवाह त झनै सम्झौता हो । यत्तिका वर्षसम्म बेग्लाबेग्लै सँस्कार सिकेर हुर्किएका २ जना अब एउटै छानो मुनी, एउटै विछ्यौनामा अटाउने कुरो त्यति चानचुने होईन । एक आपसमा विचार नमिल्न सक्छन्, व्यवहार नमिल्न सक्छन्, सँस्कार नमिल्न सक्छन् अनि अरु पनि थुप्रै-चुम्बकका पनि विपरीत ध्रुबहरु एक आपसमा आकर्षण हुन्छन् । ठीक त्यसरी नै मान्छे पनि आकर्षित भइरहेको हुन्छ । तर मान्छेमा चाहीँ विकर्षण पनि हुन्छ, जुन चुम्बकमा हुँदैन । पछिल्लो समयका वैवाहिक सम्बन्धमा आशंका र अपारदर्शिताले व्यापक ठाउँ ओगटेको छ । उसको मोबाईलमा साँझतिर कसैको मिसकल आउनुपर्छ अनि रडाको शुरु हुन्छ । जति सम्झाउन खोजेपनि सम्झाउनै सकिन्न । को हो ? के हो ? किन मिसकल गरेको ? नम्बर कसरी पायो ? भन्ने जस्ता प्रश्नहरु एकैपटक ह्वारह्वार्ती आउँछन् । यही हो आशंका, यही हो विश्वासको कमी । सबैभन्दा ठुलो कुरो त विश्वास पो हो त । एउटा पत्थरलाई विश्वास गरियो भने त्यही पत्थर देवता बन्छ, विश्वास गरिएन भने साधारण मुर्ति । नरिसाउनुहोला एउटा प्रश्न सोध्छु तपाईँलाई—“तपाईँको बुवा को हो ?” स्वभाविक रुपले एकजना मान्छेको आकृति सम्झिनु भयो होला तपाईँले, उहाँ नै हो मेरो बुवा भनेर । अब मलाई भन्नोस् त, उहाँ नै तपाईँको बुवा हो भन्ने आधार के ? न तपाईँको बुवा अरु नै पो हो की । यदि तपाईँ, उहाँ मेरो बुवा हो भन्ने आधार डि.एन.ए. हो भन्नुहुन्छ भने, के डि.एन.ए.परीक्षण गरेर मात्रै उहाँलाई बुवा भन्न थाल्नुभएको हो र तपाईँले ? होइन नी । तपाईँले त सानैदेखी उहाँलाई बुवा भन्न थाल्नुभएको हो । त्यो किन भने जतिबेला तपाईँ तोतेबोली बोल्न सिक्दै हुनुहुन्थ्यो, त्यतिबेला बाटै आमाले “उ बाबा” भन्दै उहाँतिरै औला तेस्र्याउनुभयो अनि तपाईँले पनि विश्वास गर्नुभयो होइन र ? मैले तपाईँलाई यति भन्नुको अर्थ, सम्बन्धमा विश्वास हुनुपर्छ भन्ने नै हो । विश्वास उडेपछिको सम्बन्ध, सम्बन्ध जस्तो हुँदैन, शमसान जस्तो हुन्छ । वैवाहिक जीवन सफल बनाउन आवश्यक पर्ने अर्को संजीवनी बुटी पारदर्शिता हो । अचेल धेरैले आफ्नो श्रीमान या श्रीमतीलाई विवाह अघिको सम्बन्धको बारेमा भन्यो भने घर बिग्रिन्छ भनेर त्यस्तो कुरा त लुकाउनुपर्छ भनिरहेका छन् । जुन शतप्रतिशत गलत हो । त्यसरी लुकाइएको कुरा कुनै न कुनै दिन उस्ले थाहा पायो भने सम्बन्ध नै ध्वस्त हुन बेर लाग्दैन । त्यसैले विवाहपूर्वको सम्बन्धको बारेमा आफ्नो जीवनसाथीसँग लुकाउनु हुँदैन । बरु सबै हुबहु भन्नैपर्छ भन्ने चाहीँ होईन । विवाह अघिको त्यो सम्बन्धलाई सामान्य सम्बन्ध जस्तो गरि भएपनि बताइदिनुस्, जस्ले गर्दा विश्वास बढ्छ एक अर्कामा । कतिपय सत्य कुराले हानि गर्छ भने जस्ताको त्यस्तै बताउनुपर्छ भन्ने पनि होइन । आफु अनुकुल बताइदिनोस् । तर बताउन चाहीँ बताउनोस् । जीवन साथी हरेक व्यक्तिको त्यस्तो अन्तिम मान्छे हो, जो सँग केही लुकाउनुपर्दैन, र लुकाउनु हुँदैन पनि । फ्रेन्च दार्शनिक माइकल डे मोन्ट्याग्नेले भनेका छन्—“त्यो बिहे अति उत्तम हुन्छ, जहाँ पति बहिरो र पत्नी अन्धी हुन्छे ।” खै कतातिर लक्षित भएर उन्ले यसो भने त्यो त थाहा छैन । तर म ने यत्ति भन्छु की त्यो विहे अति उत्तम हुनका लागि पत्नीले देख्नै नहुने काम पतीले गर्नु हुँदैन र पतीले सुन्न समेत नसक्ने काम पत्नीले गर्नुहुँदैन । बस् यत्ति भए खडा हुन्छ, एउटा औषत जीन्दगीको जग, जसमा ठड्याउन सकिन्छ जीन्दगीको महल ।
थुप्रै कुराहरु नमिल्न सक्छन् जसले दाम्पत्य जीवन असफल बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । दुई फरक—फरक बाटाहरुबाट अघि बढेकाहरु एउटै विन्दुमा आइपुगेर अघि बढ्दा निश्चय नै सफ्ठ्यारा कम र अफ्ठ्यारा ज्यादा हुन सक्छन् शुरुवाती दिनहरुमा, पछि त त्यही कुरा आफै बानी पर्न थाल्छ । केही उसको सहनु र केही आफ्नो लाद्नु, यही नै हो हामीले देख्दै गरेको जीन्दगी बिताउने शैली ।
लेखक:
महावीर विश्वकर्मा Mahabir Bishwakarma
बहकिने मनका प्रस्तोता