Showing posts with label Poem. Show all posts
Showing posts with label Poem. Show all posts

कवि अजित क्षेत्रीको कविता - मूल्य (Poem Mulya by Ajit Chhetri)-29-10-2018

NepaliTalim | 4:30:00 PM | 0 comments
कविता - मूल्य 

तिम्रो क्यानभाषको आयातन
बढेको पक्कै हो-
जब तिम्रा कुचीले कामुक मुस्कान वाली
बिश्वसुन्दरीको चित्र दुरुस्तै कोरेको थियो
तिम्रो क्यानभाषको मुल्य आकासिएको पक्कै हो
जब त्यसमा कोरीए-
नामुद नगरबधुको मोहनी मुस्कान,
चर्चित नेताको मुखाकृति,
दरबारमार्गको बुढो शिरिषको रुख
सिंहदरबार अगाडीका पृथ्वीनारायणको चोर औंला
र मार्क्स लेलिनका जुँगे तस्विर !
शहरले तिमीलाई रातारात महान् बनायो
तिम्रा सबै पेन्टिङ् हातहातै बिक्री भए
मनग्य पैसा कमायौ
सुनें, ठमेलको बिदेशी होटलमा सक्सेस पार्टी दियौ
तिम्रो सम्मानमा स्याम्पेन खोलिए
तालि बजाईए,
सुत्न लागेको सहर एकपल्ट पुनः बिउँझियो
तिमीलाई महान् चित्रकारको उपाधि दियो ।

तर,
ओ- महान् चित्रकार महोदय,
तिम्रो घरको एउटा कुनामा 
बर्षौंदेखी थन्क्याएर
बेवास्ता साथ फालिएकी म,
तिमी मातेर फर्कँदा
तिम्रो ह्विस्किको तातो नमिठो हस्कोले
हरेक रात निसास्सिई रहेकी छु
तिम्रो उत्तेजनाको डम्पिङ् साइट भएर
हरेक पटक म आफ्नै मृत्युको उत्सव
मनाईरहेछु

मध्यरातमा केही मिनेटको उपयोग पछि
म फेरी उपयोगहीन हुन्छु अर्को मध्यरातसम्म ।
मलाई यी रातहरु
बेश्यालयका नियमित ग्राहक जस्ता लाग्छन् ।

सक्छौ भने मलाई पनि फ्रेममा सजाएर
प्रदर्शनीमा राखिदेउ न
म आफ्नो मूल्य जान्न चाहन्छु ।

-अजित क्षेत्री
हाल: युएई

कवी वास्तविक मानवका ५ छोटा कविताहरू ( 5 Short poem by Wastabik Manab) - 07-10-2018

NepaliTalim | 5:30:00 PM | 0 comments
मेरा ५ छोटा कविता.
नाम- वास्तविक मानव
ठेगाना- बागलुङ् हाल काठमान्डौँ 
पेसा- विद्यार्थी –class 12- golden gate international college

छोटा कविता

१. "भुत"
सानै थिए,
चक्चक्  गर्थे
आँमा भन्नुहुन्थ्यो
“ऐले भुत आउँछ र खान्छभनेर।
“भुत आएर खाइहाल्यो भने?”
म पछी सम्मै पनि डराउँथे

तर आज ठूलो भएकोछु
डर छैन।
बरु आफ्नै जिन्दगी भुत भन्दा पनि
कयौँ गुणा भयानक लाग्न थालेकोछ।

२. "दसा"
 दसा बाजा बजाएर आउदैन,
भन्ने कुरा त थाहा थियो,
तर कहिलेकाही जोडतोडका साथ
 बाजा बजाएरै पनि आउँदोरहेछ।
तिमि, मेरो आँखै अघाडी
बाजा बजाएर गयौ।

३. 
चोकमा फूलहरूको
ब्यापार हुन छोडेपछी,
हिजै देखि हो,
ब्यापारी नानीले 
आफैलाई फूल बनाएर,
चोकमा सजाएको।

४.  “बाँस_घारी
 मलाई रातको बार बजे बोलायो।
म घरबाट, 
ओरालै-ओरालो बाटो हुँदै
बाँसघारीमा पुगे।

भोली पल्ट,
त्यहा 
झुन्डिएको एउटा  विवत्स लास भेटियो।

५.
बसमा,
बस्दै गरेको अवस्थामा
तिमीलाई मैले देखेपछी
तिम्रो फेस हेर्ने लालसाले,
फेसबुकमा के छिरेथे,
कुन बेला प्रेम बस्यो पत्तै भएन।

कवयित्री शुष्मा रुपाबुङ राईको कविता “लोकसेवा पिडित” _Poem Loksewa Pidit by Sushma Rupabung Rai

NepaliTalim | 11:10:00 AM | 0 comments
लोकसेवा पीडित
(कवयित्री शुष्मा रुपाबुङ राई)

फेल पार्नै बनाएको लोकसेवामा 
पटक पटक पास गर्ने कोशीस गर्दा- गर्दा
जोबन लोलाएको म एउटा लोकसेवा पीडितलाई
न्याय चाहियो हजुर!

स्वास्नी पीडित
लोग्ने पीडित
छिमेकी पीडित
प्रेमीप्रेमिका पीडित
सबै आफ्नो न्याय खोज्नको लागि
एकजुट भएर साझेदारीमा संस्था खोलिसके
आउनुहोस् कोही म जस्तै लोकसेवा पीडित
हुनुन्छ भने एकजुट भइ न्याय मागौ
बढीपीडित र भुकम्पपीडितको राहत खोस्नेहरुले
के देला र हाम्रो जोवनको आहत
तै पनि मन बुझाउने बहाना खोजौ कि भनेर
छटपटाइरहेछ यो मन….

जी.के. को खातिर,
सारा ब्राम्हाण्डको ग्रह, उपग्रह, उल्का
भोल्काको सङ्ख्या,
क्षेत्रफल,लम्बाइ चौडाइ
एकार्काको दुरी र सम्बन्ध
रटेकै हुन्छु
तर
मेरो उत्तरपुस्तिका जाच्ने समयमा
कहिले एउटा ग्रह ब्ल्याकहोलले
खाइदिएर सङ्ख्या घट्दो रहेछ
कहिले अर्को नयाँ ग्रह थपिदो रहेछ
कहिले मायाले एकार्काको दुरी
घटाऊदो रहेछ कहिले रिसले
दुरी बढाउदो रहेछ…

संसारका शक्त्तिशाली शासकहरुको
स्वास्नीको सङ्ख्या देखि
प्रत्येक सुहागरातको तिथिमिती
ठुलाबडाहरुको जन्ममिती देखि
मृत्‍युमितिहरु
कन्ठस्ट गरेकै हुन्छु
तर मैले जाच लेख्ने बेलामा
कहिले अर्को स्वास्नि थपेर
कहिले एउटा मरेर सङ्ख्या घटबढ् हुदो रहेछ..

सत्यगुग देखी त्रेतायुग, द्वापरयुग
र कलियुगहरुमा भएका विश्वयुद्द देखी
गृहयुद्द, प्रेमयुद्दका इतिहासका मितिहरु
घोकेकै हुन्छु
तर मैले लेख्ने बेलाको परिक्षामा, भर्खरै दुई पार्टिका
शिर्ष नेताहरुको ठुलो पदमा भागबन्ड नमिलेर
झगडा गरेको मिती
मैले पढ्ने लोकसेवाको किताबमा छापिनै
बाँकी प्रश्न सोधिदिन्छन…..

जसो तसो लेखाइमा पास भएकै थिए
अन्तर्वातामा बोलाएर सोध्यो
पोखराको बिचमा के छ?
सजिलो प्रश्न भनेर मनमनै फुरुङ्ग हुँदै भने
पोखराको बिचमा फेवातल छ सर !
उस्ले भन्यो -फेल! पोखरा को बिचमा ‘ख’ छ

अर्को पटक पनि अन्तर्वाता सम्म पुगेकै हुँ
फेरी उस्तै खालको प्रश्न गर्‍यो
इलामको बिचमा के छ??
पुरानै मोडेलको प्रश्न भनेर फेरी खुशी हुँदै
उत्तर दिए- इलाम को बिचमा ’ला’ छ सर!
उस्ले कड्किदै भन्यो- फेल! इलामको बिचमा
चियाबारि छ!!

र त म भन्दैछु यो फेल पार्नै बनाएको
लोकसेवामा पटक-पटक पास हुने
कोशीस गर्दा गर्दा कपाल फुलाएको
यो लोकसेवा पीडितलाई न्याय चाहियो हजुर!

आजकाल त आकाशमा चरा उडेको देख्नै हुन्न
समय र मिती टिप्न थालीहाल्छु
घरको मान्छेहरु सङ्गको सम्बन्ध केलाउनलाई
पनि I.Q शुत्र प्रयोग गर्न थालेको छु
एकपटक केटी माग्न जादा, केटीको बाउले
मेरो उमेर सोध्द्दा हतार हतार कलमले
हत्केलामा कोरेर IQसुत्र लाएर आफ्नो
उमेर निकाल्न थालेछु
आफ्नो उमेर पनि थाहा नपाउनेले छोरी
कसरी पाल्छ भनेर धपाइदिए….

सरकारी जागिर खाएर बिहे गरौला भनेको
प्रेमिकाको छोरा नै लाहुरे भईसक्यो
बाबा, आमालाई सुख दिने भनेको
पनि ईतिहास नै हुन लाग्यो
चुकचुक लाग्छ..
बरु उमेर हुँदै अरब गएको भए,
कमसेकम
चुहिने घरको छानो र
फाटेको आमाको चोलो
फेर्ने हैसियत त हुन्थ्यो..

कहिलेकाही घोरिएर सोच्छु,
इतिहासका ठेलिहरु घोकेर
आकाशका जुनाताराहरु गनेर
मान्छेहरुको जन्म र मृत्‍युको मिती रटेर
बाउ छोराको उमेरको अन्तर पत्ता लाएर
पास भएर लोकको सेवा गर्ने योग्य भए पछी
यिनै कुराहरु ब्याबहारमा लागु हुँदा हुन?
बरु कहिलेकाही सुनिन्छन
कार्यालयभित्र तास खेलिरहेका
कोही मस्त सुतिरहेका
कोही घुस लिरहेका
जुन कुराहरु न लोकसेवाको पाठ्यक्रमा
पढ्न नै पर्छ नत घोक्न रट्न नै!

मेरो त घोक्ने कुराहरु घोक्दा घोक्दै
रट्ने कुराहरु रट्दा रट्दै जोवन ढलिगयो
न खेतिबारी खन्ने जोस रह्यो नत
अरब जाने उमेर!!
म लोकसेवा पिडितलाई न्याय चाहियो हजुर
खवरदार! बृदाभत्ता पर्खि चै भन्नु नपाई!

शुष्मा रुपाबुङ(हाल-ब्रुनाई)
Source -Face book 
Note : Copyright of Above poem is reserved with Poet

कवि अजित क्षेत्रीको कविता अंश (Poem Ansha by Ajit Chhetri) - 29-12-2017

NepaliTalim | 1:57:00 PM | 0 comments
कविता-अंश
-क्षेत्री अजित
................

मैले नौ महिना गर्भमा पालेको
मेरो रगतको एक अंश
जसको पहिलो स्पर्शमा
म आफ्ना पीडा भुलेर
अल्हादीत भएकी थिएँ
जसको पहिलो रुवाईमा
म आमा बनेको खुसीले रोएथें
जसलाई तातेताते गराउँदा
मैले हिँड्न सिकेथें
जसको पापा मामा शब्दले
म पुलकीत भएथें
जसले खाँदा म अघाएथें
जसले निदाएसी निदाएथें
त्यही छोरो तिमी
आज भन्दैछौ
अंश चाहियो आमा म छुट्टिन्छु ।

बाबु किन चाहियो अंश ?
यो सबै तिम्रै त हो
लैजाउ पुरै लैजाउ ।

यो आँगन लैजाउ
यो मझेरी लैजाउ
जहाँ तिमी खेल्ने गर्थेउ
र म खेलिदिन्थेँ,
तिम्रा लागी बच्चा बनिदिन्थेँ
त्यो बालापन लैजाउ ।
तिम्रै खुसीमा लुटाएथें मैले जो
त्यो यौवन लैजाउ
लैजाउ सबैथोक लैजाउ
बस् मलाई नलैजाउ

किन माग्छौ अंश बाबु
लैजाउ पुरै लैजाउ ।

तिमीलाई बाह्रखरी लेख्न सिकाएथें
आँगन बाहिर टेक्न सिकाएथें
तिम्रा कलिला दाँत दुख्लान् भनि
चपाएर खुवाएथें
तिमीले आकाश छुने जिद गर्दा
मैले टाउकोमा बसाएथें
घाम लाग्दा छाता बनेथें
पानी पर्दा ओत बनेथें ।

बाबु सम्झना छ कि छैन ?
मेरो काख तिमीलाई
बिशाल संसार हुन्थ्यो
बिशाल रंगमन्च हुन्थ्यो
तिमी खेलेर थाक्दैनथ्यौ
निदाउँथ्यौ र लात्तिले हान्थ्यौ
छातिमै मेरो
म असह्य पीडा पनि बिर्सन्थें
र चुमिदिन्थें तिम्रा कलिला पाउ
अनि माडिदिन्थे दुख्यो कि भनि
मेरो छातीमा हान्दा ।

तिमीलाई लोरी सुनाएका
ति साँझ लैजाउ
आमा, म ठुलो भएसी पाल्छु भन्थ्यौ नी
अनि म आँखा टिल्पिलाउँदै मुस्कुराउथें
ति सबै याद लैजाउ ।

मात्र छाडी देउ मलाई
तिम्रो सहारा बनि बिताएको
मेरो एकल र उधारो जवानी ।

मलाई याद छ त्यो सुनौलो बिहान
जुन दिन तिमी गर्भमा बसेको थाहा पाएर
म पेट मुसारी मुसारी रोएथें ।
तिम्रो जन्ममाथी शंका गर्दै
तिम्रो कालो रंगमा कटाक्ष गर्दै
तिम्रा बाबु तिमी जन्मेकै दोस्रो दिन हिँडेथे
त्यसपछि कहिल्यै आएनन्
घरको हेला र समाजको तिरस्कार सहें
घाम पानी र पसिना सहें
बेश्या बनें
बोक्सी बनें
अलक्षिनी बनें
जे जे म थिईन ति सबै बनें
ति सबै मलाई छाडिदेउ ।
लैजाउ तिम्रो स्वाभिमान लैजाउ
लैजाउ तिम्रो अभिमान लैजाउ
तिमी पेटमा हुँदा तिम्रै खातिर सम्झने
मेरा प्रिय भगवान लैजाउ ।

तिम्ले टेक्ने अलग्गै धर्ती छ भने लैजाउ
सास फेर्ने अलग्गै बतास लैजाउ
तिम्लाई चाहिएला यो आकास लैजाउ ।

मलाई बाँच्न एक मुठ्ठी सास भए पुग्छ
बाँकी सबै तिमी लैजाउ
किन माग्छौ अंश छोरा
यो सबै तिम्रो हो सबै लैजाउ
जो म तिम्री हुन सकिन
मलाई मसंगै छाड
बाँकी तिम्रै हो सबै लैजाऊ ।

स्याङ्जा,
हाल:युएई

महिला सिट -राम शरण श्रेष्ठ

NepaliTalim | 12:42:00 PM | 0 comments
कविता -महिला सिट
..........................
करिव पचहत्तरको बुढा मान्छे
उभिएको छ बल्ल तल्ल  सकि नसकी
मेरो ठिक अगाडी
एकहातमा लठ्ठिी अर्कोले डन्डी समातेर
माइक्रोमा सँगै

कार्यलय खुल्ने समय
खचाखच छ माइक्रो
भित्र सर्नुस मिलेर बस्नुस्
बच्चा काखमा लिनुस्
नत्र पैसा लाग्छ
भन्दै ढोकाबाट हुरुरुरु
प्यसेन्जर हुल्न सफल  हुन्छ ।

खँलासी,
मुसुक्क हाँस्छ ।
चिच्याउँछ हरेक रोकिएको ठाउँमा
भन्दै
टिचिङ्ग कान्ति चक्रपथ गोल्फुटार नारायनथान ...

सबै हतारमा
कस्लाई कस्को के मतलब
यहाँ ...

२०–२२ का तरुनीहरु
हल्ला गर्दैछन् पहिलो सिटमा
फेसबुक स्टाटस र कमेन्टहरुका बारेमा
कुराकानी गरिरहेछन् ।।

अन्तिम सिटबाट कसैले बोल्यो
सिट छोडिदेओ नानिहो
बुढा बा लाई

यो त महिला सिट हो नि बाजे ।
महिला सिट बोल्यो,

सबै चुपचाप ।
बुढा बा बोल्नुहुन्छ ।
यस्तै रैछ हाम्रो नयाँ नेपालमा ।

धन्यवाद !!


राम शरण श्रेष्ठ
चिसापानी रामेछाप

अजित क्षेत्रीको कविता -चिठ्ठी (Poem -Chiththi by Poet Ajit Chhetri) - 26-10-2017

NepaliTalim | 10:21:00 AM | 0 comments


कविता - चिठ्ठी
-क्षेत्री अजित
------------
प्रिय,
कुनैदिन म गएछु भने
तिमीबाट टाढा भएछु भने
लेखिदिनु एउटा बिरही गीत,
खसी जाने शितको सम्झनामा
पैयुँको बोटमा जुनकीरिले गाए जस्तो

बिरहको कुनै अँध्यारो रातमा
तिमीलाई सम्झि रुँदै रुँदै
म गाउनेछु ।

म खसेछु भने
मिर्मिरेमा तारा खसेजस्तो,
म बगेछु भने
सागरमा पुतली बगेजस्तो,
चढाई दिनु दुई थुँगा फूल,
लाहुर हिँडेको सिपाहीले
फेरी भेट्ने बाचा गर्दै
पियारीको सम्झनामा
सिमलको फेँदमा
पाती चढाए जस्तो

तिमीले बिर्स्यौ भने पनि 
त्यै बाटो ओहोर दोहोर गर्दा
म झस्काउन आउनेछु
तिमीले डराए पनि
म तर्साइ रहनेछु ।

प्रिय, लेखिदिनु एउटा गीत
कुनै चिसो बिहान
तिम्रो सम्झनाले 
बेस्सरी मुटु पोल्दा
म गाइरहनेछु ।

आमालाई पछ्याउँदै रुँदै रुँदै
बजार पुगेको बालक
कतै बजारको भिडमै हराए जस्तो,
गुँडमा बचेरा छाडी
आहार खोज्न निस्केको हाँस
कतै सिकारीको जालमा परे जस्तो
समयको जन्जिरमा म परेछु भनें,
बर्षौंदेखी हुलाकको बाकसमा थन्केको
गुमनाम चिठ्ठी जस्तो,
म यतै मरूभूमीमा बेकसुर मरेछु भने

हाली दिनु ईश्वरको अदालतमा
एउटा मुद्दा
ईश्वरकै बिरुद्धमा

म ईश्वरकै अगाडी उभिएर
ईश्वर मरेको घोषणा गर्नेछु
र,
त्यसैदिन देखि च्यातेर
ईश्वरको तस्बिर 
मेरो तस्विरमा तिमी
फुल अक्षता चढाउने छ्यौ

त्यै तस्बिरको म,
तिमी मस्त निदाएको देखेर
मुस्कुराउने छु ।

प्रिय, लेखिदिनु एउटा गीत
बिरहको कुनै अँध्यारो रातमा
तिमीलाई सम्झि रुँदै रुँदै
म गाउने छु ।

अजित क्षेत्री
-युएई

Note : Copyright of Above Poem is reserved with Poet

कवि अजित क्षेत्रीको कविता -प्रेम-एक अन्तहीन यात्रा (Poem by Ajit Chhetri -Prem Ek Antahin Yatra) -13-10-2017

NepaliTalim | 3:58:00 PM | 0 comments
प्रेम-एक अन्तहीन यात्रा
कबिता/क्षेत्री अजित

महिना दिनको
माइत बसाईं पछि
भेट्ने तिब्र चाहनामा
ऊ आई हुईकिँदै
दौडिँदै
एक सासमा बेगले
आँगन, र
आँगन हुँदै पिँडी
अनि भुइँतलाको
त्यो सानो कोठा
जहाँ म आतुर थिएँ
ऊ अर्थात्
मेरी पत्नीसँग आलिंगनको,
एउटा न्यानो अंगालोको
भुमरीमा
आफूलाई बिसर्जन गर्न ।

उ आई
चिसो प्रेमिल बतास आयो
सागरको लहर आयो
संघारमै
र त्यसमै म बगेँ
उसले हात दिई
समाई
काखमा राखी
उसैगरी
जसरी
काखमा राख्नु हुन्थ्यो
मलाई मेरी आमा

उ झुकी
बादल जस्तो घना कपाल
मेरो छातीमा बिसाई
ईनार जस्ता गहिरा आँखा
मेरो आँखामा जुधाई
म चितुवाको पञ्जामा परेको
मृग सरी आत्मसमर्पण गरें
लाग्दैथ्यो
उसले सिकार गरिसकि
र, अब खान्छे पनि
काँचै मलाई ।

सागरमा पानी बढ्दै थियो
लहर उठ्दै थियो
तुफान आउनु अगाडीको
समुन्द्री किनार जस्तो
हलचल र कम्पन थियो
ब्यग्र प्रतिक्षा थियो
उग्र चाहना थियो
मिठो मिलन थियो
उ ममा र म उमा
कैद थियौ बेकसुर
प्रेमको अन्तहीन जेलमा

छोरा टिभी हेर्दै थियो
हामी एक अर्कालाई बेर्दै थियौं,

लाग्दैथ्यो-
यो समयको सुई यहिँ रोकिदिऊँ
अनि बिताउँ एक युग
यही अवस्थामा
यही हालतमा ।

आँखा बन्द थिए
तर हामी यात्रामा थियौं
बिना पाइला
बिना बाटो
प्रेमको एक सुदुर यात्रामा ।

हामी सिमानामा थियौं
दुई ज्यानको
दुई मनको ।
तर निसंकोच उ हस्तक्षेप गर्दै थि
मेरो सिमाना माथी
मेरो अस्तित्व माथी
म खुसी र आन्दले लुटिँदै थिएँ
मिचिँदै थिएँ
सोंच्न सकिन-यो कस्तो खेल हो
न हार हुने न जीत ?

अनायसै उसले सोधी-
प्रिय तिमी कसलाई सबैभन्दा
बढ्दा प्रेम गर्छौ ?
मैले निशंकोच जवाफ दिएँ-आमा

प्रेमको यो महासागरमा
डब्नै लाग्दा पनि मैले
आमालाई भुल्न सकिन
मेरो पहिलो प्यार त्यो ।

हो म आमालाई
संसारमै सबैभन्दा बढि मायाँ गर्छु
प्रिय,तिमीमा पनि त म
आमाको एक अंश भेटाउँछु

अचानक छोरो आईपुग्छ
आफ्नी आमाको काखमा
र,लुटपुटिन्छ उसैगरी
जसरी लुटपुटिन्थेँ म
काखमा मेरी आमाको ।

प्रिय, तिमी
मेरो छोराको पहिलो प्रेम हौ
र,मेरो अन्तिम प्रेम
एक अन्तहीन प्रेमको जननी तिमी ।।

- युएई

Note :
Copyright of Above Poem reserved with Poet 

कवि अजित क्षेत्रीकाे कविता बुख्याँचाहरू (Poem Bukhyachaharu by Ajit Chhetri) - 11-10-2017

NepaliTalim | 11:07:00 AM | 0 comments
कविता - बुख्याँचाहरू
क्षेत्री अजित 
....
धेरै पहिले
हातमा मसाल र लाठी लिएर
अनिदो पहाडमा जम्मा भए
एक हुल बुख्याँचाहरू
र,त्यो बुढो घरमा हमला गरे
आगो लगाए
नारा लगाए
जिन्दाबाद
मुर्दाबाद
भिड जम्मा भयो
भिडमै मिसिएँ म पनि ।

बुख्याँचाहरू भन्दै थिए-
यो पुरानो सामन्ती महलमा
सेता माकुराले जालो लगाएको छ
यहि जीर्ण महलमा लुकेर
दुष्ट सेतो माकुराले
गाउँलेलाई सताएको छ
बाटो छेकेको छ
बाली बिगारेको छ
गाउँलेलाई डसेको छ

गाउँलेले आगो लगाए
सेता माकुराको जालोमा,
घर जल्यो- माकुरा जले
जीर्ण घर ढल्यो
सेता माकुराको साम्राज्य पनि ढल्यो ।

भिड रमायो
म पनि रमाएँ
गाउँलेले भने मुक्त भयौं
हामीले जित्यौं ।

समय बित्यो
गाउँबाट बुख्याँचा गायव भए
थाहा भयो
बुख्याँचाहरूले जलेको महलको
खण्डहरमा नयाँ महल बनाए
र, आँफूलाई सर्वश्रेष्ठ प्राणी
घोषित गरे ।

महलको सम्पन्नताले अहिले
बुख्याँचा मातेका छन्
एक आपसमै लडेका छन्
गिरेका छन्
गिराएका छन्
मरेका छन् मारेका छन्  ।

गाउँमा नयाँ आतँकको
जन्म भएको छ
सेतो माकुरो होइन
काला बुख्याँचाहरू
सेतो बर्को ओढेर
गाउँलेहरुलाई सताएका छन्
उसैगरी
जसरी हिँजो सेता माकुराले
गाउँलेलाई सताएका थिए ।

क्षेत्री अजित 
स्याङ्जा
हाल:युएई

Note :
Copyright of Above Poem reserved with Poet 

कवि अजित क्षेत्रीको कविता- कविताको खेती (Poet Ajit Chhetri with Kabitako Kheti) : 18-08-2017

NepaliTalim | 4:43:00 PM | 0 comments


कविता -कविताको खेती 
-क्षेत्री अजित

भोक र शोकमा पनि हाँस्ने
अभाव र दुःखमा पनि बाँच्ने
रित्तो गोजी तर सधैं ब्यस्त जीवन
कवि तिमी महान छौ
भोकमै महाकविले कविता लेखे
भोकमै भुपीहरूले देश लेखे
तर लेखेनन् कहिल्यै दुःखका कविता
यहाँ भोका कविले
वीरताको कविता लेखे
स्वाभिमान र सम्पन्नताको कविता लेखे
रोगले थलिँदा लेखे
आँखा कमजोर हुँदा लेखे

तर लेखेनन् आफ्नै कथा
तर लेखेनन् आफ्नै कविता ।


अर्काको जीवनको करौंतीमा
साँध लगाउने कविहरू
आफ्नै जीवनको आँगनको
डिल भत्किएको देखेनन्
खरानीको चिहानमाथि
लासको सिरानी हालेर कविले
जीवनसँग युद्ध हारेर जानेको
कविता लेखे
तर लेखेनन् आफ्नै कविता
लेखेनन् जीवनको तमसुकमा
राता अक्षरले लेखिएका
अभागी प्रेमीका कथा ।


त्यसैले कविता
म लेख्नेछु मेरै कलमको निबको कथा

म लेख्नेछु मेरै कलमको निबको कथा


म लेख्नेछु
गाई गोठ जाँदा
आफ्नै हजुरबाबाट बलात्कृत
हजारौं पूजाहरूको कविता
म लेख्नेछु
परदेशी श्रीमानले
आफ्नी पापीनीको बियोगमा लेखेको
मृत्युपत्रको कथा
हो यहाँ दिनहुँ मरिरहेछन्
थुप्रै पूजा र रामबहादुर
प्रिय,
मेरो मृत्युमा पनि छपाई देऊ है
मेरो समवेदना बिज्ञापन
मलाई पत्रिकामा छापिएको
आफ्नै फोटो औधी मन पर्छ
तिमीभन्दा पनि ।

नेपाल कविताको देश
नेपाल कविहरूको देश
नेपाल कथाकारको देश हो

हेर त
हिमालका सेता भिरहरूमा
कविता लटरम्म फलेका
हेर त तराईका फाँटहरूमा
धानभन्दा कथा धेरै फलेका
यो माटो उर्वर छ
यो माटोले कवि नि जन्माउँछ
कविता नि जन्माउँछ
कविताको सिंगै सगरमाथा
यहाँ वर्षौंदेखी कविताकै पहाडमाथि
उभिएर मुस्कुराइरहेछ ।


म पनि यस वर्षदेखि
कविताकै खेती गर्छु
साहुजी हजुरको पसलमा
दुई केजी कविताको बिऊ छ होला ?

वर्षा यामको ब्यस्त आकाशमा
जब बादलले तातो हावासँग
सहबास गर्नेछिन्
तब प्रकृति लाजले ओढ्नेछिन्
इन्द्रेणीको घुम्टो
म हुनेछु ब्यस्त
आफ्नै जिन्दगीका बाँझा
खेतहरूमा कविताको बिऊ छर्न
कविता तिमी उसैगरी फल्नु है
जसरी फलेकी थियौ
देवकोटाको शाकुन्तलमा
जसरी फलेकी थियौ
घिमिरेको गौरी काव्यमा
कविताको देशमा म पनि
अब कविताको खेती गर्छु ।

भोका किसानको अनाज मिठो
भोका कविको कविता मिठो
तर खै कुन्नि मेरा कविता
कस्ता हुनेछन्
किनकि म भोको छैन
म अघाएको छु
टन्न पेटभरी खाएको छु
अपमान
तिरस्कार
घात
लात
हो म अघाएको छु
भोका र गरिब कविको देशमा
मेरा कविताको खेती
खडेरीमा पर्ने हो कि
अतिबृष्टीले मर्ने हो
तर म लेख्नेछैन
बिरताको कविता
स्वाभिमानको कविता
सम्पन्नताको कविता
म लेख्नेछैन
अधबैँसे गौरीको कथा
जसले छाडेकी थि
आफ्नो प्रिय माधवलाई
प्रीतिको गहिरो सागरमा एक्लै
म लेख्ने छैन
पापीनी मुनाको कथा
जसले पठाएकी थिई
मदनलाई
भोटको जंगलमा एक्लै
म लेख्नेछु
गौरीको बियोगमा भोटाहिटीको गल्लीमा
चिसो कोठामा
आँसुको सर्वत पिएर
बिरही छन्द लेख्ने
घिमिरे माधवको कथा
म लेख्नेछु
भोटको जंगलमा
रोग र शोकले थलिएका
मेरा प्रिय मदनको कथा
म लेख्नेछु
मेरो आफ्नै कविता
मेरा जीवनका उजाड पाखाहरूमा
म लटरम्म कविता फलाउने छु
हो,
यस वर्षदेखि म
कविताको खेती गर्नेछु ।

-क्षेत्री अजित
स्याङ्जा, हाल: युएई

Note : Copyright Reserved with Poet

मेरा ३ छोटा कविताहरू -राम शरण श्रेष्ठ

NepaliTalim | 10:37:00 AM | 0 comments
१.कविता -प्रतिक्षा

अझै पनि छन् !! 
तिम्रै प्रतिक्ष्यामा,
बर्सौ पहिले तिमीले लिन नमानेको रातो गुलाब,
मुटु टक्राएर जिन्दगी राजीनामा दिएको एउटा प्रेम पत्र, 
मैले तिम्रै लागी बचाइ रखेको एक दिनको जिन्दगी

तिमी प्रति हर दिन बढीरहेको कहिल्यै नघट्ने मेरो चोखो प्रेम ।
बस छैनौ त केवल तिमी
र तिम्रो साथ ।
07-01-2015
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 

२.कविता -घृणा

उस्ले पनि त,
प्रेम दिवशकै दिन देखी
सुरु गरेको रहेछ
मलाई घृणा गर्न ।

म बाट रातो गुलाफ
नपाएको झोकमा ।

के गर्नु मैसाप,
माया रहरले
हुँदैन ।

................

राम शरण श्रेष्ठ (राम)

३.कविता 
पिरहरुले कहिल्यै साथ छोडेनन्,
अभावहरुले कहिल्यै साथ छोडेनन्,
न छोड्यो,
मैलै स्वास फेर्ने हावाले,
न छोड्यो,
मैले टेक्ने धर्तिले
न विर्सियो
घडि सुइहरू घुम्न,
..
विर्सिएको त तिमीले हो,
छोडोको त तिमीले हो,
सँगै हिँडेको बाटो,
सँगै खाएका कसमहरु,
..
आज त बस,
धड्कन हराएको मुटु,
बोकी हिँडिरहेछु ।
..
राम शरण श्रेष्ठ (राम)

"साथी"-राम शरण श्रेष्ठ

NepaliTalim | 10:32:00 AM | 0 comments
"साथी"
.......
उस्ले प्रस्ताब राखेपछीका केही रातहरू,
म निदाउन सकिँन,
***********
थाहै थिएन,
एक्कासी आफ्नो सबैभन्दा मिल्ने केटि साथीले
मलाई मन पराउँदो रहेछिन् ।
***********
थाहै थिएन,
उस्को मुस्कानको तारिफमा मैले बोलेका
केहि शब्दहरुले उस्को मनमा
उथलपुथल ल्याईदिएछ ।
***********
थाहै थिएन,
उस्को सुन्दरताको बयानमा मैले लेखेका
केहि शेरहरुमा उ धड्किएर बसेको रहेछ ।
***********
थाहै थिएन,
मैले नबोलेका कयौं शब्दहरु
मैले नलेखेका शेरहरु
मैले नलेखेका प्रेम पत्रहरु
मैले नगाएका गीतहरु
मा उस्को आश,
मैले बोलोस, लेखोस, गाओस भनेर
पर्खाइको रातोगुलाबको बगैचामा
कोहि बसिरहेको
मलाई पत्तै भएन ।
***********
अब्यत्त प्रेमको कयौं वर्ष बिताईसकेपछी
मैले कसैलाई मन पराउँछु भन्नु भन्दा
ठिक एक घन्टा
पछाडी,
आफ्नो प्रेम प्रस्ताबको एउटा चिठ्ठि दिएर
बेपत्ता भईन
मेरो सबै भन्दा मिल्ने साथी
सायद कतै टाढा
मेरो यादहरु साथ दिएर
अन्तिम पल्ट
एक सानदार मुस्कान दिई
दुई थोपा आँसु चुहाँउँदै ।
विदाईको हात हल्लिएको
मात्र बारम्बार सम्झिरहेछु
बस सम्झिरहेछु ।
....
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

कमल खत्री "राज"को कविता -19-10-2016

NepaliTalim | 9:59:00 AM | 0 comments
#कबिता 
#कमल

गुलाब परिन-
तिम्रो बारिमा फुलिन,
अनि-
मग्मगाउदै सुबाश नि छरिन।
फुल्न त फुले मपनि फुले-
तिम्रो घर भन्दा पर-
तिम्रो शहर भन्दा पर,
एकान्त तलाउमा।
तर फुल्दै फुलिन-
म तिम्रो दिलमा फुलिन।
देखेको छु तस्बिरमा भगवानलाई-
कमलमै बिरजमान भएको।
तर-
लाग्छ म भगवान भन्दा टाडा छु।
बेलि,चमेली झै-
म टिपिन्न कोहिबाट।
अनि-
चडाइन्न मन्दिरमा
न सजाइन्छु सिरमा?
हो फुल्न त फुले मपनि फुले-
हिलोमै फुले।
म फुल्दै फुलिन-
तिम्रो दिलमा फुलिन-
तिम्रो जिवनमा फुलिन।
#sorry

कमल खत्री "राज"

Note :
Copyright Reserved with Writer

कवि वास्तविक मानवका ५ छोटा कविताहरू (5 Short Poems by Wastabik Manab)-05-09-2016

NepaliTalim | 4:10:00 PM | 2comments
नाम - वास्तविक मानव
हाल काठमाण्डौँ -- जन्म स्थान बागलुङ
विद्यार्थी

कविता १ #रूप
उसले मलाई,
आफ्नो पहिलो रूप देखायो ।
"देश र जनताका लागी केही गर्नेछु"
पछी ऊ त्यो ठाउँमा पुग्यो,
जुन बेला
मैले घुडा टेकेर,
"मलाई मेरो देश देउ"
भनेर याचना गरे ।
उसले मलाई,
आफ्नो दोस्रो रूप देखायो ।
"यार देश त अरू कसैले लगेछ ।"

कविता २ #काँडा बगाउँदैछु
तिमीले भन्यौ ।
"मलाई आफ्नो आँखामा राख" भनेर ।
मैले प्रेम पुरवक,
तिमीलाई आफ्नो आँखामा सजाए ।
मलाई, के थाहा कि,
फूल बनाएर सजाएको तिमी
एका एक काँडा बनेर निस्किन्छौ भनेर ।
अचेल,
तेही काँडा बगाउन,
म आफ्नो आँखाबाट आँसु बगाउँछु ।

कविता ३  #अधिकार
हिजो,
"तिमीले मलाई प्रेम गर्यौ  ।
"मलाई प्रेम गर्ने तिम्रो कुनै अधिकार छैन"
भन्न म सकिन ।
आज,
तिमी म बाट छुट्टिने बेलामा भन्दै छ्यौ,
"जिवन भर तिमी संग
रहनु, - नरहनु,
मेरो अधिकारको कुरा हो ।

कविता ४ #दाग
तिम्रो मनमा,
लागेको दाग,
मेट्न म सक्दिन ।
माफ गर ।
तर एउटा सत्यलाई स्विकार्नु पर्छ तिमीले,
हेर त आकाशमा,
चन्द्रमामा पनि दाग लागेकोछ ।

कविता ५ #कुकुर
उसले मलाई,
कुकुर भनेर संवोदन गर्यो ।
तर म भुकिन ।
अहिले बुज्दैछु,
मानिस मानिस नै हो,
मानिसलाई कुकुर भन्दैमा,
मानिस कुकुर भन्दैन ।

© वास्तविक मानव

कवि अजित क्षेत्रीको 'म बहुलाएको छु' शिर्षकको गद्य कविता (Ma Bahulayeko Chhu-Poem by Ajit Chhetri) -06-05-2016

NepaliTalim | 10:05:00 AM | 0 comments
अजित क्षेत्री
कविता - म बहुलाएको छु
-अजित क्षेत्री
.....................
यी पत्थरका ईश्वर
अनि कर्कट जस्तै मान्छे
डडेलोले छोपेको आकाश

रुमानी सपनाहरूको कारखाना
ओ प्रिय
मसँग प्रेमका कुरा नगर
म त बहुलाएको छु

जुनदिन म काठमाडौँ हिँडेको थें
रातो टीका र फूल दिएर
बहिनीले भनेकी थिइन्-
दाइ ठुलो मान्छे बनेस् है
काठमाडौँको भूगोलमा मैले
जीवनका गोरेटा खन्नु थियो
बहिनीले भनेजस्तै ठूलो
र बाबाले भनेजस्तै
असल मान्छे बन्नु थियो
अनि जितेर ल्याउनु थियो
आमाका सपनाहरू
सुनेको थें काठमाडौँमा
सपनाको किनबेच हुन्छ
एकमुठी सास र
एक मुस्कान हाँसोमा
मान्छेले काठमाडौँमा
जिन्दगी उधारोमा दिन्छन्

बेतोडले बत्तीएको माइक्रोमा
हुइकिंदै गर्दा देखें
राजमार्ग छेवैमा मकै पोल्ने आमाहरू
देखें
त्रिशुलीको बालुवामा जीवन जीउनेहरू
अनि देखें
चार कप चिया बेच्न
सारा रात आफ्नो निद बेच्ने दिदीहरू
च्यातिएको गुन्द्रीमा
मैलो जमेको तन्ना ओछ्याएर
एक जिन्दगी जिएको,
मलाई मेरै जीवन
गर्भपतन गरी फालेको
भ्रुण जस्तै लाग्यो

काठमाडौँमा भगवान छन् भन्थे
ठुला मान्छे बस्छन् भन्थे
खै मान्छे बस्छन् कि केही अरु
ढोका ढोकामा लेखेको देख्छु
कुकुर देखी साबधान्
सोंच्छु
मान्छेदेखी साबधान किन नलेखेको होला ?
अहो त्यो रत्नपार्क !
मुतको पहाड माथि
थेगीनसक्नु बेरोजगारहरूको भीड
भीडमै कसैले बेच्दैछ
बदाम, भट्टमास, कण्डम र शिलाजित
सोंच्छु
अपरिभाषित समयका
नामर्द मानिसहरू
कतिचाँडै स्खलित हुन्छन् हँ ?

जब काठमाडौँलाई बुझ्दै गएँ
काठमाडौँ काठमाडौँ जस्तै लागेन
नेपाल नेपाल जस्तै लागेन
यहाँका मान्छे मान्छे जस्तै लागेनन्
बिस्तारामा उत्तानो परेर सुतेकी
बेश्या जस्तै
काठमाडौँ निर्वस्त्र छ
निर्लज्ज छ
जो आएर भोगे नि हुने
जो आएर ढोगे नि हुने
देख्छु
योनीच्छेदले मुर्छित युवती जस्तै
टुकुचा खोला दुर्गन्धले
भित्रभित्रै मरिरहेकी छ
आफैलाई हेर्न लाज लाग्छ
आफ्नै अनुहार
र बेचिदिन्छु ऐना कवाडीलाई

यो भीड यो कोलाहल
र यो दुर्गन्ध
प्रिय टुकुचा मलाई माफ गर
क्याबिन रेष्टुराँबाट मातेर
फर्कँदै गर्दा
थुप्रै पटक मैले मुतेको छु
तिम्रो बक्षमा
ओ टुकुचा
मलाई माफ गर बहुलाएको छु
काठमाडौँ देखेर म अघाएको छु ।

अजित क्षेत्री
स्याङ्जा
हाल:युएई

Note :
All Right Reserved with Writer of Above Poem 

कवि अजित क्षेत्रीका मान्छे शिर्षककाे कविता -05-05-2016 (Poem by Ajit Chhetri)

NepaliTalim | 5:03:00 PM | 0 comments
Poet-Ajit Chhetri
मान्छेहरु (कविता) 
यहाँ मान्छेहरु...
जो हाँसेजस्ता देखिन्छन् ती रोएका हुन्छन्
जो रोएको अभिनय गर्छन् ती हाँसेका भेटिन्छन्
जो अंकमाल गर्छन् ती छुरा बोकेका हुन्छन्
जो टाढा हुन्छन् ती अंकमालको आतुर हुन्छन्
वास्तवमा मान्छे
जे देखिन्छ त्यो होइन
जे देखिन्न त्यो पनि होइन
म मान्छे भएर पनि मान्छेलाई बुझ्न सकिन
थाहा छैन यहाँ
को मान्छे हो
को मान्छे होइन ।
हिउँद याममा
ब्रम्हपुत्र नदी किनारमा
समागमका लागी आतुर फिरन्ते बकुल्ला झैं
तम्तयार छन् मान्छे
मान्छेकै बध गर्न
हो, मान्छेका बस्तीहरु
बधशाला झैं लाग्छन् मलाई
मान्छेका भिडहरु
कसाईले पालेका
बिकासे खसीको बथान लाग्छछन् मलाई
तर हेर्नुस् न कस्तो अचम्म भने नी !
उही सिकारी भएको छ
उही सिकार भएको छ ।
पानी र हावाले खिइदा खिईंदै
एउटा बिबश पत्थर आज
भगवान बनेको छ
र पुजीन थालेको छ दोबाटोमा
हिंजोसम्म कुकुरले मुत्ने त्यो ढुङ्गो
आज साक्षात् भगवान भएको छ
बधशालामा आफन्तकै बध गरेर मान्छे
धुन्छ पाइखानामा आफ्ना रक्ताम्य हात
अनि पुग्दछ उही दोबाटोको
पत्थरको ईश्वरमा ढोग्न
र बर माग्दछ कहिल्यै नमर्ने ।
परस्त्रीसँग रातभर खेलेर फर्कन्छ मान्छे
अनि आफ्नी स्त्रीलाई भन्छ:
तिम्रो यादमा रातभर निदाउन सकिन
परपुरुषको शयनबाट फर्कन्छे उसकी स्वास्नी
र बस्छे सोमवारे एकादशी ब्रत
र रोप्छे तुलसीको बोट पनि
श्रीमानको दीर्घायुका लागी
हेर्नुस् न कस्तो अचम्म !
दुबैले दुबैलाई ढाँटेका छन्
तर दुबैले दुबैलाई बुझेका छन्
त्यहि भएर दुबै चुपचाप छन्
सम्झौतामा बाँचेको मान्छे
चङ्गाको डोरी भन्दा कमजोर छ
मान्छे मान्छे सँगै असुरक्षित छन्
किनकी बधशालामा मान्छेले मान्छे
किनबेच थालेको छ
खुद्रा मुल्यमा
हो त्यही भएर म
मान्छेलाई घृणा गर्न थालेको छु ।
हो त्यही भएर म
मान्छेलाई घृणा गर्न थालेको छु ।

Note :
Copyright Reserved with Writer of Above Poem

कवि दीप मिलनको वसन्त कविता अहाँकै सस्वरमा बाचन सहित (05-05-2016/2073-01-23) : Download

NepaliTalim | 4:46:00 PM | 0 comments
Poet-Deep Milan
 कविता बाचन 
शिर्षक -बसन्त 
आयो पात्रो घर घर नयाँ आशको दीप बाल्दै!
लैजाऊ यी जनलहरको पीर चिन्ता पखाल्दै!!
यो माटोमा अब विरहको गर्नु पर्ने छ अन्त!!
आऊ आऊ सबतिर खुशी बाँड प्यारो वसन्त!!
-
रोएका यी तनमनहरु हाँस्न सक्ने बनाई!
हांस्दै खेल्दै सब मिलिजुली बाँच्न सक्ने बनाई!!
छर्दै फूल्नू रनवन भरी फूल मीठो सुगन्ध!!
यस्तै बास्ना सुमधुर छरे बन्छ मीठो वसन्त!!
-
काला मैला दिन मनुजका लाग्न थालून् किनारा!!
रोएका यी मन लहरको बन्न पाई सहारा!!
हाम्रो पीडा अब विगतको हुन्छ होला नि अन्त!!
नेपालीको अमर ममता बाँड्न आऊ वसन्त!!
-
आऊ आऊ सब मिलिजुली शान्तिको दीप बालौँ
छोडौँ हामी छलठग सबै चन्द्र सुर्जे उचालौँ!!
हाम्रो आस्था पर क्षितिजमा हाँस्न खोज्दैछ मस्त!!
द्यौसी खेलौ अब मिलनको एकतामा वसन्त!!
-
आशाको यो नव किरणमा ज्योति छर्नू तिमीले!
भाषाको यो सब हरफमा अर्थ भर्नू तिमीले!!
हाम्रो इच्छा सघन पथमा दौडिदै जान्छ जन्त!!
हाम्रा आँखा तनमन खुशी पार्न आऊ वसन्त!!
-
हाम्रो बाटो भर दिनदिनै भ्रष्टको नै छ राज!
हाम्रो माटो अपहरणमा पर्न थाल्दै छ आज!!
लुट्ने चुँड्ने सब मनुज याँ बन्दछन् साधु सन्त!!
आऊ आऊ नव युग तिमी भै सुनौलो वसन्त!!
दीप मिलन
रुद्रपुर रुपन्देही
हाल दोहा कतार
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

कवि मौसम भुसालका ५ पाँच कविताहरू -16-03-2016

NepaliTalim | 2:55:00 PM | 2comments
मौसम भुसाल
नमस्कार, आज हामी पर्वतका कवि मौसम भुसालका ५ कविताहरु लिएर उपस्थित भएका छौं , यहाँको कविता पढेर प्रतिकृया र हौसला प्रदान गरिदिनुहुन सबै साहित्य प्रेमिलाई अनुरोध गर्दछौं । आज हामी उहाँका कविताहरु आमा, म वीरमा, मेरो खुसि परिवार, गाउँ बलेको छ र म कोदालो शिर्षकका कविताहरु प्रस्तुत गर्दैछौं ।  यदि तपाईपनि आफ्ना जुनसुकै रचनाहरु प्रकाशन गर्न चाहानुहुन्छ भने हामीलाई मेल गर्नुहोला । 

१.किवता -आमा 
.....
आमा!
म त्यही दिन सम्झन्छु
जहिले तिमी औँसीको रातमा डोको लिएर
खाली खुट्टै धुसेनी धाउँथ्यौ
बिहानै भालेलाई समेत जितेर 
पँधेरी धाउँथ्यौ
लगाउने चप्पल फाटेर 
लोती लाई सुथरीले बाँधेर लाउँथ्यौ
आमा!
हजुर आमाले कत्ति चाँडै बिर्सिएकी
बुहारीको मर्म,वेदनालाई 
गोठमा भैँसीलाई पाकेका बेला तिम्रा लागि पाक्थेन
बिरलै पाएको भात पनि आफ्नो मुखले चाख्थेन
मेरै भोक देखेकी हुन्थ्यौ
न्यानो काखले सेकेकी हुन्थ्यौ
हो आमा!
म त्यही दिन सम्झन्छु ।
पर्म गएका बेला पाएको अर्नि
मेरो भोक सम्झेर
आफ्नो भोक कत्ती सजिलै खेपेर
पटुकामा बेर्थ्यौ नि मेरो लागि
ठुला बढाका छोराछोरीले लगाएका लुगा
बडो आश्चर्य साथ हेर्थ्यौ मेरै लागि
त्यही भोकको बलिदान
त्यही शोकको बलिदान
म यत्ति  सजिलै कहाँ भुल्न सक्छु
आमा! म त्यही दिन सम्झन्छु
जब तिमी आफ्नो चोलो काटेर 
मेरो लागि पत्लुङ सिलाइदिएकी थियौ!
आमा! म त्यही दिन सम्झन्छु
बुबा घर नहुँदा
जब मासु लिन दाइलाइ थाल लिएर पठाउँदा
थाली भरिको गाली लिएर फर्केका दाइ
अनि मलाई
मासु भन्दा मीठो कटहर पकाएर खुवाएकी थियौ।
हामीलाई खुवाएर आफू अघाउने शक्ति 
कहाँ बाट ल्यायौ आमा?
हिजो तिमी भोकै थियौ
आज म भोको छु
सबैभन्दा ठूलो भोको
काखको भोको आमा!
तिमी तारा बनेकी छौ भनेर तारै निल्न कहाँ सक्छु र?
तिम्रा अंग अंग नदीमा छ भन्दैमा 
म नदी नै सुकाउन कहाँ सक्छु र?
बस्! ,तिमी जाडोमा कठ्याङ्ग्रीदै  घरगोठ कुदेको 
कोदाको रोटी घाँटी सर्कुन्जेल खाएको सम्झिन्छु
हो आमा! 
म त्यही दिन सम्झन्छु |
.....
मौसम भुसाल, 
जिल्ला-पर्वत
हाल: सामाखुसी, काठमाडौँ
.........................

२.कविता- म वीरमान
............
म वीरमान 
जुन नामको पछाडि
अंकुशझैँ अड्किएको छ अर्को नाम
जसले गर्दा
म नागबेली झैँ बेरिएको छु
जताततै बाट घेरिएको छु,
युगले कोल्टो फेर्दा पनि
नउदाएको घाम
जुन घामको पर्खाइमा
निरङ्कुश रात संगै झुन्डिरह्यो
मेरो नामको पछाडिको अर्को नाम।
यस्तो लाग्छ
नीति मेरा लागि लेखिदैन
रीति मेरा लागि बनाइँदैन
हे कानुन!
सक्छस् त तँ डिल र पिँढी जोड्न?
सक्छस् भने ठुन्काइदे
सदियौँ देखि म जस्ता अचाना माथि
रगडिँदा रगडिँदा
नबोदिएको खुकुरी
म त दिउसै अँधेरो पाउँछु
म त छुट्टै पँधेरो धाउँछु
मूल बाटो अपरिचित छ
दुई छाक आटोको सट्टा 
निल्नै नसकिने फाटोले
बुझो लाइदिन्छ
र,
फटाइदिन्छ सारा सपना !
मन्दिर बाहिरै मेरा पाइला अड्किन्छन्
पँधेरी नपुग्दै गाग्री भरिन्छ
किनकि,
एक हुल मानिसका पाषाण आँखामा 
लेखिएको हुन्छ
प्रवेष निषेध!
हे शोषक,
नजाउँला म तिम्रो मन्दिर
तर, मैले कुँदेको भगवान 
तिमीले पुज्नु हुँदैन
नहिँडुला म तिमी हिँडेको बाटो
तर,मैले ओसारेको ढुङ्गा टेक्नु हुँदैन
नटेकुँला म तिम्रो पधेँरी
तर, मैले खनेको कुवा उभाउन पाउने छैनौ
आखिर आज सम्म 
मैले तिम्रो इज्जत सिलाएको छु
अन्न अर्चापेको छु
सुख पिलाएको छु|
हैन भने
कतिन्जेल म
यो नियति सहेर बाँचु?
म तिनीहरूलाई मेरा सन्तानले
शुली चढाएको हेर्न चाहान्न
किनकि
मेरा फाटेका टालाहरूमा
ध्वाँसो लागेका हातहरूमा
सिमलको भुवा जस्तो
हलुका मन छ ।
समयले कुन्नी कहाँ थेचार्यो मलाई
मृग झैँ यता र उता 
विनासित्ति  भौतारिनु पर्छ
उही नाम सम्याउन
यसरी कि मेरो नाम पछडिको अर्को नाम
तिमीले जस्तै सजिलै भन्न सकुँ ।
..............
मौसम भुसाल, 
जिल्ला-पर्वत
हाल: सामाखुसी, काठमाडौँ

३.कविता : पाठ:१ -मेरो सुखी परिवार 

साउनको झरी;
सुनसान रातको छाडा झरी
कसैलाई निन्द्रा लाग्ने झरी
कसैको निन्द्रा खोस्ने झरी।

चुहिएको छानो 
छानो मुनी गरीबको मानो 
पाक्ने सानो चुल्हो
चुल्होमा बल्लबल्ल बलेको चिसो ठुटो
चुल्है नेर छानोको पानीले टम्म 
सानो दिउरी 
तर,
भात ढुकिरहेको खाली पेट
पुर्पुरोमा हात लगाएर खिन्न मनले
ठुटो ठोसिरहेकी एउटी आमा!
हुरीले ढोका हल्लाउँदा पनि पुर्लुक्क हेर्छिन्
घरि बाहिर घरि छोरो तिर
अनि  बर्बराउँछिन्
"तेरो बाउले मर्न नि दिन्न , बाच्न नि खै ?
आज नि त्यतै त  धोक्दै होलान्
पैलेको झरीले पारी खेत लग्यो
यो झरीले यिनैलाई लगे नि हाइसुक्कै हुन्थ्यो"
पिल्पिलिदै
भुन्टे विचरा घरि भोको पेट मसार्छ
घरि हँसियाले काटेको घाउ मसार्छ
त्यो घाउ भन्दा गहिरो घाउ त 
दिनदिनै मसार्दो हो
त्यो भोक भन्दा नि ठुलो भोक
दिनदिनै खेप्दो हो
मायाको भोक !
यही भोकले बल्झाएको घाउ!
धिप्धिप गर्दै मधुरो बलिरहेको 
टुकी नजिकै जान्छ र
अघिल्लो बर्षकै नयाँ किताब खोल्छ 
अनि बडो सकसले पढ्छ
"पाठ:१- मेरो सुखी परिवार "
.......
मौसम भुसाल, 
जिल्ला-पर्वत
हाल: सामाखुसी, काठमाडौँ
...............................................
४.कविता: गाउँ बलेको छ
....
बेलामा ढिब्रीको धिप्धिप उज्यालोमा
म अक्षर नियाल्थेँ
आखाको सिमाभित्र छामछुम गरी
कोरकार गर्थें अभावका शब्द
'ब' बाट 'बिजुली'
तर, उ कापीमा आउँथ्यो तर गाउँमा आएन ।
समयको तारतम्य
अहिले सुनेको छु,
ती ढिब्री अहिले झाडीमा भेटिन्छन रे!
गाउँमा बिजुली पुगेछ
छहाँदी खोला उज्यालिँदै बगेकी होली
अझ गाउँमा गोबर ग्यास पुगेछ
पारी वन अँध्यारिदी हो 
हाम्रो घरै मुन्तिरबाट हर्न घन्काउँदै
मोटर गुड्छ रे
मेरो यहाँ मन गुडेको छ
मलाई
प्रचण्ड अँध्यारो बाट प्रचण्ड उज्यालोले 
तिर्मिराएको मेरो गाउँ हेर्ने मन छ
शहर का घुम्तीका झिल्काहरुले पोलेको मन
गाउँका घुम्तीले सुम्सुम्याउन मन छ
कुन मुखले सुनाऊँ ?
म बल्न आएँ शहरको उज्यालोमा
निभाइदियो सारा सपना
आज गाउँ बलिरहेका बेला म भित्रै देखि निभेको छु
मलाई फेरि पनि बल्ने मन छ
फेरि बौरिन मन छ
उही गाउँकै उज्यालोमा
उही गाउँकै काखमा
उही गाउँकै आत्मियतामा ।
.......
मौसम भुसाल, 
जिल्ला-पर्वत
हाल: सामाखुसी, काठमाडौँ

५.कविता: म कोदालो

म कोदालो
जो बिहानै अनिँदैमा 
एक हुल खेतालाहरु पच्छ्याउँदै 
सुतिरहेको खेत कोपर्न पुग्छु
आफ्नो ढाड फुस्किन्जेल सम्म
दह्रा अटेरी बाँझा खेपिरहन्छु
जसको बदलामा खेत सम्भावित हरियालीबाट 
सु-सज्जित बन्नेछ 
चुनौति दिँदै खडेरीलाई 
उम्रनेछ धानका बाला
बाला सँगै छेउछाउमा देखिन्छन् आशका कुटिल गेडीहरु
भरिनेछन् गरिबका भोका माना ।
म विवस भै हेरिरहेछु 
घरि बिगतका घानका बाला
घरि आजका गाँजाका झोताहरु
खेत त्यही हो
मान्छे त्यही हो
बाँझो कोपर्ने मैँ हो
तर,
समय बद्लियो रातारात
भोक फेरियो समय सँगै 
हो,म बिवस भै हेरिरहेछु
परिवर्तनका बिब्ल्याँटाहरु
तुहिएका कुटिल गेडीहरु
ए,मानिस!
म थाकिसकेँ
मलाई बरु छानोमा सिउरिदेउ
कि त मल्खातमा पुरिदेउ
म अन्न फलाउने नाउँमा
भ्रष्टाचार  गर्न चाहान्न ।
...........
मौसम भुसाल, 
जिल्ला-पर्वत
हाल: सामाखुसी, काठमाडौँ

Note : Copy Protected , All copyright reserved with Poet .

कविता -"म, 'हल्लुँड को शरबत' भन्दा नमिठो" - दिपक निरौला (08-11-2015)

NepaliTalim | 12:47:00 PM | 1comments

दाई
मलाई अचानोमा राखेर
मेरो शरिरको
कुनै एक भाग गिँडेर,
कुटु-कुटु चाखि हेर्नुस् त।
अनि भन्नुस्, कुन मिठो,
उहिलेको म?
कि अहिलेको म?

गोरू भा'छु म
मतलव, टिपिकल नेप्लिज गोरू।

माले र झुले भा'छु
झिस्मिसे नहुँदै बिचरालाई,
पुच्छारे काकाले
सिमालीको लौरोले व्युँझाऊँथे।

म निर्धोलाई,
एउटा जाबो टिक्टिके घडीले
बेस्मारी दनक दिन्छ, चार नबज्दै।

यहाँ म
गोरू आफैँ
हलि पनि आफैँ
बाँझो फोरेर पल्लो कुना नपुग्दै
उपल्लो कुना, झार बढेर फेरी बाँझै।

फर्कि फेरि जोत,
फेरि फर्कि, फेरि जोत

हेर्नुस न दाई,
पुच्छारे काकाले
पचास सिजन् खेत जोति सके
तर मैले
एक मेलो पनि जिन्दगी जोति सकिँन।

अनुहार फोरिएर
चाउरि पर्न थालिसक्यो
हात गोडा, थाँङ्थीलो भै सक्यो
अनि भुत्राको मिठो होस् मेरो स्वाद।

दाई,
बरू हल्लुँड'को शरबत मिठो होला,
बरू पाँच बेत ब्याएकी
चिहानडाँडे काईलाकी
कालि भैँसि मिट्ठि होलिन्।
थाँङ्थीलो छु,
म पहिलाको जस्तो मिठो छैन,
म मा पहिलाको फ्लेभर बाँकी रहेन,
अब, मेरो स्वाद बदलिएको छ।।

Dipak Niraula Taplejung Now:Sydney, Australia

यज्ञ प्रसाद गिरीका ५ गजलहरू : 05-07-2015

NepaliTalim | 11:26:00 AM | 0 comments
1.गजल
तिमी छौ र त यो शहर सुन्दर लाग्छ ;
तिमी छौ र त यो घर मन्दिर लाग्छ ।
(१)
लाग्दैन केही’नि ठुलो यो दुनियामा ;
तिम्रो मायानै, श्रेष्ठताको शिर लाग्छ ।
(२)
मन तिम्रो उदार र ऊच्च सोचको धनि ;
सुन्दर र स्वस्थय, तिम्रो शरिर लाग्छ ।
(३)
के के लाग्छ, सक्दैन भन्न, किमार्थ म;
माया भने तिम्रो कसम, गम्भिर लाग्छ।
(४)
साथ तिम्रो नपाउँदा, जिन्दगीको सफरमा;
सम्मो बाटो’नि, अनकन्टार भिर लाग्छ ।
रचना : यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
बैशाख ३ गते बिहीबार, २०७२ साल

2.गजल
आफैलाई नचिन्नेले , पहिचानका कुरा गर्यौ् ;
राष्ट्रघाती लुटेराको, गुणगानका कुरा गर्यौौ ।
(१)
कुरा गर्यौी, कुरै गर्यौ , कुरै-कुरा मात्र गर्यौ ;
अरुकै श्रम खानेले , स्वाभिमानका कुरा गर्यौौ ।
(२)
कुरा एउटा काम अर्कै, मनमा पाप लुकाएर ;
राष्ट्रभक्ति , आदर्श र, बलिदानका कुरा गर्यौि ।
(३)
चरण छुन्छौ बिदेशीको, सत्ता प्राप्त हुने भए ;
नेपाल र नेपालीको कुन, शानको कुरा गर्यौक ?
(४)
मठ- मन्दिर देखाउँछौ, पुजा- पाठ सिकाउँछौ ;
लालसाले ग्रस्त हुदै, कुन ध्यानको कुरा गर्यौा ?
(५)
अत्याचारी, भष्ट्राचारी, भनी चिन्छ समाजले ;
लाज घिन पचाएर, अभियानको कुरा गर्यौ ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
फागुन २८ गते, २०७१ साल

3.गजल
उल्टो-उल्टो काम गर्दै, जमानालाई दोष किन ?
कुठाँउमा पाइलो राखी, सिमानालाई दोष किन ?
(१)
कर्मले नै तोक्ने गर्छ, जित-हार जिन्दगीमा ;
हात बाँधी बस्ने गर्छौ , दैवसंग रोष किन ?
(२)
नदौडेरै जित्छ कस्ले, दौड जिन्दगीको ;
काम गर्नु भन्दा अघि, राखिदैन होस किन ?
(३)
कुरा उल्टो, काम उल्टो, उल्टो सोचमात्र देख्छु;
राखिएको पाईदैन , सकारात्मक सोच किन ?
(४)
पवित्र छ भन्ने गर्थ्यौ, यो सम्बन्ध हिजोसम्म;
समयले कोल्टो फेर्दा, आज अपशोच किन ?
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
माघ २२ गते, २०७१ साल


4.गजल
त्यै नजरले कुनै बेला, गर्‌यो स्वागत मलाई;
कुनै बेला सडकछाप, ठान्यो फगत मलाई ।
(१)
नाता ह्रदयको भए , हाल यस्तो किन हुन्थ्यो ;
ननिल्नु र ओकल्नु भो, तिम्रो चाहत मलाई ।
(२)
साख्खिएर कुनै बेला, मिठा, चिप्ला कुरा गर्‌यौं ;
मौका छोपी जानी-जानी, गर्‌यौं आहत मलाई ।
(३)
चोटै-चोट सहेको छु, तिम्रो सहयात्री बनी ;
यो निहुँ वा त्यो निहुँमा, छैन राहत मलाई ।
(४)
भेटिएन दयावान , दैव कुनै देवस्थलमा ;
शुन्य, खल्लो मात्र लाग्छ, तिम्रो जगत मलाई ।
(५)
चन्द्र एउटै, सुर्य एउटै, प्रकृतिको रित एउटै ।
किन लाग्छ दुनियाको, उल्टो नियत मलाई ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
मंसिर २४ गते, २०७१ साल

5.गजल
गर्न अझै बाँकी रह्यो, युद्ध आफैसित ;
नबुझेरै बन्दै हिड्छौं क्रुध्द, आफैसित ।
(१)
सबैतिर अशान्ति छ, शान्ति कतै छैन ;
हुँदा-हुँदै बिर्सि दियौ , बुद्ध आफैसित ।
(२)
किन बित्था अरुलाई, औला ठड्याउँने ,
जाँचौं मन छ कि छैन, शुद्ध आफैसित ।
(३)
बेकार छ दुनियाको, दोष खोजी हिड्नु ;
पाली-पोषी वासनाको , गिद्ध आफैसित ।
(४)
अभिलाषा जिवनको, धन्य पार्ने भए;
हुर्काउन सक्नु पर्छ , सिद्ध आफैसित ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
मंसिर १८ गते, २०७१ साल

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger