Home » » Mang Dorje Sherpa माङ दोर्जे शेर्पाका १० दश गजलहरू -04-02-2016

Mang Dorje Sherpa माङ दोर्जे शेर्पाका १० दश गजलहरू -04-02-2016

NepaliTalim | 1:18:00 PM | 1comments
Mang Dorje Sherpa
१.गजल
असल काम गर्न खोजे अवरोध हुन्छ  
यस्ता नाबालक हरुमा कैले बोध हुन्छ।

जिउदो हुँदा कसैले नि चिन्दैनन् बिचरा
मरे पछि बल्ल तल्ल खोज-सोध हुन्छ।

घर भित्रै हत्या गरी ज्यान लुकाइछ
रगत लाई सुकाउन लिप-पोत हुन्छ।

असारमा धान रोप्दा मस्त निदाउछ
मंसीरमा धान फल्दा खन-जोत हुन्छ।

जंगे पनि हत्यारा नै थिए हुन लाई 
तर आज भोलि दिनै पर्व-कोत हुन्छ।
माङ दोर्जे शेर्पा

२.गजल
मलाई भेट्न छोडेर अरु लाई भेटी दियौ
यो मायाको मुनालाई कलिलैमा रेटी दियौ

अरु लाई छले पनि भगवान्ले देखेका छन् 
अपराध गरे पछि प्रमाण सबै मेटी दियौ।

गर्ने बेला सहमती भएर गरेका थियौं 
स्वार्थ पूरा भए पछि अन्यत्रै लखेटी दियौ।

लुट्नसम्म लुटीदियौ नाङ्गेझार पारी पारी
रस चुसी भीर बाट मलाई घचेटी दियौ।

प्रभु संग गुनासो छ मलाई एउटी त छैन
कसै लाई भने धेरै धेरै धेरै केटी दियौ।
माङ दोर्जे शेर्पा

३.गजल
न्छे भनी मैले छुन पनि सकिएन
टाढा हुँदा धुरु-धुरु रुन पनि सकिएन।

धेरै कोसिस गरे मैले अतीत त्यो भुल्न लाई
मन भित्र भाको याद धुन पनि सकिएन।

माया प्रीतिको खेलमा असफल भईदैमा
सबै कुरा त्यागी जोगी हुन पनि सकिएन।

आफ्नै जीवन लाई घृणा गर्ने बाध्यकारी मान्छे
जीवन छोडी मृत्यु लाई चुन्न पनि सकिएन।

बिचित्रको संसारमा जिन्दगीको हिसाब गर्न
जोड,घटाउ,भाग र गुन्न पनि सकिएन।

४.गजल
तिमी बाट सधैं जसो यो मुटुमा दमन हुन्छ
तिम्रो तानाशाही मन कुनै दिन पतन हुन्छ।

बाहिरी त्यो सुन्दरता केवल क्षणिक मात्र हो
सुन्दर त त्यो हो जब सफा मन,बचन हुन्छ।

सन्तुष्टि नै सबैभन्दा ठूलो हुन्छ जिन्दगीमा
सोच्यौ भने के हुन्न र,झुपडी नि भवन हुन्छ।

मनुष्यको दिल भए विशाल र फराकिलो 
यो दुनियाँ विशाल हुन्छ जसरी यो गगन हुन्छ।

दुई दिने यो चोलामा किन गर्नु रिस,डाहा
कुनै दिन पक्कै पनि सबैको नै मरन हुन्छ।
माङ दोर्जे शेर्पा

५.गजल
तपाईं हाम्रो माया बराबर हुनुपर्छ 
सबै जनाको उस्तै अग्रसर हुनुपर्छ।

बिश्वासमा अढेकोछ हाम्रो यो संसार
हामी एक अर्कामा सधैं भर हुनुपर्छ।

बल्लतल्ल पाएको मनुष्यको यो चोला
जिउन लाई कर हैन रहर हुनुपर्छ।

जाल,झेल,घृणा र बितृस्णाको नभई 
माया र पिरतीको यो शहर हुनुपर्छ।

हत्या,हिंसा,लुट्पाट को बिदाइ गर्नुपर्छ
हर बिहान् सुन्ने मीठो खबर हुनुपर्छ।

६.गजल
पुर्णिमाको जून तिमी बादलुले छेकी देला
अन्तरीक्षयात्री आई तिमी माथि टेकी देला

साउने त्यो झरी पर्दा नहिड भो भिजी भिजी
लोभ लाग्दा अंग हरु अरुले नै देखी देला।

सबैभन्दा पहिले म भन्छु आफ्नो मन्को कुरा
नत्र भने पराइले प्रेम-पत्र लेखी देला।

तिमी लाई चिन्ता होला सधैं भरी यो कुरामा
तिम्रो मन्को भारीलाई कसले पो थेगी देला।

सहन सक्दैन हेर तिम्रो पीडा यो "माङ"ले
मन भित्र घाउ भए मायाले नै सेकी देला।
माङ दोर्जे शेर्पा

७.गजल
ठिकै थियो सबै कुरा बेठिक भएछ
जनताको नोकर भन्थे मालिक भएछ।

फुट्ने थेन हिजो सम्म उसैको बोली
राजनीतिमा लागेर तार्किक भएछ।

एकाईसौ शताब्दीले छोएर होला
मन बाट हैन माया भौतिक भएछ।

तिमी भए अरु केही चाइदैन भन्थी
तर आज ठूलो कुरा आर्थिक भएछ।

लेख्दा लेख्दै,खेल्दा खेल्दै अक्षर संग
थाहै नपाइ मेरो गजल मार्मिक भएछ।
माङ दोर्जे शेर्पा

८.गजल
मेरो चोखो माया लाई शरीरको मेल सम्झ्यौ
मनोरंजन मा खेलिने दुई दिने खेल सम्झ्यौ।

जाने बेला गयौ तिमी मेरो बारे नसोचेर
आज दु:ख पाएर त मलाई अचेल सम्झ्यौ।

मैले भने युगौ युग नतोडिने नाता गासौ
पवित्र सम्बन्धलाई जन्जिर र जेल सम्झ्यौ।

झलमल हुँदा खेरी बिर्सी दियौ यो दुनियाँ 
बलिरहेको त्यो दियो निभे पछि तेल सम्झ्यौ।

कुनै स्वार्थ थेन ममा,तिम्रै भलो म चाहन्थे
कुन अर्थमा हेर्यौ मलाई जाल र झेल सम्झ्यौ।
माङ दोर्जे शेर्पा

९.गजल
पन्चे बाजा बजाएर लान्छु तिमी लाई 
डोली माथि सजाएर लान्छु तिमी लाई।

साथ दिनु है सबैले मेरो यो खुसीमा 
सबै लाई नचाएर लान्छु तिमी लाई।

दुनियाँ नै छक्क परुन हाम्रो बिहे देखी
यति धूम मचाएर लान्छु तिमी लाई।

पछि सम्म सम्झनेछन् भावी सन्ततीले
ईतिहास रचाएर लान्छु तिमी लाई।

घुम्टो भित्र मुस्कुराई,शिर निहुराई
तिमी अति लजाएर लान्छु तिमी लाई।
माङ दोर्जे शेर्पा

१०.गजल
सुन्दर यो सृजनाको सर्जक बनी दिन्छु
यति धेरै सुन्दरी छौ,दर्शक बनी दिन्छु।

खाउ टन्न मिठा मिठा खाने कुरा हरु
पर्दा तिमी अप्ठ्यारोमा पाचक बनी दिन्छु।

हान तिमी चौका,छक्का डर नमानेर
तिम्ले खेल्ने कृकेटमा शतक बनी दिन्छु।

हातेमालो गर्दै अगि बढ्छु तिमी सित
म त तिम्रै सहयात्री अथक बनी दिन्छु।

दु:ख,पीडा भुलि देउ सक्दो खुशी हुनु
तिम्रा हर पलहरुमा रौनक बनी दिन्छु ।
माङ दोर्जे शेर्पा

Note :
All Copyright Reserved with Writer Mang Dorje Sherpa


Share this article :

1 comments:

Mang said...

धेरै धेरै धन्यवाद राम सर । मेरा गजल हरु लाई चिसापानी ब्लगमा स्थान दिनु भएकोमा।

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger