मौसम भुसाल |
नमस्कार, आज हामी पर्वतका कवि मौसम भुसालका ५ कविताहरु लिएर उपस्थित भएका छौं , यहाँको कविता पढेर प्रतिकृया र हौसला प्रदान गरिदिनुहुन सबै साहित्य प्रेमिलाई अनुरोध गर्दछौं । आज हामी उहाँका कविताहरु आमा, म वीरमा, मेरो खुसि परिवार, गाउँ बलेको छ र म कोदालो शिर्षकका कविताहरु प्रस्तुत गर्दैछौं । यदि तपाईपनि आफ्ना जुनसुकै रचनाहरु प्रकाशन गर्न चाहानुहुन्छ भने हामीलाई मेल गर्नुहोला ।
१.किवता -आमा
.....
आमा!
म त्यही दिन सम्झन्छु
जहिले तिमी औँसीको रातमा डोको लिएर
खाली खुट्टै धुसेनी धाउँथ्यौ
बिहानै भालेलाई समेत जितेर
पँधेरी धाउँथ्यौ
लगाउने चप्पल फाटेर
लोती लाई सुथरीले बाँधेर लाउँथ्यौ
आमा!
हजुर आमाले कत्ति चाँडै बिर्सिएकी
बुहारीको मर्म,वेदनालाई
गोठमा भैँसीलाई पाकेका बेला तिम्रा लागि पाक्थेन
बिरलै पाएको भात पनि आफ्नो मुखले चाख्थेन
मेरै भोक देखेकी हुन्थ्यौ
न्यानो काखले सेकेकी हुन्थ्यौ
हो आमा!
म त्यही दिन सम्झन्छु ।
पर्म गएका बेला पाएको अर्नि
मेरो भोक सम्झेर
आफ्नो भोक कत्ती सजिलै खेपेर
पटुकामा बेर्थ्यौ नि मेरो लागि
ठुला बढाका छोराछोरीले लगाएका लुगा
बडो आश्चर्य साथ हेर्थ्यौ मेरै लागि
त्यही भोकको बलिदान
त्यही शोकको बलिदान
म यत्ति सजिलै कहाँ भुल्न सक्छु
आमा! म त्यही दिन सम्झन्छु
जब तिमी आफ्नो चोलो काटेर
मेरो लागि पत्लुङ सिलाइदिएकी थियौ!
आमा! म त्यही दिन सम्झन्छु
बुबा घर नहुँदा
जब मासु लिन दाइलाइ थाल लिएर पठाउँदा
थाली भरिको गाली लिएर फर्केका दाइ
अनि मलाई
मासु भन्दा मीठो कटहर पकाएर खुवाएकी थियौ।
हामीलाई खुवाएर आफू अघाउने शक्ति
कहाँ बाट ल्यायौ आमा?
हिजो तिमी भोकै थियौ
आज म भोको छु
सबैभन्दा ठूलो भोको
काखको भोको आमा!
तिमी तारा बनेकी छौ भनेर तारै निल्न कहाँ सक्छु र?
तिम्रा अंग अंग नदीमा छ भन्दैमा
म नदी नै सुकाउन कहाँ सक्छु र?
बस्! ,तिमी जाडोमा कठ्याङ्ग्रीदै घरगोठ कुदेको
कोदाको रोटी घाँटी सर्कुन्जेल खाएको सम्झिन्छु
हो आमा!
म त्यही दिन सम्झन्छु |
.....
मौसम भुसाल,
जिल्ला-पर्वत
हाल: सामाखुसी, काठमाडौँ
.........................
२.कविता- म वीरमान
............
म वीरमान
जुन नामको पछाडि
अंकुशझैँ अड्किएको छ अर्को नाम
जसले गर्दा
म नागबेली झैँ बेरिएको छु
जताततै बाट घेरिएको छु,
युगले कोल्टो फेर्दा पनि
नउदाएको घाम
जुन घामको पर्खाइमा
निरङ्कुश रात संगै झुन्डिरह्यो
मेरो नामको पछाडिको अर्को नाम।
यस्तो लाग्छ
नीति मेरा लागि लेखिदैन
रीति मेरा लागि बनाइँदैन
हे कानुन!
सक्छस् त तँ डिल र पिँढी जोड्न?
सक्छस् भने ठुन्काइदे
सदियौँ देखि म जस्ता अचाना माथि
रगडिँदा रगडिँदा
नबोदिएको खुकुरी
म त दिउसै अँधेरो पाउँछु
म त छुट्टै पँधेरो धाउँछु
मूल बाटो अपरिचित छ
दुई छाक आटोको सट्टा
निल्नै नसकिने फाटोले
बुझो लाइदिन्छ
र,
फटाइदिन्छ सारा सपना !
मन्दिर बाहिरै मेरा पाइला अड्किन्छन्
पँधेरी नपुग्दै गाग्री भरिन्छ
किनकि,
एक हुल मानिसका पाषाण आँखामा
लेखिएको हुन्छ
प्रवेष निषेध!
हे शोषक,
नजाउँला म तिम्रो मन्दिर
तर, मैले कुँदेको भगवान
तिमीले पुज्नु हुँदैन
नहिँडुला म तिमी हिँडेको बाटो
तर,मैले ओसारेको ढुङ्गा टेक्नु हुँदैन
नटेकुँला म तिम्रो पधेँरी
तर, मैले खनेको कुवा उभाउन पाउने छैनौ
आखिर आज सम्म
मैले तिम्रो इज्जत सिलाएको छु
अन्न अर्चापेको छु
सुख पिलाएको छु|
हैन भने
कतिन्जेल म
यो नियति सहेर बाँचु?
म तिनीहरूलाई मेरा सन्तानले
शुली चढाएको हेर्न चाहान्न
किनकि
मेरा फाटेका टालाहरूमा
ध्वाँसो लागेका हातहरूमा
सिमलको भुवा जस्तो
हलुका मन छ ।
समयले कुन्नी कहाँ थेचार्यो मलाई
मृग झैँ यता र उता
विनासित्ति भौतारिनु पर्छ
उही नाम सम्याउन
यसरी कि मेरो नाम पछडिको अर्को नाम
तिमीले जस्तै सजिलै भन्न सकुँ ।
..............
मौसम भुसाल,
जिल्ला-पर्वत
हाल: सामाखुसी, काठमाडौँ
३.कविता : पाठ:१ -मेरो सुखी परिवार
साउनको झरी;
सुनसान रातको छाडा झरी
कसैलाई निन्द्रा लाग्ने झरी
कसैको निन्द्रा खोस्ने झरी।
चुहिएको छानो
छानो मुनी गरीबको मानो
पाक्ने सानो चुल्हो
चुल्होमा बल्लबल्ल बलेको चिसो ठुटो
चुल्है नेर छानोको पानीले टम्म
सानो दिउरी
तर,
भात ढुकिरहेको खाली पेट
पुर्पुरोमा हात लगाएर खिन्न मनले
ठुटो ठोसिरहेकी एउटी आमा!
हुरीले ढोका हल्लाउँदा पनि पुर्लुक्क हेर्छिन्
घरि बाहिर घरि छोरो तिर
अनि बर्बराउँछिन्
"तेरो बाउले मर्न नि दिन्न , बाच्न नि खै ?
आज नि त्यतै त धोक्दै होलान्
पैलेको झरीले पारी खेत लग्यो
यो झरीले यिनैलाई लगे नि हाइसुक्कै हुन्थ्यो"
पिल्पिलिदै
भुन्टे विचरा घरि भोको पेट मसार्छ
घरि हँसियाले काटेको घाउ मसार्छ
त्यो घाउ भन्दा गहिरो घाउ त
दिनदिनै मसार्दो हो
त्यो भोक भन्दा नि ठुलो भोक
दिनदिनै खेप्दो हो
मायाको भोक !
यही भोकले बल्झाएको घाउ!
धिप्धिप गर्दै मधुरो बलिरहेको
टुकी नजिकै जान्छ र
अघिल्लो बर्षकै नयाँ किताब खोल्छ
अनि बडो सकसले पढ्छ
"पाठ:१- मेरो सुखी परिवार "
.......
मौसम भुसाल,
जिल्ला-पर्वत
हाल: सामाखुसी, काठमाडौँ
...............................................
४.कविता: गाउँ बलेको छ
....
बेलामा ढिब्रीको धिप्धिप उज्यालोमा
म अक्षर नियाल्थेँ
आखाको सिमाभित्र छामछुम गरी
कोरकार गर्थें अभावका शब्द
'ब' बाट 'बिजुली'
तर, उ कापीमा आउँथ्यो तर गाउँमा आएन ।
समयको तारतम्य
अहिले सुनेको छु,
ती ढिब्री अहिले झाडीमा भेटिन्छन रे!
गाउँमा बिजुली पुगेछ
छहाँदी खोला उज्यालिँदै बगेकी होली
अझ गाउँमा गोबर ग्यास पुगेछ
पारी वन अँध्यारिदी हो
हाम्रो घरै मुन्तिरबाट हर्न घन्काउँदै
मोटर गुड्छ रे
मेरो यहाँ मन गुडेको छ
मलाई
प्रचण्ड अँध्यारो बाट प्रचण्ड उज्यालोले
तिर्मिराएको मेरो गाउँ हेर्ने मन छ
शहर का घुम्तीका झिल्काहरुले पोलेको मन
गाउँका घुम्तीले सुम्सुम्याउन मन छ
कुन मुखले सुनाऊँ ?
म बल्न आएँ शहरको उज्यालोमा
निभाइदियो सारा सपना
आज गाउँ बलिरहेका बेला म भित्रै देखि निभेको छु
मलाई फेरि पनि बल्ने मन छ
फेरि बौरिन मन छ
उही गाउँकै उज्यालोमा
उही गाउँकै काखमा
उही गाउँकै आत्मियतामा ।
.......
मौसम भुसाल,
जिल्ला-पर्वत
हाल: सामाखुसी, काठमाडौँ
५.कविता: म कोदालो
म कोदालो
जो बिहानै अनिँदैमा
एक हुल खेतालाहरु पच्छ्याउँदै
सुतिरहेको खेत कोपर्न पुग्छु
आफ्नो ढाड फुस्किन्जेल सम्म
दह्रा अटेरी बाँझा खेपिरहन्छु
जसको बदलामा खेत सम्भावित हरियालीबाट
सु-सज्जित बन्नेछ
चुनौति दिँदै खडेरीलाई
उम्रनेछ धानका बाला
बाला सँगै छेउछाउमा देखिन्छन् आशका कुटिल गेडीहरु
भरिनेछन् गरिबका भोका माना ।
म विवस भै हेरिरहेछु
घरि बिगतका घानका बाला
घरि आजका गाँजाका झोताहरु
खेत त्यही हो
मान्छे त्यही हो
बाँझो कोपर्ने मैँ हो
तर,
समय बद्लियो रातारात
भोक फेरियो समय सँगै
हो,म बिवस भै हेरिरहेछु
परिवर्तनका बिब्ल्याँटाहरु
तुहिएका कुटिल गेडीहरु
ए,मानिस!
म थाकिसकेँ
मलाई बरु छानोमा सिउरिदेउ
कि त मल्खातमा पुरिदेउ
म अन्न फलाउने नाउँमा
भ्रष्टाचार गर्न चाहान्न ।
...........
मौसम भुसाल,
जिल्ला-पर्वत
हाल: सामाखुसी, काठमाडौँ
Note : Copy Protected , All copyright reserved with Poet .
2 comments:
धन्यवाद चिसापानी ब्लगलाई...
धन्यवाद चिसापानी ब्लगलाई...
Post a Comment