Home » , » दिनेशराज पुरीका १० गजलहरू (28-06-2013)

दिनेशराज पुरीका १० गजलहरू (28-06-2013)

NepaliTalim | 9:41:00 PM | 0 comments
1.गजल 
जून तारा झै खुली, म कसरी हाँस्न सक्छु?
आँखामा छ त्रिशुली,म कसरी हाँस्न सक्छु?

यो प्रेमको वगैचामा हाँगाबिना पातबिना
त्यो गुलाब झै फुली, म कसरी हाँस्न सक्छु?

मेरो प्राण भन्ने मान्छेनै अब ढुंगा भैसक्यो
जो फेर्दैन काचुली, म कसरी हाँस्न सक्छु?

हिजो पलपल् मुटुभरि, जुन याद बोकी हिडेँ
आज त्यै याद भुली,म कसरी हाँस्न सक्छु?

मनमा डडेलो लगाई ऊ बसाइँ सरेको छ
तै भन् न बाटुली, म कसरी हाँस्न सक्छु?
-दिनेशराज पुरी
सुनारपानी-९ रामेछाप(2069-10-21)

२.गजल
दुई- दुईटा भीरबाट लडियो "बर्तमान् परिप्रेक्षमा"
कुरो सहमतीमै अल्झियो "बर्तमान् परिप्रेक्षमा"

जब म प्रधानमन्त्री भएथेँ इन्डिया चहारेर फर्किदा
लक्षण सरुवा रोगकै देखियो, "बर्तमान् परिप्रेक्षमा"

मस्ती आज छ भोलि "छएन" भनेर आउदा -जाँदा
भट्टीवाल्नीसँग प्यार गाँसियो "बर्तमान् परिप्रेक्षमा"

त्यत्ति हिमचिम त बढाएझै लाग्दैन खै कसरी यो?
ऊ गर्वीणी छे भन्ने सुनियो, "बर्तमान् परिप्रेक्षमा"

त मैले भनेकै छु, मलाई हत्यारा साबित गरियोस्
संविधान सभा नै मारियो, "बर्तमान् परिप्रेक्षमा"
-दिनेशराज पुरी

सुनारपानी-९ रामेछाप

३.गजल
ऊ याद बनी आउँछ र प्यार माग्छ
अनि घरिघरि सताउँछ र प्यार माग्छ

हे दैव! मै रित्तो छु म के दिउँ उस्लाई
टुहुरा आसु बगाउँछ र प्यार माग्छ

"तिमी विना म बाँच्न सकिन सानू"
झिनो समर्पण देखाउँछ र प्यार माग्छ

"यो भूल दोहोरिए मारिदेऊ स्वीकार्छू"
ऊ दुवै कान समाउँछ र प्यार माग्छ

म के गरुँ अब ? मेरो पाउमा परेर
भीखको झोली फिजाउँछ र प्यार माग्छ
दिनेशराज पुरी 
सुनारपानी ९, रामेछाप
(2069-09-19)

४.गजल
छोराले खै के दिन्छन् बाले धड्कन दिइरहेछन्
आमाहरुले प्रत्येक सासको कम्पन दिइरहेछन्

खै यो पागलपन या प्रेम? प्रेमी प्रेमिकाहरु
जस्ले मुटु चुड्छ उसैलाई मन दिइरहेछन्

र त शब्दमा बाँच भनेको, ऊ खरानी भैसक्यो
उस्का अक्षरहरुले उस्लाई जीवन दिइरहेछन्

यी ईश्वर जी पनि उदेकका छन् बा!-टुहुराको
घर लुटिरहेछन् सट्टामा आँगन दिइरहेछन्
-दिनेशराज पुरी
सुनारपानी-९, रामेछाप

५.गजल
तिम्रो नासोको रुपमा जन्मदै "माया"शव्दको
"टुहुरा" जन्मेका कथाहरुको पाण्डुलिपि के गरुँ? 

तिम्लाई नायक बनाई तिम्रो अभावमा भिजेर
आँसुले लेखेका कथाहरुको पाण्डुलिपि के गरुँ?

ठीक छ त्यो बस्ती नछिरुँला म नबोलूँला तर
मुटुले बोलेका कथाहरुको पाण्डुलिपि के गरूँ?

"भुल्"भन्नुभन्दा अगाडि मलाई जबाफ चाहिन्छ 
यादमा मरेका कथाहरुको पाण्डुलिपि के गरुँ?
-सुनारपानी-९ रामेछाप
(2069-12-14)

६.गजल
हत्याराको कारखानामा आगो लगाइयोस्
अब यस्तो निशानामा आगो लगाइयोस्

जहाँ अपराधीलाई ढोकासम्म पुर्याइदैन
त्यस्ता प्रत्येक थानामा आगो लगाइयोस्

जस्ले झुप्राको मझेरी खनेको छ यहाँ
उस्को पनि छानामा आगो लगाइयोस्

सरकारले"भोका" र "टुहुरा"चिन्दैन भने
तिन्का नाम-ठेगानामा आगो लगाइयोस्

कि भने बलात्कारीलाई ठेगान लगाइयोस्
कि विधानको पानामा आगो लगाइयोस
-दिनेशराज पुरीसुनारपानी-९ रामेछाप(2069-12-06) 

७.गजल
देउता झै मान्छे पुजेर म जागिर खान्न आमा
दुनियाँको खुट्टा ढोगेर म जागिर खान्न आमा

नङग्रा खियाउँछु,हुर्किसकेँ माफ गर फेरि पनि
तिम्लाई बन्दकी राखेर म जागिर खान्न आमा

कति दुख गरेर तिमीलाई बुवाले जोडिदिएको
त्यो नाकको फूली बेचेर म जागिर खान्न आमा

सके पौरखले खान्छु नसके नखाई नखाई मर्छु
तर नेताको"गाउँले"बनेर म जागिर खान्न आमा

 -सुनारपानी-९ रामेछाप
(2069-12-07) 

८.गजल
छोडिदे नभन्नुस् आमा,मेरो पनि हक लाग्छ
मैले जोतेको जग्गामा,मेरो पनि हक लाग्छ

आज नपाए पनि कुनैदिन मेरी हुनुको नाताले
उस्का प्रत्येक पाइलामा मेरो पनि हक लाग्छ

जस्लाई आफ्नो बनाउन आफैलाई भुलेको छु
त्यो मनको नाका-नाकामा,मेरो पनि हक लाग्छ

जुन आँखाले मलाई पलपल एकहोर्याएको छ
किन लाग्दैन?त्यो आँखामा मेरो पनि हक लाग्छ

कि मेरो गहिरो समर्पणउपर इजलास हुनुपर्यो
नत्रभने मुटुको कुनामा, मेरो पनि हक लाग्छ
(2069-11-12

९.गजल
तिम्रो हातमा बोतल?कुन पक्षको?
यत्ति ठूलो हलचल, कुन पक्षको?

दर्केको सावनझै,देशको छातीभरि
आँशुको/रगतको भल,कुन पक्षको?

एकरात निदाएको छैन आनन्दले
आजपनि खलबल,कुन पक्षको?

म के उत्तर दिउँ के?ऊ सोधिरहेछ
तँ उभिएको धरातल कुन पक्षको?

सरकार तँ जवाफ दे एउटै शब्दमा 
देश कुन पक्षको दल कुन पक्षको?

-दिनेशराज पुरी
सुनारपानी,९ रामेछाप
(2069-11-06)

१०.गजल
मनको रोजाइको यौटा मन भेटियो
त्यो मनको परिचय सज्जन भेटियो

जब अंगालो छोइयो हल्का हल्का
लाग्यो आज सिड्गो गगन भेटियो 

जुनले आँखा चिम्लियो एक्कासी
शरिरमा नजानिदो कम्पन भेटियो

यही नाराको बजार हजार भएछ
दिनेशको गालामा चुम्बन भेटियो 

दिनेशराज पुरी 
सुनारपानी ९, रामेछाप

उहाँको गजल संग्रह धोखाको आगो

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger