गणेश प्रसाद पौडेल " बहुरुपी " |
जिन्दगी पगालेर आकारमा बदल्छु ,
एक् छेउ कुनालाई संसारमा बदल्छु ।
युद्ध जित्नु छ यहाँ दाजुभाइ बिचमै ,
छ सियो मसँग तरवारमा बदल्छु ।
तिमी बसेर त हेर मेरो आँगनमा ,
तिमीलाई मेरो सुबिचारमा बदल्छु ।
दुनियाँ खुसी भएन भजनले यहाँ ,
यी खैजरी मुजुरा गितारमा बदल्छु ।
गरिखानेको जमना ल्याउनु छ यार ,
यी हातखुट्टा अब औजारमा बदल्छु ।
गणेश प्रसाद पौडेल " बहुरुपी "
स्याङ्जा रापाकोट-७
२.गजल
लुट्यो कसैले रवाफ देखाएर ,
बिचरा ! अबोध् गुलाव देखाएर ।
मात्तिने मान्छे त्यसै पनि मात्तिन्छ ,
कसैले तौले सराव देखाएर ।
गरिबहरुले फाले आफ्नो ईज्जत् ,
धनीको अघि अभाव देखाएर ।
आफ्नो भन्नु पनि मिथ्या हो रहेछ ,
तर्सायो यार नकाव देखाएर ।
जति उफ्रिनु छ उफ्र पाहाहरु ,
पृथ्वी डग्छ र दबाब देखाएर ।
पत्थरका पनि आँसु झारीदियो ,
प्रेम कथाको किताब देखाएर ।
धोकेबाजहरु अक्सर् निहुँ खोज्छन्
माया प्रेममा हिसाब देखाएर ।
गणेश प्रसाद पौडेल "बहुरुपी"
स्याङ्जा रापाकोट-७
३.गजल
खेर नजाओस् भन्थेँ मेरो आश तिमीसँग ,
थियो अटुट दह्रो बिस्वास तिमीसँग ।
खनेर मनको बाँझो प्रिती फूल् रोपेथ्यौँ ,
थियो प्रगाढ् नाता मधुमाश तिमीसँग ।
अब कसरी रहुँ तिम्रो वरिपरि म ,
दुर्गन्धित भयो मेरो लास तिमीसँग ।
भन्नु निष्ठुरी बन्यो यो बहुरुपी पनि ,
छर्न सकिन माया आसपास तिमीसँग ।
हजार जुनी सम्म राख्ने अठोट थियो ,
फूल झरेर पनि सुवास तिमीसँग ।
गणेश प्रसाद पौडेल "बहुरुपी"
स्याङ्जा रापाकोट-७
४.गजल
खोज्दै छु म हराएको जिन्दगी ,
साह्रै मन पराएको जिन्दगी ।
कहाँ बाँच्न पाइयो गरिबले ,
कर मुल्य बढाएको जिन्दगी ।
सबल् बनेन सधैंको अनपढ् ,
थोत्रा कथा पढाएको जिन्दगी ।
मौन छ लाटो झैं आजकल यो ,
धेरै चर्को कराएको जिन्दगी ।
चोट ब्यथा छ चिच्याहट मात्रै ,
शुलिमाथि चढाएको जिन्दगी ।
कहिलेकाहीँ यस्तो लाग्छ यार ,
के जिउनु डराएको जिन्दगी ।
आउला र ? फर्कि बहुरुपीमा ,
भिरबाट लडाएको जिन्दगी ।
श्रावण बर्षदा नि धित् मरेन ,
बर्षौंदेखि खराएको जिन्दगी ।
मैले मात्रै कहाँ हो र ? साराले ,
कति बोक्नु गनाएको जिन्दगी ।
देवता भाक्दै ठुलो हुन पाउँ ,
भन्दै फूल चराएको जिन्दगी ।
कल्पनामै सिमित हुने हो कि ,
बल्ल बल्ल बनाएको जिन्दगी ।
गणेश प्रसाद पौडेल "बहुरुपी"
स्याङ्जा रापाकोट-७
Note :
Copyright Reserved with Writer
0 comments:
Post a Comment