Home » » कथा 'त्यो साँझ' -अजित क्षेत्री (Story -Tyo Sanjh by Ajit Chhetri) -19-09-2016

कथा 'त्यो साँझ' -अजित क्षेत्री (Story -Tyo Sanjh by Ajit Chhetri) -19-09-2016

NepaliTalim | 10:42:00 AM | 0 comments
त्यो साँझ
-अजित क्षेत्री

''हो त्यो साँझ ऊ आए थ्यो बाबु, गुन्द्रीमा बस भनेथें, ऊ भुईंमै बस्यो अनि रातो किताब पढ्न थाल्यो"- बुढी आमैले भनिन् ।
अनि के भयो नि आमा ?- मैले प्रश्न गरें
''कहाँ जान हिँडेको भनें देश बदल्न हिँडेको भन्यो, कसका छोरा हौ भनें- बिरको भन्यो"-यसपटक आमै अलिक भावुक देखिइन् ।
कस्तो थियो नि ऊ- मैले थप प्रश्न गरें
''आँखामा ज्वालामुखीको आभा थिए बाबु, साँढे मारेर फर्केको बाघ झैं तेज थियो ऊ"
यसो भनिरहँदा आमैका आँखा रसाएका थिए । म उनले भनेका हरेक शब्दहरु अक्षरमा कैद गर्दै थिएँ ।


द्वन्द्वकालको उत्कर्षको समय थियो । देशका बिभिन्न ठाउँमा बिद्रोही माओवादी र सुरक्षाकर्मीको भिडन्तको खबर दिनहुँ आइरहेका थिए । फलानो ठाउँमा आज भएको भिडन्तमा माओवादीका यति मारिए र सुरक्षाकर्मीतर्फ उती मारिए । आज यति आतंककारीलाई यति गोली र बन्दुकका साथमा सशस्त्र फौजले पक्राउ गर्यो । फलानो ठाउँमा एम्बुसमा परि यति सुरक्षाकर्मीको ज्यान गयो । आजकल दिनहुँ जसोका अखबार र रेडियो टिभिमा समाचार यस्तै हुने गर्दथे ।

एत्तिकैमा एकदिन खबर आयो-स्याङ्जा जिल्लाको मनकामना गाबिसमा माओवादी र सेनाको मुठभेड भयो रे ! केही मानवीय क्षतिको आशंका । कुरो एकै छिनमा सदरमुकाम भरी फैलियो । मान्छेहरुमा कौतुहलता, डर र त्रासले एकैचोटी डेरा जमाउन थाल्यो ।

जिल्ला प्रहरीका डिएस्पी माधव नेपाललाई फोन गरें । उहाँले समाचार साँचो भए पनि पूर्ण बिबरण आई नसकेको बताउनु भयो । नजिकै रहेको ब्यारेकका प्रमुख मेजर यादबलाई भेटें । उहाँले अहिल्यै समाचार बनाउन हतारो हुने भन्दै पन्छिनु भयो । प्रशासन कार्यालय तिर गएँ, जिल्लाका सिडियो क्षेत्रीय सुरक्षा समितिको बैठकमा गएको सूचना पाएँ । कतैबाट घटनाको सत्यतथ्य र यकिन बिबरण प्राप्त गर्न सकिन ।

पत्रिकाको कार्यालयबाट फोन आयो । कार्यकारी संपादकले घटनाबारे तत्काल बुझेर समाचार फ्याक्स गर्नु पर्यो भन्नु भयो । मैले पनि नेपाली सेना र बिद्रोही माओवादी लडाकु बिचमा स्याङ्जाको मनकामना गाबिसमा मुठभेड भएको खबर प्राप्त भएको तर मानवीय क्षतिको बिबरण प्राप्त नभएको आशयको समाचार तत्काल फ्याक्स गरें ।

घटनालाई लिएर सदरमुकाम बजार भरी बिभिन्न अड्कलबाजी र अफवाह फैलिरहेका थिए । माओवादी र सरकारी सुरक्षाकर्मी बिच दिनहुँ जस्तै गोली हानाहानको अवस्था थियो । बर्षा यामको समय हुनाले केही दिनदेखि झरी परिरहेको थियो । झरी र बाढीका कारण गाउँ र शहरबिचमा यातायात असहज भएको थियो । सदरमुकामबाट करिब २५ किलोमिटरको दुरीमा रहेको भएता पनि बर्षात् र माओवादी गतिविधिका कारण मनकामना र जिल्ला सदरमुकाम केही दिनदेखी सम्बन्ध बिच्छेद जस्तै अवस्थामा थियो ।

गाउँघरतिर भर्खर भर्खर मात्र टेलिफोन पुगेको थियो । गाउँमा एकाध घरमा मात्रै पिसिओ र कर्डलेस फोन पुगेको अवस्था थियो । समाचारको तथ्य थाहा पाउन सो गाउँतिर सम्पर्क गर्न कुनै सम्पर्क सुत्र फेला पार्न सकिएन ।

पत्रकारको कामै समाचार खोतल्ने । समाचारको फेंदैमा पुगेर त्यसको मुल जरो खोतल्न अभ्यस्त हुन्छन् पत्रकार । अधुरो समाचारले मन झन् बेचैन भो । अरू पत्रकार साथीहरुसँग पनि कुरा गरें । जिल्लामा उपस्थित मानवअधिकारबादी अगुवाहरुलाई भेटें । सबैले स्थिति गम्भीर भएको निस्कर्ष निकाले । मैले घटनास्थलको स्थलगत भ्रमण गर्ने प्रस्ताव राखें । सबैले अहिले जान नहुने सुझाब दिए ।

अमेरिका, बेलायत देखि मंगल ग्रह सम्मको जानकारी राख्छौं हामी तर आफ्नै आँगनमा भैँसी नाचेको पनि थाहा पाउँदैनौँ । स्थलगत रिपोर्टिङ् बिना पत्रकारिता कसरी सत्य तथ्य र सफल हुन सक्छ ? म घटनाको स्थलगत रिपोर्टिङ्मा जाने निधो गरें ।

केही दिनको झरी पछि सदरमुकाम र आसपासको आकास भर्खरै उघ्रन लागेको थियो । बिहानको खाना खाईसकेर म सदरमुकाम स्याङ्जा बजारदेखी राङ्खोला बजारतिर लागें । मनकामना जाने बाटोमा बिरुवा बजार पर्छ । राङ्खोला देखि त्यहाँसम्म जाने जिप छुट्नै आँटेको रैछ, चढेँ । जिपको छतमा म लगायत आधा दर्जन युवा बस्यौं । जिप हुईँकियो जिल्लाको उत्तरपूर्वी पहाडी कच्ची बाटोमा ।

एकजना अधिकारकर्मी साथी पनि म संगै आएका थिए घटनाको स्थलगत अध्ययन गर्न । अरू साथीहरु डराएको ठाउँमा मसँग जान उनी तयार यसकारण भएका थिए कि मनकामना गाबिस सँगै जोडिएको बिरुवा बजारको एक बिधालयका शिक्षकको रुपमा उनका पिताको सो क्षेत्रमा राम्रै ईज्जत थियो । अनि माओवादी या सेनाको सुराकी गर्न आएको भनि ग्रामीण क्षेत्रमा हामी माथी गर्न सकिने सम्भावित अबिस्वास हटाउन उनको पिताको परिचय महत्वपूर्ण माध्यम हुन सक्थ्यो ।

करीब डेढ घण्टाको जीप यात्रा पछि बिरुवा बजार पुग्यौं । भर्खरै जवानीमा पाइला टेकेकी कुमारी युवती जस्तै थियो बिरुवा बजार । हरियो जंगल र घाँसे पाखोको फेँदीमा कन्चन पबित्र ज्याग्दी खोला अबिच्छिन्न बगिरहेकी छिन् । यिनै ज्याग्दीको काखमा निदाएको छ सुन्दर बिरुवा बजार ।

फाँटमा रोपिएका धान बिस्तारै हरिया हुँदैछन् । बजारले शहरीकरण तर्फ पाइला बढाउँदै छ । नयाँ घर बन्दैछन् । पसलहरु थपिँदैछन् । गाडीहरु धुलो उडाउँदै आउँछन् । पसलेहरु घर अगाडीको कच्ची सडकमा पानी छर्कन्छन् ।

बिधालय बन्द भएर बिधार्थीहरु घर जान हिँडेका छन् । एउटाले एक्सिलेटर दबाउँदै स्कुले ठिटीको नजिकैबाट बाइक कुदाउँछ । बाइकको हावाले ठिटीको छोटो जामा माथितिर हुत्याई दिन्छ । छेउछाउका केटाहरु गलल्ल हाँस्छन् ।
"मर्न नसकेको मुर्दार"- ठिटीले हुईँकिँदै अगाडि पुगिसकेको बाइक तर्फ हेर्दै सरापी ।
"कसैको नभाको ठाँडो हाम्रै छेउबाटै दौडाउनु पर्ने, धुलो उडाउँदै"-साथमै हिँडेकी अर्कीले थपी ।
"खुब केटी जिस्काउने भाको, तेस्को खप्पर पल्टे नि हुने नि"-पहिले ठिटीले थिग्रिएको रिस निखार्दै गाली गरी ।

बर्षा याम भएकाले कच्ची बाटो हिलाम्मे जस्तै थियो । बाईकमा सवार केटो केही अगाडी पुगेर चिप्लियो र लड्यो । आवाज सुनेर स्कुले ठिटा ठिटीले बाईक लडेतिर नजर दौडाए ।
"तँलाई बोक्सी"-अघि सराप्ने ठिटीतर्फ हेर्दै एक स्कुले ठिटाले ब्याङ्ग्य गरे । ठिटी शर्मले राती भई । अर्की चाहिँ बाइक लडेकोमा बल्ल खाइस् भन्ने भावमा कुइनो ठोक्दै खुच्चिङ् गरी । यो दृश्य हामी भर्खर खुलेको जस्तो देखिने पिसिओको बेंचमा बसि हेरि रह्यौं ।

दिउँसोको चार बजिसकेको थियो । घाम बिस्तारै शयन कक्षतिर लम्कँदै थियो । बिरुवा बजारले पारि डाँडाको छायाँको पछ्यौरी ओढीसकेकी थिईन् । म भने पिसिओ चलाएर बसेकी क्षेत्रीनी युवतीसँग गफिन खोज्दै थिएँ ।

"जाम सर, ढिला भयो । दुई घण्टा उकालो हिँड्नु छ, पुगिन्न नत्र"- साथीले खोला पारीको भिरको बाटो तर्फ देखाउँदै भने । "जान्छौं है त" मैले युवतीतर्फ हेर्दै अनुमति मागेको भावमा बोलें ।
"आउँदै गर्नुहोला है"-उनले मुस्काउँदै भनिन् । यस्तो लाग्यो उनले सत्यनारायणको पूजामा आउने निम्तोको सुपारी दिँदैछिन् ।
फेरि आउने बाचा बाँध्न मन लाग्यो । हल्का मुस्कान बैना लगाई छाडेँ । अन्तिम पटक चार नजर एक भए । मनमनै तस्बिर खिचें । एक घुटुक थुक निल्न भ्याएछु ।

मस्त जवानीमा बगिरहेको ज्याग्दी खोला तर्न सकिने अवस्था थिएन । लठ्ठे पुल तर्न लाग्यौं । स्कुले युवायुवती पनि पुल तर्न तँछाड मछाड गर्दैछन् । केही उरन्ठेउला केटाहरु पुल हल्लाउँछन् । केटीहरु एक हातले कुमको झोला अँठ्याउँदैछन् अर्को हातले पुलको लठ्ठो ।
"ऐले त्यैँ आएर खसाई दिन्छु है नाके, धेरै नहल्ला पुल"-एउटीले खाउँला झैं गर्दै भनि ।
"लौ हेरम त डल्ली गाईको ताकत"-केटोले प्याच्चै भन्यो ।
"के भनिस् ? फेरी भन्.." -केटी चप्पल फूकालेर केटा तिर दौडी । केटो हाँस्दै भाग्यो ।

पुल तरियो ।

त्यो ठाउँका लागि अपरिचित थियौं हामी । त्यसमाथि सेना, माओवादी वा जासुस कोही पनि त हुन सक्छ । यस्तै सोंचेर होला स्कुले ठिटा ठिटीहरु कोही पनि हाम्रो सामुन्ने परेनन् । बाटामा जम्काभेट हुने मानिसहरु पनि या त बाटै अर्कोतर्फ मोडे या त हामीलाई बेवास्ता गरे । मानिस मानिस बिचको सम्बन्ध हराएको बेला थियो त्यो ।

यसअघी कहिल्यै यसरी मान्छेले मान्छेलाई बेवास्ता गरेको देखेको थिईन मैले ।

खरभिर र जंगलको छेउछाउ हुँदै उकालै उकालो हिड्यौं हामी । माथी मनकामना र पारीपट्टी कोल्मा काहुले, सालडाँडा, चिन्नेबास, सेखाम, क्याक्मी र मल्याङ्कोट अनि चिसापानी क्षेत्रका हरिया बन नागबेली आकारमा मुस्कुराई रहेका थिए भनें तल ज्याग्दी खोला चाहिँ काली गंगासँग मिलनका लागी छिटो छिटो दौडिरहेकी थिईन् ।

बाटोमा कुनै घर आँगनमा पुरुष देखा परेनन् । साथी भन्दै थिए- हामी अपरिचितलाई देखेर यहाँका युवाहरु पराल मुनी या गाई गोठमा लुके । हुन पनि त्यो बेला गाउँका युवालाई माओवादीले भेटे जनसेनामा लैजाने र सेना प्रहरीले भेटे नानाथरी सवाल जवाफ सोधेर सताउने या सुराकी बनाउने गर्छन् भन्ने हल्ला जिल्लाभरी ब्याप्त थियो । भर्खरै माओवादी र सुरक्षाकर्मीको मुठभेडको खबरले पनि मानिसहरुमा थप डर पैदा भएको हुन सक्छ ।

झिमिक्क साँझ पर्दा हामी मनकामनाको उपल्लो बस्तीमा पाइला राख्यौं ।

साँझ परिसकेकाले पहिले गास र बासको जोहो गर्न तिर लागियो । ग्रामीण बस्ती भएकाले होटल रेष्टुराँ पाउनु कल्पना बाहिरको कुरा थियो । आफ्नो पूरा बिबरण र ठेगाना बताए पछि बल्लबल्ल एउटा घरमा बास पाईयो । नेपाल आर्मीमा कार्यरत एकजनाको घर रहेछ त्यो । घरमा एक्ली बिधवा आमा मात्र रहिछन् । खाना खाइसकेर हामी तिनै बुढी आमैसँग गफ गर्न लाग्यौं ।

आमैका छोरा पाँच बर्षदेखि नेपाल आर्मीमा कार्यरत रहेछन् । भित्तामा झुण्ड्याईएको आफ्नो छोराको फोटो देखाउँदै गुरुङ्नी आमैले भनिन्:- "ऊ यस्तै थियो बाबु, काटीकुटी मेरै छोरा जस्तो । त्यस साँझ पछि कहिल्यै फर्केर आएन त्यो ।"

"यहाँ माओवादीहरु आईरहन्छन् हो आमा ?"-कुरा कोट्याउन खोजें ।
"सबै आउँछन् बाबु, कोही माओवादी हुन् भन्छन्, कोही साही सेना र कोही पुलिस । नचिनिने भएर आउँछन् म बुढी मान्छेले कसरी चिनुम ।"- आमैले रक्षात्मक जवाफ दिइन् । 
"त्यो भिडन्तको रात के भएको थियो नि आमा, भन्नुस् न"-मैले कुरोको चुरो समातें ।

आमैले लामो सुस्केरा हालिन् । चारैतिर आँखा दौडाउँदै भनिन्:- भित्ताका नि कान हुन्छ भन्छन्, मलाई अफ्ठेरो पो पर्ने हो कि ?
"डराउनु पर्दैन आमा, जति देख्नु सुन्नु भो त्यति भन्नुस्, हामी तपाईंलाई अफ्ठेरो पर्ने गरि केही काम गर्दैनौं ।"-साथीले आमैलाई बिश्वस्त पार्न खोजे ।

"जमाना खराब छ बाबु हो, देखे पनि नदेखे जस्तो र सुनेपनि नसुने जस्तो गर्नु पर्ने अबस्था छ । साँचो..." बोल्दा बोल्दै रोकिइन् बुढी आमै ।
"साँचो के आमा ? भन्नुस् न"-नम्र हुँदै मैले भनें ।
"साँचो भन्नु पर्छ, त्यो केटोलाई मारेकै हुन् बाबु ।"- आमैका कुरा सुनेर शरीरमा रक्तसञ्चार तेज भएजस्तो भयो ।

"गोली चलेको सुनियो, मरेको लास देखियो तर भिडन्त हो कि मारेर फालेको हो त्यो त दैव जानुन्"-आमैले अगाडि थपिन् ।

"कसले मारे उसलाई ?
"खोई बाबु, कसैले सेनाले मारे भन्छन्, कसैले सेनाले घाईते बनाएपछि आफ्नै साथीले गोली हानेर मारेको भन्छन् । कसैले भाग्दाभाग्दै लडेर मर्यो होला भन्छन् । कसैले माओवादी नै हैन कि पनि भन्छन् । के हो के हो ।"
बोल्दा बोल्दै बुढी आमै उठेर बाहिर तिर निस्कन खोजिन् । 
"भैँसीलाई पराल दिएर आउँछु बाबु बस्दै गर है ।"
आमै घर संगै जोडिएको गोठतिर लागिन् ।

एकछिनमै गुरुङ्नी आमै गोठबाट फर्किन् । एक सुरले बसेका रै'छौं । "यत्तिकै बेला भएको थियो होला बाबु हो"..... बुढीआमैको आवाजले झस्क्यौं । 
"माओवादीका ती दुई ठिटाहरु यहि कोठामा तिमीहरु बसेकै ठाउँमा गुन्द्रीमा बसेका थिए । भुटेको मकै र मोही खुब मिठो मुखले खाएका थिए । आमा तपाईंको छोरालाई शाही सेनाको नोकरी छुटाउनु पर्यो । आखिर जो मरे नि नेपाल आमाकै छोरा मर्ने हो । नेपाल आमा नै रुने हुन् । आमा हामी जित्न चाहन्छौं तर मार्न होइन । यस्तै के के भन्दैथ्यो बा.."-बुढी आमै केही गम्भीर देखिइन् ।

साथी र मैले उनले भनेका कुराहरु नोटबुकमा लेख्दै थियौं । अनि अगाडी के भयो आमा ?-साथीले प्रश्न गरे ।

"यहिँ बसेर रातो रंगको किताब पढ्दै थ्यो । आफ्नै छोरो जस्तो लागेर म पनि उसका कुरा सुनि रहेकी थिएँ बाबु । एक्कासी एउटा कटराईजको सर्ट,पाईन्ट लगाएको केटा आयो र उसको कानमा साउती गर्यो । तत्कालै तिनीहरु जान्छौं है आमा भन्दै निस्केर गए ।"-आमैले भनिन् ।
"घटना चैँ कतिखेर कहाँ घट्यो त आमा ?
-उत्सुक हुँदै मैले भनें । 
"तिनीहरु यहाँबाट हिँडेको पाँच मिनेटमै तल मुल बाटोतिर दुई तिन पटक बन्दुक पड्केको आवाज आयो । भोलिपल्ट अर्थात हिँजो त्यहाँ रगतको टाटो र उसले पढे जस्तै किताब भेटिएको थियो रे । लडाईं भएको त कसैले देखेनन् ।
"कस्तो अचम्म है !!" मैले भनें ।
हिँजो बिहान खरबारीमा घाँस काट्न जाँदा बिरे गुरुङ्की जहानले दुईटा लास खरबारीमा देखेकी रे"-आमैले एकै सासमा भनिन् । 
कस्को रैछ त आमा त्यो लास?-साथीले सोधे ।
"खै बाबु कस्को हो, चिन्न सकिने अवस्थामा थिएन । मेरै घरमा आएको त्यै केटोको लास हो कि भन्छन् मान्छेहरु...."आमैले केही कारुणीक स्वरमा भनिन् ।

ढिला भयो सुत बाबु हो, म पनि सुत्न जान्छु-बुढि आमै अर्को कोठातिर लागिन् ।

भर्खर निदाउन मात्र लागेका थियौं बाहिर बुट बजेको आवाज आयो । एकै छिनमा थुप्रै मान्छे गल्याङ् गुलुङ् गरेको र यताउति हिँडेको प्रष्टै सुनियो । बुँझिसकेको थिएँ । साथीलाई कोट्याएर ब्युँझाएँ । दुबैले केहीबेर बाहिरबाट आएको आवाजलाई ठमासेर सुनिरह्यौं । हामी बसेको घरलाई कसैले चारैतिरबाट घेरा हालिसकेको बुझ्न हामीलाई बेर लागेन ।

मर्ने दिन त आजै पो रै'छ कि जस्तै भो ।

डरले जीऊ हल्लिन थाल्यो । ति माओवादी या सेना को होलान् र के गर्न लाग्दैछन् केही बुझ्नै सकिएन । कतै हामी बसेको वरपर दुई तर्फी सेनाको बिचमा युद्ध हुन लागेको छ या हामी माथी नैे पो कसैले आक्रमण गर्दैछ कि ? मनमा बिभिन्न आशंका उब्जिन थाल्यो । जो भए पनि हाम्लाई मारी हालेनन् र आफ्ना कुरा राख्न दिइयो भने पक्कै बाँचिनेछ भन्नेमा चाहिँ म ढुक्क थिएँ । सायद साथी पनि । किनकी न हामी माओवादी थियौं न सेना प्रहरी या गुप्तचर ।

कसैले जोडले ढोका ढकढक गर्यो । "को हँ यति राती ?" घरमुली गुरुङ्नी आमै चर्कै गरि बोलिन् । 
"ढोका खोल्नुस् ।" आदेशात्मक शैलीमा बाहिरबाट कसैले बोल्यो ।

पल्लो कोठामा आमैले लालटिन जलाईन् र लालटिन बोकेरै आमैले ढोका खोलिदिइन् । हामी दुई पनि उठिसकेकाले आमैले ढोका खोल्दा हामी आमैको पछाडी नै उभिएका थियौं । "तपाईंको घरमा को बसेका छन् हँ? सेनाको एकजनाले निकै ठाडो शैलीमा भन्यो ।

उसले सोधी नसक्दै उसको र हाम्रो नजर जुध्यो । " सर नमस्कार, हामी हौं, पत्रकार...स्याङ्जाबाट आएका ।" बोली पूरा नगर्दै उसले हाम्रो कठालो समातेर बाहिर तान्यो ।

झिमिक्क साँझ परेर अँध्यारो भएपनि लालटिनको उज्या सेनाका जवानहरु आँगनभरी र यताउति पनि थुप्रैको संख्यामा रहेको देखें । केहीले हामीतर्फ बन्दुक सोझ्याएर पोजिसन लिएका थिए ।

"म पत्रकार, बिभिन्न पत्रिका र एफएममा समाचार लेख्छु, रेडियो नेपाल र एन टिभीमा पनि । उहाँचाही मानब अधिकारबादी साथी"- साथी तर्फ देखाउँदै मैले एकै पटकमा हामी दुबैको परिचय दिन भ्याएँ । रेडियो नेपाल र एन टिभीको नाम लिएपछि उनीहरु केही सम्हालिए र हामीलाई केही ईज्जत दिएको शैलीमा हेरे ।

"यि हेर्नुस् परिचय पत्र"-हामी दुबैले परिचय पत्र देखायौं । हाम्रो परिचय पत्र हेरिसकेकछि उनीहरण अलिक पर हटे । सेनाका एकदुई जनाले हामीलाई चिनेका रै'छन् हात मिलाउन आए । कतिपयले "सरी सर, के गर्नु हाम्रो ड्युटि नै यस्तै हो"  भने ।

अलिकति मुस्कान साटासाट भो ।

"सरी भाईहरू,आरामसँग सुत्नुहोला"-अघि मेरो कठालो समात्ने चाहिँले सामान्य शैलीमा भन्यो । "हवस्त आमा जान्छौं" भन्दै सैनिकहरु ओरालो लागे ।

त्यो रात धेरै बेर सम्म निदाउन सकेनौँ । ढुकढुकी बढि नै रह्यो ।

***************

"हजुरको कुरा सुनेर त मेरो आङ् नै सिरिङ्ग भो दाई ।""बसको झ्यालबाट बाहिर हेर्दै मैले भनें ।
"त्यस्ता घटना त जीवनमा कति बेहोरियो कति । " दाईले फुर्ति लगाए ।
उमेरमा म भन्दा जम्मा ६ महिनाले मात्रै जेठा भएपनि म उनलाई आजकल दाई भनि सम्बोधन गर्थेँ तर ब्यवहार साथीको थियो । अरूको सामुन्ने तपाईं भनेपनि एकान्तमा म उनलाई तिमी र कैले काहि तँ पनि भन्न भ्याउँथें । दाई भनिदिएपछि आँफूलाई तँ भनेको पनि हेक्का राख्दैनथे उनी ।

बस मुग्लिन आईपुगेको थियो । पोखराबाट हिँडेको करीब चार घण्टामा यतिखेर हामी मुग्लिनको एउटा होटलमा खाना खान छिर्दैथ्यौं ।

खानाको अर्डर गरियो र टेबलमा खाना आइपुग्यो पनि । तर मेरो मन पत्रकार दाईले सुनाएको घटना वरपर नै घुमिरहेको थियो । 
"दाई ति मारिने माओवादी केटाहरु को रै'छन् पत्ता लाग्यो त ?" अघिदेखि मनमा खेलिरहेको कुरा सोधें मैले ।

"त्यो भिरमा भेटिएको लास माओवादीको थिएन भाई"- दाईले जवाफ दिए ।
"हँ"- मेरो मुखबाट अनायसै निस्क्यो । त्यसो भए कस्को त ?
"त्यो लास मध्ये एक तिनै अभागी गुरुङ्नी आमैको छोराको थियो जो सेनाबाट भागेर घर जाँदै थियो ।"- दाईले लामो सुस्केरा हाल्दै बोले । कुरा सुनेर म अवाक् भएँ ।

उसलाई कसले मार्यो होला,  किन मार्यो होला- केही दिनसम्म मेरो मनमा यही प्रश्न ओहोरदोहोर गरिरह्यो । 

समाप्त ।

Note : 
Copyright Reserved with Writer 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger