Showing posts with label Muktak Dohori. Show all posts
Showing posts with label Muktak Dohori. Show all posts

मुक्तक दोहोरी - शब्दको खेलाडी Vs सफर जिन्दगी -27-04-2026

NepaliTalim | 5:10:00 PM | 0 comments
 
 
मुक्तक दोहोरी -
शब्दको खेलाडी Vs सफर जिन्दगी

सुरुवाती मुक्तक :
धेरै दुःखी सक्यो मन भो फकाउन नआऊ अब 
मारे जस्तो लाग्छ झन् भो फकाउन नआऊ अब
आखिर मैले तिमीलाई चाहेर निकै ठूलो गल्ती गरेँ 
टुक्रियो यो निर्दोष बदन भो फकाउन नआऊ अब ।।
शब्दको खेलाडी ✍️
उत्तर :
दुखेको मनमा महलम लगाउछु के छ बिचार?
मायाले तिम्रो  छेउछाउमा आउँछु के छ बिचार?
यदि मलाई हृदयदेखि नै चाहेका हौ भने तिमीले,
सधैभरि तिमीलाई खुसी बनाउछु के छ बिचार?
सफर जिन्दगी ✍️

उत्तर :
चर्किएको ऐना जस्तो मन् जोडी दिन्छ कसले अब 
हाम्रो प्रेमको विरोधीको जाल तोडी दिन्छ कसले अब
आखिर तिमीलाई मन मुटुले माया गर्दा बदनामी पाएँ,
ओइलाइ गए मेरा प्रेमका बाग गोडी दिन्छ कसले अब?
शब्दको खेलाडी ✍️
उत्तर :
ऎना जस्तो चर्किएको हाम्रो मन हामी जोडौँ अब
हामी बिचको बिरोधीको जालो हामी  तोडौँ अब
म रहुन्जेल तिमीलाई कसैबाट बदनाम हुन  दिने छैन,
असल बाटो रोज्नुपर्छ ती विगत हामी छोडौ अब।
सफर जिन्दगी ✍️

उत्तर :
कसरी जोडिन्छ भनी देऊ ऐना सरी फुटेको मुटु
मिल्दैन हाम्रो जात भात अनी व्यर्थै टुटेको मुटु
भन्ने मात्र हो म छु भनी तर हेर आज रुँदा म,
कसरी फर्काउन सक्छौ खुसी अनी लुटेको मुटु।।
उत्तर :
टुटेको मनलाई जोडी आएकी छु हेर्नुस् त,
जात जातिय विभेद हटाएकी छु हेर्नुस् त,
अब सधै सधैलाई तिमी रुँदा आँसु पुछ्ने,
माया मिसाएर रूमाल पठाएकी छु हेर्नुस् त।
सफर जिन्दगी ✍️

उत्तर :
हिजो प्रेमको बाटो छेक्ने तिम्रै नजिकका देख्यौ र?
कमजोर बनाउने हाम्रो प्रेममा सकुनी चाल भेट्यौ र?
आँशु सुकेर नयन रितियो अब कदापि छैनन् बग्ने ,
हामीले बनाएको स्वर्णिम मायाको आँगनमा टेक्यौ र??
शब्दको खेलाडी ✍️
उत्तर  :
हामीलाई कमजोर बनाउनेहरू आफैँ जल्नेछन्,
स्वर्णिम मायाको आँगन टेक्दा दनदनी बल्नेछन्,
आँसु सुक्यो तिम्रो नयनमा सजिन्छन खुसीका सपनाहरू,
हाम्रो प्रेमको बाटो छेक्नेहरू ठाँउको ठाँउ ढल्नेछन्।
सफर जिन्दगी ✍️

उत्तर :
मैले पर्खिने हरेक बाटो गल्लीहरूमा इन्तजार थियो
हाम्रो माया त कमजोर थिएन त्यहाँ सब गद्दार थियो
अब विश्वास बलियो हुनेछ यति चाहे तिमी संग,
सुन मेरी मायालु हाम्रो माया प्रेम चोखो अपार थियो।।
शब्दको खेलाडी ✍️
उत्तर :
तिमीले  पर्खिने  गल्लीहरूमा  इन्तजार मेरै हुनुपर्छ,
गद्दार जसले गरेपनि तिमीले चुम्ने निधार मेरै हुनुपर्छ,
विश्वास,भरोसाले  हाम्रो   जीवन  चलाउँ वाचा गर,
छुट्टिनु मर्नु परे नि मुनामदनको जस्तो प्यार हुनुपर्छ।
सफर जिन्दगी ✍️

उत्तर :
हरेक मेरो पर्खाइमा तिम्रै पाइलाहरूको आगमन होस
हाम्रो मिलनको परीक्षाहरु एक दिन स्वर्णिम बन्धन होस
बाचा कसम होइन प्रिये बुढा सुब्बाको भाकल गर्छु,
तिम्रै काखमा मर्नुनै परेमा दुई - मुटु एकै धड्कन होस्।।
शब्दको खेलाडी ✍️
उत्तर :
दुई मुटुको एकै धड्कन हुने रहर पूरा गरिदेउ
लगाउने छैनन् यो दुनियाँले नजर पूरा गरिदेउ,
बुढा सुब्बाको भाकल गरि,माग्न आउँनु घरमा,
जोडेर  मेरो नाम  पछि तिम्रो थर पूरा गरिदेउ।
सफर जिन्दगी ✍️

उत्तर :
मेरो मुटुमा तिम्रो धड्कन सगोल हुनेछ एक दिन
पापी नजरको अन्त्य गरेर तिमीलाई आउँछु लिन 
खेर जाने छैन हाम्रो अनी हामीले भाकल गरेको,
जब तिमीलाई दुलही बनाउँछु अनी साँचो प्रेम चिन।।
शब्दको खेलाडी ✍️
उत्तर :
त्यो धड्कनकाे सगोल सफा हृदयमा सजाएर लानु
पापी नजर त्यस्तै हुन् बा-आमालाई फकाएर लानु
अनि मात्र विश्वास गर्छु,यी मठ मन्दिर भगवान् तिमीमा,
गरगहना चाहिदैन एक धर्को सिन्दूरले आफ्नो बनाएर लानु।
सफर जिन्दगी ✍️

उत्तर :
हृदय भरिको माया तिमीलाई रगतको सिन्दुर हाल्नेछु
जात भातले भरिएको कुसंस्कार जरै देखि उखाल्नेछू
विश्वास अनी अटुट बन्धनको डोरीले बाँधेर लानेछु म,
धनको गरीब भएर के भो मनको उज्यालो दियो बाल्नेछु 
शब्दको खेलाडी ✍️
उत्तर :
तिम्रो औंठा काटेर मेरो सिउँदोमा रगत भर्नु,
समाजमा कुसंस्कार अन्त्य भएको अवगत गर्नु,
हाम्रो अटुट बन्धन चुडाउन हतियारले पनि  सक्ने छैन,
हुनेछन् ब्रह्माण्ड चकित जहाँ प्रेमको ज्यति छर्नु।
सफर जिन्दगी ✍️

उत्तर :
रहरले भन्छ मलाई पनि तिम्रो सिउँदोमा मेरै हात होस
समाजको अघि झुक्दैन प्रेम तिम्रो मेरो एकै जात होस
हतियारले कहाँ डराउछौँ र लड्नेछौ युद्ध प्रेमको मिली,
ब्रह्माण्डको करोडौं तारा मिलेर भोलि शुभ प्रभात होस।।
शब्दको खेलाडी ✍️
उत्तर :
भएर बस्न पाउँ सधै तिम्रो अनि परिवारमा प्यारी,
समाजले जे सोचोस परिवारमा लागि हुनेछु संस्कारी,
जति लड्नु लडिसक्यौं प्रेमको मामिलामा  समाजप्रति,
तिमीले श्रीमती बुवाआमाले स्विकार्नु भयो बुहारी,
सफर जिन्दगी ✍️

उत्तर :
हुनेछौ जीवन पर्यन्त तिमी मेरो कुलको संरक्षक सधैँ
परिआए खानदानको इज्जत राख्न प्रयास अथक सधैँ
मेरो कुल र पुर्खाहरूको आशीर्वाद सधैं  शिरमा होस्,
भावी पुस्ता हुनेछन् भोलि तिम्रो नाउँमा नतमस्तक सधैँ।।
शब्दको खेलाडी ✍️
उत्तर :
इज्जत होस् घर परिवारमा अरू जेजस्तो मर्म स्वीकार्छु,
परापुर्वकालदेखि चलिआएको सबै  कुल धर्म स्वीकार्छु,
यदि पुर्खाहरूको आशीर्वाद सधै मेरो शिरोपर भयो भने,
जिउँनलाई जीवन पर्यन्त गर्नैपर्छ कर्म स्वीकार्छु।
सफर जिन्दगी ✍️

उत्तर :
म जन्मेको यही माटोमा इज्जतले तिम्रो साथ मर्न पाउँ
मेरो संस्कार संस्कृति सँगै तिम्रो भएर बैकुण्ठ तर्न पाउँ
प्रकृतिको काखमा सधैं सुस्ताएर अँगालोमा सदैव,
पुर्खाहरूको एक एक सम्झनामा मिलेर फूल छर्न पाउँ।।
शब्दको खेलाडी ✍️
उत्तर :
संस्कार दिई जिउँन सिकाउने तिमी पाएँ बा-आमाको साटाेमा,
जन्मजातको हाम्रो इज्जत नबिलाओस् ढुङ्गा अनि माटाेमा,
डाफे मयूर झैँ प्रकृति र तिम्रो काखमा रमाउदै रमाउदै,
तिम्रै हात समाएर हिड्न पाउ हर गल्ली अनि बाटोमा।
सफर जिन्दगी ✍️

उत्तर :
सुम्निमा झै माया गर्ने जीवनसाथी पाएकोछु मैले
सातै जन्म नछुट्टिने अविरल माया लाएकोछु मैले
प्रकृतिको सातै रङले अब सजाउनेछु तिमीलाई म,
जुनी जुनी तिम्रै भएर जन्मिने कसम खाएकोछु मैले।।
शब्दको खेलाडी ✍️
उत्तर :
तिम्रो अविरल मायाबाट टाढीने दिन  नआओस् जानीजानी,
यत्ति माया गर्ने जीवनसाथी पाउने म,कति भाग्यमानी,
माया नै मायाको रंगले सजिएर रङ्गिचङ्गी भएर जीवनभर,
पाएको यो जीवन तिमीसँगै बिताउँछु सारा जिन्दगानी।
सफर जिन्दगी
....
समाप्ति मुक्तक
टाढिने छैन तिमीबाट ढुङ्गा को भर माटो बन्छु म 
जति दोबाटोहरु आए पनि नछुट्टिने पाटो बन्छु म 
रंगीन हुनेछन् भविष्य हाम्रो विश्वास राखी बाँचेपछि,
तिम्रो हरेक संघर्षको लक्ष्य पुर्याउने बाटो बन्छु म।।
शब्दको खेलाडी ✍️ 
समाप्त




मुकतककार एस.पी.असफल र सिसा थारु हिन्दुको दशैँ विषेश सवाल-जवाफ मुक्तक (Dashain Special Muktak Sawaj Jawaf -S.P. Asafal & Sisa Tharu Hindu) -03-10-2016

NepaliTalim | 6:14:00 PM | 0 comments
दशैँ विषेश सवाल-जवाफ मुक्तक
एस.पी.असफल &सिसा थारु हिन्दु
स्रोत ::: रचनाका पानाहरु

सिसा थारु

मायाको चिनो औँठी दिएर
गयौ परदेश मन मुटु लिएर
औधी  माया  लाग्छ  तिम्रो
बस्छु आँसुरुपी जहर पिएर।
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल

औंठी मात्रै होइन मुटु पनि दिएको छु
तिम्रै पीरमा भित्रभित्रै भक्कानिएको छु
सपनिमा मुस्कुराउदै तिमी आउँदा त
आधा रातमै चिच्चाउदै बिउँझिएको छु
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
 सिसा थारु

उता तिमी त्यसरी परदेशमा रोएर बस्दा
बर्षाको भेल सरि आँसुले मुख धोएर बस्दा
रमाइलो चाड पर्व नजिकै हुन लाग्दा प्यारा
थाम्न गार्‍हो भयो मन तस्वीर छोएर बस्दा
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल

 आएथेँ प्रदेश आँखामा आँसु रोकेर
सानू तिम्रो मायालाई मुटु भरि बोकेर
तिहार मनाउन म घरमै आउछु पक्का
चाडपर्वमा नरुनु तिमी  छाती ठोकेर
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सिसा थारु

एक्लै बाच्न गार्‍हो भो मुटुमा बसाइँ सरेर जाउ
मेरो खाली  सिउँधोमा तिम्रै सिन्दुर भरेर जाउ
तिम्रो हुन पाईन भने बाच्न सक्दिन एकपल पनि
त्याग्नु छ भने मलाई अन्तिम संस्कार गरेर जाउ
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

एस.पी.असफल

यही मंसिरमा तिम्रो सिउँदो भर्छु भनेर
मेरो जीवन सिसा तिम्रै नाममा गर्छु भनेर
तिम्रै हुन अर्को महिना म घर आउदै छु
धम्की नदेउ धोका दिएमा मर्छु भनेर
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सिसा थारु

मेरा उनी यस्ता भन्दै कति गुणगान गाउँछन्
चाडपर्वमा थरीथरीका गर गहना लाउँछन्
सबै  सङ्गीको बिहे  भयो  मेरो मात्रै बाँकी
संगीनीका छोराछोरी आन्टी भन्दै आउँछन्
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल


खुसी छन् मेरा साथी छोराको बाउ बनी
जिस्काउँछन् बिहे गर् बूढो भईस् तँ भनी
दशैँ पछि छिट्टै घर आउछु बिहे गर्नलाई
मेख मार्न मन छ सानु साथीको मलाई पनि
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

सीसा थारु

यसपालि  दसैंमा मेरो  दाइ  आउने भन्नू भएको छ
हुने खाने ज्वाईं खोज्न सहर धाउने  भन्नू भएको छ
छोरीको उमेर गयो भन्दै चिन्ता मानी बा- आमाले
यहि मंसिरमा मेरो  डोलि अन्माउने भन्नू भएको छ
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल

मंसिर लाग्नु अगाडिनै म घर आउँछु सानू
तिम्रो दाईलाई फोन गरि सम्झाउँछु सानू
प्रवास आएर नि जग्गा जमिन जोडेकै छु
मलाई विश्वास छ तिम्रो साथ पाउँछु सानू
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सीसा थारु

मेरो यो  खाली सिउँदो चाडै रङ्याउ घर आएर
दुबै मिली बसौला पिरतीको घर चटक्क बनाएर
तिम्रो कुरा सुन्दाखेरी जीवनमा उमंग छाएको छ
बिहे पछि मेरो प्यारो एस.पी.संगै बस्छु   रमाएर
🌹🌹🌹🌹🌹🌹🌹🎁🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल

यसपालिको दशै लाई खास बनाए
अन्तिम चोटि माइतीमा दशै मनाए
फेरि तिम्रो बिहे अन्तै पक्का गर्लान्
हाम्रो कुरा तिमीले पनि घरमा जनाए
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सीसा थारु

टीका अघि तिमी घर आउँन मिल्दैन र??
संगै बसि दशैँको टीका लाउन मिल्दैन र??
दशैँमा लाग्ने रमाइलो मेला,सँगसँगै घुमी
प्रितीको गीत हामीले नि गाउन मिल्दैन र??
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पि.असफल


तिमी सँगै यसपालिको दशैँ मनाउने,,
मन थियो दशैँ अघिनै आफ्नो बनाउने ।
प्रवासमा भन्नेको बेला छुट्टि मिल्दैन,,
कुरा नबुझी  मलाई मात्रै दोषी जनाउने ??
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

सीसा थारु

जतिसक्दो चाडै छुट्टी मिलाई आऊ प्यारा।
अझै मलाई एक्लै यसरी नतड्पाऊ प्यारा।
बरू सोचौंला विस्तारै जिन्दगीको बारेमा
पहिला दुनियाँ अघि सिउँदो सजाऊ प्यारा।
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल

बसे मनमा खुसी अनि उमंग जगाएर
निधारमा दशैँको टीका जमरा लगाएर
घरकाले नदिए मन्दिरमा गई रङ्गाएर
तिम्रो सिउँधो सिन्दुरले घरबाटै भगाएर
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

शुभकामना

रिस राग अनि वैरभाव मनमै मरुन्,,
मित्र दाहिने शत्रु जति पाउमा परुन् ।
बडा दशैँ कसैलाई नि दसा नबनोस्,,
नवदुर्गा भवानीले सबैको रक्षा गरुन् ।।

🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

सम्पूर्ण आदरनीय अग्रज गुरुहरु,समकालीन तथा अनुज साहित्यिक मित्रहरू साथै हाम्रो सामाजिक संन्जालमा जोडिनु भएका आफन्तजन र हाम्रो मुक्तकिला भावहरु पढेर आफ्ना अमुल्य सल्लाह, सुझाव ,प्रतिक्रिया दिने र हाम्रो सवाल जवाफ पढ्न आफ्नो अमूल्य समय खर्च गरिदिनु हुने  सम्पूर्ण जनालाई  लाई हार्दिक आभार ब्यक्त गर्दै
२०७३ सालको बडा दशैको हार्दिक मंगलमय शुभकामना दिन चाहान्छौँ  ।।।

🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल
भाटखोला :९
स्याङ्जा
हाल:बिरानो मुलुक
🌹🌹🌹🌹🌹🌹🌹
सिसा थारु हिन्दु
बिर्तामोड झापा

Note : Copyright Reserved with Writer

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger