Home » » वियोगपछिको बाटो...(महावीर विश्वकर्मा)

वियोगपछिको बाटो...(महावीर विश्वकर्मा)

NepaliTalim | 7:46:00 PM | 0 comments

महावीर विश्वकर्मा

प्रेमले के दिन्छ ? भनेर सोधियो भने कसैले उत्साह भन्लान्, कसैले खुशी भन्लान्, कसैले बाँच्ने प्रेरणा भन्लान् अनि कसैले जीन्दगी भन्लान् । जवाफ धेरै नै आउन सक्ला । तर यी जवाफहरु सँधै सँधै सही साबित भइरहन्छन् भन्ने पनि होईन । कतिपय अवस्थाहरुमा बाटो बिराउनुको कारण पनि प्रेम नै बनिरहेको हुन्छ । प्रेम सम्बन्ध जीवित रहुञ्जेल त सँसार नै आफ्नो काबुमा भएको अनुभव हुन्छ हामीलाई । तर जब त्यही प्रेम सम्बन्धको अन्त्येष्टि हुन्छ अनि त जीन्दगीमा एक्कासी अँध्यारो घोप्टिन आईपुग्छ । र यसो हुनुको कारक पनि त्यही प्रेम सम्बन्ध नै हो । हुन त “प्रेमले कहिल्यै पनि गलत बाटोतर्फ डो¥याउँदैन, प्रेमले त जहिले पनि सकारात्मक भूमिका मात्रै निर्वाह गर्छ, जब प्रेमको अन्त्य हुन्छ त्यसपछि हो मान्छेले गलत बाटो अँगाल्न पुग्ने, त्यसैले यसमा प्रेमलाई दोषारोपण गर्न मिल्दैन” भन्ने विचार पनि उठ्न सक्ला । यो विचारसँग सहमति जनाउँदै म के कुरा अघि सार्न चाहन्छु भने, प्रेम सम्बन्ध विकसित हुँदै जाने क्रममा एकदिन त्यो विकसित रुप ध्वंस भएर वियोगको अवस्थासम्म पनि पुग्नसक्छ । अनि वियोगलाई सहज ढङ्गले स्वीकार्न नसकेर धेरै युवाले बाटो बिराइरहेका छन् । कुलतमा फसिरहेका छन् । त्यही कुलतले बनाएको बाटोबाट कति त आपराधिक क्रियाकलापमा पनि संलग्न भइरहेका छन् । यो अवस्थासम्म कसरी आईपुगियो त भनेर खोज्दै जाने हो भने, मुहान चाहीँ त्यही प्रेम सम्बन्ध नै हो भन्ने निचोड निस्किन्छ । यसर्थमा पनि प्रेम सम्बन्धले त्यस्तो अवस्थासम्म पु¥याइरहेको छ है भन्न खोजेको मात्रै हो मैले । खैर छाडौँ यो वहस, किनकी वियोगपछि कसैले गलत बाटो समाउँछ भने त्यसको कारण प्रेम सम्बन्ध हो भनेर ठहर गर्न पाईन्छ की पाईँदैन भनेर निचोडमा पुग्न यति सहजै सकिँदैन । म यो लेख मार्फत त्यो कुराको छिनोफानो गर्न पनि खोजिरहेको छैन । मौका मिलेछ भने कुनैदिन चर्चा गरौँला यो विषयमा पनि । तर यहाँ चाहीँ म, प्रेम सम्बन्ध टुङ्गिएपछि किन धेरैजनाले (विशेषत पुरुषले) कुलतको बाटो अँगाल्छन् होला भन्ने विषयमा घोत्लिन खोजिरहेको छु ।
-->


जब कसैको प्रेम सम्बन्धको अन्त्य हुन्छ, तब यदि त्यो सम्बन्धमा उ मनै देखीको इमान्दार थियो भने त्यो पिडा भुल्न उसलाई असाध्यै कठिन हुन्छ  । अब कसैगरि पनि उ फेरी आफ्नो जीवनमा फर्केर आउँदैन भन्नेमा निश्चित भइसकेपछि अब एक मात्र विकल्प भनेको उसलाई भुल्नु नै हुन्छ । तर यो मनमा राखेको मान्छेलाई भुल्ने भन्ने काम जति अफ्ठ्यारो काम सायदै कुनै होला सँसारमा । त्यति गाह्रो हुन्छ यो । जति भुलुँ भन्यो झन् उति याद आइरहन्छ । कसैगरि पनि सकिन्न भुल्न । त्यो पिडामा भएको मान्छेले “विभिन्न किसिमका नशालु पदार्थको सेवन गर्नाले केही समयको लागि भएपनि होस्मा भइँदैन र त्यतिञ्जेल मात्रै भएपनि यो तनावबाट मुक्ति मिल्छ” भन्ने चाहीँ बुझेको हुन्छ । अनि यही साँघुरो बुझाईले डो¥याएपछि नशालु पदार्थको सेवन गर्न पुग्छ उ ।

प्रेम सम्बन्ध टुङ्गिएपछि कुलतमा फस्नुको अर्को प्रमुख कारण देखासिकी हो । अझ चलचित्रको प्रभावभन्दा फरक पर्दैन । हामीले हेरेका चलचित्र त्यस्तो छैन जसमा प्रेमी अथवा प्रेमिकाले सम्बन्ध तोडेर गएपछि उसले मलाई किन छोडेर गयो भन्ने विषयमा आत्मसमीक्षा गरेर त्यो पक्ष सुधार गर्न त्यो व्यक्ति लागेको होस् । यदि त्यस्तो कुनै चलचित्रमा देखाएको छ भनेपनि एक त त्यो पक्ष त्यति चर्चामा आउँदैन । अनि अर्को त्यतातिर खासै हाम्रो ध्यान पनि जाँदैन । हामीले हेर्ने चलचित्रहरुले त लगातार एउटै दृश्य देखाइरह्यो हामीलाई । त्यो के भने, प्रेम सम्बन्ध छुट्ने बित्तिकै अत्यधिक पिडामा परेको त्यो हिरो सीधै भट्टीमा जाने अनि सास पनि नफेरीकन लगातार रक्सी खाइरहने । वियोगको पिडा भुलाउन रक्सी नै खानुपर्छ भन्ने कुरा कसले सिकायो होला फिल्म लेख्नेहरुलाई । एउटाले त्यस्तै लेखिदियो अनि अरुले अहिलेसम्म पनि त्यसै गरिरहेका छन् । वर्षौँ अघिदेखी यस्तै दृश्य हेर्दाहेर्दा अब त हामी पनि यति अभ्यस्त भइसक्यौँ की प्रेम सम्बन्ध छुट्ने बित्तिकै सिधै भट्टीमा गएर रक्सी खानुपर्छ भन्ने कुरा हाम्रो माइण्डमा सेट भइसक्यो । अनि  हाम्रो बानी चाहीँ के भने, जब फिल्म हेर्न बसिन्छ र फिल्मको पात्रको अभिनयले मन छुन्छ अनि हामीलाई आफु पनि उ जस्तै लाग्ने । अझ खुलाएरै भन्नुपर्दा त्यही हिरो हुँ म पनि भने जस्तो लाग्ने भन्या, बडो अचम्म छ । देवदास फिल्ममा प्रेमिकासँगको वियोगपछि शाहरुख खानले मज्जाले रक्सी खायो भनेर लहैलहैमा त्यसै गरिटोपल्नेहरु प्रशस्तै छन् यहाँ । हाम्रो स्वभाव कस्तो छ भने, यस्तो “तात्तो न छारो” कुरा सिक्न फेरी कत्तिपनि बेरै लाग्दैन हामीलाई । 

केही मान्छेहरु चाहीँ एउटा बडो अचम्मको कारणले पनि वियोग पछि धुम्रपान, मद्यपानको सेवन गर्न पुगेका हुँदा रहेछन् । त्यो के भने, मैले चुुुरोट, रक्सी खाएर बिग्रिएर हिँडेको थाहा पाएपछि पक्कै पनि उसको मनमा म प्रति दया पलाउनेछ र फर्केर आएर मलाई अपनाउनेछ भन्ने अचम्मको कुरा सोँचेर पनि केही व्यक्तिहरु कुलतमा फसेको मैले भेटेको छु । ब्लेडले आफ्नै हात काटेर रगत निकाल्ने मान्छेहरु भेटेको छु, रक्सी खाएर उसलाई फोन गर्दै आफुले उसलाई भुल्न पिएको कुरा गर्ने मान्छेहरु देखेको छु । विचरा ती सोझा प्राणीहरु देखेर दया लागेर आउँछ मलाई, किनकी उनीहरुले बुझेकै हुँदैनन् उसले कति समय अघिदेखीको तयारी पछि त्यो सम्बन्ध टुङ्ग्याएको छ भन्ने कुरा । उनीहरु त अकस्मात भएको दुर्घटना सम्झिन्छन् त्यसलाई । अनि, न पो उद्धार गर्न आइहाल्छन् की भन्ने भ्रममा हुँदा रहेछन् । शिकारीको गोली लागेर छट्पटाइरहँदा पनि फेरी त्यही शिकारी आएर बचाइहाल्छ की भन्ने आश, कस्तो अचम्म ।
-->


जब प्रेम सम्बन्धमा वियोग आईपर्छ अनि धेरैले यतिबेला रक्सी खान्छन् किनभने त्यो सहजै पाउन सकिन्छ अरु नशालु पदार्थको तुलनामा । अनि कतिले चाहीँ लागु औषध नै प्रयोग गर्न पुग्छन् । वास्तवमा छोडेर जाने मान्छेलाई भुल्नको लागि अपनाइने यो बाटो वाहियात र घात बाटो हो । वाहियात कसरी भने यसरी उसलाई भुल्न सकिँदै सकिँदैन । एकछिनको लागि भुलेजस्तो लाग्ने त किन हो भने त्यतिञ्जेल नशामा लट्ठ भइन्छ र केही थाहा हुँदैन । यहाँनेर बुझ्नपर्ने कुरा के हो भने, यसरी लट्ठ हुँदा त सबै भुलिन्छ नी कहाँ त्यो मान्छे मात्रै हो र । खासमा हामीले भुल्न चाहेको त उसलाई मात्रै होईन र ? अरु त किन भुल्नप¥यो र ? तर यस्ता सामग्रीको सेवनले त सबै भुलिन्छ नी होईन र ? यतिसम्म की आफैलाई पनि भुलिन्छ ? म कहाँ छु, मैले के गर्न हुन्छ, के गर्न हुँदैन, सबै भुलिन्छ । यो त हातको एउटा औँलाको टुप्पामा घाउ लाग्यो भनेर त्यो पिडाबाट मुक्ति पाउन हातै पूरै काटेर फ्याँके जस्तो भै गो नि, पिडा घटाउने उपायले झनै पिडा बढाउँछ मात्रै । अनि घातक चाहीँ कसरी भने यसरी उसलाई भुल्ने वाहानामा अचेत भएर बस्दा एक त त्यसले प्रत्यक्ष आफ्नै स्वास्थ्यलाई असर पु¥याउँछ । अर्को सामाजिक प्रतिष्ठा गुमाउन पुगिन्छ । यसैगरि निक्कै महत्वपूर्ण समय यसै खेर जान्छ, आफ्नै कारण परिवारमा तनावको सृजना हुन्छ, साथीसँगी पनि आफुबाट टाढिन्छन् जसले गर्दा आफु विस्तारै समाजबाट अलग्गिँदै गइन्छ, यही कारण आपराधिक क्रियाकलापतर्फ अघि बढ्न सक्ने सम्भावना प्रवल रहन्छ ।
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger