Home » , » कोमल भट्टका १० गजलहरु पढ्नुहोस्

कोमल भट्टका १० गजलहरु पढ्नुहोस्

NepaliTalim | 4:30:00 PM | 0 comments
नमस्कार साथीहरु,
गजलकार कोमल भट्टका १० गजलहरु लिएर आएको छु कस्तो लाग्छ प्रतिकृया दिनुहोला ।

1) गजल एक
**************
भरोषा गरेथेँ ढल्यो आज फेरी
खरानी भएरै बल्यो आज फेरी

दियौ घात धोका कसम बिर्सनाले
विचारेर मष्तक गल्यो आज फेरी

उडाएर स्वप्ना अधिक शून्य पार्दै
मनैमा हुरी पो चल्यो आज फेरी

कपटले सबै चीज निखारेर लुट्दै
अधर्मी निठुरले छल्यो आज फेरी

विषाद धेर बढ्दा खुबै नम्र यो मन
दुखाएर"कोमल"जल्यो आज फेरी
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

2) गजल दुइ
सहिदहरूप्रति हार्दिक श्रद्धान्जली सहित:-
----------------------
तिरस्कार गरी नमारौं कहिल्यै सहिदका सपना
घुयेंत्रो हानी नझारौं कहिल्यै सहिदका सपना

स्वदेशको लागि बहाए रगत जीउ ज्यान अर्पेर
यता न उता नपारौं कहिल्यै सहिदका सपना

छाडेर गए हामीलाई खुसी समुज्वल भविष्य
कृतघ्न बनी नटारौँ कहिल्यै सहिदका सपना

स्वतन्त्रताको बिरुवा रोपी सुम्पेका फलाउन
रछ्यान माथी नसारौँ कहिल्यै सहिदका सपना

श्रद्धाको फूल चडाऊँ आज ससम्मान प्रेमले
हृदय बाट नतारौं कहिल्यै सहिदका सपना
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

3.गजल तिन
धरापमा परे झैँ भयो जिन्दगानी
********
धरापमा परे झैँ भयो जिन्दगानी
हरेक् पल् मरे झैँ भयो जिन्दगानी

शरदको चिसोले वनै शून्य पार्दै
पतिङ्गर झरे झैँ भयो जिन्दगानी

पलाएन हाँसो सुक्यो आश सारा
सबै थोक् हरे झैँ भयो जिन्दगानी

दु:खै दु:ख र पीडा सहित् उर्लिएको
समुन्द्रै तरे झैँ भयो जिन्दगानी

असल गर्छु भन्दा खराव आइलाग्ने
अधिक पाप् गरे झैँ भयो जिन्दगानी
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

4. गज़ल चार
कस्तो हुन्छ चोखो मायाँ गर्नेलाई नै थाहा हुन्छ
************
कस्तो हुन्छ चोखो मायाँ गर्नेलाई नै थाहा हुन्छ
कति दुख्छन चोटहरू पर्नेलाई नै थाहा हुन्छ

बाध्यता र विवसताका कथा व्यथा जति सबै
अभावमा सधैँ आँसु झर्नेलाई नै थाहा हुन्छ

सतहलाई नियालेर देखिंदैनन भित्री कुरा
जङ्घारको गहिराई तर्नेलाई नै थाहा हुन्छ

गाह्रो छ कि सजिलो छ विछोडमा जिउनु पर्दा
प्रत्येक पला तड्पिएर मर्नेलाई नै थाहा हुन्छ

कसले लुट्यो सुख,शान्ति,रमाइलो र हाँसो अनि
जिन्दगीका सारा खुसी हर्नेलाई नै थाहा हुन्छ
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

5) गज़ल पाँच
********
मिलाएर हातै गरौँ प्रेम साँचो
बिते बित्छ रातै गरौँ प्रेम साँचो

नजर क्यै झुकाई लजाएर घुम्टो
उघारेर बातै गरौँ प्रेम साँचो

पिई प्रीत धारा अधिक लट्ठ पर्दै
बढाएर मातै गरौँ प्रेम साँचो

उदाई बिहानी चरी चिर्र गर्दा
बनी फेरि तातै गरौँ प्रेम साँचो

अपूर्वै मिलनले मधुर जिन्दगीको
रची गीत खातै गरौँ प्रेम साँचो

दिवस प्रेमको यो बनोस दिव्य धारा
न होस् तुच्छ घातै गरौँ प्रेम साँचो
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

6) गज़ल छ
***********
छुटाएरै खुसी हाँसो,रुवायो आज तकदिरले
भिजाएरै झर्यो आँसु,धुवायो आज तकदिरले

सुनौला कल्पना गर्दै,फुलेथ्यो फूल झैं जीवन
खसालेरै भूमि माथि,कुवायो आज तकदिरले

सगर् छुन्छु भनी हिंड्दा,खपें आपतहरु सारा
थचारेरै पूरै लोप्पा खुवायो आज तकदिरले

न पाएँ शान्तिले बाँच्नै,न लियो ज्यान मारेर
घिसारेरै लगी रौरव, छुवायो आज तकदिरले

म को हूँ को थिएँ भन्ने,भयो ऐले कथा जस्तै
घचेटेरै भङ्गालोमा, डुवायो आज तकदिरले
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

7)  गज़ल सात
*********
अज्ञानी छौं ज्ञान दिनोस सरस्वती माता
विद्या बुद्धि दान दिनोस सरस्वती माता

कुभावना हटोस् सबको सन्मार्गमा लाग्दै
इज्जत अनि मान दिनोस सरस्वती माता

निरक्षरले पढ्न सकुन प्रेम बढाई मनको
फोहर मैला जान दिनोस सरस्वती माता

प्रतिभाको मूल फुटी ढाकोस समाजमा
प्रतिष्ठा र शान दिनोस सरस्वती माता

कर जोडी फूलको थुँगा अर्पण गरेँ आज
भक्ति भाव लान दिनोस सरस्वती माता
श्री पञ्चमी
४ फाल्गुन,२०६९
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

8)  गज़ल आठ
*******
जति चोट खपेर नि गंगाजी भै बह्यौ आमा
बाँचुन्जेलै अभाव र असन्तुष्टि सह्यौ आमा

रातोदिन डोको,नाम्लो,घाँस सँग प्रेम गाँस्दै
यिनैलाई आफ्ना दर्द सधैँ भरी कह्यौ आमा

सन्ततिलाई हुर्काउन दुखै दु:ख र पीडा झेल्यौ
जिन्दगीमा कयौँ दिन भोकै नाङ्गै रहयौ आमा

नखाइ नखाइ काम गर्दा निम्तियेर रोगहरू
शोक सुर्ता बढ्दै गए साह्रै जीर्ण भयौ आमा

ज्वलन र छटपटीले दुख्न थाल्यो प्यारो मुटु
टुहुरो नै बनाई हाल्यौ चट्टै छोडी गयौ आमा
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

9. गज़ल नौं
**********
स्वाभिमानी नेपाली म झुक्न सकिन
इमान्दारी बिकायेर चुक्न सकिन

सबै सँग मायाँ लाएँ भेद नराखी
निमुखालाई दपेटेर भुक्न सकिन

कुर्नु सम्म कुरें मैले स्वच्छ बिहानी
आधा उमेर बितेपछि ढुक्न सकिन

डाँडा काटी कहाँ कहाँ पुग्नु परे नि
पारदर्शी मात्रै बनेँ लुक्न सकिन

आफ्नो श्रम बेचेको छु सधैं बिदेशमा
धान्नै पर्यो जीवन यो सुक्न सकिन

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

10) गज़ल दश
****
संसारमा सबै भन्दा,देश आफ्नै प्यारो
मीठो लाग्ने भाषा अनि,भेष आफ्नै प्यारो

लगाएनी बिदेशका,चिल्ला चिप्ला लुगा
चोखा हातले बनाएको,खेस आफ्नै प्यारो

रङ्गाएर खैरा,सेता, राता, नीला भन्दा
प्रकृतिले देको कालो,केश आफ्नै प्यारो

डाँडा काँडा उकाली र ओरालीमा झर्दा
सधैँ भरी लागे पनि,ठेस आफ्नै प्यारो

परचक्री रीति रिवाज प्रक्रियालाई देख्दा
जहाँ सुकै पुगे पनि पेश आफ्नै प्यारो
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger