Home » , » पूर्वेली गाउँलेका ५ गजलहरू (२० असार २०७१)

पूर्वेली गाउँलेका ५ गजलहरू (२० असार २०७१)

NepaliTalim | 9:43:00 AM | 0 comments
पूर्वेली गाउँले
१. गजल
मर्नु बाँच्नु पारी मलाई,छोडी निष्ठूरीले । 
सँगै बाँच्ने बाचा कसम,तोडी निष्ठूरीले ।

मेरो चोखो मायाँ उनले,पल्मै लत्याएर,
मेरै सामु पराई घुम्टो, ओडी निष्ठूरीले ।

झूप्रो त्यागी महलको,सुख रोजी उनले,
सिउँदो पुछी चुरा पोते,फोडी निष्ठूरीले ।

सँगै यात्रा  गर्दै जाँदा, दोबाटोमा एक्लो,
मलाई छाडी अन्तै नाता,जोडी निष्ठूरीले ।

मरूभूमी जस्तै उजाड, पार्दै मेरो जीवन,
खुशी रोप्दै पराई दिल, गोडी निष्ठूरीले ।
पूर्वेली गाउँले
यासक-४,पान्थर
हाल-द कोरिया

२. गजल
इशारामै संसार चल्ने, पैसाभित्र के छ त्यस्तो ?
धन बिना इज्वत ढल्ने,पैसाभित्र के छ त्यस्तो ?

राष्ट्रघाती गद्धारहरू, गोली ठोक्छु भन्नेहरू,
घुस पाउँदा नाडी गल्ने,पैसाभित्र के छ त्यस्तो ?

मै हुँ भन्नेहरूलाई नी, पैसा हानी झटारोमा,
अपराधीले आँखा छल्ने,पैसाभित्र के छ त्यस्तो ?

गरीब'ले साँढेहरूको, लछार पछार खेप्नु पर्ने,
बिरोध गरे बस्ति जल्ने, पैसाभित्र के छ त्यस्तो ?

सिंहासनमा आफू बसी, अरनखटन गरे पुग्ने,
ओठमै हिरा मोती फल्ने,पैसाभित्र के छ त्यस्तो ?
पूर्वेली गाउँले
यासक-४,पान्थर
हाल-द कोरिया

३. गजल
तिम्रो साँचो प्रेमको मूल्य,तोकिएला होस गर ।
जवानीलाई पैसासँग, जोखिएला होस गर ।

औकात पनि बिर्सिएर, हदै सम्म भयो भने,
चुरीफुरीले उम्लिएर, पोखिएला होस गर ।

भोलीको दिन देखिन्दैन, समयले जे नी गर्छ,
हाँस्दा हाँस्दै सबै खुशी,खोसिएला होस गर ।

मायाँ गर्ने बाहानामा,स्वार्थ लुट्ने धेरै हुन्छन्,
मौका छोपी मुटुमा झिर,रोपिएला होस गर ।

समयले कोल्टे फेरे, आँखा तर्लान् आफन्तैले,
पाईलै पिच्छे ठेस लागि,ठोकिएला होस गर ।
पूर्वेली गाउँले
यासक-४,पान्थर
हाल-द कोरिया

४. गजल
घाम पानी छेल्ने झुप्रो, बनाउन नी सकिएन ।
छाक टार्ने मेलो मेसो, कमाउन नी सकिएन ।

रोई रोई चिच्याउँदै, बेहालमा छन् बाल बच्चा,
भोकाएका छोरा छोरी, मनाउन नी सकिएन ।

श्रम गरी कमाकोले, घर र धन्दा नचले'सी,
बाउ हुँ भन्ने कर्तब्य, जनाउन नी सकिएन ।

तप्प तप्प झार्दै आँसु, आफ्नै खप्पर छाम्दै बसें,
आँसु पुछी रोको मन, थमाउन नी सकिएन ।

कैले सुख नदेख्ने म, आकांक्षालाई परै राखौं,
जे छ त्यस्मै खुशी बनी, रमाउन नी सकिएन ।
पूर्वेली गाउँले
यासक-४,पान्थर
हाल-द कोरिया

५. गजल
कुरा बुझी जनता आफै, उठ्नुपर्छ अब ।
अत्याचारको बिरूद्धमा,जुट्नुपर्छ अब ।

दुष्टहरूको सड्यन्त्र सबै, भत्किने गरी,
आँधी बनी धैर्यको बाँध,फूट्नुपर्छ अब ।

दलाली र गद्दारहरू, यसै छोड्नु हुन्न,
झुन्ड्याएर पाता फर्काई,कुट्नुपर्छ अब ।

शक्तिको आडमा दिउँसै,डाका मार्नेलाई,
जेलमा हाली सर्वस्व नै, लुट्नुपर्छ अब ।

स्वार्थ पुरा गर्न देश, बन्धक राख्नेहरू,
गोली ताकी सिधै टाउको,भुट्नुपर्छ अब ।
पूर्वेली गाउँले
यासक-४,पान्थर
हाल-द कोरिया

Mail from Purbeli Gaule  : 
नमस्कार,
   यस चिसापानी ब्लगको सम्पूर्ण एडमिन ज्यूहरूमा । तपाईहरूको ब्लगको निम्ति आफ्नो गजलहरू प्रेषण गरेको छु । प्रकाशित हुन्छ भन्ने आसामा छु । अन्तमा तपाईहरूको ब्लगको उत्तरोत्तर प्रगतिको कामना ।
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger