दाई
मलाई अचानोमा राखेर
मेरो शरिरको
कुनै एक भाग गिँडेर,
कुटु-कुटु चाखि हेर्नुस् त।
अनि भन्नुस्, कुन मिठो,
उहिलेको म?
कि अहिलेको म?
गोरू भा'छु म
मतलव, टिपिकल नेप्लिज गोरू।
माले र झुले भा'छु
झिस्मिसे नहुँदै बिचरालाई,
पुच्छारे काकाले
सिमालीको लौरोले व्युँझाऊँथे।
म निर्धोलाई,
एउटा जाबो टिक्टिके घडीले
बेस्मारी दनक दिन्छ, चार नबज्दै।
यहाँ म
गोरू आफैँ
हलि पनि आफैँ
बाँझो फोरेर पल्लो कुना नपुग्दै
उपल्लो कुना, झार बढेर फेरी बाँझै।
फर्कि फेरि जोत,
फेरि फर्कि, फेरि जोत
हेर्नुस न दाई,
पुच्छारे काकाले
पचास सिजन् खेत जोति सके
तर मैले
एक मेलो पनि जिन्दगी जोति सकिँन।
अनुहार फोरिएर
चाउरि पर्न थालिसक्यो
हात गोडा, थाँङ्थीलो भै सक्यो
अनि भुत्राको मिठो होस् मेरो स्वाद।
दाई,
बरू हल्लुँड'को शरबत मिठो होला,
बरू पाँच बेत ब्याएकी
चिहानडाँडे काईलाकी
कालि भैँसि मिट्ठि होलिन्।
थाँङ्थीलो छु,
म पहिलाको जस्तो मिठो छैन,
म मा पहिलाको फ्लेभर बाँकी रहेन,
अब, मेरो स्वाद बदलिएको छ।।
Dipak Niraula Taplejung Now:Sydney, Australia
1 comments:
लुटो कवि ज्यु
Post a Comment